आज म उत्पीडित विशेषतः समुदायको पक्षमा निरन्तर पैरवी गर्ने एकजना संघर्षशील विद्वान व्यक्तिको चर्चा गर्छु । साथमा‘दलित संघर्षगाथा’(उत्पीडित समुदायको संघर्षको नालीबेली) भन्ने पु्स्तकको समीक्षापनि गर्छु ।
यस कृतिका आदरणीय लेखक डिगबहादुर विश्वकर्माको जन्म वि.सं २००४ साल जेष्ठ ७ गते पाल्पा जिल्लाको हुमिन गाउँमा भएको हो । उनको पिताको नाम मानबहादुर गहतराज हो भने आमाको नाम ईश्वरी सुनार हो । उनले तानसेनको पद्मोदय पाल्पा पब्लिक हाईस्कुलबाट एस.एल.सी. उत्तीर्ण गरे । शिक्षामा आइएसम्मको औपचारिक शिक्षा पूरा गरेका उनी नेपाल राष्ट्र बैंकको अवकास प्राप्त मेनेजर हुन् ।हाल उनी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ पन्चपथ भैरहवामा बस्छन् ।
डिगबहादुर विश्वकर्माको लेखकीय नाम संग्रामसिंह विश्वकर्मा हो । त्यो समयमा प्रकाशन स्वतन्त्रताकोसमस्याको कारण उनले आफ्नो नाम संग्रामसिंह विश्वकर्मा राखेका थिए । पञ्चायतकालभरि उनका आलेखहरु यही नाममा छापिन्थे । डिगबहादुर विश्वकर्माका लेखहरु धेरै पहिलादेखिनै निरन्तर प्रकाशित भइरहेका थिए । म दैनिक पत्र राष्ट्रिय दैनिकको डेस्कमा रहँँदा पनि उनका लेखहरु प्रकाशन गर्ने अवसर पाएको थिएं ।उनको व्यक्तित्व निर्माणको अवधि सत्तालीस साल अघिको हो । २०४७ सालदेखि २०६० सालसम्मको व्यक्तित्व विकास र विस्तारको चरण हो भने २०६० सालपछि तेस्रो परिपक्व चरण हो । साठीको दशकपछि मैले डिकबहादुर विश्वकर्मालाई राम्ररी चिनें । म उनको पाठक हुँ । विशेषतः लुम्बिनीराष्ट्रिय दैनिकमा उनका लेखहरु रुचिपूर्वक पढ्थें ।
पछिल्लोपटक नेपाली साहित्य भण्डारमा उनका दुईवटा ‘दलित संघर्ष गाथा’ र ‘पूर्ण समानुपातिक नै किन’ भन्ने दुईवटा कृतिहरु थपिएका छन् । यी कृतिहरु मूलतः राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक उत्पीडिनका विरुद्धका आवाजको रुपमा आएका छन् । यी कृतिहरुमाविशेषतः उत्पीडित जातिमध्ये दलित समुदाय माथि भएको दमनको केन्द्रमा रहेर सबै प्रकारका उत्पीडनकोअन्त्यको अभिलाषाका साथलेखिएका देखिन्छ । यी दुई कृतिहरु दलित आन्दोलनकाकठोर र लामो शृङखलाका महत्वपूर्ण निशानी हुन् । यी कृतिहरु लोकतान्त्रिक आन्दोलनको तातो भट्टीबाट निखारिएर आएका अब्बल हुन् । कृतिको ओजश्विता र निखार निकै उच्च छ । मैले यी दुबै कृतिहरु महत्वका साथ पढें र उत्पीडनका धेरै पाटा पखेराहरु देख्न र बुझ्न पुगें । यी दुई कृतिले हाम्रा आँखा उघारिदिएका छन् । तेस्रो कृति फुटकर कविताहरुको संग्रह प्रकाशित हुँदैछ ।
