रामबहादुर र हरिबहादुर सँगै घर जोडिएका छिमिकी हुन् । उनिहरुको घर मात्र होइन मन पनि जोडिएको छ। मेलापात सुख दु:खमा उनिहरु सँगै हुन्थे। वन जङ्गल जाँदा, पधेँरा जाँदा उनीहरुका श्रीमतिहरु सल्लाह गरेर सँगै जान्थे।उनीहरुका केटाकेटीहरु पनि खेल्दा गाइगोठालो जाँदा सँगसँगै जान्थे। यसरी हेर्दा उनीहरुको पुरै परिवार एक आपसमा मिलेर बसेको देखिन्थ्यो।
सधैंझैँ एकदिन उनीहरुको छोराछोरीहरुले गाइभैंसी फुकाएर चराउन लगे। वस्तुभाउलाई ठूलो चौरभित्र छोडेर खेल्नतिर लागे। उनीहरु खेल्दै घरिघरी गाइभैसीलाई पनि हेर्दथे। गाइभैसी पनि आफ्नै सुरमा चरिरहेका हुन्थे। चौर कट्ने बेला चैं अरुको बाली खान पुग्ला भनेर उनीहरु आ–आफ्नो वस्तुभाउ फर्काउन जान्थे।
एकदिन गाइभैँसी चराउदै गर्दा केटाकेटीलाई तिर्खा लाग्यो। रामबहादुरको छोरा कर्कलोको पात लिएर अलि परको तुरतुरे धारामा पानी लिन गयो। हरिबहादुरको छोरालाई गाइवस्तु हेर्ने जिम्मा पर्यो। चैतमासको टन्टलापुरे घाम, उखुम गर्मी । हरिबहादुरको छोरा गाइभैँसी हेर्दै चौतारीमा बस्यो। चौतारीमा सिरसिर हावाले शितलता प्रदान गरिरहेको थियो। ऊ मुग्ध भएर यसो पल्टेर हावा खाँदै थियो हरिबहादुरको छोरा भुसुक्क निदायो।
पानी लिन गएको रामबहादुरको छोरा कर्कलोको पातमा पोको पारेर पानी लिएर आयो र सुतिरहेको हरिबहादुरको छोरालाई ब्युँझाएर पानी खान दियो। पानी खाना साथ हरिबहादुरको छोराले सरर गाईवस्तुतिर नजर डुलायो। दोहर्याएर हेर्दा पनि उस्ले माली गाइलाई देखेन। तत्पश्चात उनीहरु माली गाईलाई खोज्न निस्किए । निकै बेर खोजेपछि हरिबहादुरको माली गाई रामबहादुरको मकैबारीमा भेटियो। माली गाईले हरिया घोगा हालिसकेका मकैका दुइटा गरा चैट पारेछ। तत्पश्चात दुई गोठालोको भनाभन भयो । भनाभन धक्कामुक्कामा बदलियो। रामबहादुरको छोराको नाकमा हरिबहादुरको छोराको मुक्का बज्रीयो। मुक्का खानेको नाकबाट रगतको धारा चुहियो। रामबहादुरको छोरा चिच्याउदै घरतिर दौड्यो र आमालाई सम्पूर्ण बेलिबिस्तार लगायो। छोराको हालत देखेर आमाको मन न हो दुख्यो। तत्पश्चात दुवैको आमा विच दोहरी चल्यो।
बेलुकी दुवैले आ–आफ्नो लोग्नेलाई कुरा लगाए। फलत: दुवैको लोग्नेविच हात हालाहाल भयो। दुवैका स्वास्नीले आ आफ्नो लोग्नेलाई तानेर घरभित्र लगे। दुवैले एक अर्काको सेखी झार्ने विचार गरे। मर्का धेरै रामबहादुरलाई परेको थियो।भोलिपल्ट समाज जोड्ने उस्को धम्कीले हरिबहादुरको अहममा ठेस पुगेको महसुस भयो।त्यो सम्झदा हरिबहादुरको रिसको पारो निकै माथी चढ्यो। उस्लाई आधारात सम्म निद्रा परेन। त्यसपछी तुरुन्तै सलाई लिएर रामबहादुरको खरको पालीमा आगो सल्काएर ओछ्यानमा पल्ट्यो र मस्त निद्रामा सुत्यो।
आगो सल्किएर रामबहादुरको पालीबाट धुरी हुँदै हरिबहादुरको धुरी नाप्न पुग्यो। आगोले न रामबहादुरको घर चिन्यो न हरिबहादुरको घर चिन्यो।
(पोखरा)