परिचय
राजु स्याङ्तान नेपाली समाजको अधारभूत गुण परिवर्तन गर्न लागिपरेका संस्कृतिकर्मी हुन् । नेपाली संस्कृतिको अध्ययन र वर्गीय स्वरूपको सामाजिक तथा आर्थिक पक्षको विविध पाटोलाई कला र गलाका माध्यमबाट उनी निरन्तर प्रस्तुत गर्दैै आइरहेका छन् । पछिल्लो पाँच वर्षको अवधिलाई हेर्ने हो भने राजु स्याङ्तान मूलतः कवि व्यक्तित्वको निर्माणका यात्रामा निरन्तर होमिइरहेका छन् ।
नेपाली समाजमा देखिएको सबै खाले अवसरवाद र शोषण तथा दमनको स्वरूपलाई मसिनो ढङ्गबाट बुझेका राजु नेपाल र नेपालीको मौलिक रूप बचाउन नेपालभित्रको सबै जातजाति र भाषाभाषीको पहिचान जोगिन जरुरी छ भन्दछन् । आफूलाई सिमान्तकृतको पीडा पोख्ने कविका रूपमा चिनाउन जरुरी छ भन्दछन् । आफूलाई सिमान्तकृतको पीडा पोख्ने कविका रूपमा चिनाउन प्रयत्नरत यी प्रतिभाका कविताहरूमा विचारको बलियो उपस्थिति देखिन्छ । गद्य कवितामार्फत् गहन भाव व्यक्त गर्न रुचाउने राजुका वाचन कला समेत खारिएको छ । कवि मण्डलीसँग रमाउन चाहने राजु पेशाले सञ्चारकर्मी र समाजशास्त्र विषयका विद्यार्थी हुन् । श्रमबाट व्यवहार टार्दै र सिर्जनाद्वारा आफूलाई खार्दै अगाडि बढेका राजुका फुटकर रूपमा प्रकाशित र पाठक तथा सङ्घसंस्थाबाट पुरस्कृत पाँच ओटा कविताको चर्चा यहाँ गरिएको छ।
पठनभाव
कवि राजु स्याङ्तान प्रतिनिधि वैचारिक कविताका रूपमा ‘गुमनाम ताराहरू’, ‘एउटा दासको घोषणा–पत्र’, ‘रामबहादुर मार्ग’, ‘रेमिट्यान्स’ र ‘बाघले लोरी गाउँदैन’ जस्ता कविता प्रकाशित रहेका छन् । उनका कवितामा सयौं वर्षदेखि पछाडि पारिएका श्रमिक वर्गको आवाजलाई स्थान दिने प्रयत्न भएको छ । कमजोर मानिएको पात्र उनको कवितामा बोल्छन्, चल्छन् र विचारको खेलाडी बन्छन् । तथाकथित कविशिरोमणि, राष्ट्रकवि, जनकवि जस्ता सत्तानिकट पदवीप्रति कविको फरक अभिमुख रहेको छ । देश बनाउन लागि पर्नेहरूको इतिहास नलेखिएको प्रति उनको चासो छ । वैदेशिक रोजगारमा जानेले पठाएको विप्रेषणले नेता मौलाएको र हिंस्रक जन्तुले जति नै आदर्श वा राम्रो व्यवहार देखाउन खोजे पनि पत्याउन नहुने वैचारिक भावावेग कविताको कथ्य र लक्ष्य दुवै बनेर आएका छन् ।
साक्ष्य र समीक्षा
‘गुमनाम ताराहरू’ शीर्षकको कवितामा कविले गद्य अनुच्छेदमा विचारलाई वितरण गरेका छन् । के यो देशमा जीवनभर गाँस, बास र कपासका लागि लड्ने ग्रामीण भेकका नेपालीलाई सम्मान गर्नु पर्दैन ? उनीहरूले राष्ट्रको सेवा गरेका छैनन् ? कविताले खोलेको छ भाव र बोलेको छ मर्म;
देशको नामै नभएको नागरिकतासहित कालापानीमा मारियो राष्ट्रकवि नथ्युराम चमार उसले अदालत बाहिर भनेको थियो अब जीवनभन्दा गह्रौ एउटा कविता लेख्छु अनि प्रमाणित गरि देखाउँछु को हो यो देशको असली नागरिक (गुमनाम ताराहरू, अनुच्छेद ६)
जबसम्म प्रत्येक नेपालीले गरेको योगदानको कदर राष्ट्रले सम्बोधन गर्न सक्दैन तबसम्म यो देश प्रगतिपथमा हिँड्ने छैन । लुटतन्त्रको जगेर्ना गर्ने २००७ सालदेखि लुटिखान पल्केका पार्टी र नेताको शृङ्खला २०१७ सालपछि नवीन शैलीमा २०४६ सालपछि नाङ्गै र अहिले त झन् दिन दहाडै ब्रम्हलुट मच्चाउदै अगाडि बढेका छन् । संविधानको एक थान कागजले मात्र देशको इज्जत नजोगिने विषयप्रति कविको गम्भीर ध्यानाकर्षण हुन पुगेको छ । अधुरो र मधुरो देशको राष्ट्रियतालाई पुन जागृत गर्न कविले विचारको स्वर उरालेका छन् ।