योपुस्तकको भूमिका प्राज्ञ बुँद रानाले डिकबहादुर विश्वकर्माको उत्पीडन विरुद्धको लडाईंको प्रशंसा गर्दै भनेका छन् —“संग्राम सिंह हतियारको हैन, विचारको लडाईं लड्न मन पराउँछन् । घटित घटनाहरुबाट उनले विचार लिन्छन् र लिएको त्यो विचारलाई संश्लेषण गरी पाठकलाई दिने गर्छन् । यो किताब जुन तपाईको हातमा छ, त्यो संग्राम सिंहले निकै नजिकबाट भोगेको भोगाईको सार हो । यसमा पीडित पक्षको क्रन्दन छ, चित्कार छ, साथसाथै तिनको हक हितको लागि बुलन्द गरिएको सशक्त उद्गार छ । यसर्थ यो बहुमूल्य उपहार हो ।”
त्यसरी नै प्रा.डा. तारालाल श्रेष्ठले यस कृतिमा मन्तरीदेखि सन्तरीसम्म सचिवदेखि कार्यालय सहयोगीसम्म सबैतिर बाहुनले ओगटेका पदहरुको सन्दर्भमा यही पुस्ततकै साहारा लिएर तथ्याङकसहित सानो भूमिका लेखेका छन् ।
लेखक डिगबहादुर विश्वकर्माले सानैदेखि भोगेका अपमान र विभेदका छापहरुआजजीवन्त कृतिबनेर आएका छन् । उनले धारापाटी, पौवा, पुस्तकालय, विद्यालय, सभा, बैठक, घर सबैतिर भेदभावै भेदभाव देख्न पुगे । यस्ता विकृतव्यवहारले उनको अन्तस्थमा हुँडलो मच्चियो । उनमा त्यो कुप्रथा विरुद्धआत्म सम्मान, मुक्ति र स्वतन्त्रताको संकल्प जाग्यो । उनले मानवताको स्थापनाकोविकल्प खोजे । विकल्प सहजै प्राप्त हुने थिएन । त्यसैले उनले मूलतः लेखेर संघर्षको थालनी गरे । त्यहाँ पनि उनले सम्पादकहरुको उपेक्षा पनि भोगे । तर उनको दुन्दुभी रोकिएन ।
उनले सबैभन्दा पहिला बाबुको निर्देशनमामाटो र सूती कपडा कुटेर बनाएको लेपनमा साँचो बनाई चाँदीको ढलानमा भगवान्श्री कृष्णको सुन्दर मूर्ति बनाएको र आफू प्रशंसित भएको कुरा उठाएका छन् । यही प्रसङ्ग उठाउँदै पछि त्यो मूर्ति प्राण प्रतिष्ठा गरेको ठाउँमा पुगेर छुन लाग्दा गरिएको अपमानबाट उनी ज्यादै मर्माहत भएको बताउँछन् । त्यसपछि उनका विभेद विरुद्धको अधिकारको लडाईंको भावना बीजाङकुर हुन्छ ।उनी विकल्प खोज्ने संकल्प गर्छन् । त्यो नै उनको संघर्षको पहिलो झड्का हो र प्रेरक घटना पनि हो । यस घटनाले उनको जीवनको मोड फेरिएको छ । उनी उत्पीडित समुदायदलितहरु प्रति जति कठोर छन् त्यत्तिकै कठोर बनेर संग्राममा लागेको देखिन्छ ।
‘दलित संघर्षगाथा’ २०६० साल अघि लेखिएका लेखहरुको संग्रह हो । २०६० सालपछिका आलेखहरु ‘पूर्ण समानुपातिक नै किन’ भन्ने कृतिमा संग्रहित छन् । पूर्वार्धमा शोषण उत्पीडनका कथाहरु छन् भने ६० सालपछिका कृतिहरुमा उत्पीडिनबाट उन्मुक्तिका लागि विधि र प्रक्रियाको चर्चा छ । उनले समानुपातिक प्रतिनिधित्वका सबालहरु उठाएका छन् ।