मलाई नवपिँढीका एक युवा कविले आफ्ना केही कविताहरू वाट्सअप गरेर तिनमा केही लेखिदिने आग्रह गरेका थिए केही दिनअघि । मलाई नयाँ कविता हेर्न, पढ्न पाउँदा खुसी लाग्छ। किनभने कविता रच्नका निम्ति कविमन हुनुपर्दछ जो सारै भावुक, सम्वेदनशील र कोमल हुन्छ।
यसघरी मलाई मेरो आफ्नै दोस्रो काव्य कृति ‘काव्यान्तर’ को विमोचन कार्यक्रमको सम्झना भइरहेको छ। यो सन् 1996 को कुरा हो। असमीया साहित्यका वरिष्ठ कवि नीलमणि फूकनका बाहुलीबाट गुवाहटीको जिल्ला पुस्तकालयको पेक्षागृहमा नेपाली र असमीया साहित्यकार तथा साहित्यप्रेमीहरूको राम्रो उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता नेपाली साहित्यका वरिष्ठ हस्ती लीलबहादुर क्षत्रीबाट भएको थियो।
पुस्तकको आनुष्ठानिक लोकार्पण गरी प्राध्यापक फूकनले आफ्नो वक्तव्यमा भन्नु भएको थियो- ‘आजको घडीमा पनि हाम्रो समाजमा कविता लेखिंदैछन् र कविताका पुस्तक प्रकाशित हुँदैछन् भन्ने कुरा जान्न र देख्न पाउँदा मनमा अति हर्षको आभास हुन्छ। यस कुराले के प्रमाण गर्दछ भने मानिसको हृदयमा अझै प्रेम, माया, दया र सम्वेदनशीलता यथावत रहेछ। मानिसको हृदय अझै पाषाण भैसकेको छैन। अतएव समाजमा मानवता सजीव छ।’
कति महान उद्गार थियो यो कविवर नीलमणि फूकनज्यूको कविताको रचनाधर्मिता माथि ! त्यसै अङ्ग्रेजी साहित्यका रोमान्टिक कवि विलियम वर्डस्वर्थले कवितालाई- ‘प्रबल भावनाको स्वतःस्फूर्त अभिव्यक्ति हो (Poetry is the spontaneous overflow of powerful feelings)’ त्यसै भनेका होइनरहेछन् ।
मेरो दृष्टिमा कविको सूक्ष्मादिसूक्ष्म कोमल भावनाको सृष्टि हो कविता। त्यसैले यो अति सम्वेदनशील हुन्छ अनि हुन्छ सुविस्तृत एवम् बहुआयामिक। त्यसै कारण साहित्यमा कविताको स्थान अरू विधाको तुलनामा धेरै उच्च मानिन्छ। कविता कुनै एउटा परिभाषाभित्र अटाउँदैन। किनभने यसको आयतन अति विशाल हुन्छ अनि यसको अन्तरतत्व हुन्छ अति सूक्ष्म। कविताको भाषिक अर्थ पनि पाठकको सम्प्रेषणीय क्षमतामाथि निर्भर गर्दछ। यसर्थ पाठक-पाठकबीच कविताको अर्थ भिन्न हुनेगर्दछ। आर्कातिर कविताको अर्थ समयले परिवर्तन गराउँछ। किनभने कविता सर्वव्यापि छ। स्थान र समयको सीमा भेदेर धेरै परसम्मको यात्रा गर्न समर्थ हुन्छ कविता। त्यसैले भनिन्छ- ‘जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि।’ कविताबारे यो शाश्वत कथन हो।
कविताले पाठकलाई ब्रह्माण्डको भ्रमण गराउँछ। कविताले केही नहुनुबाट हुनुको बोध गराउँछ। कविको अन्तरभित्रको गहन प्रेम भावना, उच्च कल्पना र अन्तरभेदी सम्वेदनाको प्रतिफलन हो उसको कविता। त्यसैले विश्वकवि रविन्द्रनाथ ठाकुरले भनेका छन्- ‘हामीभित्र यदि प्रेम जाग्रत भएन भने संसार हाम्रा निम्ति कारागारझैं हुनेछ ।’ हो नीरस र निरर्थक मुढोसरि हुन्छ जीवन यदि उसको अन्तर प्रेम र सम्वेदनाहीन छ भने।
उपरोक्त केही दिन अघि दिल्लीबाट आफ्ना कविता हेरी केही लेखिदिने आग्रह गर्ने नवयुवक कविको नाम हो हर्कबहादुर लामगादे ‘रोहित’। उनी सुदूर पूर्वराज्य मणिपुरको नेपाली गाउँ चारहजारेमा सन् 1993 मा जन्म ग्रहण गरेका एक सुशिक्षित युवा रहेछन् जो वर्तमानमा केन्द्रीय कानून एवं न्याय मन्त्री भारत सरकारका निजी सहायकका रूपमा दिल्लीमा कार्यरत रहेका छन्। उनी मणिपुरको युवा भन्ने जानेर मलाई भित्रबाट खुसी लाग्यो। किनभने भारतीय नेपाली जाति भाषाको उत्थान र गौरव कीर्तिमा मणिपुरको अहम भूमिका रहेको छ।
