निकै समयपछि कीर्तिपुरस्थित त्रिविविको आँगनी टेकियो । चानचुने अन्तराल होइन । चानचुन तीनसय पचास महिनापछि । कोसेलीको रूपमा मनका आँचलभरि अतितका सपनाहरू अटेसमटेस खाँदेकै थिएँ । टाढै पोइल गएकी छोरीले माइतीको चुलोचौको सम्झँदै टाउकोमुन्टो टेक्दै आइपुगेजसरी वा विदेशमा कमाउन गएको छोराले निकै वर्षपछि सपनाको भारी बोकेर घरमा फर्किएजसरी ।एक हातमा विस्फारित एक जोरआँखा र अर्को हातमा उफ्रिरहेको मुटु लिएर फालहाल्दै आइपुगेको थिएँ ।
भन्न त दक्षिणकाली जाने बाटोबाट मोडिएर त्रिविवि प्रवेशद्वार छिर्नेबित्तिकै सुमनलाई भनेको थिएँ, “म अब पैदलै जान्छु, तपाईँ अघि लाग्नुस् ।” सुमनले भनेको मानेको भए पो ? उनले, “उसो भए म यतैबाट फर्किन्छु !” भनी छेकबारजस्तो घुर्की तेर्स्याइहाले ।
“उसोभए खुट्टा चालेसरी बिस्तारै बिस्तारै जाम् न त !” भन्दै गाडी चालक सुमनबहादुर सार्कीसँग एकबुँदे सम्झौता गर्न बाध्य भएको थिएँ म ।
अरूको लागि कीर्तिपुर, मेरोलागि प्राणभन्दा पियारो मातृपुर । धिमा गतिमा उक्लँदै गर्दा हेर्छु परपरसम्म । कीर्तिपुरको ओखाकोखामा अलिअलि भौतिक संरचना थपिए पनि मूलभूत परिवर्तन छैन । राज्यको सर्वोपरि लक्ष्य र संरचनामा आमूल परिवर्तनकारी सन्तान जन्माउने वर्षौँदै आमाको रूपरङमा सकारात्मक परिवर्तन पटक्कै छैन । च्यातिएको चोली र गोबर गन्हाउने गुन्यू बेरेर घैया मकै गोड्दै गरेकी गाउँले आमाजस्तै । त्रिविवि यताउति नहेरी टाउको जमिनमा जोतेर गोडमेलमै व्यस्त छिन् । वर्षौँ पहिले हराएको आफ्नै सन्तान आइपुगेको देखेर चालै नपाएसरी न हर्ष छ न विस्मात नै । कीर्तिपुरको ढिकमनिको जङ्गल उस्तै छ । पाखापखेरा उस्तै छन् । देब्रेपट्टि भने केही रूखहरू र बाक्लो घाँस उखेलेर कङ्क्रिट रूखहरू रोपिएका रहेछन् । दायाँतिरको यही जङ्गलभित्र पसिन्थ्यो बिहानै पुस्तकरूपी गाईबाख्रा चराउन । जङ्गलभित्र ती अबोध पशुजस्ता पुस्तकहरू टन्नै अघाएपछि खेद्दै लगिन्थ्यो नयाँबजारसम्म । नयाँ भनिए पनि कीर्तिपुरेको लागि बाहेक अरूको लेखी नयाँ प्रतीत हुन्नथ्यो त्यो बजार ।
काखबाट वक्षस्थलतिर जतिजति उँभोउँभो लाग्दै छु उतिउति बेचैन भएको छु । नयाँबजार जाने बाटोलाई देब्रेतिरबाट अगाडि जान दिएर म मोडिन्छु दायाँतिर । देब्रेतिर रहेको छात्रावासबाट कोही चिनेको सहपाठीले,”ओइ, पूर्णे ? फेरि आइपुगिस् ??” भन्दै बोलाउला कि भनी ठाडठाडा कान पारिरहन्छु । कसैले बोलाए पो । अलिकति पर पुगेपछि भेटिन्छ व्यवस्थापन केन्द्रीय विभागको उही भवन । माइतीको सङ्घारबाट भित्र छिरेझैँ खुट्टा हलुकासित नाच्न थालिसकेका छन् । मन विछट्टै चङ्गिएको छ । उति बेलाको कक्षा यता पनि चल्थ्यो । अर्थशास्त्र केन्द्रीय विभाग पल्लो मैरोमा छ । घरमा आक्कलझुक्कल आइपुग्ने आफ्नैचेलाचेलीहरूको स्वागतार्थ बढारकुँढार कतै देखिँदैन । मैरोभरि कसेरमसेर । आमाबाबुबिनाको माइती पुगेकी चेलीतुल्य विचलित हुन्छु म ।
