अन्तर्वस्तु
पूर्ण ओली कथालेखनको क्षेत्रमा समकालीन समाजको चित्रण गर्ने एक सशक्त कथाकार हुन् । उनको जितौरी कथासङ्ग्रहमा जम्मा १३ वटा कथाहरु सङ्ग्रहित छन् । कथावस्तुकथाकारले आफ्नो जीवन भोगाइका क्रममा सँगालेका जीवन्त अनुभवमा आधारित छन् । ‘जितौरी कथासङ्ग्रह’ भित्रका कथाहरूमा आफनै जीवनको यथार्थ भोगाइ, राजनीतिक सङ्गतिहीनता, वैचारिकता, क्रान्तिधर्मिता, युगीन यथार्थको प्रकटीकरण, द्वन्द्वजन्य परिस्थिति आदि कुराहरू नैअन्तर्वस्तुका रूपमा आएका देखिन्छन् ।कथाकार कर्मचारी भएकाले स्वयम्ले प्रत्यक्ष रुपमा सँगालेका अनुभवहरुको पोको पाठकसमक्ष प्रस्तुत भएका छन् ।
नेपालको कर्मचारी तन्त्र र यसले पारेको प्रभावलाई विभिन्न कोणबाट रोचक तवरलेउद्घाटन गरिएको छ । समकालीन समाजको सामाजिक व्यवस्थाप्रति तीव्र व्यङ्ग्य गर्दै विद्रोही भावना व्यक्त गरिएको छ ।उनका कथाहरु सामाजिक यथार्थवादी धारा र प्रगतिवादी धारामा अन्तर्घुलित छन् । मानवीय चरित्रभित्र देखिने अमानवीय क्रियाकलाप, विश्वजनीनता, विकृतिप्रति तीव्र व्यङ्ग्य, प्रगतिशील चेतनाकथाकारका खास प्रवृत्तिका रुपमा देखिएका छन् ।जितौरी कथासङ्ग्रह प्रगतिशील विचारधाराबाट अभिप्रेरित कथाहरुको सँगालो हो । समाज सुधार, मानवीय प्रवृत्तिप्रतिको सचेतता, नारीवादी चेतना, समतामूलक समाज निर्माणको उच्च चाहना, भ्रष्टाचार तथा अनियमिताको अन्त्य आदि कथाकारका कथागत उद्देश्यहरु हुन् ।
वस्तुविन्यासगत संगठनका दृष्टिले हेर्दा कथाहरु निकै सबल देखिन्छन् ।कथाकारले निम्न वर्गीय चरित्र, स्वीकृत यथार्थ र कटु सत्यलाई प्राथमिकता दिएका छन् । कथाकार आफ्नो वैयक्तिक दर्शन र आदर्शलाई सोझै पाठकसमक्ष पुर्याउने आग्रहीकरणबाट सुरक्षित छन् । उनी कथावस्तुलाई कार्यकारण सम्बन्धका आधारमा शृङ्खलित गरी विचार र दर्शनलाई नाटकीकरण गर्न पूर्ण सचेत छन् । कलात्मक तरिकाले नाटकीकरण गरिएकाले उनका कथाहरु अलिक लामा लामा आयामका छन् । रहनसहनकोे झाँकीलाई कलात्मक रुपमा उनिएको छ । समकालीन घटना र परिस्थितिकोे चित्रणमा जोड दिनु, स्थानीय सामाजिक दृश्य र समयको संयोजन सुझबुझका साथ गर्नु, महत्वहीन ठानिएका ठाउँ, घटना र पात्रहरुको अति सूक्ष्म तरिकाले प्रस्तुतीकरण गर्नु उनको कथागत प्रवृत्ति बनेको छ । माछे आँखो कथामा पटाउकिीको कटेरो प्रवेशको अवस्थालाई यसरी प्रस्तुत गरिएको छ,
“कटेरोभित्र मध्यरातको ओढारसरह निसम्ताल अँध्यारो छ । खोपाहरु बाहिर बचेखुचेको अलिअलि उज्यालो भित्र पसाल्न सक्षम भैरहेका छैनन् । हतारमा डिङाबाछा पस्ने ढोकाबाट पस्न पुगेछु भन्ने उसले बल्ल चाल पाई, जब गोबरमा चिप्लिएर डिङाबाछा बाँध्ने किलामा बजारिन पुगी । त्यताबाट जीउलाई सम्हाल्दै उठाई र चार हातखुट्टाले छामछुम गर्दै गई” (ओली, पृ.४६–४७) ।
कथाहरु गरिबका पीडा र उदासीको यथार्थ चित्रण गर्न सक्षम बनेका छन् । ‘माछे आँखो’ कथामा ‘पटाउकी’, ‘अंशियार’ कथाको ‘हरि, ‘खाजाखर्च’ कथाको ‘जगत’, ‘एउटा अयोग्य लडाकूको कथा’ कथाको ‘आशाराम’, ‘केही हैना’ कथाको ‘केही हैना’, ‘मीतज्यू’ कथाको ‘राम’‘मोराबाङ’ कथाकी ‘म पात्र’गरिबी र विपन्नताले सताइएका पात्रहरु हुन् । यी पात्रहरु शोषण, दमन, अन्याय, अत्याचार र थिचोमिचोमा बाँच्न विवश छन् । विद्रोहको राँको सल्काउने हिम्मत यी पात्रहरुमा देखिँदैन । मोराबाङ कथामा ‘म पात्र’को अवस्था यस्तो छ :