बहुजातीय समाजमा जो जो जति जति संख्यामा छन् त्यति त्यति अनुपातमा राज्यसत्तामा भाग पाउनु पर्छ भन्ने उनको लडाईको भाव हो । उनको धरातलीय यथार्थका आधारमा गरिएको स्वर प्रशासरणले काम गरेको मान्नु पर्छ । अहिले विभिन्न वहानामा उच्च भनिएको जातले आफ्नो प्रवृत्ति नछोडे पनि विस्तारै समानुपातिक आरक्षण सबै जातिको लागि आधार भएको छ । बाहुन जातिले पनि समानुपातिक आरक्षण पाएको छ । अब सबै जात जाति आआफ्ना आयतनामा बस्नु पर्छ भन्ने आशय यो कृतिको रहेको छ । दलित संख्याको विषयमा उनको दाबी २० प्रतिशत भए पनि आधिकारिकतथ्याङ्कका आधारमा भन्दा १३ प्रतिशत दलितको पहुँच र प्रतिनिधित्व स्थापित हुनु पर्छ । मनौ १ सय सभासदमा १३ सभासद दलितको समुदायको हो ।
नेपाली वामपन्थी आन्दोलनमा बाहुनवादको प्रभाव छ । बाहुनले समानुपातिक प्रतिनिधित्व र पहुँचका कुरा उठाउन मान्दैन । बाहुनहरु कम्युनिष्ट आन्दोलन भनेको वर्ग संघर्षमा आधारित हुन्छ,समानुपातिक पहुँच, प्रतिनिधित्व र पहिचान उत्तरआधुनिक विचार हो र यो माक्र्सवादमा आधारित नभई संशोधनवादी विचार हो भन्दै भ्रम छर्छन् । यो भ्रमको अन्तरनिहीत चाहना सत्तामा आफ्नो जातिको हालीमुहाली बलियो रहेस् भन्ने नै हो । आधारभूत वर्ग जनजाति, दलित, महिला, मधेस, थारु, मुस्लिमबाट समानुपातिक समावेशीकरणका आधारमा आएका साँसद सभासदहरुलाई अहिले अयोग्यताको बिल्ला भिराउँछन् । उनीहरुलाई उत्पीडित समुदायको प्रतिनिधत्व भालुको कन्चट जस्तो भएको छ । वर्ग संघर्ष नगर्ने तर वर्ग संघर्ष प्रधान हुन्छ भन्दै करकर गरिरहने र उत्पीडितहरुलाई समस्यामा पारिरहने अहिलेको अवस्थाहो।
यो त २०६३ सालपछिको संविधान सभाबाट बनेको २०७२ को संविधानमा प्राप्तउपलब्धिले केही योगदान अवश्य दिएको छ । त्यो समयमा संविधान निर्माणमा दलित, जनजाति, थारु, मधेस, महिला, मुस्लिम, अपाङगता सबैको उपस्थिति रह्यो । त्यसैले तुलनात्मक रुपमा संविधान प्रगतिशील बनेको छ । अझै पनि समस्या छन् ।ती समस्याहरुलाई संविधान संशोधन गरेर समाधान गर्न सकिन्छ । अहिले पनि समस्या भनेको समानुपातिक समावेशीकरण हो ।
उनले पहिलो आलेखमै दलितको पहिचय दिएका छन् । यस आलेखमा दलितको ऐतिहासिक थातथलो उनीहरुको सीप, कला र कौशलको परिचय छ । भारतको सिन्धुनदीदेखि पूर्वतर्फ गंगा ब्रम्हपुत्र नदीको समथर भूमागमा अहिलेको दलित समुदायका पुर्खाहरु ठूला ठूला बस्ती र सहर बनाएर राज्य जमाई बसेको बताएका छन् । अहिलेका दलितका पुर्खाहरु सभ्य, शान्त स्वभावका थिए । उनीहरु साहित्य, संगीत कलामा निपुण थिए । लेखकले अहिलेका दलित समुदायका पुर्खाहरुलाई अनार्य, दानव, दैत्य बनाएको प्रसङग उल्लेख गरेका