(१) मकवानपुर
सेन वंशावली अनुसार मुसलमानको आक्रमणपछि चितौरका राजवंशी सेनहरू वि.सं. ११९९ मा नेपाल पसेका थिए । यसरी नेपाल छिरेका सेनहरू मकवानपुर आसपास बसेको पाइन्छ । त्यहाँबाट पाल्पातिर सर्दै गएका सेनहरूले स्वतन्त्र पाल्पा राज्यको स्थापना गरेको थिए ।
यसरी पाल्पा राज्य स्थापना गर्नेमा रत्नसेनका एघारौँ पुस्ताका राजा रुद्रसेन थिए । यिनले वि.सं. १५५० मा पाल्पा राज्यको स्थापना गरेका थिए
रुद्र मल्लको मृत्युपछि वि.सं. १५७५ मा मुकुन्द सेन पाल्पाको राजगद्दीमा बसे । सेनवंशी राजा मुकुन्दसेनले पाल्पा राज्यलाई पूर्वमा मोरङ, झापा र भारतको पूर्णियासम्म पु¥याएका थिए । मुकुन्दसेनको मृत्युपछि मकवानपुरको प्रशान हेर्न जिम्मा पाएका कान्छा छोरा लोहाङसेनले वि.सं. १६१० मा मकवानपुर नामको छुट्टै राज्य स्थापना गरे । यिनले राज्य विस्तार गरी सम्पूर्ण कोशी प्रदेशलाई मकवानपुर राज्यमा गाभेका थिए ।
यिनले कोचे राजा विजयनारायणलाई जितेर मोरङको कोचराज्य पनि मकवानपुरमा गाभेका थिए ।
लोहाङसेनको मृत्युपछि यिनका छोरा राघवसेन र त्यसपछि हरिहरसेन मकवानपुरको राजा भए । हरिहरसेनका छोरा शुभसेनले पिता जीवित छँदै राज्य हत्याएका थिए । बुवालाई नजरवन्द गरी शुभसेन मकवानपुरको राजगद्धीमा बस्नका लागि लमजुङ र गोरखा राज्यले पनि सहयोग गरेका थिए । गृहकलहको मौका छोपी हरिहरसेनका नाति इन्दुविधातासेनले पनि विजयपुर हत्याएका थिए ।
यसरी मकवानपुर राज्य दुई राज्यमा विभाजन भएको थियो । कोसीपूर्वको मकवानपुर राज्यको गद्दीमा कान्छा छोरा महाकुमार शुभसेन र कोसीपूर्वको विजयपुर राज्यको गद्दीमा नाति इन्दुविधातासेन बसे ।
शुभसेनपछि माणिकसेन मकवानपुरको गद्दीमा बसे । माणिक्यसेनपछि उनका छोरा हेमकर्णसेन मकवानपुरका राजा भए । पृथ्वीनारायण शाहले यिनै हेमकर्णकी छोरी इन्द्रकुमारीसँग विवाह गरेका थिए ।
हेमकर्णसेनका छोरा दिग्बन्धनसेनको राज्यकालमा वि.सं. १८१९ मा मकवानपुर राज्य गोरखा राज्यमा समाहित भयो ।
(२) विजयपुर राज्य
वि.सं. १७६४ ताका पूर्वमा मकवानपुर र विजयपुर नामका दुई सेन राज्य थिए । हरिहरसेनका नाति इन्दुविधातासेनले मकवानपुरबाट हत्याएर बनाएको राज्य थियो विजयपुर । तर इन्दुविधातासेनले लामो समय शासन गर्न भने पाएनन् । केही समयमै यिनलाई काका शुभसेनसँगै गिरफ्तार गरी दिल्ली लगिएको थियो ।
यिनलाई षड्यन्त्रपूर्वक बन्दी बनाएर दिल्ली लगिएपछि विजयपुरमा मकवानपुरका राजा शुभसेनका छोरा महीपसेनलाई राजा बनाइयो ।
महीपसेनको मृत्युपछि उनका छोरा कामदत्तसेन विजयपुरका राजा भए । त्यसबखत विजयपुरका मन्त्री विचित्र राईको प्रभाव बढ्दो थियो । यिनी प्रायः षड्यन्त्र गरिरहन्थे । यिनकै षड्यन्त्र र खुराफातका कारण कामदत्तसेन त्यहाँ अड्न सकेनन् । भागेर भोततिर गए ।
कामदत्तसेन फर्किएर आएको केही समयमा विचित्र राईको मृत्यु भयो । उनको मृत्यु भएपछि मन्त्री बनेका उनका छोरा बुद्धकर्ण राईसँग पनि राजाको खटपट सुरु भयो । यही खटपट र झगडाकै क्रममा कामदत्तसेन मारिए ।
कामदत्तसेनको मृत्युपछि बुद्धकर्ण राईले चौदण्डीका राजा कर्णसेनलाई विजयपुरको राजा बनाए । तर राजा बनेको अठार महिनामै यिनको मृत्यु भयो । यसै वर्ष वि.सं. १७७४ मा गोरखाली सेनाले जियपुरमाथि आक्रमण गरी गोरखा राज्यमा गाभ्यो ।
(३) चौदण्डी राज्य
वि.सं. १७६४ ताका पूर्वमा मकवानपुर र विजयपुर नामका दुई सेन राज्य थिए । वि.सं.१८१९ मा जगत्सेन चौदण्डी राज्य बनाएर शासन गर्न लागे ।
चौदण्डी राज्यअन्तर्गत कमला र कोसी नदीबिचको भूभाग पर्दथ्यो । सुरुमा मकवानपुरका राजा मणिकसेनका जेठा छोरा जगत्सेनलाई यही भूभागको प्रशासन हेर्नेगरी जिम्मा दिइएको थियो । तर विजयपुरका राजा कामदत्तसेन भोटतिर भासिएपछि त्यहाँका मन्त्री विचित्र राईले यिनलाई नै त्यस राज्यको राजा बनाएका थिए । पछि कामदत्तसेन फर्किएपछि यी जगत्सेन त्यहाँबाट फर्किएर आफूले हेर्दै गरेको प्रशासनिक इकाइलाई वि.सं.१८१९ मा चौदण्डी राज्य बनाएर शासन गर्न लागे ।
जगत्सेनपछि यिनका भाइ विक्रमसेनले चौदण्डी राज्यका हर्ताकर्ता भए । यतिखेरसम्म चौदण्डी सिराहा र सप्तरीसम्म फैलिएको थियो ।
विक्रमसेनपछि उनका छोरा कर्णसेन चौडण्डीको गद्दीमा बसे । तर अभिमानसिंह बस्न्यातको नेतृत्वमा गएको गोरखाली फौजले वि.सं. १८३० मा चौदण्डीलाई गोरखा राज्यमा मिलायो । कर्णसेन भागेर विजयपुर पुगे ।