“डेक्चीमा भात खन्याएँ र भातका डल्ला पारेर धुलो नुनमा डोब्दै मुखमा कोच्न थालेँ । निल्न गाह्रो भएकाले प्रत्येक गाँसलाई पानीको घुट्काले निलेँ ।” (पृ. १५८)
व्यङ्ग्यात्मक चेत
निम्न वेतन भएका सरकारी कर्मचारीहरुप्रति भएका असमानता, षडयन्त्र, जालझेल, छलकपट र शोषणका थुप्रै नमुनाहरु कथाहरुमा सान्दर्भिक तरिकाले उठाएको देखिन्छ । इमानदार, कर्तव्यनिष्ठ तथा वफादार कर्मचारीहरुलाई अनावश्यक रुपमा दिएका सास्तीहरुले पनि कथा यथार्थपरक बनेका छन् ।
खाजा खर्च कथामा काम गरेको पैसा ठेकेदारबाट समयमै नपाएर जीवन गुजारा गर्न समेत मुस्किल परेको केटोलाई दयास्वरुप सापटी खाजा खर्च दिने सुब्बा जगतप्रसादलाई अनावश्यक रुपमा घुस लिएको आरोपमा जेल हाल्ने सम्मको षडयन्त्र भएको छ । इन्जिनियर, हाकिमहरुसबै मिलेर राज्यकोषको रकम खुलेआम दोहन गरिरहेका छन् । यसको कसैलाई पर्वाह छैन । इमानदारिपूर्वक आफ्नो जिम्मेवारीप्रति दत्तचित्त भई लागेका निम्न ओहदाका कर्मचारीलाई भने अनावश्यक सास्ती र दुःख दिने काम भएको कुरा स्पष्ट पारिएको छ ।
एउटा अयोग्य लडाकुको कथा मा नेपाली विषय शिक्षक आशाराममाथि घोर अन्यायस्वरुप अयोग्य शिक्षकको आरोपमा जागिरीबाट अवकाश दिइएको छ । गणित विषय पढाउने केशवलाई नातावाद कृपावाद तथा भनसुनका आधारमा एकलौटी रुपमा तालिम, अवलोकन, छलफल, बैठक, भ्रमणको अवसर दिइनुका साथै विद्यालयमा पनि थोरै पिरीयड दिइएको छ । नेपाली विषय शिक्षक आशारामले लिनुपर्ने नेपाली विषय तालिम र सामाजिक विषय शिक्षक बाबुकाजीले गर्नुपर्ने जापान भ्रमणलगायतका अन्य जुनसुकै सेवा, सुविधा केशवलाई मात्र प्राप्त भएका छन् । यसले प्रशासनिक असक्षमता र अदूरदर्शिताको खोल उघारिदिएको छ ।
केही हैना कथामा उच्च पदवाला कर्मचारीहरु सवार भएको सरकारी गाडीमा निम्न वेतनवाला सुब्बा पूर्णप्रसाद हाकिमको बढुवा भोज कार्यक्रममा सवार हुन पाएको छैन । सार्वजनिक गाडीमा यात्रा गर्दा उसले समयमा भोज कार्यक्रममा सरिक हुन पाएको छैन । लज्जित भएर कोठामा फर्कन विवश भएको छ । गाडी खलासीकेही हैनाको कारुणिक स्थितिको चर्चा गरिएको छ । उसले कामअनुसारको दाम पाउन सकेको छैन ।
अंशियार कथामा भ्रष्टाचारको झुट्ठा आरोपमा जागिरीबाट निलम्बन पाएको हरिले जहान बच्चासहित सुकुम्बासी बस्तीको खोजीमा लागेको कारुणिक स्थिति देखिएको छ । उसलाई बिना आधार–प्रमाण नागरिकता दिएको अभियोग लगाइएको छ ।गणेशले नागरिकता नपाउनु घोर अन्याय भएको छ । हरिको बसाइसराइँको चक्करले गर्दा भर्खर पढ्न थालेकी छोरीको पढाइ नै अन्योलग्रस्त हुन पुगेको छ ।
बढुवा कथामा नियमप्रसादलाई निजको इच्छाविपरीत छलछामपूर्वक अनपेक्षित समयमा अनपेक्षित स्थानमा सरुवा गराई बढुवा हुनबाट बञ्चित गराइएको छ । कृष्ण सुदामा कथामा छट्टु दामुले कालीबहादुरलाई झुक्याएर वैदेशिक छात्रवृत्तिका लागि भर्नुपर्ने फाराममा फोटो साटासाट गर्न बाध्य पार्छ । कालीबहादुरले दिएको परीक्षाको नतिजा दामुको नाममा आउँछ र दामुले छात्रवृत्ति हत्याउन सफल हुन्छ । विदेशको पढाइपश्चात् दामोदर खड्का अर्थ मन्त्रालयको सचिव र अर्जुन शर्मा सामान्य मन्त्रालयको सचिव भएका छन् । कालीबहादुर भने खरिदार पदमा नियुक्त भई जीविका चलाइरहेकोहुन्छ । आफ्नो बालसखा मित्र दामु अर्थ सचिव भएको खुसीले प्रफुल्ल भएर उसलाई भेट्ने ध्येयले काठमाडौँ आएको कालीबहादुरलाई दामुले भेट समेत दिँदैन । जाजरकोटमा आएको समयमा पनि चिल्लो गाडीमा आयो तर कसैलाई पनि भेटेन ।