छन् । यो हाम्रो समाजमा देवता र असुरको संग्राम अर्थात देवासुर संग्रामको रुपमा जिवित छ । त्यो समुदायलाई पशुपालक आर्यहरु खैबर घाँटीको बाटो हुँदै त्यहाँ आएरदलित समुदायका पुर्खाहरुलाई विस्थापित गरेर आफूहरु स्थापित भएको ऐतिहासिक तथ्य उल्लेख गरेका छन् । त्यो समयमा अहिलेका दलित समुदायको आफ्नै भूगोल थियो । आफ्नै संस्कृति थियो । आफ्नै भाषा, भेषभूषा थियो र आफ्नै पहिचान थियो ।
आर्यहरुले तिनै उद्यमी शिल्पीहरुलाई कालान्तरमा छिन्नभिन्न पारेर वर्णश्रम धर्म खडा गरी शुद्र वर्णको रुपमा स्थापित गरे । तिनै शिल्पीहरुलाई आफ्नो पकडमा राखेर बधुवाजस्तै बनाएरहिंडाए । जहाँ जहाँ खसब्रम्हणहरु हुन्छन् त्यहाँ त्यहाँशिल्पी समुदाय भएको तथ्य अहिले पनि जिवित नै छ । अहिले त्यो शिल्पी समुदाय छिन्नभिन्न भएको हुनाले निश्चित भूगोलमा छैनन् । उनीहरुको संस्कृति सामाजिक रीतिस्थिति परम्परा केही छैन । उनीहरुको थातथलो हराएको छ । पहिचान पनि हराएको छ । त्यसैले त डिकबहादुर विश्वकर्मा प्रतिनिधित्व र पहुँचको लागि समानुपातिक समावेशीकरणको आवाज उठाएका छन् ।
तर परिवर्तन पछि शिल्पी समुदायको अवस्थामा परिवर्तन आउन थालेको छ । यो समुदायसहरीकरणपछि क्रमशः बालिघरे प्रथाबाट व्यावसायिक रुपमा ढल्न थालेको छ । अहिले त्यो समुदायमा निकै ठूलो परिवर्तन छ । त्यो परिवर्तन बजार अर्थतन्त्रको विकासका साथ माथि उठिरहेको छ । अहिले व्यवसाय शिक्षा दीक्षामा पारङगत हुँदै छन् । आर्थिक अवस्थामा क्रमशः परिवर्तन आउन थालेको छ । उद्योग बजार अर्थतन्त्रले छुवाछुत र विपन्नतामाथि प्रहार गरिरहेको छ । लोकतन्त्रले उनीहरुलाई साथ दिएको छ ।ब्राम्हणहरु आफै परिवर्तन हुन थालेका छन् । विभेदको दुश्चक्र कमजोर हुँदैछ । लोकतान्त्रिकसंविधान र कानुनको कारण दलित आन्दोलन विजय तर्फ जाँदै छ । उत्पीडन कमजोर र रुग्ण बन्दै छ ।
यस कृतिमा लेखकले २०४७ सालकबो संविधानले उत्पीडित वर्ग र समुदायको पक्षमा खासै परिवर्तन नगरेको बताएका छन् । २०४७ सालले पार्टी स्वतन्त्रता ल्यायो । विचारहरु दलमार्फत अभिव्यक्त भए तर जात, जाति, वर्ग, लिङग, क्षेत्र, धर्म, भाषा र रङ्गका विषयमा खासै परिवर्तन ल्याएन । बरु विचार स्वतन्त्रताले जनयुद्धको आधार निर्माण ग¥यो । २०५२ सालपछि जनयुद्धको तप्त कुण्डबाट नयाँ नयाँविचारहरु सतहमा आए । नयाँ नयाँ विचारहरु जन्मिए ।२०६३ सालमा नेपाली समाजले गुणात्मक छाल हान्यो । नेपाली समाज एकात्मक सत्ताको कुशासनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा आयो । तर उनै पात्र उनै प्रवृत्तिका कारण दलित आन्दोलनले आशातीत परिवर्तनको अनूभूत गर्न सकेन । अहिले पनि दलित आन्दोलनले विश्रान्ति लिन सकेको छैन ।
