ओछ्यानमा ढल्केर निदाएपछि परिचय गुमाएको चराजस्तै चुपचाप सपनाको बिमान चढी अर्कै संसार डुल्न थाल्छु । ठ्याक्कै कल्पनाको जस्तो न सोक न सुर्ता बिल्कुलै स्वतन्त्र ! लाग्छ अचेल मेरा सारा बिपनाहरू सपनाको दुनियाँमा हराएका छन्। म असन्तुष्ट छु, हेर्दै बेस्सरी अतालिरहेझैं, के के नपुगेजस्तो घरि यता घरि उता एक नमिठो तानाबमा भौंतारिरहन्छु।
मस्तिष्कले खुट्याउन नसकेका कति अधुरो कुरोहरूले पिरोलिरहन्छन्। बास्तबमै हराएको के हो र खोजिरहेको के हो ? सत्य के हो र कुन हो ? मान्छे हुनु सत्य हो कि आवस्यकताहरू खोजिरहनु सत्य हो ? म स्वयंलाई थाहा छैन। निन्द्रा, ओछ्यान, भोक तिर्खा अनि तनाब सब सत्य हुन् मान्छेको जीवनमा अनि ओछ्यान र निन्द्रा आवस्यकता हुन् । ओछ्यान नहुने भए मान्छे सपनाबिहीन मेसिन जस्तो हुन्थे । जो कहिले नथाक्ने र नमर्ने चौबिसै घण्टा ब्याट्रीले चल्ने, साँच्ची सपना नहुँदो हो त संसार कस्तो हुन्थ्यो होला ? आजभोलि मान्छे सपनामा यथार्थ, यथार्थमा सपना खोजिरहन्छन् । भौतारिइरहन्छन् । पलपल, बाहिर जति सुखी देखिन्छन् त्यती खुशी र आत्मासन्तुष्ट हुन्नन्, भित्रभित्रै बिस्मादमा खल्बलिन्छ्न् । म आफैले पनि थाहा नपाएरै मन बिथोल्ने अतीतहरू ब्यर्थै सम्झिरहन्छु । म कन्फ्युज छु ती मन बिथोल्ने अतीतहरू सम्झनु पर्छ या बिर्सनु पर्छ ?
सपना भुल्छु, बिपना सोच्छु, बिपना भुल्छु, सपना सोच्छु । यहि भूल्ने र सम्झने होडबाजीमा जिन्दगी बन्धकी राखेर जिउन थालेको छु । कुनै बेला लाग्छ मैले जिन्दगी जिउनै जानेको छुइन । जानेको भए किन अशान्तिका ज्वारभाटा उर्लन्थे मनमा ? गोरुजस्तो जहिले जोतिंदा पनि आउदैन किन मङ्सिर ? काम घर, काम घर गरेको सदियौं भैसक्यो । हुनत यो नितान्त मेरो एक्लो प्रश्न हो अरुलाई लागु नहुन सक्छ । दिन र रातको दोसाँधमा आफैले आफैलाई राखेर जवाफ सोधिरहन्छु, जवाफ पाउँछु त केवल म कसैको कन्ट्रोलमा चल्ने रिमोटवाला खेलौना जस्तो, दबाउनासाथ चल्ने, नदबाउँदा चुपचाप बस्ने । यस्तै अप्ठ्यारो समयको चक्रब्यूहमा अड्किरहेको छ जिन्दगीमा कुरा जस्तो न उँधो गुड्न सक्छु, न उँभो उड्न सक्छु ।
बस, मनभरी नानाभाती सोंचहरूको तानाबाना बुन्दै भोलि आउने सुनौलो बिहानी पर्खिरहन्छु, मन न हो बितेका पलहरूसँग ब्यर्थै संग्राम गरिरहन्छ । यसैकारण ईस्वरले भबिस्य छोपेर राखिदिएको हुनुपर्छ । मान्छेले म मर्दैछु भन्ने चाल पाउने भैदिएको भए, भोलिको आशा कसैले गर्दैन थिए । संसारमा बिकास पनि हुने थिएन । सानो छँदा मेरो आमाले “मन कान्छीको” कथा भन्नुहुन्थ्यो, ‘एकादेशमा आमाछोरी थिए रे’ आमाले भन्थिन्, छोरी तँ पोइला गैहाल्छेस् म मरिहाल्छु भोलि कसले खान्छ र खेती गर्नु ? आमाको यस्तो कुरो सुनेर अल्सी मन कान्छी झन् केही काम नगरी सुरिरहन्थी रे। तर पछि न आमा मर्थ्यो, न छोरी पोइला जान्थी ! यसरी मर्ने कुरो सम्झी, सम्झी धेरै बाँच्ने कल्पनामा डुबिरहने हामी मान्छे । कति लोभी छौं हगि ?