देशी चश्मा कथामा प्रशासनको सुब्बा केशवलाई हाकिमबाट एकोहोरो आरोपै आरोप लगाइएको छ । क्वाटरबाट एकाएक राति निकालिएको छ । अफिसको मोटर खोसिएको छ । अझ उसलाई नोकरहरुलाई मत्याउने भन्ने आरोप लागेको छ । उसले महिला कर्मचारीसँग लहसिने तथा बारीको तरकारी चोर्ने सम्मको लज्जास्पद मिथ्या आरोप समेत खेपेको छ । अन्तिममा स्पष्टिकरण सोधेर बर्खास्ती समेत दिइएको छ । मितज्यू कथामा काठमाडौँ कीर्तिपुरमा घरभेटीले भाडावाला विद्यार्थी रामलाई सितिमिति भाडामा कोठा नदिएको, दिएपनि अनावश्यक सर्तहरु तेस्र्याएर दिएको प्रसङ्ग प्रस्तुत गरिएको छ ।
मोराबाङ कथामा घरवालीले रमेशलाई कोठाबाट निकालिदिने धम्की दिएकी छ । घरवालाहरुले अनावश्यक नियमहरु बनाएर कोठामा बस्ने विद्यार्थीहरुलाई दुःख दिने गरेको वस्तुस्थिति देखाइएको छ । मूल्यहीन राजनीतिप्रति व्यङ्ग्य र सङ्गतिहीनताको यथार्थताको चित्रण गरिएको छ ।माछे आँखो कथामा नारीवादी चेतना, नारी अस्तित्वको खोजी र नारीपीडाबोधको अभिव्यक्ति देखिन्छ ।ग्रामीण जीवनका निम्न वर्गीय मानिसहरुको कष्टकर जीवनको अभिव्यक्ति प्रस्तुत गरिएको छ । नारीले भोग्नुपरेका विभिन्न प्रकारका पीडा र शोषणलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको यस कथामा नारी मनोदशाको चित्र उतार्नुका साथै नारीहरूको विवशतालाई प्रस्तुत गरिएको छ ।यस कथामा पुरुषको प्रतिकूल चरित्रलाई प्रस्तुत गर्नुका साथै नारीका पीडा, कुण्ठा, असन्तुष्टि र विवशताको चित्रण गरिएको छ ।
कथाकार पूर्ण ओलीका कथाहरुमा व्यङ्ग्य विद्रोहको स्वरलाई कलात्मक स्वरुप दिन सक्षम भएका छन् । बढुवा कथामा एउटा षडयन्त्रको बलियो जालो च्यात्न नसकेर पागल बनेको नियमप्रसाद र षडयन्त्रको बलियो जालो ओछ्याउँदा पनि प्रतिद्वन्द्विलाई जालोमा पार्न नसकेर पागल बनेकोकलमप्रसादका क्रियाकलापहरुलाई व्यङ्ग्यात्मक तरिकाले अभिव्यक्त गरिएको छ । मुलुकका राजनैतिक पार्टी र तिनका शीर्ष नेताहरुको क्रियाकलापहरुलाई लङ्गुर बुर्जा (ख्वारख्वारे) मा अङ्कित चिह्नहरुलाई जितौरी कथामा यसरी आरोपित गरेका छन् :
“हो इँट, पान, सुरथ, चिडी, झण्डा, बुर्जा यति मात्र चित्र त छन् । कति छन् र अरु ? ती पनि कम्निष्टजस्ता राता र काँग्रेसजस्ता काला । रातामा पनि केपिजस्तै पान र पिकेजस्तै इँट । कालमा पनि देउवाजस्तै चिड र पौडेलजस्तै सुरथ । थप झण्डा र बुर्जा । झण्डा पनि न अमेरिकनजस्तो, न चाइनिजजस्तो । बुर्जा पनि न राजको श्रीपेजजस्तो, न राष्ट्रपतिको बुर्काजस्तो । कुन महत्वपूर्ण, कुन अमहत्वपूर्ण अब ? कता थाप्नू, कता नथाप्नू ?” (पृ.९३) ।
कृष्ण सुदामाको कथा कथामा कालीबहादुरलाई षडयन्त्र गर्ने दामुका विरुद्धमा अर्जुन भन्छ, “तिम्रो मित्र होइन ऊ, उसले विभिन्न जालझेल गरेर बरु तिमीलाई नै यस कलियुगमा पनि सुदामा बनाइछाड्यो” (पृ.२००–२०१) । मित्रता गाँसेको स्वाङ पार्ने र मित्रलाई नै चुस्ने प्रवृत्तिप्रति कथाकारको तीब्र आलोचना रहेको छ । देशी चश्मा कथामा नयाँ हाकिमको भव्य स्वागतका लागि अनावश्यक रोइलो गर्ने केशवप्रति छेड हान्दै सान्नानी भन्छे, “कति न जानीटोपलेको बन्नु परेको होला सुब्बा दाजुलाई पनि । आखिर छोडेर जाँदा हरेकको एक एक लात खाएकै छ” (पृ. २०४) । कथाकारले अनावश्यक तावेदारी, चाकरी गर्ने कर्मचारीहरुप्रति आलोचना गरेका छन् ।
