यसरी बेचैनीमा रात बित्न थालेको धेरै भैसक्यो । मनमा एक कहाली लाग्दो छट्पटी छ । उकुसमुकुस छ । भित्रबाट दुश्चिन्ताका बादलहरु मडारिएर आउँछन् । घरि र घरि दु:स्वप्नको रोटेपिङमा फन्फनी घुमिराख्छ ऊ ।
उसलाई त्यसकै हातबाट मारिने पो हुँ कि ? भन्ने शंकाले धेरै दिनदेखि लगातार लखेटिरहेको छ । घरि सोच्दासोच्दै आशन्न मृत्युको त्रासदिले सल्याङ्सुलुङ बन्छ । घरि कुनै अज्ञात चमत्कारको कामना गरेर आफू सुरक्षित रहेको परिकल्पना गर्छ । जेहोस् मृत्युको त्रासदिले उसलाई हरक्षण् भित्रभित्रै गिजोलिरहेको छ ।
+++++ +++++ +++++
हिजो उसैले त त्यस केटालाई सिकाएको हो– मानिसले पहाड भन्दा गह्रुङ्गो मृत्युवरण गर्नुपर्दछ । वीरहरुको मृत्युु पहाडभन्दा गह्रुङ्गो हुन्छ, कायरहरुको मृत्यु कुखुराको प्वाँख भन्दा हलुङ्गो हुन्छ ।
उसले ओकलेको यो आप्तवचनले आफ्नै घाँटीमा गला लाग्छ भन्ने कुरा के थाहा ? क्रान्तिकारी गोरेटो पक्रिन उसको कलिलो मनमस्तिष्कमा उसले अनेकन पाठ घोकाएकै हो ।
आज त्यसैबाट ऊ अति विघ्न डराएको छ । अहिले पनि उसको स्मृतिमा कतिपय सन्दर्भहरु सुरक्षित छन् । उसले एकचोटि भनेको थियो– “बुझिस् विक्रम ! मान्छेले भगतसिहं र गंगालालको जस्तो मृत्युवरण गर्न सक्नुपर्छ ।”
उसले विक्रमलाई यसरी उचाल्थ्यो । मानौँ भोलिको क्रान्तिवेदीमा होमिन एक अभय पुरुषको तयारी गर्दैछ । गुरुप्रसाद मैनालीको सहिद कथाको वीरबहादुर नामको पात्र कसरी क्रान्तिमा होमियो र देशको निम्ति प्राणको आहुति दियो ? पहिलोचोटि त्यसको इतिवृत्त सुनाएको थियो । त्यसै प्रेरणाले त बूढा बाउआमालाई झुपडीमा छोडेर उसको पछुवा बनेको थियो । नेपाल आमालाई मुक्त नगरी आफ्नी आमा सुखी राख्न नसकिने रहेछ भन्ने सत्य बुझेको थियो ।
उसले पटकपटक गुरुमन्त्र जस्तो त्यसका कानमा भरेकै हो, “विक्रम ! मान्छे पिच्छे फरक फरक हुन्छन् मृत्युहरु । हामीले चरामुसाको मृत्यु मर्ने कि कुकुरविरालो जस्तो सडकमा बेवारिसे मृत्यु मर्ने कि महान सहिदहरुको जस्तो क्रान्तिको वेदीमा हाँसीहाँसी आफूलाई न्यौछावर गर्ने ?” उसले विक्रमलाई मृत्युका अनेकन विकल्प प्रस्तुत गरेथ्यो ।
त्यसैबाट आफ्नो ज्यान धरापमा पर्न लागेको कुराले ऊ सल्याङ्सुलुङ भएको छ । त्यो अर्थात् विक्रम ऊ अर्थात् कपुरनाथ । कपुरनाथ पार्टीको अगुवा नेता । आन्दोलनको अभियन्ता । विक्रम क्रान्तिमार्गको पाठशालामा कखरा उच्चारण गरिरहेको सिकारु पछुवा ।
