“नमस्कार हाकिम सा’ब ! म निखिल, हजुरकै पार्टीको, हजरकै कट्टर अनुयायी । हजुरलाई भव्य स्वागत गर्दै सफल र सुखद कार्यकालको कामना गर्दछु ।”
“नमस्कार ! नमस्कार!! निखिलजी । अब सहयोग गर्ने पालो तपाईहरूकै हो ।” हाकिमले भने ।
निकै समयको रस्साकसीपछि संस्थानमा राजनीतिक नियुक्ति ल्याएर अर्को पार्टीका प्रमुखले पद बहाली गर्दा पुरानो प्रमुखले आस्था राख्ने राजनीतिक पार्टीसँग आबद्ध कर्मचारीहरूको मनस्थितिमा निकै तरङ्ग आइसकेको थियो ।आधाभन्दा बढीले नयाँ प्रमुखका अगाडि आस्था प्रकट गरी छेपारे प्रवृत्ति देखाइसकेका थिए भने बाँकी सबैको अनुहारको रङ उडिसकेको थियो ।अवसर अनुसारको भाका फेर्नेहरूकै बाहुल्य हुँदोरहेछ जता पनि । अस्थायी प्रकृतिका कर्मचारीको बाहुल्य भएको सो संस्थानका कर्मचारीहरू कुनै आशले त कुनै त्रासले नयाँ हाकिमप्रति निकै आस्थावान् भइसकेका थिए ।
फरक राजनीतिक आस्थाका कारण अगिल्लो हाकिमबाट अवसरबाट पन्छ्याइएको दाबी गर्ने निखिल यसपटक आफ्नै पार्टीको हाकिम आएकोमा निकै उत्साहित थियो ।नियुक्तिको हल्लासँगै उसको मुहारमा कर्मचारीले तलब बुझ्दाका दिनको जस्तो उमङ्ग थियो ।अब आफ्नै पार्टीको कार्यालय प्रमुख हुँदा त नियम मिलोस् कि नमिलोस् पुरानाले गरेको अन्यायको बदला/ क्षतिपूर्ति लिने सपनामा निखिल रम्ने गर्दथ्यो ।प्रमुखको पदबहालीदेखि नै उसमा निकै उत्साह र स्फूर्ति देखिन्थ्यो । नयाँ हाकिमलाई सबै सङ्घ सङ्गठनहरूले स्वागत गर्ने, बधाई दिने र सम्मान गर्ने कामको तीव्र लहर चल्यो ।पुरानो हाकिमलाई भन्दा भव्य तरिकाले स्वागत गर्दै यस पटक उनीहरूको अगिल्लो पटकको क्षतिपूर्ति मात्रै पूरा गरेनन् भिन्न पार्टीकालाई दरिलो झड्का दिए ।
निखिलको पनि हाकिमलाई सम्मान गर्ने र सोही सम्मानका आडमा आफ्नो अभीष्ट सिद्ध पार्ने ध्येय थियो ।आफ्नै पार्टीको हाकिमबाट काम नहुने सम्भावना नै छैन भन्ने उसले मनमनै सोचेको थियो ।हाकिमलाई रिझाउन पसलबाट सबैभन्दा बढी मूल्य पर्ने दोसल्ला पछि पैसा दिन्छु भनेर लग्यो।मन फुकाएर उसले भव्य कार्यक्रम गरी नयाँ हाकिमलाई उसले दोसल्ला ओढाएर सम्मान ग-यो र आफू सोही पार्टीकै इमानदार कार्यकर्ता भएको र फरक पार्टीप्रति आस्थावान् भएकै कारण आफू अवसरबाट वञ्चित भएको व्यहोराको बिन्ती बिसायो।
हाकिमले बुझेझैँ गरी भोलि फाइल हेर्ने र नियम सङ्गत काम गर्ने जनाई भोलि भेट्ने बतायो।अब ऊ आफ्नो काम हुनेमा विश्वस्त भयो र साँझ मन मिल्ने साथीहरूलाई बोलाएर खुसीयाली मनायो ।भोलिपल्ट नयाँ हाकिमले निखिललाई बोलाएर यो काम नियम सङ्गत नभएकाले गर्न नमिल्ने भनेपछि निराश भयो ।कमेरोले पोतेको घरलाई बाछिटाले पखालेपछिको रूप लिएर निखिल कार्यालयबाट निस्कियो र दोसल्ला किनेको पसलमा गयो र पसलेसित सोध्यो, “साहुजी ! अस्ति लगेको दोसल्लाको मोल कति हो ?” साहुजीले अनुहार नै नहेरी भने, ” पाँच हजार ।” क्लान्त र निराश भएको निखिलले “हँ ” मात्रै भन्न सक्यो ।
(पाटन, बैतडी)