अलि पर पुगेर दायाँतिर मोडिन्छु । आँखासँगै डुलीहिड्ने मन भरङ्ग भरङ्ग भैरहेको छ । बा चुलो पनि चिसै छ कि ? निज्याएर हेर्छु । बोर्ड उही छः केन्द्रीय पुस्तकालय । ओदान टेकाइएको अगेनाको स्वरुप पनि जस्ताको तस्तै छ । चिसा दाउरा सल्किएझैँ धुवाँ कुइरीपत्त्योल छ । भित्ता र डाँडाभाटामा एकएक पाथी धुइँसो थपिएको छ । अगेनो छामिहेर्छु । तातै छ । ढुक्क हुन्छु ।
“लाटोले केरा हेरेझैँ के हेरिरहेको ?” पुस्तकालयका कर्मचारीले केरकार गरेपछि होस् ठेगानमा आउँछ, म पुस्तकालयभित्र छिरिसकेको रहेछु । पुस्तक चाँचिएका र्याक हेर्नुको बदला मान्छेका अनुहारहरू र चुलोको धुवाँ खोज्न थालेपछि के भनून् त बरा ?
“म ? म ? आइएसबिएन लिन आएको । आइएसबिएन !”
“तीनसय रूपैँया दिनुस् ।”
गोजी छाम्छु । जम्माजम्मी एकसय रुपैयाँ मात्र छ । विकल्पको रूपमा सुमनलाई सम्झन्छु । उसलाई त, “तिमी जहाँ रम्न सक्छौ उतै रम मलाई केही घण्टा यहीँभित्र रम्न देऊ !” भनेर पहिल्यै लखेटिसकेको छु ।
“आइएसबिएन पछि लिन्छु । आजलाई लोकसाहित्यसम्बन्धी पुस्तक हेर्छु नि त ।” भन्दै म प्रवेश कक्षबाट देब्रेतिरको कोठामा छिर्न खोज्छु । जहाँ तीस वर्ष पहिले दिनभर धुम्धुम्ती पुस्तकको खातमा घोप्टिरहन्थेँ ।
“त्यता होइन । यता यता ।” मेरो दिशाबोध गरेपछिकर्मचारी कराउँछन् ।
“नाइँ नाइँ, यतै जाने म त ।” म ढिपी गर्न खोज्छु । उनीहरू मलाई होस् ठेगानमा नरहेको एक पागल अनुमान गरिरहेका छन्, मैले उनीहरूलाई पोइल लखेटिमागेकी चेलीका लेखी नन्द भाउजू देखिरहेको छु ।
उनीहरूले देखाएकै ठाउँतिर अल्झिने प्रयास गर्छु । आइएसबिएन लिनअर्को दिन आउँछु भन्ने आश्वासन उनीहरूको निम्ति थियो कि आफ्नै निम्ति । आफ्नै निम्ति थियो भन्ने ठहर गरेपछि मन निकै अमिलो हुन्छ । छाती चसक् चसक् दुख्न थाल्छ । म भन्नेबित्तिकै अर्को दिन कहाँ आउनपाउँछु र ? कम्ताका छन् घरपट्टि । बुहारीको निम्ति अनेक गर्यौँ भनी फेहरिस्त तयार गर्छन् । तर बुहारीलाई माइती आउन दिँदैनन् । यसै त तीनसय पचास महिना लाग्यो । फेरि कहिले आउन पाउँला र यता ?
घाइते मनलाई खेरखार पार्दै पुस्तक कोचिएका र्याकतिर कुदाउँछु । त्यहाँ मेरै समकालीन पुस्तक मात्र छन् । पुराना ? पुरानै भए पनि बहुमूल्य छन् । मन अल्झाउन सकिने अङ्कुशहरू त छन् । तर मन अल्झँदैन । घरीघरी खसिरहन्छ । म र यो पुस्तकालय मात्र किन यतिविधि थोत्रा ?