शम्भु दाइको विदा कथामा शाखा प्रमुखको चाकरी गर्ने कुराको विरोध जनाउदै शुम्भु दाइले म पात्रलाई यसरी व्यङ्ग्य गरेको छ : मैनावारी तलबका रुपमा एक बटुको कुँडो बाहेक अरु केही पाउने लायक छैनस् तँ पनि म जस्तै हा हा हा हा (पृ. २२३) । अंशियार कथामा नागरिकता टोलीको नेतृत्व गरेर रुकुम पूर्वको प्वाङ नाइगार पुगेको हरिले निर्धो गणेशलाई नागरिकता दिएको कारण अनावश्यक मुद्धा व्यहोर्नु परेको छ । उसलाई जागिरबाट निलम्बन गरिएको छ । जागिरबाट निलम्बित बनेपछि आफू र परिवारको पेट पाल्नका लागि मधेसमा सुकुम्बासी बस्ती खोजीमा हिडेको हरिले तात्कालिक नियम कानुनको स्मरण गर्दै यस्तो आक्रोश पोखेको छ, “अख्तियारको आँखा लाग्यो प्रेम जि, त्यसको आँखा लाग्नुपर्ने ठाउँमा लाग्दोरहेनछ, नलाग्नुपर्ने ठाउँमा लाग्दो रहेछ”( पृ. ७) ।
खाजा खर्च कथामा किताबका ठेलीमा सुशासनको सुनौलो सपना बाँड्ने, भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भनेर सार्वजनिक मञ्चमा भाषण छाँट्ने, कर्मचारीको रिसेटिङस्वरुप कर्मचारीको अनावश्यक सरुवाप्रति आक्रोश व्यक्त गरिएको छ । मुलकमा अक्षर खेलाउनेहरुबाट भएको लुटपातलाई कमला यसरी व्यङ्ग्य प्रहार गर्छे, “केही किताबरुपी कठघरामा सडेर रुग्ण अक्षरहरुलाई वर्षौ वर्षसम्म तड्पी तड्पी मरेको हेर्नुभन्दा आगो लाइदिनु न्यायोचित होइन र ?” (पृ. ४५) ।
माछे आँखो कथामा गणतन्त्रको बहाली भएपछि दुःखका दिनहरु समाप्त भई सुखका सनौला दिनहरु आउने, गरिब दुःखी जनताको जीवनमा आमूल परिवर्तन आउने सपना बाँडिएको छ तर गणतन्त्रले सरकार परिवर्तनको चक्कर मात्र चलिरहने गरेको, सहरमा ठूला ठूला महलहरु ठडिएको, अत्याचार, अनैतिकता, हत्या, अपहरण बलात्कार र भ्रष्टाचारजन्य घटनाहरुमा भने पटक्कै कमी नआएको अझ थप मजबुत हुँदै गएको प्रसङ्ग उठाइएको छ । विदेश छात्रवृत्तिको अवसरमा छनोट हुनका लागि प्रपञ्च, दाउपेच तथा छक्कापञ्जा गर्न माहिर दामुले सोझो कालीबहादुरलाई साम, दाम, दण्ड, भेदको उपयोग गरी फाराममा फोटो साट्न उत्प्रेरित गरेको छ । जसको परिणामस्वरुप तीब्रबुद्धि भएर पनि कालीबहादुर त्यस अवसरबाट वञ्चित भएको छ । जाली दामुले कालीबहादुरलाई यसरी झुक्याएको छ, “नाम र फोटो नै साटेमा बाह्य जाँचकीलाई अत्तोपत्तो नै हुँदैन । तिमी पनि जोगिन्छौँ र मेरो पनि कल्याण हुन्छ” (पृ. १९१) ।
सामाजिक विसङ्गतिको उद्घाटन
यस कथासङ्ग्रहका कथाहरुमा विकृति र विसङ्गतिहरुलाई कलात्मक तरिकाले देखाइएको छ । समाज विकृति र विसङ्गतिले भरिपूर्ण छ । यसबाट मानिसले उन्मुक्ति पाउन सकेको छैन । सर्वसाधारण नागरिकहरु आफ्नो ओहदा र जिम्मेवारीलाई भुल्ने कर्मचारी प्रवृत्तिको सिकार भएका छन् । देशमा लोकतन्त्रको बहाली भइसक्दा पनि सरकारी कार्यालयहरुमा मौलाउँदै गरेको बढ्दो विकृति विसङ्गतिहरु समाप्त गर्न सकिएको छैन । जसले नीति नियम बनाउँछ उसले उलङ्घन गर्दा लोकतन्त्रको उपहास भइरहेको छ । विसङ्गतिलाई मूल विषय बनाएर सन्दर्भगत अर्थप्रदान गर्न कथाकार बढी सक्रिय देखिएका छन् । उनले समकालीन सामाजिक व्यवस्थाका विकृति र विसङ्गति, मान्छेको पतनोन्मुखी चरित्र र दुष्प्रवृत्तिलाई पनि उजागर गरेका छन्।मोराबाङ कथामा विसङ्गतिको उत्कृष्ट नमुना यस्तो छ :