यस कृतिमाधेरै प्रसङगहरु आएका छन् । छुवाछुत आन्दोलनको चर्चा,जनै पूर्णिमा चाडले दलित समुदायमा पारेको दुश्प्रभाव,श्री कृष्णजन्माष्टमी, अपरिहार्य आरक्षण, मुलुकी ऐनको चर्चा, ब्राम्हणहरुको संकीर्ण मानसिकता, धर्मको नाममा भएको विभेदको कारण हिन्दु हुन नसकेको यथार्थ चित्रण, धर्म परिवर्तनको बाध्यता, दलितको सम्झनामा कविराज अर्याल,समाजसेवी यमबहादुर विश्वकर्माको योगदानको चर्चा, थर परिवर्तन र गोत्रको चर्चा, छुवाछुतको समस्या र अन्त्यका उपायहरु, स्वर्गीय थर्कबहादुर गहतराज र राधा स्वामी सन्त मार्गको चर्चा, पं. छविलाल पोखरेल बारे केही कुरा, रामप्रित पासवानीको योगदानको महिमा, भगवत सर्वजितको योगदानको महत्व,नयाँ मुलुकी ऐन २०२० को चिरफार आदि शीर्षकमा घतलाग्दा प्रमाणहरु साथमा चर्चा गरिएको छ । यो पुस्तक पढेर धेरै लाभान्वित भइन्छ ।
उत्पीडित वर्ग र समुदायको आन्दोलनको योगदानमा डिकबहादुर विश्वकर्माको योगदान धेरै ठूलो छ । उनी दलित आन्दोलनकासंचेतनाका पुन्ज हुन् । आन्दोलन र विद्रोहमा कडा र वस्तुपरक आवाज उठाउनेहरुलाई सत्ताका विष्टवानहरु मन पराउँदैनन् । जनजाति आन्दोलनबाट आएका आङकाजी शेर्पा, मधेसी आन्दोलनबाट आएका राजेन्द्र महतो, दलित आन्दोलनबाट डिगबहादुर विश्वकर्मा आँखी नेता हुन् । तर उनीहरु आफ्नो समुदायका महान हुन् । डिगबहादुर विश्वकर्मा दलित आन्दोलनका वफादर सिपाही हुन् । उनको जीवनी र उनले दिएका योगदानहरु हाम्रो लागि प्रेरक प्रसङग बनेका छन् । हामीले उनले बालेको मसाल र बोलेको वाणीको भाव समाउँदै अघि बढौं ।
अन्त्यमाहित सहितको वाणी नै साहित्य हो । ४० लाख दलितको लागि हित गर्ने हुँदा यो साहित्य नै हो । विधागत रुपमा यो प्रबन्ध साहित्य हो ।यसमा करिव ५० वटा प्रबन्धहरु छन् ।कलाका दृष्टिले उच्च खालका नहोलान् । भावका दृष्टिले उच्च छन् ।पुस्तकको अवरण पृष्ठ सुन्दर छ । यसमा मुट्ठी उठाएका र झण्डा फहराईरहेका आकृतिहरुलेदलित आन्दोलन निरन्तर आवश्यक छ भन्ने देखाउँछ । भाषा सरल र सरस छ ।आफू संस्कृत भाषाका पनि अध्येताभएको हुनाले भाषाले भाव पकड्न सकेको छ । तत्सम, तद्भव र झर्रा शब्दहरुको प्रयोग गरिएको छ । यदाकदा आउने उखानतुक्काले भाषालाई प्रभावकारी बनाएको छ । प्रवाहशील भाषाका कारण कृति पढ्दा अन्त्यसम्म छोड्न मन लाग्दैन । हरेक विषयहरु गरिरिएर राख्न सक्नु उनको क्षमता हो । उनको लेखनी मात्र हैन, उनको बोली रभाषणहरु पनि तिख्खर र बेजोड छन् ।
(रुपन्देही)