अरुणपारीको डाँडा पाखामा रोप्नुछ सुनाखरीका विरुवाहरू मुस्कुराएपछि सुनाखरी त्यही सुनाखरीको पत्रमा लेखेर पूरा गर्नुछ अधुरो राष्ट्रियगान
आदर्शवादी राष्ट्रियगान हाम्रो आवश्यकता नभई यथार्थ नेपालीमानको खोजी कविताले गरेको छ । ‘एउटा दासको घोषणपत्र’ कवितामा कविले प्रथम पुरुष शैलीमा दासको अनुभूति सार्वजनिक गरेका छन्;
कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिन खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा छैन कुनै मूल्यसूची तर बेचिएको छु प्रत्येक पल (एउटा दासको घोषणापत्र – अनुच्छेद–२)
विश्व मानव बन्नु पर्ने नेपालीको असली नियति यही बनेको छ । उदारवाद र भूमण्डलीकरणले देशलाई खर्लप्पै निलेको छ । आज बजारवाद यति हावी भएको छ त्यो हामी नाङ्गो आँखाले हेर्न सक्दैनौं । देशको प्रत्येक नागरिक विश्व जमीन पीडा भोग्न बाध्य छ तर प्राप्त गर्न असमर्थ छ सफलता । लड्नेहरूको इतिहास छायामा पारिएको छ । जानीबुझी सकूनी पासामा राज्य व्यवस्था लड्किरहेको छ । विश्वलाई नवनिर्माण गर्न अब पुनः स्पार्टाकसहरू जन्मनु पर्ने आवश्यकता छ । पुर्खाको कङ्काल घोटेर सामन्तहरूले हामीलाई न्याय होइन अन्याय, विभेद र दमन शोषण दिए त्यसको विरुद्ध अब पुनः विद्रोहको आवश्यकता भइसकेको छ । मिथकीय पात्र र पुराना ऐतिहासिक सन्दर्भलाई कविताभित्र छिराएर कविले के हामी यसरी नै जिउनु पर्ने हो ? हाम्रो मुक्ति सम्भव छैन ? गम्भीर प्रश्न उठाएका छन् ।
कवि ‘रामबहादुर मार्ग’ कवितामा जनता नै इतिहास र वर्तमानको निर्माणकर्ता भएकाले शासकको होइन श्रमिकको नाम इतिहासमा अङ्कित हुनुपर्नेमा तर्क गर्दछन् ।
हिजो बेलुका पिएपछि एक डबका जोस आपा निस्कनु भएछ राजमार्गमा कराउनु भएछ जोड जोडले साला को हो महेन्द्र भनेको ? यो महेन्द्र राजमार्ग पनि होइन पूर्व–पश्चिम राजमार्ग पनि होइन ‘मैले बनाएको हुँ, मैले’
हो जनता सामान्य अवस्थामा भएका बेला किन अपनत्व महसुस गर्न सक्दैन आफ्नो देशभित्र ? किन रमाउन सक्दैन नशा नपिएको बेला आफ्नो कर्ममा ? कारण छ, त्यो हो काम गर्ने जनता थैलो भर्ने शासक । यही पीडा कवितामा शक्तिशाली विचार बनेर उभिएको छ । आज हामी पुनः नवविचारको निर्माणमा छौं । पहिलेको विचार पुरानो भयो । क्रान्तिकारीहरूको विचार भनिएको पनि नेतालाई मात्र भयो । अब त हामीले स्वाभिमानको विचार लेख्नुपर्छ । परनिर्भरताको विपक्षमा उभिनुपर्छ र यथार्थको कसीमा चुलिनु पर्छ । आफ्ना पीडालाई भुल्न रोएर होइन जोखिमलाई छोएर मात्र सम्भव छ ।
‘रेमिट्यान्स’ शीर्षकको कवितामा कविले शोषक र शासक दुवैलाई एकैचोटि राम्रो ढङ्गले प्रहार गरेका छन् । औपचारिकताका लागि राष्ट्रियगान देशको बेरोजगारी समस्याको समाधानमा किन साधक बन्न सक्दैन । के भोको पेटले दुःख गरेर कमाएको पैसा यहाँका ठेकेदारहरूको आम्दानी बढाइदिनका निम्ति हो ?
