चुनावी मिति नजिकिदै थियो । प्रचारप्रसार सघन रूपमा चलेको थियो । एकपछि अर्काे चुनाव प्रचार टोली आउँथ्यो । गाउँघरतिर रमाइलो थियो ।
चुनाव प्रचारको लागि सांसदको टोली हिँड्यो । अलि पर चौपारीमा दुईतीन जना महिला बसेका थिए । टोली नजिकै पुग्यो ।
“आमा नमस्कार ! सञ्चै हुनुहुन्छ ?“ नेताले हात जोड्यो ।
सञ्चै भएको इशारा गरे । मुसुक्क हाँसे ।
“चुनाव आयो । म सांसद उठेको छु । मलाई भोट दिनुहोला ।“ हात जोडेरै बोल्यो नेता ।
“हो आमा, देशले र समयले मागेको नेता उहाँ नै हो । चुनाव चिन्ह बाँदरमा भोट हाल्नु होला ।“ स–विस्तारमा झोले कार्यकर्ता बोल्यो ।
चुनाव र भोट शब्दले उनीहरुको मुटुमा चस्स घोच्यो । तीनै जनाले आँखाबाट आँसु खसाले ।
नेता भावुक बन्दै भन्यो– “सबभन्दा ठूलो देश हो । हैन त आमा ?“
उनीहरु झन मुख छोपेर रुन थाले । अनि बिस्तारै भने– “हो बाबु । सबभन्दा ठूलो देश हो तर ……।“
“तर…. के तर आमा ?“ कुनै आन्दोलनमा आफन्त गुमाएको अनुमान लगाउँदै सोध्यो ।
“हामी त खोटो मोहर हो बाबु !“ एकै स्वरमा भने ।
“मतलब ? तपाईंहरुको पहिचान, आमा ?“ नेताले झन नजिकै गएर जिज्ञासा राख्यो ।
“शरनार्थी ………….!“ उनीहरु भावुक हुँदै भने ।
(कोहलपुर)