इतिहास विगत हो । विगतमा मानिसले गरेका काम, घटेका भटना र सामाजिक जीवनको चित्र हो । बाँच्नका लागि गरिएका सङ्घर्षहरूको त्यस्तो चित्र जुन सधै अपूर्ण हुन्छ । निरन्तर थपिदै जाने रङले जसरी प्रारम्भिक चरणको क्यानभास बदलिँदै जान्छ त्यस्तै हो इतिहास । पुरानो विर्सिदै जानु र नयाँ निर्माण हुनु ।
सामाजिक जीवनको उषाकालदेखि नै समाज वर्गमा बाँडियो । उत्पादन शक्तिको क्रमिक विकाससँगै समाजमा अन्तरविरोधहरू बढ्दै गए । उत्पादनशक्तिको प्राप्तीका लागि भएका सङ्घर्षहरूले समाजलाई गतिवान बनायो । उत्पादन र पुनर्उत्पादनका लागि भएका सङ्घर्ष तथा नयाँ र पुराना सम्बन्धबिचको अन्तरविरोधले समाज अहिलेको अवस्थामा आइपुगेको हो । सायद त्यही भएर माक्र्सले ‘अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्ग सङ्घर्षको इतिहास हो’ भनेका ।(माक्र्स ः २०६४ ः २३¬)
सयौँ हजारौँ वर्षको अन्तरालमा कतिपय घटना त हराइसकेका हुन्छन् । बिर्सिइसकेका हुन्छन् । सामाजिक चेतनाको हिसाबले अगाडि, इतिहास मूल्यप्रति सजक र आर्थिक रूपमा सम्पन्न सामाजले सम्भव भएसम्म आफ्नो इतिहास लिपिबद्ध गरेर छोड्यो । युरोपियनहरूले आफ्नो मात्र हैन जहाँजहाँ उपनिवेश खडा गरे अथवा जहाँजहाँ पुगे त्यहाँको इतिहास लेखेर छोडे । राजा अशोकले लुम्विनीमा आएर स्तम्ब नबनाएको भए र टोनी हेगनले खोज नगरेको भए सायद हामीले धेरै कुरा पाउने रहेनछौँ । जुन समाज आर्थिक, सांस्कृति र शिक्षामा पछाडि थियो, जसले इतिहासका मूल्यहरूलाई नजरअन्दाज ग¥यो उनीहरूको इतिहास हरायो । विश्वमा कतिपय त्यस्ता समाज र समुदाय पनि छन् जसको इतिहास छैन । इतिहास नहुनु भनेको देश नुहुनु हो र राष्ट्रियता नहुनु हो । जङ्गलमा डुल्ने बाँदरको इतिहास नभएजस्तै न हो ।
इतिहास आलोचना हो । इतिहास खोज पनि हो । विगतमा घटेका घटनाको खोज र मूल्याङ्क हो इतिहास । ‘उत्पादन प्रक्रियाका क्रममा कसरी उत्पादन सम्बन्धहरू बदलिँदै गएका छन् र नयाँ उत्पादन सम्बन्धले कसरी पुरानाको निषेध गरेर नयाँको स्थापना र विकास गरेको छ र त्यसका आधारमा कसरी स्थापित विचारधारा र मूल्यमा परिवर्तन आउँदै गएको छ भन्ने कुराको मीमांसा इतिहास हो ।’ (पाण्डेय : २०७३ : १८६)
नेपालमा इतिहासमाथि प्रश्न उठाउने काम साठीको दशकदेखि सुरु भएको हो । यसको अर्थ योभन्दा पहिले भएको थिएन भन्ने हैन । भएको थियो । तर ऐतिहासिक भौतिकवादी दृष्टिकोणका साथ इतिहासको अध्ययन र लेखन गर्नुपर्छ भन्ने चिन्तनको विकास भने सामन्तवादको अवसानपछि मात्र भएको हो । सामाजिक परिवर्तनसँगै पुरानो व्यवस्थाले अङ्गिकार गरेका नियमकानुन, संस्कारसंस्कृति र इतिहासप्रति प्रश्न उठ्नु स्वभाविक हो । त्यसमा पनि सामन्ती राज्यव्यवस्थाका पुरातन र अनुदारवादी धार्मिक नियमकानुनको आधारमा निर्माण भएका मूल्यमान्यता, रीतिरिवाज र संस्कारसंस्कृतिप्रति नयाँ पुस्ताले प्रश्न उठाउँछ नै ।