समयको एक सुनामी वतासले पञ्चायतको भित्तो चर्किएर ढलेको थियो । वर्षाैँ निर्दलीय विचारधारामा गुम्फित समाज एक्कासी खुल्ला बनेको थियो । अनेकन रुपरंगका पार्टी, नेता र कार्यकर्ताहरु घरघर धुरीधुरीमा आ–आफ्नो कित्तामा झण्डा टाँग्न रस्साकस्सी मच्चाइरहेका थिए । त्यसै मेहेरोमा कपुरनाथ काठमाण्डौबाट गाउँ ओल्र्याे ।
उसको करिष्मामयी वाक्कलाले सकल युवागणको ध्यान मात्रै खिचेन । मन समेत जित्यो । संगठन गर्ने अद्भूत कला थियो उसमा । सपनाको हाटमा मान्छे झुम्म पार्ने दर्शन थियो ऊसित । युगयुग उत्पीडन र अत्याचारको निसास लाग्दो अन्धेरनगरीमा थुनिएका दलितपिडित जनमा आशाको ज्योति जगाएको थियो उसले । गाउँका तरुण तन्नेरी उसकै संगठनमा गोलबन्द हुँदैथे ।
बहुदल आएको एक वर्षमै चुनाव भयो । कपुरनाथले चुनाव जित्यो । सांसद भयो । विडम्वना उसको पार्टी सत्तासीन हुन सकेन । प्रतिपक्षमै रह्यो । अपितु सपनाहरु जिवित थिए । कामनाहरु बरकरार थियो । योपालि नभए पनि अर्को पाली शासनसत्तामा चढेर गरिवगुरुवाका दिन फिराउन सकिने उद्घोष कायमै थियो ।
चुनावभरि नै उसको वडीगार्ड बनेर हिँड्यो विक्रम। हट्टाकट्टा वलिष्ट ज्यानको विक्रम त्यस्तै शुरो र आँटी पनि थियो । अनेक ठाउँमा विरोधीको आक्रमण र प्रहारबाट कपुरनाथलाई जोगाउने उही थियो । विक्रमलाई लिएर हिँडेपछि उसलाई ढुक्क हुन्थ्यो ।
ऊ सांसद भएर काठमाण्डौ फर्के पछि विक्रम पनि आफ्नो घरायसी परिस्थितिले उसलाई पछ्याँउदै राजधानी छि¥यो । नाराले पेट भरिनेवाला थिएन । उसलाई हातमा काम र मुखमा माम चाहिएको थियो । उसले बूढेसकालका मातापिताको अस्कोट र मजेत्रो फेर्नु थियो ।
यत्रो साल संगठनमा हिँडेर दुःख गरेँ । पक्कै मान्य ज्यूले एउटा सानोतिनो रोजगारी दिलाउँछन् । आशा भरिएको चित्तले कपुरनाथको ढोका रुङ्ग्यो । लाचारीका साथ उसलाई पछ्याइरह्यो पछ्याइरह्यो । उसलाई चाहिएको थियो रोजीरोटी । त्यति त मान्यज्यूले चुट्कीको तालमा दिलाउन सक्छन् भन्ने उसको विश्वास थियो । विश्वासपनि अटल विश्वास थियो । साम्यवादको सुरम्य हरियालीले सुख्खा धर्तीलाई हराभरा बनाउन सक्ने तागत उसैमा देख्थ्यो ऊ ।
ऊप्रति मोहित मात्र होइन विमोहित थियो । विमोहित हुने कारण उसले त्यसभित्र अजीव सपना भरिदिएको थियो । रुमानी जगत्को कल्पित चित्र टाँगिदिएको थियो । ती चित्रहरु हतपत उसको मनबाट फुक्लिनेवाला थिएनन् ।
