दत्तात्रेयका २४ गुरुमध्ये एक ‘कुमलकोटी’लाई यस ‘प्रतिरोध तथा प्रत्याक्रमण योजना सभा’को साक्षी बसिदिनुहुन सादर अनुरोध गर्दछु । ‘हरियो झिँगा’को उद्घोषणसँगै कार्यक्रमले औपचारिकता पायो । बिलम्ब नगरी उपस्थित योद्घाहरूले विचार राख्न थाले ।
संगठन विभाग प्रमुख ‘बच्छ्यूँ’ले आक्रोश पोख्यो— मान्छेले अति नै गरे । विनाकारण हाम्रो प्रजातिमाथि निर्मम प्रहार र संहार हुँदै आएकाले प्रत्याक्रमण जरुरी छ । साथी हो ‘जेहाद’ छेडौँ । डराएर हुन्न । अग्रमोर्चामा म उभिन्छु । मान्छेको दोहोलो काढ्न जरुरी छ ।
सैन्य विभाग चिफ ‘अरिङ्गाल’ जोसियो— हाम्रा गुँडमा पुल्ठो झोसेर हाम्रा बालबच्चालाई एकैछाक पार्ने नृशंस मानिसको क्रूरताले पराकाष्ठा पार गर्यो । नासपातीको बोटमा लुकेर हुन्छ वा घाँसमा घुस्रिएर, मान्छेलाई दनक दिनै पर्छ । ‘क्यामोफ्लाज’ तयार पार्ने जिम्मा म स्वयम् लिन्छु ।
रणनीतिक मोर्चा इन्चार्ज ‘बारुलो’ले बतायो— बडहरमा लुके पनि पट्मिरोमा छेकिए पनि मानिसका तीखा आँखाले हामीलाई देखिहाल्छन् । लाखौँको संख्यामा रहेका हामीले संगठित भएर उचित जबाफ दिनै पर्छ । युद्घमोर्चामा सामेल हुन हामी तम्तयार छौँ । मानिसलाई विना कारबाही उन्मुक्ति दिनु न्याचोचित हुँदैन ।
श्रम र संस्कृति विभाग प्रधान ‘मौरी’ मलिन स्वरमा बोल्यो— मह, चाका र मैन लुटेरा अल्छी मानिसलाई सबक सिकाउनै पर्छ । उसलाई कसरी ‘डाइभर्ट’ गर्ने त्यसको जिम्मा मेरो भयो । मानिससँग बदला लिन सांस्कृतिक टोली गोप्य रूपमा परिचालन गरेर घेराबन्दी गर्ने कामको नेतृत्व म लिन्छु ।
धमिरो, ब्याँगे र रोटे समेतको प्रतिनिधित्व गर्दै ‘कालो कमिला’ले फिराद गर्यो— मानिसलाई तह लगाउन मेरो मात्र केही जोर चल्दैन । एकसाथ खनिनु पर्छ । पीडक मान्छेको हिंसाले सीमा नाघिसकेको छ । प्रत्याक्रमणमा हामी बफादार सिपाही भएर उत्रिने छौँ, बाचा भयो ।
प्रत्याक्रमणको समय, दिन, संकेत, बाटो, अवस्थिति, जिम्मेवारी बाँडफाँड र अन्य सुरक्षा शतर्कताका उपायहरू त्यही सभाले तय गर्यो । सबै रोज्न राजी भए— विजय वा बलिदान ।
घरको दलिनमा रहेको आफ्नो देवलको प्वालबाट कुमलकोटीले देख्यो र सुन्यो— प्याट्ट, प्याट्ट, प्याट्ट, प्याट्ट । भुइँमा सुधा कमिला सोत्तर थिए ।
(सुनसरी)