ट्राफिक प्रहरीले सिट्ठी बजाउँदै हुन्छन्, सडक नियम मिच्नेहरुले नियम मिचिरहन्छन् । जानी जानी गाडीवालाहरु र यात्रुहरुको लापरवाहीले ट्राफिक जाम गरिदिएपछि ट्राफिकले बस धपाओस् कि मान्छे धपाओस् ?” (ओली, २०७७, पृ. १६०) गाडीका पहिला सिटहरु अपाङ्ग, अशक्त र महिलाका लागि छुट्याइएको हुन्छ तर ती सिटहरु सक्त लोग्ने मानिसहरुले ओगडेको पाइन्छ ।गाडी चालकहरु प्रहरीको आँखा छलेर गाडीमा सिटभन्दा बढी अनावश्यक मानिसहरु कोचिरहेका छन् । नियमविपरीत चल्ने गाडीहरुका कारण काठमाडौँमा सडक जाम भइरहेको हुन्छ जसको कारण मानिसहरु सहज यात्रा गर्न पाइरहेका छैनन् । पार्टीको नारा लाएर तीन हात उफ्रेका झोले कार्यकर्ता अहिले केही नपाई काठमाडौँमा हल्लिरहेका छन् । नेताहरु चुनावपछि सांसद हलमा पुगेका तर चिल्ला गाडीमा चढ्ने, मोजमस्तीका साथ जीवन बिताइरहेका छन् । जनजीविकाका समस्याहरु ज्यूँका त्यूँ रहेका छन् । दसवर्ष जनयुद्धमा बलिदानीपूर्ण लडाइँ लडेका कतिपय जनमुक्ति सेनाहरु अयोग्य बनाइएका छन् । जीवन धान्न मुस्किल भई कतिपय विदेशिएका छन् भने कतिपय भारी बोक्ने, जुठा भाँडा माझ्न बाध्य भएका छन् । रातारात सम्पन्न हुने दाउ खोज्ने, कुनै परिश्रम वा मेहनत नै नगरी रातारात सम्पत्ति, मान वा ज्ञान थुपार्न खोज्ने प्रवृत्ति हावी भएको छ ।
जितौरी कथाको पात्र ‘जिते’को नामअनुसारको काम कहिल्यै भएको छैन । सधैँ जुवा हार्नेको नाम जिते भएको छ । पचहत्तर जिल्लामा करारमा कर्मचारी खटाउने जिम्मा पाएको शिलामणिले सुरुमा जागिरीमा छिराउँदा पियनको लागि पच्चीस हजार, अपरेटरका लागि एकलाख घुस खाएर नियुक्ति गर्ने गरेको छ । त्यतिमात्र नभएर जागिरी कायम रहुन्जेलसम्मका लागि महिनाको पच्चीस सय पनि उसलाई पठाउन लगाएको छ । निम्न वेतनवाला सोझा कर्मचारीहरुको जीवन समस्या र अपूर्णताको जटिलताद्वारा आक्रान्त भइरहेको कुरा कृष्ण सुदामाको कथामा कालीबहादुरले बालसखा दामु अर्थसचिव भएकोमा खुसी भइ भेट्न आउँदा यसरी हपारिमागेको छ : “सचिवजस्तो मान्छेलाई जे पायो त्यही लेख्ने ? आज भेट्न नमिल्ने भन्नु भएको छ” (ओली, २०७७, पृ. १९५) ।
राजनेताहरुमा राजनैतिक आदर्शको अभाव र राजनैतिक शोषण ज्यादा फस्टाउँदै गएको तथ्य मोरावाङ कथामा यसरी आएको छ, “जसलाई जे कामका लागि खर्बौँ खर्च गरी जागिर दिइएको छ, उसले त्यो काम पूरा नगरे भ्रष्टाचार हो कि हैन यो ? यिनीहरुकै अकर्मण्यताले मुलुकमा सबैतिर मनपरी बढेको छ । सबका सब छाडा भएका छन्” (पृ. १६१) । नेताहरुले सरकारी गाडी चढेर अन्य गाडीहरुलाई आवतजावतमा रोक लगाउँदा अनावश्यक सडक जाम हुने प्रसङ्ग यसरी प्रस्तुत गरिएको छ, “रमेशको प्रस्ताव नमार्न सकेको भए म पनि अहिले सडक जाम गराउने गरी बैठकमा सहभागी हुनसक्थेँ । झण्डावाला आलिसान गाडीमा कुँद्दै बैठकभत्ता र विभिन्न सुविधाहरु बुझ्थेँ हुँला” (पृ. १६२) ।
