भर्खरै काठमाडौंमा नयाँ ‘नेपालका प्रतिबिम्ब’ शीर्षकमा बृहत् कला प्रदर्शनी सकिएको छ । गत हप्ताभरि नेपाल कला परिषदको हलमा भिन्नै माहोल थियो । त्यहाँ छुट्टै दृष्टिकोण र छुट्टै प्रस्तुतिका साथ रङहरूमा नयाँ नेपालको बिम्ब प्रतिबिम्बित थियो । त्यहाँ जीवनको भाका थियो । वर्तमानको चित्र थियो । र, जनताले लडेको महान् जनयुद्धमा श्रमशील हातहरूद्वारा रङ सजिएको थियो ।
कला प्रदर्शनी प्राय भइ नै रहन्छन् । कोही दामका लागि, कोही नामका लागि र कोही आत्मतुष्टिका लागि । तर निःस्वार्थ राष्टसेवाका लागि गरिने कला प्रदर्शनी कमै हुन्छन् । अमुर्ततामा रमाउँदै र नवीनतादेखि टाढा भाग्दै रचिएका कला र कला प्रदर्शनीको निरन्तरतामा क्रमभङ्ग गर्दै आयोजना गरिएको उक्त कला प्रादर्शनीमा नेपालको सुन्दर चित्र थिया । यसले कलाक्षेत्रमा नयाँ तरङ्ग पैदा गरेको छ ।
भर्खरै गठन भएको हो ललितकला सङ्घ । तर नयाँ नै भए पनि जुझारु र नयाँ नेपाल निमार्णको दिशामा प्रतिवद्ध युवा कलाकारहरूको उक्त संगठनले अहिलेसम्मकै विलक्षण काम गरेर देखायो । उसले देशैभरि छरिएर रहेका नवप्रतिभाहरूलाई मात्र एकीकृत गरेन, कलामा विविध विधाको माध्यकद्वारा नेपाली जनताको सुन्दर सपना प्रतिबिम्बित गर्ने काम समेत ग¥यो । महान् जनयुद्धको महत्त्व र आवश्यकतालाई चारैतिरबाट होच्याउने र अवमूूल्यन गरिरहेको बेला यी कलाकारहरूले आफ्नो कलाद्वारा जनयुद्धको महत्व र गरिमालाई मूर्तिकृत गर्दै सम्मानित गर्ने काम गरे । उनीहरूले प्रदर्शनीमा जनयुद्धमा आफ्नो जीवनको आहुति दिने ती महान् सहिदहरूलाई मात्र सम्झना गरेनन्, उनको बलिादान र उत्सर्ग लाई अझै उचो राख्ने काम गरे । चाहे त्यो मूर्तिकला होस् वा चित्रकला, चाहे त्यो लोककला होस् अथवा जर्बुटाकला, सबैले जनयुद्ध र जनआन्दोलनको ऐतिहासिकता, महानता र सुन्दर नेपाल निर्माणको सपना मुखरित गर्ने काम गरे ।
यो कला प्रदर्शनी यस अर्थमा पनि महत्वपूर्ण थियो कि ‘कला कलाका लागि’ र ‘कला राजनीतिभन्दा अलग रहन्छ’ भन्नेलाई कलामा विचार, राजनीति र समाज कसरी समायोजित हुन्छ भन्ने कुरा देखाउन सफल भयो । यो प्रदर्शनी कलामा कला खोज्नेहरूको नभई कलामा जीवन खोज्नेहरूको थियो । कलालाई जीवन र जगतभन्दा टाढा लग्ने र अमूर्ततामा रमाउने स्वनामधन्य कलाकारलाई यसले गतिलै झापट दिएको हुनुपर्छ । कला जीवनको पुनः सिर्जन हो, कला श्रम र सभ्यताको पहिचान हो । कलाले इतिहास बोल्छ । कलाले जीवनकोे सुखदुःखलाई व्यक्त गर्छ र कलाले उन्मुक्ति र स्वतन्त्रताको गीत गाउँछ । निश्चय पनि यस शताब्दीकै महान् र बलिदानीपूर्ण युद्ध, यसको उठान र यसको विजयको गतिलई व्यक्त गर्ने काम गरेको छ यस कला प्रदर्शनीले ।
