मनमा उर्लिएका
आत्मग्लानीका सुनामी,
छातीमा चर्किएका
हीनताबोधको पैह्रो र
ढोङ्गीपना मिश्रित
निर्लज्ज कुटिल मुस्कान छरिएका
मेरा अनुहारका धर्साहरूले
मलाई नै गिज्याउँछन्
भावशून्य र निरीह ‘ऊ’
मेरो नजरमा पर्दा ।
.................................
प्रसिद्ध कवि,
नामी साहित्यकार,
निर्भिक, निष्पक्ष पत्रकारको
ट्याग लिएर
समाजको तीतो यथार्थ
उजागर गर्न
खप्पिस् मेरो कलम ।
भावना र कल्पनाका
प्वाँख उडाएर
प्रकृतिको निश्छल सुन्दरता,
सुन्दरीको मोहक अवतारको
उदात्त वर्णन,
पर्यावरण प्रदूषण,
पृथ्वीको विनाश,
मानव सभ्यताको आरम्भदेखि
अत्याधुनिकताको पराकाष्ठा,
प्रौद्योगिकीको आधिपत्य,
केही पनि अदेखा
भएका छैनन् मबाट ।
अन्यायको साङलो तोड़न ,
भेदभावको पर्खाल फुटाउन
शङखनाद गरिरहने
मेरा शब्दहरूले
कोरोना कालमा पनि
क्वारेन्टीन गरेनन् ।
अनेकौं बेवारिश लाशहरू,
लाखौं मानिसहरूको
रोग आक्रान्त शरीर,
लकडाउनको पीड़ा,
परिवार मिलनको आकांक्षा,
विश्वकै कमजोर अर्थव्यवस्था र
महामारीको दूरगामी असरबाट
आइसोलेट हुन सकेनन्
मेरा अक्षरहरू ।
अरूका शोक र भोक
मेरो सिर्जनाका स्रोत,
अरूको कष्ट र पीड़ा
मेरो यशको श्रीपेच
भीआईपीहरूसितको
भित्तामा टाँसिएका फोटाहरू र
बैठक कोठामा सजिएका ममेन्टोहरूमा
निमुखा दलित,
उत्पीडितहरूको आँशु छछल्किएको पाँउछु ।
सबरी,
मार्टिन लुथर किङ्ग,
‘सम’ को ‘चिसो चूल्हो’ का सन्तेहरूदेखि
लिएर वर्तमानमा
नवराज वि.क,
जर्ज फ्लोइड,
मेरा नयाँ सिर्जनाहरूका
लोभलाग्दा पात्रहरू हुन् ।
बेस्ट सेलर
बनिन सक्ने साधन पनि ।
उनीहरूको सङघर्ष र ब्यथालाई
कम्प्युटरको निर्जीव स्क्रिनमा
अङकित गरेर
सजीव बनाउन सक्छु म।
तर आफ्नै घरकी ‘सेविका’,
भान्सा छुन भने
निषेधाज्ञा पाएकी,
मेरो अनियन्त्रित
यौनेच्छा तृप्तिको माध्यम
‘काली’ केटीले
वास्तविक न्याय
कहिले पाउली.....................!
बाइसौं.....,
तेइसौं...,
चौविसौं..............शताब्दीमा?
(गान्तोक, सिक्किम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।