उठबस गर्दा गर्दा कतै मोबाइल खस्यो कि ? भनी गोजी छाम्छु । मोबाइल गोजीमै छ । खस्न भ्याएको छैन । खस्यो कि सक्कियो । मेरो सबथोक यसैमा छ । के के भनी साध्य छैन । भनौँ नयो मोबाइलमा संसार अटेको छ । यही मोबाइलको ठाँडो मात्र मसँग नयाँ भन्न लायकको केही छ । नाम यसैमा छ । काम यसैमा छ । दाम यसैमा छ । दाम सम्झनेबित्तिकै म बुर्लुक्क उफ्रन्छु । अरे यार्, छ त मसँग पैँसा त !
“पाएँ, पाएँ !” हल्ला निषेधित क्षेत्रमा हल्ला मच्चाउँदै क्याशियरतिर दगुर्छु ।
मैले पुस्तक भेट्टाएको हो कि पैँसा? खुट्याउन सकेको छैन उसले । ऊ पहिलेदेखि नै मसँग हैरान छ । हैरान नहुन पनि सक्छ । किनकि यो ठाउँ नै यस्तो हो जहाँ अर्वाचीन परिभाषाभित्र अट्ने सद्दे मान्छे विरलै पाइन्छन् । आजभोलिका सद्दे मान्छे त आलिसान महलहरूमा मात्र पाइन्छन् ।
“ठाउँको ठाउँ के पाउनु भयो ?”
“मसँग आइएसबिएन लिन पुग्ने पैँसा रहेछ !”
“खोइ त ?”
“यी यसमा ।” मोबाइल देखाउँछु म ।
उसले पहिल्यै कुरा बुझिसकेको रहेछ, “इसेवा छ ?”
“छ, छ ।”
उसले इसेवाबाट पैँसा काटेर आइएसबिएनको फाराम उपलब्ध गराउँछ र ११३ नम्बरमा जान अह्राउँछ । उसले औँल्याएतिर भर्याङ उक्लँदै अगाडि बढ्छु ।
“आइएसबिन लिने यतैबाट हो म्याम् ?” ११३ नम्बर कोठाभित्र एक कुर्सीमा बसेकी अधबैँसे महिलालाई सोध्छु ।
“हो, हो । फाराम भर्नुभयो ?”
“भरिसकेको छु ।”
“खोइ त ?” मेरो हातबाट फाराम लिएपछि उनले ओठ लेब्र्याउँछिन्,”के लेखेको यस्तो ? यस्ता अक्षर म त केही बुझ्दिनँ । रेकर्ड चढाउनेले के बुझ्ला ?”
“म यस्तै लेख्छु । बुझ्नेले बुझ्छन्, नबुझ्नेले बुझ्दैनन्, म्याम् ।”
“छापलगाको खोई ?”
“छाप त छैन ।”
“हुँदैन । प्रकाशकको छाप अनिवार्य चाहिन्छ ।”
“छाप अनिवार्य रूपमा नचाहिन मैले के गर्नुपर्छ त म्याम् ?”
“के सोध्नुभएको तपाईँले ?” उनी तर्सिएकी जस्ती छिन् ।
“म कीर्तिपुर फेरि फेरि आइरहन पाउँदिनँ । बाँचेँ भने अरू दुईतीन सय महिना लाग्न सक्छ । तसर्थ मलाई आइएसबिएन आजै चाहिन्छ ।” मैले मेरै दुखेसो पोख्छु जुन उनले नबुझ्न सक्छिन् ।
“उसोभए प्रकाशकमा ‘इन्स्पायर पब्लिकेशन’ को नाम किन लेखेको त ?”
“नजानी नबुझीझ्वाट्टै लेखिहालेछु । माफ पाऊँ । यो केर्छु वा अर्को फेर्छु ।”
“तपाईँको सबैभन्दा नजिकको को छ ?”