गणतन्त्र स्थापनाको नौलो बिहानी आउने आशामा बाँचेका आम जनताहरुमा निराशा पैदा भएको छ । मुक्तिकामी युद्धमा होमिँदा देखाइएका सपनाहरु सारहीन र खोक्रो भएका छन् । मानवीय जीवन थप जटिल र कठिनसाध्य हुन जाँदा सङ्घीय राज्य गणतन्त्रप्रति अविश्वास र वितृष्णा पैदा हुन जाने खतरा सिर्जना भएको छ । नेपाली अखबारहरुले दैनन्दिन घुस लिँदा लिँदै कर्मचारी पक्राउ परेको, बैँक लुटिएको, बजारमा वस्तुको मूल्य मनपरी उठाइएको, उपभोक्ताहरु ठगिएको, दैनिक अठार घण्टा लोडसेडिङ हुने, मलको भाउ वृद्धि हुने, सबैतिर कमिशनको खेल सुरु भएको, निर्मला पन्तलाई बिर्साउने अर्को बलात्कार, सम्पत्तिको लागि छोराले बाबुको हत्या गरेको आदि जस्ता समाचारहरु प्रकाशन गरिरहेका छन् । यसप्रति कसैले पनि जिम्मेवारी तथा जवाफदेहिता नलिनु दुर्भाग्यको विषय बनेको छ ।
खाजा खर्च कथामा व्यक्तिगत स्वार्थसिद्धका लागि सङ्गठनको टिकट लिने, सरुवाका लागि घुस दिने कर्मचारीहरुको प्रवृत्ति, विकासे कार्यालयहरुले विकासका नाममा अनियमितता, भ्रष्टाचार तथा ठगी गर्ने कुरालाई स्पष्ट पारिएको छ । त्यसको विरुद्धमा आवाज उठाउने कर्मचारीले कतैबाट संरक्षण नपाएको उल्टै जागिरबाट बर्खास्त हुनु परेको छ । भ्रष्टाचार, घुसखोरी, कामचोर कर्मचारीहरुले कानुनको बर्खिलाप गर्दै हिँडेको तर नीति नियम तथा पद्धतिमा विश्वास गर्ने निम्न कर्मचारीहरुलाई भने परिबन्दमा फसाइएको छ । खाजा खर्च तिर्ने केटालाई लोभ लालच देखाएर वयान फेर्न लगाएको छ तथा अड्डा अदालत, नीति, नियम सबै माथिल्लो तहका कर्मचारीहरु संरक्षणका मतियार बनेका दुःखद अवस्थाको सफल चित्रण गरिएको छ ।
कृष्ण सुदामाको कथाकथामा उच्च दर्जाका कर्मचारीको आगमनमा अत्यधिक स्वागत सत्कार गर्नुपर्ने प्रचलन, राज्यकोषको दुरुपयोग गरी अनावश्यक जलघडा राख्ने, प्रवेशद्वार बनाउने, मालाहरुको व्यवस्था गर्ने प्रचलनलाई स्पष्ट पारिएको छ । हाकिमहरुको हेपाहा प्रवृत्तिले तल्लो दर्जाका कर्मचारीहरुमा विद्रोहको स्वर तीखो हुँदै जान थालेको सङ्केत गरिएको छ । अंशियार कथामा भ्रष्टाचार, अनियमितता र घुसखोरी गरी महल खडा गर्ने, छोरा, छोरी, बुुहारी साला, सालीका नाममा स्थिर सम्पत्ति जोड्ने तथा हरेक स्कुल, अस्पताल, वित्तीय, संस्थाहरुमा शेयर लगानी गर्ने कर्मचारी तथा मन्त्रीहरुको प्रवृत्तिबाट जनताहरु आजित भइरहेको यथार्थता देखिएको छ । कागजमा त जनताको शासन आयो तर फेरि जनताहरु राजनीतिक धूर्तपनको सिकार हुन थालेका छन् । लाखौँले बलिदानी गरी ल्याएको व्यवस्थाका सञ्चालकहरुले गरेको धूत्र्याइँबाट सर्वसाधारणहरु आजित भएका छन् ।
परिवेश चित्रण
कथावस्तुको सान्दर्भिकतालाई थप स्पष्ट र विश्वसनीय बनाउन उपयुक्त परिवेश चित्रण गरिएको छ । अधिकांश कथाहरुका कार्यपीठिकाका रुपमा सरकारी कार्यालयहरु आएका छन् । रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, रोल्पा, सितलपोखरी, काठमाडौँ, भोटाहिटी, रत्नपार्क, बद्रिवास, सिस्ने गाउँ, राङसी, नाइगार, रुकुमकोट, सोलाबाङ, बोरागाउँ, चाँपा, सानीभेरी नदी, जिविस भवन, जिशिका भवन आदि क्षेत्रहरुलाई मुख्य कार्यपीठिका बनाएर कथाहरु रचना भएका छन् । गाउँले र सहरीया दुबै परिवेशको सिर्जना गरिएको छ । गाउँले परिवेशमा गाउँवस्तु, कुखुरा पाल्ने, खेतीपाती गर्ने प्रचलनको व्याख्या पाइन्छ भने सहरीया परिवेशमा कोठा भाडामा बस्ने, मन्त्रालयमा धाउने जस्ता क्रियाकलापहरु प्रस्तुत भएका छन् ।स्थानीय मानिसहरुको लवाइ खुवाइ, चालचलन, वेशभूषालाई आन्तरिक वातावरणका रुपमा कलात्मक तरिकाले संयोजन गरेर कथालाई सुन्दर बनाइएको छ । स्थान, समय र कार्यको अन्वितिलाई विशेष ख्याल गरी परिवेश चित्रण गरिएको छ । जसले गर्दा कथाहरु जीवन र जगतका वास्तविकतामा आधारित भएका छन् ।