उसले लामो समय प्रतिक्षा ग¥यो । छ महिना होइन, नौ महिनासम्म उसलाई पछ्याइरह्यो । यसवीचमा त्यसले उसको कोठामा के गरेन ? जुठा भाँडा माझ्यो । उसको कट्टु सुरुवाल धोयो; र पनि अनेकन कटुवचन बेहो¥यो । आमाचकारी गालीगलौज सुन्यो । उत्तरापत्तरा नगरिकन सहँदै वस्यो ।
उसलाई बाबुले भनेका थिए– “आफ्नो सर्दाे नहुन्जेल कोरीका पाउ मोल्नु पर्छ नानी !” त्यसैलाई व्रह्मसत्य मानेर उसबाट केही झर्ने आशामा झुण्डिरह्यो ।
समयक्रममा विक्रमको उपस्थिति साँसद कपुरनाथको निम्ति आँखाको कसिङ्गर जस्तो बिझाउन थाल्यो । त्यसप्रति अपमानका अपशब्दहरु बर्साउन थाल्यो । ऊ टक्टकिन थाल्यो । त्यसको आत्मसम्मानमा ठेस पुग्ने व्यवहार देखाउँन थाल्यो । मानौँ विक्रमलाई देख्नासाथ उसमा एक चिड्चिडाहटले छोए जस्तो हुनथाल्यो । आफ्नै गलामा झुण्डिएको घाँडो जस्तो गर्नथाल्यो ।
आफ्नो हृदयको क्रान्तिनायकको यति निच र रुखो व्यवहारले ऊ आहात भयो । घायल बन्यो । उसका सपनाहरु चर्मराउन थाले । ऊप्रति मोहभंग भयो । कारण उसले उसको भित्रीरुप नजिकबाट देखिसकेको थियो । ऊ माफिया, दुई नम्बरी र दलालहरुसितको मन्त्रणामा बेरिँदै बेरिँदै गएको दृश्य देख्यो ।
+++++ +++++ +++++
“ यो सैतानसित अव मैले सँधाको लागि सम्बन्ध तोड्नुपर्छ । अव यसका चिप्ला कुराले हाम्रो वर्गको मुक्ति सम्भव छैन ।” मनमा यो निर्णय लिएर झिस्मिसे नहुँदै कोठा छोडेर निस्क्यो विक्रम ।’
केही समय गाडीग्यारेजमा मजदूरी काम ग¥यो । त्यहीँ काम गर्दागर्दै मजदूरहरुको संगतबाटै ऊ विलुप्त बन्यो । अर्थात् ऊ अव सार्वजनिक जीवनमा रहेन । गाउँमा हल्ला आयो । विक्रम बन्दुक बोकेर विद्रोही शिखरमा सामेल भयो । त्यो छापामार युद्धमा सामेल भएको कुरा उसलेपनि सुन्यो । अर्थात् कपुरनाथले पनि थाहा पायो ।
सुरुमा यस कुरालाई निस्पृह भावले ग्रहण ग¥यो । तर त्यसको एकाध वर्षपछि विक्रमको हस्ताक्षरमा एउटा सन्देश ऊ भए ठाउँ आइपुग्यो । त्यसमा लेखिएको थियो– “तिमी जस्ता पाखण्डी क्रान्तिनायकको नकाव उतार्ने दिन आइसक्यो । तिमीले मेरो र मजस्ता कार्यकर्ताको रगत पसिना जसरी दोहन गरेका छौं । त्यसको एकएक हिसाव किताव गरिनेछ । तिमी उपर कुनैपनि बेला, कुनैपनि ठाउँमा जनकारवाही हुने कुरालाई कसैले रोक्न नकार्न सक्तैन ।”
