लिच्छवी कालसम्म एकीकृत रहेको नेपाल लिच्छवि सभ्यताको पतनपछि कमजोर र छिन्नभिन्न भयो । लिच्छवि वंशका अन्तिम राजा मानदेव तृतीयको मृत्युपछि खस साम्राज्य नेपालमण्डल र तिरहुत साम्राज्य गरी तीन राज्यहरू अस्तित्वमा आए ।
यी तीन साम्राज्यहरूमा खस साम्राज्य विशाल र शक्तिशाली साम्राज्य थियो । खस राजाहरू सिञ्जा उपत्यकालाई केन्द्र बनाएर शासन गर्न थाले । मध्यकालको मध्यतिर आइपुग्दा खस साम्राज्य पनि नेपालमण्डलजस्तै गरी कमजोर बन्यो । दरबारभित्रको षड्यन्त्र, गृहकलह र भारदारहरूको अति महात्वाकांक्षाका कारण यो राज्य शक्तिहीन हुँदै गयो । राज्यका प्रशाशकीय इकाइहरू केन्द्रबाट स्वतन्त्र हुन थाले । यसरी वि.सं. १४४८ सम्ममा ससाना राज्यहरू बन्ने प्रक्रियासँगै खस साम्राज्यको अस्तित्व समाप्त भयो ।
वि.सं. १४३३ मा खस साम्राज्यको राजगद्दीमा अभय मल्ल बसेका थिए । पृथ्वीमल्लको पालादेखि नै कमजोर हुँदै गएको खस दरबार अभयमल्लको पालामा झनै कमजोर भयो । पृथ्वीमल्लको समयमा डोटीले विद्रोह गरेको थियो । दरबारमा उनका महामात्य यशोवर्माको प्रभाव बढेको थियो । बुढेसकालमा पृथ्वीमल्ल धर्मकर्मतिर बढी लागेपछि दरबारमा यिनै भारदारको चकचकी बढेर गयो ।
पृथ्वीमल्लपछि सूर्यमल्ल र अभयमल्लको पालामा वर्मा परिवारको प्रभाव झनै बढ्यो । अभय मल्लले राज्यको अधोगतिलाई रोक्न सकेनन् । यिनकै समयमा विशाल खस साम्राज्यको पतन सुरु भयो । अभय मल्लपछि खस साम्राज्यको प्रशासन वर्मा वंशीय शासक पृथ्वी मल्लका मन्त्री यशोवर्माको हातमा गयो । पहिल्यैदेखि यी महामात्यले दरबारमा आफ्नो प्रभाव जमाउँदै आएका थिए । अभयमल्लको उत्तरार्धमा यशोवर्माका सान्तान मलयवर्मा राज्यका हताकर्ता मात्र हैन राजा नै बनेर राजकाज चलाउन थाले ।
विघटनको सङ्घारमा पुगेको साम्राज्यलाई जोगाउन अभयमल्लले मलयवर्मालाई सत्तामा ल्याएको देखिन्छ । मलयवर्माले पनि खस साम्राज्यलाई एकीकृत राख्न सकेनन् । गृहकलह मिलाउन छोराहरूलाई विभिन्न क्षेत्रको प्रशासक बनाएर पठाए । तर उनै झगडालु र महत्वाकांक्षी छोराहरूले आफूले प्राप्त गरेको प्रशासकीय इकाइलाई नै खस साम्राज्यबाट अलग गरी छुट्टै र स्वतन्त्र राज्यको रूपमा शासन गर्न थाले । वि.सं. १४४८ तिर आइपुग्दा खस राज्य पूर्णरूपमा विभिन्न भुरेटाकुरे राज्यहरूम विभक्त भैसकेको थियो । कर्णाली प्रदेशमा बनेका यिनै ससाना राज्यहरूलाई बाइसे राज्यको नामले चिनिन थाल्यो ।