यस प्रदर्शनीले नेपालको कला क्षेत्रमा एउटा भिन्नै किसिमको सनसनी फैलायो । आजसम्म कलालाई नेपालको राजतन्त्र र सामन्तवादको गुणगान गाउन प्रयोग गरिँदै आएकोमा यसले आफ्नो शिल्पद्वारा नेपालको माटोमा जन्मिदै गरेको नयाँ सत्ताको अनिवार्यता र सशक्तताको उद्घोष ग¥यो । प्रायः सबैजसो सञ्चार माध्यमहरूले यसलाई ठूलो महत्व दिए । ललितकलाको कुरा गर्दा त्यसमा पनि ललितकला प्रज्ञा प्रतिष्ठानको कुरा गर्दा के माओवादीमा पनि कलाकार छन् र भन्नेहरूलाई अखिल नेपाल ललितकला सङ्घले राम्रै जवाफ दियो । आफूलाई अब्बल दर्जाको कलाकार सम्झिनेहरू, जसको विगतमा ललितकलालाई सामन्तको सेवामा लगाउने बाहेक जनताको पक्षमा केही गरेनन्, त्यस प्रदर्शनीमा देखिएनन् । मदन चित्रकार, कालु कुमाले, जीत बहादुर रायमाझी, मानबहादुर दोङजस्ता अग्रज कलाकारहरू नवप्रतिभाहरूलाई हौसला बढाउँदै प्रदर्शनीमा सहभागी भए । तर प्रज्ञाप्रतिष्ठानको नेतृत्वको दावा मात्र होइन मबाहेक को छ र कुलपति हुने भन्दै आफूलाई अब्बल दर्जाका सम्झनेहरू न कलामा देखिए न अवलोकनमा । के त्यही हो त प्रज्ञाको नेतृत्वको दावा गर्नेहरूको कला र कलाकारप्रतिको दृष्टिकोण ? यस्ता दम्भी र पुरातन सोचद्वारा ग्रसित कथित शिखर व्यक्तित्वद्वारा नयाँ नेपालमा कलाको भविष्य उज्जल होला ? प्रश्न गर्ने ठाउँ प्रसस्तै छन् ।
आयोजकहरू प्राय युवा छन् । उनमा नयाँ जोश र नयाँ उमङ्ग छ । उनीहरू पद र प्रतिष्ठाका लागि हैन, नेपालको कलाको विकासका लागि दत्तचित्त छन् । उनीहरूले कहिले घेरा आन्दोलनद्वारा नयाँ नेपालको बिम्ब प्रदर्शित गर्छन् । त्यहाँ लालसिं लामा र देवेन्द्र थुम्केली छन् । उत्तम डंगोल र राजेन्द्र शाक्य छन् । त्यहाँ उमेश श्रेष्ठ, अग्नि पौडेल र कृष्णसेन इच्छुकको भव्य प्रतिमा बनाएर हाइहाइ कमाउने नरेन्द्र भण्डारी छन् । त्यस सामूहिक कला प्रदर्शनीमा रङमा खेल्ने मात्र हैन ढुङ्गा र धातुसँग पौठेजोरी खेल्नेहरूदेखि माटो खोस्रिएर जर्वुटाको माध्यमद्वारा जीवनलाई कलाम व्यक्त गर्ने विश्वम्भर लामिछाने पनि छन् ।
टाढाटाढा देखि आएका कलाकारहरूले पुँजीवादी समाजले सिकाएझैँ प्रत्येक पलको नाफा नोक्सानको कुरा गर्दैनन् । कलाका लागि सर्वश्व गुमाएका यी कलाकारहरू मात्र दर्शकको प्रतीक्षामा चिसो खाँदै बसेका छन् प्रदर्शनी हलमा । उनको कला हेरिदिए मात्र हुन्छ । कलाद्वारा व्यक्त जीवनलाई बुझ्ने चेष्टा गरिदिएमात्र पुग्छ । विश्वम्भर भन्छन्– ‘मैले यी कलाहरू बिक्रीका लागि ल्याएको हैन, म त विगत र वर्तमानलाई जर्वुटा कलामार्फत पनि देखाउन सकिन्छ भन्ने सन्देश दिन आएको हुँ ।’ हो त कस्तो समायोजन विगत, वर्तमान र भविष्यको ? एउटा सानो कलाले विराट् जीवनलाई बोलेको छ । एउटा सानो हेराइले समग्र जीवनको गहिराइलाई खोलेको छ ।
पहिलोपटक यस्तो ऐतिहासिक प्रदर्शनी गर्न पाएकोमा कलाकार हर्षित देखिन्छन् । तर कोट्याउँदै जाँदा उनीहरूमा रहेका गुनासा, रोष, र घृणा एकपछि अर्को गर्दै खुल्छन् । उनीहरूमा राष्ट्रले कला र कलाकारप्रति गरेको अर्घेल्याइँप्रति रोष छ भने विगतको कलाको स्वर्णिम इतिहासलाई धुलोमा मिलाउने राजतन्त्रप्रति घृणा छ । केही गुनासा पनि छन् । कैयौँ पटक फोन गरेर डाक्दा पनि प्रदर्शनी अवलोकन गर्न नआइ कला प्रदर्शनीलाई होच्याउने कथित संस्कृतिकर्मी र सौन्दर्यचिन्तकहरूप्रति घृणा जागृत भएको छ । राजनीतिज्ञ र साहित्यकारप्रति पनि गुनासा छन् । साहित्यकारहरू ललितकलालाई होच्याउँछन् । राजनीतिज्ञ कलालार्ई अनुत्पादक क्षेत्र भनेर लत्याउँछन् । उनीहरूले किन नबुझेका कलाको महत्वलाई ?