म, यानेकि रिमोटवाला खेलौना, बिदामा बाहेक अरु दिन सबेरै उठ्छु आफ्नो नृत्य कर्म गर्छु, तयार हुन्छु काममा जान्छु दिनभरि काम गर्छु । एक कामदार हुन्छु त्योभन्दा अर्को परिचय हुँदैन त्यहाँ, साँझ भोक, तिर्खा र थकानको कुम्लो बोकी, बिसाउने चौतारी सम्झेर हतार गर्दै घर आउँछु । अगेनामा आगो निभेको पाउँछु भाँडाकुँडा रित्तो हुन्छन्, फेरि कुखुराको पोथीजस्तो भुत्भुतिदै खाना पकाउँछु, पाकेपछि परिवारलाई बोलाएर खान दिन्छु । मिठो मानेर खाइदिन्छन् मनमा आनन्द मान्छु भुल्छु सारा दुख र भर्खरैको थकान पनि, त्यो बेला लाग्छ म एक असल आमा हुँ ..गृहिणी हुँ । फेरी जब चुलाचौकाको भाँडावर्तन सरसफाइको कामधन्दा बाँकी रहन्छ एक्लै गर्छु । लाग्छ नोकर राख्न नपाइने नियमकानुन बनेकोले देखावटी बिहे गरेर ल्याइएको एक नोकर हुँ । फेरि कामधन्दा सकेर मुलायम ओछ्यानमा ढल्किएर स्वर्गीय आनन्दमा डुब्छु, लाग्छ म संसारकै सबभन्दा भाग्यमानी मान्छे हुँ, चराजस्तो दिनभरि आनन्दले स्वतन्त्र उडे पनि रातमा रुखको हाँगामा उँघेर निन्द्रा कटाउन त परेको छैन । हुनत ओछ्यान र निन्द्राबीच पनि एक दव्द चल्छ, स्वार्थी बन्छ मन त्यहाँ पुग्दा । रात, रातै रहेर कहीले उज्यालो नभैइदिए हुन्थ्योझैं लाग्छ । मानौँ रात कहिल्यै मर्मत गर्न नमिल्नेगरी भत्किएपछि मेकानिकले फालेको पुरानो थोत्रे गाडीजस्तो, मेरो मात्र रखवाला भैदिए भत्किएको मन थन्काएर म पनि बर्षौंबर्ष निदाउँने थिएँ ठ्याक्कै कुम्भकर्ण जस्तो ।
जिन्दगी एकबारको हो जिउनु पर्छ मस्तीमा , यो भनाइ बताससँग नाच्ने रुखलाई कहिले लागु हुँदैन । प्रकृतिको आँगनमा उभिएर ऊ जहिले मस्ति गर्छ ! कसैले उसलाई अन्माएर नरसिंगा, सनाई, ढोल र च्याब्रुङ्ग बजाउँदै कतै कसैले पठाउने पनि होइन, लाने पनि होइन र भोलि सम्झेर आज बेस्सरी दुख गर्ने पनि होइन यस्तो देख्दा ब्यर्थै त्यो निर्दोष रुखसँग डाह लागेर आउँछ ! अनि मनमनै भन्छु अर्को जन्मम रुख हुन पाऊँ भागुवान ? हेर न मन पनि कति स्वार्थी अनि निष्ठुरी ?
सोचाइ आखिर सोचाइ नै हो, जे सोचे पनि हुने रहेछ यस्तै सोंचिरहन्छु, चिसो तर सितल बतास झ्यालको पर्दा छिचोल्दै पस्छ भित्र र मलाई झस्काइदिन्छ । म फिर्छु फेरि यथार्थमा छेउको टेबल घडीमा रातको १२ बजेको हुन्छ । भोलि बिहान काम छ तर निन्द्रा गायब ! कोल्टे फेर्छु भित्तापट्टि काठको दराजमा हल्का आकासे रंगको पुरानो सारी झुण्डिरहेको देख्छु, उसले पनि नयाँ हुँदा मेरो सरीरमा निस्वार्थ बेरिएर कति प्रसंशा बटुलेको थियो, आँचलले लत्रिएर सुन्दरताको बयान गरेको थियो । नयाँ भइन्जेल ठाउँठाउँ पुगेर उत्सब मनाएको थियो । अहिले मैजस्तो पुरानो भएको छ । फरक यति हो उसले कहिल्यै केही गुनासो गर्नु उथलपुथल हुँदैन उसको मन जहाँ झुन्ड्यायो उही झुण्डिरहन्छ । सोच्छु म पनि बरु त्यो सारीजस्तै हुन पाए हुन्थ्यो । अनेक चाहना र सपनाहरूको भुङ्ग्रोमा मनले डढेर आहुति त दिन पर्दैन थियो ?
(ताप्लेजुङ्ग हाल बेलायत)