गरिखाने वर्गको इतिहासलाई लुकाएको छ । सत्ताविरोधी र प्रश्नकर्तालाई कुटीकुटी मारिएको छ, झुन्ड्याइएको छ र गरिबका खुन पसिनामाथि इतिहासको जग हालिएको छ । अहिलेको काम त्यही जगमा राखिएका रगतले भिजेका इँटको इतिहास खोज्ने समय हो । विगतको यथार्थ हाम्रा सामु छ । राजामहाराजाहरूले मानव संवेदनमाथि कसरी राइँदाइँ गरेका थिए ? कसरी राष्ट्रको अस्मितालाई कमजोर बनाएका थिए ? सबै खोज्ने बेला हो यो । दार्शनिक एङ्गेल्सले इतिहासको पुनरावलोकन आवश्यक छ भन्छन् । उनी लेख्छन्, ‘सम्पूर्ण इतिहासको पुनरावलोकन आवश्यक छ, विभिन्न सामाजिक पद्धतिहरूको आधारमा तदनुरूपका राजनीतिक, देवानी–कानुनी, सौन्दर्यबोधात्मक, दार्शनिक, धार्मिक, आदि अबधारणाहरूको प्रतिपादन गर्ने प्रयास गर्नुभन्दा पहिले तिनको आस्तित्वको अवस्थाबारे विस्तृत अध्ययन आवश्यक छ ।’ (एङ्गेल्स : २०६४ : ६३)
इतिहास के हो ? इतिहासको निर्माण र विकास कसरी हुन्छ ? नेपालको सन्दर्भमा इतिहासको कुरा गर्दा अहिलेसम्म जसलाई इतिहास भन्ने गरिएको छ त्यो वास्तवमा इतिहास हो कि हैन ? यो निरूपण हुन बाँकी रहेको प्रश्न हो । इतिहास त खोज हो, सभ्यताको विकासमा मानवीय श्रमले निर्माण गरेको यथार्थ हो । उत्पादन शक्ति र उत्पादन सम्बन्धले विकास गरेका अन्तरविरोध र त्यसको आधारमा भए गरेका सामाजिक सङ्घर्षको तथ्यपरक विश्लेषण र संश्लेषण हो । तर अहिलेसम्म हामीले पढ्दै आएको इतिहास इतिहासको नाममा स्तुतिगान र घटनाहरूको इतिवृतान्त हो ।
इतिहास के हो के हैन भन्नेबारे ‘इतिहासको नयाँ दृष्टिकोण’ नामक निबन्धमा नामबर सिंह लेख्छन्, ‘श्रेष्ठ राष्ट्रगीत त्यो हैन जो राष्ट्रिय सङ्ग्रामका घटनाहरूको सूची बनाउँछ, त्यो हो जो त्यस सङ्घर्षको आगोलाई देशप्रेमको स्निग्धताद्वारा दीप्त गर्छ ।’ (सिंह : २०११ : १४५) इतिहासमा भएका सामाजिक र राजनीतिक आन्दोलन, सङ्घर्ष र युद्धबाट सिर्जना भएका उदात्त चेतना र अभिघातका असैह्य चोटहरूलाई खोज्नु, मानवीय संवेदनामाथि भएका अतिचार, हिंसा, बलत्कार र अतिचारलाई अध्ययन गर्नु इतिहास हो ।
साहित्यकार ऋषिराज बराल घटनाहरूको तथ्याङ्क मात्र इतिहास हैन भन्छन् । मानवीय श्रम र सौन्दर्यसँग जोडिएर आउने घटना र परिघटनाको एकीकृत रूप इतिहास हो भन्छन् । उनी लेख्छन्, ‘इतिहास बितेका घटनाहरूको तिथिमिति सङ्कलन र घटना तारतम्यको तथ्याङ्क मात्र होइन । इतिहास मानवीय श्रम र सौन्दर्यसित सम्बद्ध विविध घटनावलीहरूको मोठ रूप हो ।’ (बराल : २०५२ : १४७)
इतिहास विगतको त्यस्तो यथार्थ हो जसको आधारमा टेकेर मानव सभ्यता यहाँसम्म आयो । इतिहास निर्माण एक महिना वा एक वर्षका घटना वा मानवीय गतिविधिले निर्माण हुने हैन । सयौँ हजारौँ वर्षको मानवीय श्रम, उत्पादन शक्ति र उत्पादन सम्बन्धबिचको अन्तरसङ्घर्षले विस्तार र विकास गरेको सभ्यताको सम्यक विश्लेषण हो इतिहास । इतिहास मान्छेले मानव सभ्यता अझ सुन्दर बनाउन गरेका सङ्घर्ष र त्यसबाट निर्मित चेतनाको सङ्ग्रह हो जुन अनेक घातप्रतिघातबाट निर्माण हुन्छ । त्यसकारण इतिहासको अध्ययन र लेखन मानव सभ्यताको विकास र प्रगतिको गतिशील यथार्थको आधारमा गर्नुपर्छ ।
इतिहास भनेको राजा महाराजाको गाथा कदापि हैन । समाज निर्माणका लागि गरिने श्रम, मान्छेको सपना, पीडा र भविष्यप्रतिको दृष्टि हो इतिहास । युद्ध, सङ्घर्ष र सामाजिक घटनाहरूको विवरण दिनुमात्र इतिहास हैन । इतिहासले घटना घट्नुको कारण र उपादेयताको विवेचन गर्न सक्नुपर्छ । भारतीय समालोचक मैनेजर पाण्डेले इतिहास विरोधी चिन्तनको विरोध गर्दै लेख्छन्, ‘मानिसले आफ्नो इतिहासको व्याख्या मात्र गर्दैन, स्वयम इतिहास बनाउँछ र बदल्छ पनि ।’ (पाण्डेय : २०१३ : २५)
(इतिहास, लेखन र पुनर्लेखनबाट)