कला त सम्पूर्ण साहित्यको जननी हो । कला जीवन र चेतनाको प्रथम रश्मि हो । हिजो सामन्तवादले यसलाई आफ्नो दासताको तलुवामुनि दवाइ राखेर आफ्नो भजन गाउने साधनको रूपमा लियो । तर नयाँ नेपालका राजनीतिज्ञहरू पनि किन नआएका त यहाँ ? सौन्दर्यचिन्तक किरणले घन्टौँ लगाएर अवलोकन गर्दा आधाघन्टाका लागि किन नआउनुभएको जनताका प्रधानमन्त्री । श्रममन्त्री लेखराज भट्ट, सञ्चारमन्त्री कृष्ण वहादुर महरा, संस्कृतिमन्त्री गोपाल किराती लगायत त आए तर पनि सन्तुष्ट छैनन् आयोजकहरू । संयोजक थुम्केली प्रश्न गरिरहन्छन् ‘यी नेता, साहित्यकार र बुद्धिजीवीहरूले कला नपढेकै हुन् त ? कैयौँ विदेशी आए, विद्यार्थी र सर्वसाधारण आए, तर किन आएनन् साहित्यकार र कलाको गफ गरेर नथाक्ने पण्डितहरू ?
हो, उनीहरूले कलालाई बुझेकै छैनन् । उनीहरूले जीवनको गीत त गाउँछन् तर जीवनको गरिमा र गतिलाई बुझ्दैनन् । उनले कलाको बारेम भाषण त दिन्छन् तर कलाको महत्वलाई नजरअन्दाज गर्छन् । मात्र पद र पैसा चाहिएको छ । मात्र प्रतिष्ठा र सम्मान चाहिएको छ । किन चाहियो र कला ?
हुनत बृहत् कला प्रदर्शनीको उद्घाटन सूचना तथा सञ्चारमन्त्री कृष्ण वहादुर महराले गरेका हुन् । कार्यक्रमदेखि अवलोकनसम्म प्रायः एउटै पार्टीनिकट लेखक कलाकार र राजनीतिज्ञ आउनु भनेको निश्चय पनि सुखद हैन । हुनत पद्रर्शनीमा परम्परागत थाङ्का, पौवादेखि धातु र प्रस्तर मूर्तिका साथै कर्णाली र मिथिला क्षेत्रका लोककला र समसामयिक चित्र तथा मुर्ति राखिएको थियो । यति हुँदाहुँदै पनि प्रदर्शनीमा जनयुद्ध, क्रान्ति, जनआन्दोलन, अग्रगामी गणतन्त्र र जनयुद्धका सहिदका बिम्ब झल्किने कलाकृति राखिएकोले पनि होला यस्तो महसुस गरिएको ।
कला राष्ट्रको इतिहास, जीवनको पुनःसिर्जन र समग्र सभ्यताको प्रतिबिम्ब हो । तर पनि कति कमजोर दृष्टिकोण छ यसलाई बुझ्नेहरूमा ? कति कमजोर आँखा छन् यसलाई हेर्नेहरूका ? थुम्केली भन्दै थिए– ‘न राष्ट्रिय नीति छ, न त योजना र कार्यदिशा छ । न प्रोत्साहन छ न कलाकारको मूल्याङ्कन छ । के यही अकर्मण्य र दिशाहीनताले हाम्रो कलाको विकास होला ?
तर पनि भविष्य उज्वल छ । उज्वल भविष्यको खोजीमा जुर्मुराउँदै उठेका छन् कलाकारहरू । कलालाई आफ्नो जीवन सम्झने यी कलाकारहरूले रङ र कलामा व्यक्त गरेको ‘नयाँ नेपालको प्रतिबिम्ब’ साकार होस् । कला र संस्कृतिको धनी भएर पनि बत्तीमुनिको अँध्यारो बन्न पुगेको हाम्रो राष्ट्र यी कलाकारले सोचेजस्तो समुन्नत र सुन्दर बनोस् । यही शुभकामना छ कलामा जीवनको गरिमा उतार्नेहरूलाई ।
(जनदिशाः पुुस, २०६५)