तुलाचन आलेले सन् 1893 मा ‘मणिपुरको लडाईको सवाई’ लेखेर र गाएर भारतीय नेपाली साहित्यको सुरूवात गरेका थिए भने वीर सहिद निरंजनसिंह छेत्रीले मणिपुर राज्यको र राजपरिवार रक्षाको निम्ति अङ्ग्रेजका विरूद्ध लड्दा-लड्दै थुनाह परेर हाँसी-हाँसी फाँसी चढेर सहिद भई नेपाली जातिको मातृभूमिप्रतिको समर्पणको प्रमाण गरिदिएका थिए। मणिपुरको नेपाली समाजमा यस्ता अरू थुप्रै उदाहरण छन् जसले भारतीय नेपाली जातिको गौरववृद्धि गरेका छन्। यसै गौरवशाली राज्यबाट एउटा युवा कविको जन्म भएको छ जसको ‘मन बल्झिन्छ’ शीर्षक काव्य कृति कविताप्रेमी पाठकवर्गका सामु शीघ्र आइरहेको छ।
यसमा जम्मा छयालिस कविताहरू छन् जसलाई ‘नमन’ शीर्षकको भक्तिमूलक कविताले साइत गरिएको छ। यो भारतभूमिका प्राचीन विभूतिहरूदेखि लिएर देश रक्षाका वीर वीराङ्गनासम्मको राम्रो गीति छन्दमा रचिएको छ जसमा नेपाली वीरहरू पनि उल्लेख गरिएका छन्ः-
‘निधारमा टिका लगाई, नमन गर्दछु यो पवित्र माटोलाई।
नमन गर्दछु, सन्त-महात्मा हिँडेको स्वर्गसरी बाटोलाई।।
प्रभुरामको पुरूषार्थलाई नमन, कृष्णको उपदेशलाई नमन ।
भरत-लक्ष्मणको भातृप्रेमलाई, सीताको पवित्रतालाई नमन।।
नमन गरौं विष्वमा साहसको परिभाषा दिने यस भूमिका वीर गोर्खालाई ।
नमन छ फाँसीको फन्दालाई चुम्ने दुर्गामल्ल अनि निरंजन सिंह छेत्रीलाई ।।’
यसरी भारतका सम्पूर्ण गौरवपूर्ण विभूतिहरूको विस्तृत रूपमा सुन्दर सरल छन्दमा उल्लेख गरिएको छ। कविको भाषा सहज सरल छ अनि भाषागत स्वच्छन्दता छ। कविताहरू स्वतःस्फूर्त छन्, भावसम्पन्न छन्, सुन्दर छन्।
यस्तै अरू केही कविताका केही अङ्श हेरौं। उनको दोस्रो कविता ‘मेरो सङ्कल्प’ बडो प्रेरणादायी छ-
‘अग्निमा तपेर कुन्दन भई निस्किनेछु
आफैँ घोटिएर,
चन्दन भई अलङ्कृत हुनेछु
उठ्दै-बस्दै, बस्दै-उठ्दै
लक्ष्य पाउने चेष्टामा
म सबै प्रहर हिँड्नेछु
विष-अमृत चाख्दै,
नयाँ खोजमा हिँड्नेछु।’
परदेशीको सम्झना’ शीर्षक कवितामा कविले घर आङ्गनको महत्व बढो रोचक पाराले दर्शाएका छन्-
‘आफ्नै घरको गुन्द्रुक झोलमा
अमृततको स्वाद रहेछ।
बाहिरको विभिन्न भोजन पनि
आमाले दिएको भोजन अघि
सधैँ खल्लो हुँदोरहेछ।’
‘वीर जवान’ शीर्षकका दुई पङ्क्ति हेरौं-
‘विजय, शौर्य औ गौरवको तिमी हौ बल्दो मशाल।
तिम्रो छातीमा साहस विद्यमान छ समुन्द्र झैं विशाल।।’
‘दृष्टिकोण’मा कवि भन्छन्-
‘सुनेको पनि सबै साँच्चो होइनरहेछ
देखेको पनि आँखाको भ्रम रहेछ
अरूलाई गरेको पनि स्वयंलाई रहेछ
दिन-रातको पसिना पनि उसैको मोती रहेछ।’
‘नदी’मा जीवनलाई बगाइरहेका छन् यसरी-
‘म बगिरहन्छु, छल-छल, कल-कल झर-झर गर्दै
डाँडा-काँडा, समतल, पहरोदेखि अघि बग्छु झर्दै।’
यस्तै उनका सबै कविता पठनीय र रमणीय छन्। उनमा प्रकृत कवित्व मौजुद छ भन्ने कुरामा ठोकुवा गर्न सकिन्छ। यो उनको पहिलो काव्य कृति हो। आउँदा दिनहरूमा उनीबाट धेरै राम्रा काव्य कृति पाइनेछ भन्ने कुरामा विश्वास राख्दै म यिनै काव्यिक शब्दले बिट मार्न चाहन्छु-
‘जग बसालेथे तुलाचनले पहिलो किरण भएर
लोकमय सवाई गीत गाएर
अनिरूद्ध, आलोकहरूले
पुष्ट पारे साहित्यमा नयाँ रोगन भरेर
उदायो आज नीवन नक्षत्र ‘रोहित’
जाज्वल्यमान प्रस्तुति बोकेर।’
(देवकोटा नगरण, गुवाहटी)