आरुको बोटमा झुण्डिरहने एउटा रक्ताम्य कमिज थियो हिजो बेलुकी हरायो कसैले थाहा पाएन (रेमिट्यान्स, अनुच्छेद १) कालापानीको डिलमा एकलास मुर्झाइरहने एउटा जंगेपिलर थियो त्यो पनि हरायो गाएन कसैले राष्ट्रियगान (रेमिट्यान्स, अनुच्छेद ४)
हामी आज केवल रमाइरहेछौं रेमिट्यान्समा । राज्य स्वयम् अदक्ष कामदारहरूलाई विदेशमा पठाएर रोजगारीको सिर्जना गरिरहेको छ । खुल्ला अर्थ नीतिका पक्ष पोषकहरू देशको कारखाना बेचेर गाइरहेका छन् समृद्धिको गाना । कुल ग्राहस्थ उत्पादन नबढेकोमा चिन्ता मानिरहेका छन् । देश कंकाल बनाउनेहरू नै छानिएका छन् उत्कृष्ट अर्थमन्त्री ।
कविताले यो सबैतिर प्रतीकात्मक हमला गरेको छ । किन ? यस्तो हुन्छ । के अब देश, अस्थिरता, मौलिक र हाम्रो गौरवपूर्ण इतिहासलाई बेच्ने हो यसैगरी ? कवि आलोचक त भएका छन् नै उनले आक्रोश समेत ओकलेका छन् । कविको दृष्टि नेपालको यात्रा अधोगतितर्फ छ कसरी रोक्ने भन्नेमा केन्द्रित छ ।
‘बाघले लोरी गाउँदैन’ कवितामा आक्रोश व्यक्त गर्दछन् । आफूलाई जतिसुकै पीडा दिएर थुनेर राखे पनि स्वभाव नमर्ने कुरा प्रतीकात्मक रूपमा उठाएका छन् ।
इतिहास लेख्ने लेखन्दासले लेख्न छुटाएको एउटा अनाम अक्षर हुँ म नसिकाऊ मलाई कानुनका कुरा तिम्रो कानुन विरुद्धको कानुन हुँ म (बाघले लोरी गाउँदैन, अनुच्छेद ३)
‘झेली’ कानुनले जीवनयात्रामा चेतना थप्ने कामलाई रोक्न सक्दैन । किन भइरहेको छ यस्तो भाव सञ्चार त्यसको जरो बुझ्नका लागि जोड दिन्छन् । कसैले लेखिदिएको कानुनले कानुनका निर्माता जनतालाई नहुने उद्घोष कविको रहेको छ । यही देशमा नङ्ग्रा खियाउने जनता यो देश छोडेर नजाने बरु शोषक र सामन्तलाई लखेट्ने चेतावनी कविताले दिएको छ ।
ऐनको डोरीले मलाई जब बाँधिदियौ गाईको गोठमा मान्छे र पशुको दोसाँधमा बाँचेर नमासिकनै आज आइपुगेको छु यहाँसम्म (बाघले लोरी गाउँदैन, अनुच्छेद ५)
आज पुनः समाजको विभेदलाई राम्ररी बुझेरमात्र समस्याको समाधानतर्फ लाग्नु पर्दछ । नत्र जनता बाघ बनेर निस्कनुको विकल्प के नै छ र ! अभाव र अपमान नै जीवनलाई निर्णायक मोडतिर लैजाने घटना हो ।
निष्कर्ष
जीवनलाई अग्रगतिमा मात्र होइन, जीवनको परिभाषालाई अब निराशाबाट माथि उठाउनका लागि चेतनाको यात्रा अपरिहार्य रहेको छ । जीवन खाली रुनका निम्ति होइन बदल्न र अझ पहिले बदलिन पो हो । जनताको चेतनास्तर नउठे लुटका नवीन नवीन लयबोधले जनता ठगिने छन् । कविको ठम्याइ छ के हामीले परिवर्तन गरेको यस्तै अस्तव्यस्त हेर्नका लागि हो त ! अब रोएर होइन समस्यालाई छोएर निर्भिक भर्य बढ्नुको विकल्प छैन । कविले आशाको सञ्चार गर्न विभिन्न मिथक र प्रतीकहरूको प्रयोगलाई बढाएको भए पनि कतै कतै अथिक जटिल भएको छ । ‘रेमिट्यान्स’ जस्ता कविता भने पूर्ण सम्प्रेष्य बन्न सकेको छ ।
(चितवन)