“मेरी श्रीमती । यो पुस्तकको लागि सबै खालको लगानी गर्ने उनै हुन् । मलाई प्रकाश दिने प्रकाशक उनै हुन् । बिगार्नै नहुने कुरा बिगार्न पुगेछु । सच्याइपाऊँ ।”
“एक पटकलाई माफ भयो । सच्याएर लेख्नुहोस् ।” उनको आदेशात्मक लवज थियो ।
एकचोटीलाई माफ ? कीर्तिपुर आउनु र आइएसबिएन लिनु एकैचोटी हो कि फेरि फेरि हो? न उनलाई थाहा छ न मलाई ।
“प्रकाशकः देवकुमारी ओली ।”
मैले फाराम सच्याइसकेर उनलाई हात पारेपछि उनको पालो मेरो विवरण कम्प्युटरमा सार्न थालिन् । जवाफसवाल गर्न कहिल्यै नरूचाउने मान्छे म । हाइसुख्ख भयो एकछिन ।
तत्कालै मेरो मनमा सोध्नलायक अर्को प्रश्न जन्मिहाल्यो । तु सोधिहालेँ पनि, “म्याम्, मैले लकडाउनको समयमा जितौरी र यालमाया पुस्तक यो लाइब्रेरीको लागि छोडेको थिएँ । प्राप्त भए नभएको जानकारी हजुरबाट पाउन सकिन्थ्यो कि ?”
“जितौरी र यालमाया ? पाएँ, पाएँ । मलाई ती दुवै पुस्तक एकदमै मन परे ।”
उनको जवाफले म खुशीले आल्हादित हुन पुगेँ । पोइल गएकी चेलीले माइतीको चुलोमै आमालाई भेट्टाएसरी । एकजना चिन्दै नचिनेको ठाउँको मान्छेले मेरा पुस्तकहरू मन परेको कुरा गर्दै छ ।योभन्दा खुशीको कुरा अरू के हुनसक्छ ? चिन्दै नचिनेको पाठकले आफूलाई राम्रोसँग चिन्नुजति आनन्द एकजना लेखकको लागि अरू केही हुन्छजस्तो लाग्दैन ।
मैले नसोधी उनैले सप्रसङ्ग व्याख्या गर्न थालिन् ।
“आँखा र न्यूरो सम्बन्धी समस्याले गर्दा मैले पुस्तक पढ्न छोडेको धेरै वर्ष भैसकेको थियो । लकडाउनको समयमा यिनै पुस्तक मेरो नजरमा परे । यी पुस्तकको बारेमा डाक्टर रजनी ढकाल र डा देवी नेपालले पढ्न लायक पुस्तक भनी फेसबुकमा राख्नुभएको पहिल्यै देखेकी थिएँ । मेरो निजी समस्या हुँदाहुँदै पनि उहाँले सिफारिश गरेका पुस्तकहरू म कहिलेकाँही हेर्ने गर्छु । त्यसैले एकदुई पाना पल्टाएँ । तर मेरो मन ध्यान र आँखालाई पुस्तकभित्रका कथा उपकथाहरूले तानिराखे । के तपाईँले जितौरी र यालमाया पढ्नुभएको छ ? यदि पढ्नुभएको छैन भने एकपटक अवश्य पढ्नुहोला ।”
म उनलाई के जवाफ दिऊँ ? म निकै उल्झनमा परेँ ।ताततातै जवाफ दिइहाल्नू कि प्रश्नमा अर्को प्रश्न थपेर दिनू ? कतै आफूलाई चिनेकै मान्छे हुन् कि भनी सोधिहेरेँ, “म्यामको नाम, वतन र जिम्मेवारीको विषयमा म जान्न सक्छु ?”
“किन नसक्नु ? मेरो नाम, उषा पुन । घर,पोखरा । म यस केन्द्रीय लाइब्रेरीमा धेरै वर्ष पहिलेदेखि हेड अफिसरको रूपमा कार्यरत छु ।”
हेड अफिसर नै ? मन निकै झाङ्गलझुङ्गल भैसकेको थियो, फेरि जिज्ञासा पोखिहालेँ,”हजुरले रूकुमका अरू कोही मान्छेहरूलाई चिन्नुभएको छ ?” शङ्का मेटाउनु थियोः रूकुममा पनि पोखरा नामका धेरै गाउँहरू छन् । कतै रूकुमकै कुनै पोखरावासी त होइनन् यी ?
“किन र ?”
