विचारका शैलुङ्गेहरूमा स्तब्ध रातहरू चिर्दै हिमपातमा पौँठेजोरी खेल्दै तिमी उठेको बेला मुस्कुराउँछन् राताम्मे गुराँस र लालुपाते । मेरो देशको विशाल छातीमा आत्मीयताका उर्वर बीज रोप्दै तिमी निस्केका बेला सगरमाथा र माछापुच्छ्रेले ताली बजाउँछन् ! हृदयको चेतलाई प्रणको दरिलो कुटे कोदालोले खन्दै निर्माणमा जुटेका बेला नेपाली माटोले युगीन जीवनको अभिवादन ठोक्छ । आफ्नै बस्तीमा पसिनाको ब्याड राखेर पहिचानको बेर्ना हुर्काउन सके मुस्कुराउने थियो यो माटोमा एउटा सुनौलो भविष्य ! (इलाम)