विक्रमको त्यही चिठी पाएको दिनबाट उसको मुटुमा ढ्याङ्ग्रो बज्न सुरु भएको हो । अहिलेपनि उसको मनमा उही मृत्युको ढ्याङ्ग्रो बजिरहेको छ– ढ्याङ्ग ढ्याङ्ग ठ्याङ्ग !! ढ्याङग ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग !!! नबजोस् पनि किन ? दिनदिनै उनीहरुले निर्वाचित जनप्रतिनिधिलाई नै मारिरहका छन् । अस्ति भर्खर सिराहा जिल्लाको जि.वि.स. सभापतिलाई मारे । अस्ति कुनै जिल्लाको गा.वि.स. अध्यक्षलाई मारे । मर्ने र मार्ने क्रम रोकिएको छैन । निरन्तर अघि बढिरहेको छ ।
उसलाई भित्रभित्रै यस्तो आभास भएको छ कि मृत्युरुपी गोही विस्तारीविस्तारी घस्रिँदै घस्रिँदै ऊतिरै आइरहेको छ । वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भने झैँ मनको वाघले लखेट्दै गएको छ । विक्रमको चिठीले उसलाई त्यस हालत तर्फ उन्मुख गरेको कुरामा कुनै शंका छैन । तथापि आफूले विक्रमप्रति गरेको व्यवहार उसको गलामा पासो बनेर कसिँदै गएको कुरा पनि ऊ प्रष्टसित अनुभति गर्दछ ।
उसले आफूलाई पानीमा हेलिएको हरिण ठान्छ, विस्तारैविस्तारै मृत्युरुपी एकगोही आफूतिर घर्सिदै आइरहेको छ । कुनैपनि क्षण यस गोहीको मुखमा पर्ने हुँ कि भन्ने दुश्चिन्तामा ऊ आतंकित छ । चिठी नआउन्जेल ऊ खासै तनावमा थिएन । जव विक्रमकै हस्ताक्षर अंकित सन्देश पढ्यो तव ऊ भयातुर मुद्रामा रहन थाल्यो ।
+++++ +++++ +++++
दुई महिनाको वीचमा उसले सहरमा तीन ठाउँ कोठा सारिसक्यो । खतराबाट बँच्ने उपक्रम थियो यो । जति पटक कोठा सरेपनि ऊ तनावबाट मुक्त हुन सकेको छैन । असुरक्षावोधबाट दूर हुनसकेको छैन । उसले विभिन्न सुरक्षा निकायमा आफू असुरक्षित रहेको विषयमा फिरादपनि गरेको छ । तर सुरक्षाकर्मीहरुकै होशहवास उडेको अवस्था छ । उनीहरु नै आतंकित छन् यतिखेर ।
कहाँ कतिखेर को मारिने हो ? कुनै ठेगाना छैन । आफ्नो सुरक्षाको प्रत्याभूति काहीँबाट पनि कसैले ग्यारेन्टीका साथ पाउन नसकेको स्थिति छ । विरालाले बच्चा सारे झै आफ्ना झिटीगुण्टा घरि यो ठाउँमा, घरि त्यो ठाउँमा सारिरहेको छ ता नि तर भयमुक्त हुन सकेको छैन । त्यो सवै मनको औडाहा पूरा गर्ने खेलोमात्र भएको छ । यहाँबाट त्यहाँ सर्दा त सुरक्षित हुन्थेँ कि ? खतरामुक्त बन्थँे कि भन्ने मानसिक सुरक्षावोधले ऊ लगातार एक ठाउँबाट अर्को ठाउँमा सरिरहेको छ । जति नै सुरक्षित ठाउँ ठानेर सरेपनि त्यहाँ बास बसेको एकाध दिनमै तीव्र रुपमा उही मृत्युको ढ्याङ्ग्रो बज्छ– ढ्याङ्ग ढ्याङ्ग ढयाङ्ग !!! ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग !!!