साक्ष्यका रुपमा अंशियार कथामा गाउँले गणेश क्षेत्रीको लवाइखवाइको अवस्थालाई हेर्न सकिन्छ, “बाउला र फेर लङ्गलङ्ग भई च्यातिएको, मयलले काती परेको भोटो, भोटोमाथि ठाउँ ठाउँ टाला हालेको, मयलले कलेटी परेको जाइकोट । धुजाधुजा परी कम्मरभन्दा तलको पर्दन्नीतक देखिने एकसरो मैलो धरो । मयल र घाउले कोरी भ्यागुताको जीउजस्तै देखिने हात–खुट्टाहरु” (पृ. ९) ।
द्वन्द्वविधान तथा प्रतीकात्मकता
कथामाआन्तरिक द्वन्द्व र बाह्य द्वन्द्वका सिर्जनाले कथाहरु ओजिला र रसिला बनेका छन् । द्वन्द्वको पुटले कथामा कौतुहलता शृङ्खलित भएको छ । पात्रहरुमा देखिने आन्तरिक द्वन्द्वले कथाहरुमा रोचकता पनि थपिएको छ । बढुवा कथामा आन्तरिक द्वन्द्वलाई यसरी संयोजन गरिएको छ ः “हुँदैन हुँदैन म यसरी मैले कहिलेसम्म सुरक्षाको घेरामा बस्न सक्छु ? मैले दरखास्त हाल्नुहुँदैन”(पृ. १८०) ।देशी चश्मा कथामा पहिलो स्वागतमा भएको त्रुटिले हाकिम रिसाएकाले केशवको अन्तर्मनमा कुरा यसरी खेल्छ,“तँ सुरुमै बढी जान्ने हुनुपर्ने ? मुखमा जे आयो त्यही बोलिहाल्नुपर्ने ? अलिकति धैर्य गरेको भए के हुन्थ्यो ? अब यसरी सुरुदेखि हाकिमको मन बाङ्गो हुँदै गए के हुन्छ ?…..(पृ. २१२)
कृष्ण सदामाको कथा कथामा आफ्नो बालदौँतरी दामु अर्थ सचिव भएको कुराले साह्रै खुसी भई जाजरकोटबाट उसलाई भेट्न काठमाडौँ भित्रिएको छ । तर उसले अर्थसचिवलाई भेट्न पाउने आशामा नाम र ठेगाना लेख्ने स्लिपमा बाल्यकालको सम्झना हुने कुराहरु लेख्छ । बालसखा दामुको निर्देशनमा उसलाई राम्रैसँग हपारे पछि कालीबहादुरको मनमा उठेको अन्तद्वन्द्व यस्तो रहेको छ, “मैले उसलाई होच्याएर लेख्न नहुने । थुक्क ।मेरो बुद्धि । अब भोलि पनि आउँछु । नभेटी त कहाँ छाड्छु र ?” (पृ. १९५ )
कथाहरुमा बाह्य द्वन्द्व पनि सशक्त रुपमा प्रकट भएको पाइन्छ । बाह्य द्वन्द्वले कथानकलाई नयाँ मोड दिन सहयोग गरेको छ । कृष्ण सुदामाको कथा कथामा कालीबहादुरलाई झुक्याएरदामोदरले आफ्नो वैदेशिक छात्रवृत्ति फाराममा कालीबहादुरको फोटो टाँसेको छ । अर्जुनको सल्लाहले कालीबहादुरले दामोदरको फारामबाट आफ्नो फोटो निकाल्न खोजेको छ ।
यो कुरा थाहा पाएको दामोदरले एकान्तमा लिएर कालीबहादुरलाई यसरी धम्क्याएको छ, “हेर काले, भरिसकेको फाराम फेरिस् भने त्यो अर्जुने र तेरो दुबैकोजिउँदै छाला काढ्न सकिनँ भने मलाई नामर्द भन्नू । अहिले भनेको यो कुरा कसैलाई सुनाइस् भने पनि निको हुने छैन” (पृ. १९२) केशवले नयाँ हाकिमलाई स्वागत सत्कार गर्न दिनरात खटेको छ । पहिलो पटक स्वागतको क्रममा अवीर खोज्दा खोज्दै खादा, मालाहरु समेत अरुले हत्याइसकेकाले उसले हाकिम सापलाई रित्तो हातले स्वागत गर्न बाध्य भयो । हाकिमलाई केशवले आफूलाई स्वागत गर्न नचाहेको हो भन्ने भान पर्छ र यसरी हकार्छ, “ए हाकिम आएको मन परेन, होइन त ? कति भयो निमित्त चलाएको ? मैले बाटोमा भेटेदेखि तिम्रो व्यवहार र मनस्थितिको आँकलन गरिरहेको छु । …मलाई आइपुगेको देखेर तिम्रो मुख निलोकालो हुँदै गइरहेको पनि देखेको छु । जागिर खाने हो भने आफ्नो हैसियतमा बस्ने” (पृ. २१२)कथामा प्रयुक्त विभिन्न पात्रहरु बिचको वैचारिक द्वन्द्वले कथानकलाई सशक्त बनाएको छ ।
