समयका डोबहरु अघि बढ्दै गर्दा उसले समयका तगारोहरु चिनीसकेकी छ चेतना र उर्जामाथि घुम्टो ओढाएर अन्माएको नमिठो स्मरण ऊभित्र घाउ बनेर बल्किरहेको छ त्यही दर्दले हिजोआज छोरी माइत आउँदिन । उसले बुझेकी छ उसले थाह पाइसकेकी छ मात्र दुई वर्ष जेठो दाजु राष्ट्रको गाथा बनेको छ ऊ आफू सानो टोलको कथासम्म बन्न सकेकी छैन उही दाजु कर्मक्षेत्रको ध्रुवतारा बनेको छ उही दाजु खेल मैदानको रेफ्री (रेफरी) बनेको छ ऊ आफूले डाडु पन्योको खेलमै युद्ध गरिरहन्छे उसले यी सबै बुझेकी छ लैंगिकताले संन्तानमा देखाएको असर खपेकी छ त्यही डाहले छोरी माइत आउँदिन । समयको पंखसँगै दाजु आकासमा उडेको छ धर्तीमा फूल फुलाएर बैनी खुसी हुन सकेकी छैन वर्षौ भयो उसको मन दुखेकोछ त्यसैले छोरी माइत आउँदिन । दाजुलाई कलेज पठाएको र उसलाई अन्माएको साल एउटै थियो अहिले दाजु राष्ट्रले गणनामा गर्ने नागरिक भयो ऊ कसैको श्रीमती भई दाजु कलाकार भयो दाजु साहित्यकार भयो दाजु बहुप्रतिभाशाली भयो हुन त ऊ पनि आमा भएकी छ गृहेणी भएकी छ भाउजू बुहारी भएकी छ उसले माइती सम्झिन्न उसलाई छोरी हुन मन छैन त्यसैले छोरी माइत आउँदिन । चेतनामा रंग पोतेर अन्मिदाको उसको घाउ अहिले खिल भएर पाकेको छ त्यो घाउ उसले कसैलाई देखाउन सक्दिन त्यसैले छोरी माइत आउँदिन । ऊ आफुलाई अझै चिनेकै छैन या चिन्न चाहदिन उसले धर्तीमा दुई मानव अस्तित्व खडा गरेकी छ शक्ति सञ्चार गरेकी छ डाडु पन्यो समाएर उसले जीवन बचाएकी छ दैवी शक्ति धारण गरेकी उसले भरलाग्दो रहरलाग्दो घरबार थामेकी छ । जाऊँ बूढी जाऊँ आज छोरी भेट्न जाऊँ हाम्री छोरीले घर समाज र देशमा अतुलनीय टेवा पुर्याएकी छ यदि छोरीले नसमाल्दि हो त घर सबै सबै घर संसारभर भग्नावशेष बन्ने थिए ऊ सृष्टि हो विद्यमान समाजको संस्कार दुखेर चित्त दुखाएकी छ त्यसैले छोरी माइत आउँदिन (गैंडाकोट, नवलपुर)