“जीवनमा यस मुलङ्खेर पाजीदेखि यति डराउनु पर्ला भन्ने कुरा कहिल्यै सोचिनँ । त्यसलाई सानोतिनो नोकरीमा कतै अल्झाइदिएको भएपनि अहिले त्यसदेखि यति आतंकित बन्नुपर्ने थिएन । त्यसलाई जाबो भुसुनो ठानेँ । उसको हृदयका घाउलाई मैले घाउ नै ठानिन । त्यसमा मलमपट्टी लाउन ध्यान दिइनँ । अहिले त्यसकै फल भोग्दैछु ।” कपुरनाथ मनोलापको कथन गुन्गुनाउँछ ।
अहिले त फोनको घण्टी बज्दापनि झसङ्ग डराउँछ । आफूले उसलाई आमाचकारी गाली गरेका बचन सझिन्छ । कट्टुसम्म धुवाएको घटना सम्झिन्छ । जूठो थाल मझाएको सन्दर्भ सम्झिन्छ ।
“मान्छेको सवभन्दा प्रिय चिज हुन्छ आत्म–सम्मान । जव यसमा चोट लाग्छ, तब ऊ घायल बन्छ र बदलाका विकल्पहरु खोज्दछ । वदलाको भावले नै त्यो विद्रोही बन्यो ।”
विक्रमको विषयमा निष्कर्ष निकाल्छ । त्यसप्रति आफूले गरेका कटु व्यवहारका सिलसिला सम्ँिझदै जाँदा पश्चात्तापको अग्निकुण्डमा जल्नथाल्छ । तर अव उसले सच्याउँने ठाउँ छैन । समयले निकै पर हुत्याइसकेको छ उसलाई र त्यसलाई ।
यी दुई पुरुष नदीका दुई किनारा भैसकेका छन् । जसको मिलन असम्भव छ । सुत्दापनि उसलाई चैन छैन । उठ्तापनि उसलाई चैन छैन । सपनामा पनि त्यही अनुहार चिथोर्न आउँछ । विपनामा पनि त्यसकै छायाँले लखेटिराख्छ ।
देशव्यापी आक्रमण, प्रत्याक्रमण र दोहोरो भीडन्तका घटना दिन दुईगुना रात चैगुना बढिरहेका थिए । दिनै आठ दश जना मानिस हताहती नभएको दिन थिएन । कहिले राज्य पक्षका सेना पुलिस मारिएको खवर आउथ्यो, कहिले विद्रोही छापामारहरु मारिएको खवर आउँथ्यो । कहिले कतै पनि सामेल नरहेका तटस्थ सर्वसाधारण नागरिक मारिएको खवर आउँन थाल्यो ।
द्वन्द्वको भीषण चपेटामा मुलुक हेलिएको थियो । यसैक्रममा एकरात पश्चिम खाराको सैन्य शिविरमा विद्रोहीले भीषण आक्रमण गरे । निकै लामो भिडन्त चल्यो । त्यही भिडन्तमा विक्रम सामेल ल्पाटुनका धेरै योद्धाहरु मारिए र विक्रम पनि त्यहीँ मारियो ।
मृत्युको लस्करमा को कहाँ मारियो ? त्यसको लाश कसरी कहाँ व्यवस्थापन गरियो ? जनसाधारणलाई हतपत थाहा हुने कुरापनि थिएन । विक्रम गुमसुम म¥यो । उसको लाश गुमसुम कुनै खोलामा बगाइयो । मांशाहारी जलचर प्राणीहरुले केहीदिन उसको निर्जीव देह उपर झुक्ति खेले । जीवनको एउटा च्याप्टर समापन भयो सकियो ।
+++++ +++++ +++++
यता अझ आतंकित छ कपुरनाथ ।
“तेसैले मलाई मार्छ एकदिन !” भयातुर मुद्रामा छट्पटिन्छ । विक्रमको मृत्युप्रति वेखवर छ । रातमा निद्रा पर्दैन । निद्रा लगाउने चक्की सेवन गरेको धेरै दिन भयो । अव त थोरै डोजले पनि हुँदैन । ओभरडोज चक्कीले एकरात उसलाई सधैँको लागि चीरनिद्रामा सुतायो । तर खवर पत्रिकामा सांसद कपुरनाथको निधन सुतेकै ठाउँमा हृदयघातबाट भएको खवर छापियो ।
(उदयपुर)