कथामा प्रतीकात्मकताका दृष्टिले कथाकार अब्बल देखिएका छन् । अर्थमा सहजता र सान्दर्भिकता प्रदान गर्न भाषिक प्रतीकात्मकता प्रस्तुत भएको छ । भाषिक सौष्ठव तथा मधुरता बोकेर आएका प्रतीकहरुले कथाहरुको उचाई चुलिएको छ । मोराबाङ कथामा सबै नारीप्रति कुभावना राख्ने कर्तव्यच्यूत पुरुष÷महिलाहरुलाई मोरो÷मोरी भनिएको छ । मोरा पुरुष बस्ने स्थानलाई मोराबाङ भएको छ ।
कृष्ण र सुदामाको कथा कथामा दामु र कालीबहादुर कृष्ण र सुदामा जस्तै साथी भएको प्रसङ्ग प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ । माछे आँखो कथामा माछे आँखो दरिद्रता र पीडाको प्रतीकका रुपमा देखिएको छ । अंशियार कथामा प्रयुक्त प्रतीकात्मकता यस्तो छ :
“सञ्जयले धृतराष्ट्रलाई महाभारत युद्धको प्रत्यक्ष जानकारी गराएजस्तै उनले मलाई आफ्नो महाभारी व्यथाको प्रत्यक्ष प्रसारण गर्न थाले” (पृ. ८) ।
मनोविश्लेषणात्मक पक्ष
कथाकार आफ्ना सबैजसो कथाका पात्रहरुको मनोविश्लेषण गर्न सफल भएका छन् । बढुवा कथामा योग्यता, तालिम र भौगोलिक क्षेत्रका आधारमा नियमप्रसादको स्वतः बढुवा हुनुपर्ने हो । कलमप्रसाद नियम प्रक्रिया मिचेर बढुवा हुने सपना देखेको छ । कलमप्रसादलाई अनपेक्षित समयमा अनपेक्षित स्थानमा सरुवा गराउन सफल भएको छ । सरुवा भएकै दिन रमाना पनि थमाइएको छ । कलमप्रसाद नियमप्रसादलाई सरुवा गराएको आरोप आफूलाई आउने डरले काम्न थाल्छ र एकाएक बेहोस भई पल्टिन्छ ।उसलाई वनको बाघले खाओस् नखाओस् मनको बाघले खाइरहेको छ । देशी चश्मा कथामा केशवको मनमा यस्तो अन्तद्वन्द्व चलिरहेको छ, “मैले अबिर खोज्न नथालेर सुरुमै माला अर्पण गर्न गइहाल्नुपर्ने । के भन्ठाने होलान् नयाँ हाकिमले ? मनमा लिए कि ? आ लिएनन् होला” (पृ.२१०) । हाकिमसँग केशवले माफी माग्न खोज्यो तर हाकिमले भोलि सुनौँला भने पछि उसलाई पटक्कै निद्रा परेन । उसले हिम्मत नहारेर एकदिन बुझाउन चाहेको छ ।
समग्रतामा नेपाली कथालेखन यात्रामा कथाकार पूर्ण ओलीको योगदान महत्वपूर्ण रहेको छ । कथाकारको जीवनदर्शन र विचारलाई सम्प्रेषण गर्न सबै कथाहरु सक्षम रहेका छन् ।
भाषाशैली
स्थानीय सामाजिक भाषिका र कथ्य भाषालाई महत्व दिएर कथारचनालाई यथार्थको पुट दिन पनि कथाकार सचेत रहेका छन् । रुकुमेली भाषिक भेदमा प्रचलित अधिकांश शब्दहरुको प्रयोगले कथालाई स्थानीय परिवेश अनुकूलित बनाएको छ । साक्ष्यका रुपमा निम्न कथागत प्रसङ्गहरुलाई लिन सकिन्छ :
मितज्यू कथा (साक्ष्य १), “आ, जेसुकै चिर्को परोस् । उसको अगाडि म पनि बेसोमतको देखिनु भएन नि” (ओली, २०७७, पृ. १३६) ।
माछेआँखो कथा (साक्ष्य २) “पटाउकीले कर्केटोले माछीआँखे घाउको करक त मार्थी, ……..(ओली, २०७७, पृ. ५६) ।
सुललित रुकुमेली स्थानीय भाषाका केही मौलिक शब्दहरुको प्रयोग गर्नु कथाकारको मौलिक योग्यता रहेको छ ।विभिन्न कथाहरुमा एक्लैदुख्लै, बाइलो, बुकाउनु, हसुर्नु, निज्याउनु, बरक्क बर्किए, अनचिनारु, घोसेमुन्टो, मयलले काती परेको, कर्केटो, जाइकोट, पर्दन्नीतक, बगम्फुसे कुरा, जरपत्ताल, हरिकङ्गाल, चचर्माल्या, चुरीगाँठा, मैरो आदि मौलिक शब्दहरुले प्रयोग भएका छन् । आवश्यकताअनुसार उखान टुक्काहरुको प्रयोगले कथाहरु मिठासयुक्त बनेका छन् ।