अरू बेला सानै भए पनि वर्षायाममा अघोरी गाड आफ्नो भयावह रूप देखाउँथ्यो । त्यहाँका बासिन्दाहरूका प्राय: दुई ठाउँमा घर थिए । वर्षाका समयमा सबैले गाईवस्तुसहित अघोरी गाड नतरी धरै थिएन ।
स्थानीय जनताको दबाब र राजनीतिक दलको पहलका कारण अघोरी गाडको मुख्य स्थान छोटी भन्सारमा रहेको काठको साँघु पक्की पुलले विस्थापित हुने पक्का भयो । काम सुरु भयो ।ठेक्का गाउँबाहिरको ठेकेदार दमनले लिए पनि स्थानीय गाउँलेलाई नै कामदारका रूपमा लिइयो ।पुल राम्रो बनोस् भन्ने सबैको चाहना थियो ।काम धमाधम चल्यो ।बढी समान चाहिने मुख्य पिल्लरको काम र पुल ढलान गर्ने काम राति गरियो ।पुल निर्माण गर्ने कार्य सम्पन्न भयो ।नेताबाट उद्घाटन पनि गराइयो ।गाईवस्तु, मानिस, केटाकेटी सबैका लागि पुल बनेपछि अघोरी गाड तर्न सहज भयो ।
एक वर्ष नहुँदै पुलको पिल्लर चर्कियो र पुल निकै लच्कियो ।मानिसहरूलाई वारपार गर्न कठिनाइ नभए पनि गाईवस्तु तार्न सकस हुन थाल्यो ।कामदारका रूपमा काम गरेका सोही गाउँका मदन, जयराज, गोरे, जयलाल, नरपतिलगायतलाई ठेकेदारले प्रतिव्यक्ति दुई हजार दिएको, पिल्लरभित्र सिमेन्टमिश्रित मसला कम र बढी बालुवा मिसाउन लगाएको तथा कसैलाई नभन्नू भनेका दृश्यहरू आँखामा झलझली नाच्न थाले।
आफ्नो स्वार्थका कारण गाउँलेसहित आफूहरूले पनि दु:ख भोग्नु पर्दा कामदारहरूलाई पनि अपराधबोध भयो । पैसाका पछि लागेर आफ्नै खुट्टामा बन्चरो हान्न बाध्य स्थानीय कामदारलाई दुई हजार रूपियाँमा आफू बेचिएकोमा खिन्नता महसुस भयो ।
(पाटन, बैतडी)