“म पनि रूकुमकै हुँ नि ! त्यो फाराममा हेर्नु न म्याम् ।”
“म काश्की पोखराकी । म पर्वतभन्दा पश्चिमतिर गएकी छैन । पश्चिमतिरकालाई उति चिन्दिनँ । कसैलाई चिन्छु पनि होला । तर ठ्याक्कै अहिले नाम सम्झना भएन ।”
अहिले नै नभनूँ भन्दाभन्दै मुखबाट परिचय फुत्कीहाल्यो,”तपाईँले पढिसकेर राम्रो मानिएका ती जितौरी र यालमाया शीर्षकका कथासङ्ग्रहहरूको लेखक मै हुँ म्याम् । म पूर्ण ओली ।” मैले जम्लाहात जोडेँ ।
“हँ ? के भन्नुभयो रे ?” उहाँका आँखा अकस्मात विस्तारित भएका थिए ।
“हो म्याम्, यो प्रकाशन हुँदै गरेको त्रिवेणी संस्मरणसङ्ग्रहको आइएसबिएन लिँदै गरेको पूर्ण ओली र ती कथाहरू लेख्ने पूर्ण ओली अलग अलग होइन । एउटै हो ।”
“साँच्चिकै ? मलाई त पत्याउनै मुश्किल भयो । मलाई त लागेको थियो ती विशिष्ट पुस्तकहरूमध्ये एउटा न एउटाले उत्कृष्ट पुरस्कार पाउनुपर्ने हो । वा सर्टलिस्टेडसम्ममा पर्नुपर्ने हो । मलाई मन परेका ती पुस्तकको लेखक यति साधारण हुन सक्छ भन्ने कल्पना नै गर्न सकेको थिइनँ । तपाईँलाई धेरै धेरै बधाई छ । यो पुस्तक प्रकाशित हुनेबित्तिकै मलाई पठाइदिनुहोला । जितौरी र यालमाया पनि ल्याउनुहोला । केही थान पुस्तकहरू यही लाइब्रेरीकै लागि किनिदिनेछु ।”
“म्यामले मलाई साधारणको बिल्ला भिराएर एकदमै असाधारण तुल्याइदिनु भयो । हजुर पनि पाठक दुनियामा झनै असाधारण हुनुहुँदोरहेछ । मेरो लेखाइलाई यति महत्त्व दिने पाठक मैले भेटेकै थिएन । केही पाठकले राम्रो भनिदिए पनि छिटफुट पाठकले हावा पुस्तक भन्न पनि बेर लगाएका छैनन् ।”
“तपाईँलाई नचिन्दै ती पुस्तकहरूलाई चिन्ने मौका पाएँ मैले। हावा पाठकहरूको हातमा पुगेमा उनीहरूले हावा कृति भनिहाल्छन् नि । दुःख मनाउन गर्नुपर्ने केही कारणै छैन । बरू तपाईँलाई म अर्को महत्त्वपूर्ण प्रस्ताव गर्छु ।”
“कस्तो प्रस्ताव म्याम् ?” यतिखेर उनको नजरमा म अलि बढी नै हतप्रभ देखिएँ हुँला ।
“ती पुस्तकहरूभन्दा अझै राम्रो लेख्नुहोस् । तपाईँलाई लगानीको समस्या पर्यो भने मलाई सम्झनुहोला ।”
उनको यस सदाशयपूर्ण विश्वासले भुइँखुट्टा रहेनन् । म खुशीले उफ्रँदै पैदलैपैदल कीर्तिपुरको ओरालोतिर फाल हाल्नथालेँ । मोबाइलमा आइरहेको तारन्तारको घण्टीले उठाउन करै लगायो ।
“सर, निकै ढिला भयो कि ? भित्र रमाउँदा रमाउँदै म बाहिरै छु भन्ने कुरा पनि बिर्सनुहोला भन्ने डरले सम्झाइदिएको मात्र ।” चालक मित्र सुमनबहादुर सार्कीको फोन थियो यो ।
“ओहो सुमनजी ? मैले त साँच्चिकै तपाईँलाई भुसुक्कै बिर्सिएछु । म त बल्खु आइपुगेँ त। बल्खु चोकमा आउनुहोस् है ।”
“म यहीँ हुँदाहुँदैमलाई छोडेर किन बल्खु पुग्नुभएको त ?”
“मैले पहिल्यै भनेको होइन र ? मलाई आज मजाले मनलागी हिड्न दिनुहोस् भनेर ।”
(चाँगुनारायण, भक्तपुर)