कतिपयलाई खस साम्राज्य बाइस राज्यमा टुक्रिएकोले यस क्षेत्रा राज्यलाई बाइसी भनिएको होला भन्ठान्छन् । तर त्यसो नभएर कर्णाली प्रदेशका राज्यहरूलाई बाइसे भन्नुको कारण केलाउँदै इतिहासकार सूर्यमणि अधिकारी लेख्छन्, ‘धेरैजसोले कर्णाली प्रदेशमा बाइसवटा र गण्डकी प्रदेशमा चौबिसवटा राज्यको गणना पु¥याउने प्रयास गरी राज्यहरूको संख्याका आधारमा उक्त समूहगत नाम रहेको मानेका छन् तर समस्या के छ भने– एकै समयमा ती दुबै प्रदेशमा क्रमशः बाइस र चोबिस संख्या ठ्याक्कै मिल्नेगरी राज्यहरूको अस्तित्व रहेको पाइँदैन ।’ साथै अधिकारीले बाइसे नामाकरण सम्बन्धमा पनि आफ्नो मत यसरी व्यक्त गर्छन्, ‘बाइसे नामकरण सम्बन्धमा हामीसँग केही आधार छन् । जुम्ला राज्यलाई पहिलेदेखि नै एघार नदी र एघार पर्वतहरूले बनाएको ‘बाइस पाखा जुम्ला’ भन्ने गरिन्थ्यो । बाइसी पख्यौली भन्नाले जुम्ली जनतालाई बुझाउँथ्यो ।’ (अधिकारी ः २०६८ ः २१)
बाइसी राज्यको नाम र संस्थापक
बाइसी राज्य स्थापना संस्थापक अन्तिम राजा नेपालमा विलय
१. जुम्ला वलिराज वि.सं. १४५५ सूर्यभान शाह वि.सं.१८४६
२. डोटी निरयपाल वि.सं. १४०९ दीप शाही वि.सं.१८४७
३. बझाङ शक्तिवम्मसिंह वि.सं. १५०३ समुन्द्रसिंह वि.सं.१८४७
४. बाजुरा डुगरसिंह वि.सं.१५७५ अनन्तपाल वि.सं.१८४७
५. थलहरा जक्तिसिंह वि.सं.१५०० मुकुटसिंह वि.सं.१८४७
६. अछाम इन्द्रवर्मा वि.सं.१४८५ देवचन्द्र शाह वि.सं.१८४७
७. दर्ना उदयवर्मा वि.सं.१४८५ रुद्र शाही वि.सं.१८४७
८. दुल्लु संसारवर्मा वि.सं.१४५३ उत्तम शाही वि.सं.१८४७
९. दैलेख श्रीवर्मा वि.सं.१४७५ कर्ण शाही वि.सं.१८४७
१०.जाजरकोट मेदिनीवर्मा(जक्तिसिंह) वि.सं.१४६१ गजेन्द्र शाह व.सं.१८४३
११. सल्यान सुमेरुवर्मा वि.सं.१४७५ श्रीकृष्ण शाह वि.सं.१८६६
१२. दाङ दलिसिंह वि.सं. १५५० नबलसिंह वि.सं.१८४३
१३. छिल्ली दानबहादुर शाह वि.सं. १७३० वीरभद्र शाह वि.सं.१८४३
१४. मालनेटा रूपनारायण शाह वि.सं. १७९० देउधर्म शाह वि.सं.१८४६
१५. रुकुम पृथ्वीवम(पर्वतवर्मा) वि.सं. १४६१ श्रीदत्त शाही वि.सं.१८४३
१६. गजुल तुथासिंह वि.सं. १५५० गजिन्द्रपाल सेन वि.सं.१८४३
१७. खुमरी हरिज्यूसिंह ? वि.सं.१७५० सुकै सेन वि.सं.१८४३
१८. उदयपुर जसुधर उपाध्याय — इच्छाराम कार्की वि.सं.१८४३
(बाइसे राज्यको माथिको नामाबली प्रा.डा. सूर्यमणि अधिकारीको ‘बाइसे राज्यको इतिहास’ नामक पुस्तकबाट लिइएको हो ।)
अन्य बाइसे राज्य
इतिहासकार राजाराम सुवेदीको ‘नेपालको तथ्य इतिहास’मा थप प्राप्त भएका बाइसे राज्यहरू यसप्रकार छन् । जुन राज्यहरू प्रा.डा. सूर्यमणि अधिकारीको पुस्तकमा पाइँदैनन् । यी राज्यहरू जोड्दा बाइसे राज्यको संख्या तीस पुग्न जान्छ ।
(१) गोताम राज्य
(२) जहारी राज्य
(३) फलावाङ राज्य
(४) धुलिकोट राज्य
(५) मुसिकोट (पल्लो)
(६) बाँफी राज्य
(७) बिसकोट राज्य
(८) सान्नी राज्य
(९) खाँडाचक्र
(१०) बोसाकोट
(११) मजाल
(१२) ज्याकोट
सन्दर्भ सूचि
अभिकारी, सूर्यमणि । बाइसे राज्यको इतिहास, भुँडीपुराण प्रकाशन, काठमाडौं, २०६८
Ø