मलाई २०६३ सालको अन्ततिर नेपालगञ्ज झर्नु पर्ने भयो । लामो समयसम्म घरमा नगएकाले म सिमीकोटबाट श्रीनगर आएँ । घरमा दुई–तीन दिन बसेर नेपालगञ्जको यात्रा तय गरेँ । घरमा आमाले दहीचामल(अक्षता) गरेर बिदाई गर्नुभयो । जिल्लाका साथीहरुले नेपालगञ्जमा कार्यक्रम छ भन्ने सूचनाबाहेक अरु केही सुनाएका थिएनन् ।
बाजुराको कोल्टीबाट नेपालगञ्ज जाने मनसाय बनाएको थिएँ । हवाई जहाजको टिकट पाउन गाह्रो भयो । तीन–चार दिन कोल्टीमै बस्नुभन्दा त हिँडेरै साँफे पुग्न बेस भन्ने लाग्यो । त्यहाँबाट बिहानै उठेर साँफेतिर लागेँ । मार्तडीहुँदै साँफे पुग्न तीन दिन लाग्यो । बाटोमा अर्को–दोश्रो साथी थिएन । घरबाट एक्लै हिँडेको थिएँ । हिड्ने क्रममा बाटो बिराउला भन्ने डरले बेलाबेला भेटिएका मान्छलाई साँफे जाने बाटो सोध्दै गएको थिएँ । ठाउँठाउँमा डोजर र मान्छेले सडक काटिरहेका थिए ।
त्योभन्दा पहिला नेपालगञ्ज गएको थिइनँ । नेपालगञ्ज बजार हेर्न र पहिलोचोटि पत्रिका छापिने छापाखाना देख्न पाइने भयो भनेर खुसी भएको थिएँ । हिँड्दाखेरी बाटोमा भुइँ होइन नेपालगञ्ज बजार देखिरहेको थिएँ । बाटो हिँड्ने क्रममा गन्तव्यमा नपुग्दासम्म थुप्रै मान्छेसँग भेट्टिने र छुट्टिने क्रम जारी रह्यो । सबै अपरिचित भएकाले एक–दुई शब्दबाहेक उनीहरुसँग दिल खोलेर कुरा गर्न सकिएन ।
अनेकौँ भावनाहरुले मन तरङ्गित भइरहेको थियो । त्यसमध्येमा पनि पत्रिका कसरी छापिन्छ होल्ला भन्ने कुतुहलता जागिरहेको थियो । त्यही भएर पनि बाटो काट्ने क्रममा दिउसोको टन्टलापुर घामको कुनै प्रवाह भएन । कतिकति बेला भने घामले तालु पोलेको महसुस भइरहेको थियो । हाते रुमालले टाउँको छोपेको थिएँ । तीन दिन लगातार हिँडेर बेलुकापख अछामको साँफेबगर पुगियो ।
गाडीको टिकट काउन्टरमा गएँ । नेपालगञ्ज जाने बस छुटिसकेको रहेछ । अत्तरियासम्मको टिकट काटेर बसमा चढेँ । साँझको सात बजेतिर बस चल्यो । बस चौखुट्टेहुँदै दिपायलतिर घुइँकियो । राती अँध्यारो भएकाले वरपर बत्ति बलेकोबाहेका अरु केही देखिदैनथ्यो । विभिन्न ठाउँका मोडघुम्ती, उकाली–ओराली गर्दै बस एकोहोरो घुइँकिरह्यो । बाटोमा चक्कर लाग्यो । आँखा चिम्लिएँ । कतिबेला निदाएछु पत्तै भएन ।
बाहिर अँध्यारै थियो । बस खलाँसीले अत्तरिया पुग्यो भनेर कराएपछि म झसङ्ग बिउँझेँ । उही खलासीले नै नेपालगञ्ज जाने बसमा चढाइदियो । त्यहाँबाट बस महेन्द्रनगर हुँदै कर्णाली चिसापानी भएर नेपागञ्जतर्फ बढ्यो । वसको झ्यालबाट वरपरको दृष्य एकदमै रमणीय लागिरहेको थियो । कोहलपुर पुगेपछि अब त सुरक्षितका साथ पुगियो भनेर ढुक्क भइयो ।
कोहलपुर नेपालगञ्ज सडकमा साइकल, मोटरसाइकल र रिक्सा पनि गुडिरहेका थिए । पहिलोचोटि भएर होला मलाई यो देखेर पनि आनन्दको महशुस भइरहेको थियो । नेपालगञ्जलाई रिक्साको सहर भनेर पनि सुनेको थिएँ । दिउसो जब पुष्पलालचौकमा उत्रेँ, चारैतिर रिक्सा नै रिक्साको ताँती देखेँ । सुनेको कुरा सही रहेछ भन्ने लाग्यो ।
सुर्खेत–नेपालगञ्ज रोडमा पर्ने धम्बोझी–चौक नजिकै जनसन्देश पत्रिकाको कार्यालय रहेछ । त्यहाँ पुगेपछि दाजु दीपेन्द्र रोकायासँग भेट भयो । कार्यालयमा अरु धेरै साथीहरु थिए । ती सबै मेरा लागि नयाँ नै थिए । सुरुमा त नेपालगञ्ज सहर बिरानो लाग्यो । एउटा कोठामा छापाखाना राखिएको रहेछ । एक जना साथी पार्टीको लेटरप्याड छापिरहेका थिए । पछि परिचय भयो, उनी जुम्लाका कमरेड कृतिमान रहेछन् । केही समय मेसिन चलेको हेरिरहुँ हेरिरहुँ जस्तै लागिरह्यो ।
समाचार कक्ष र कम्प्युटर कक्षका पनि फरक कोठा बनाइएका रहेछन् । बेलुका मैले समाचार लेखेर आफैले टाइप गर्न लगाएँ । कम्प्युटर सेटिङ निमबहादुर बुढाथोकी दाइले गर्नुहुँदोरहेछ । उहाँले कम्प्युटर टाइप गरेको देखेर दङ्ग परेँ । पहिलोचोटि नै हो, त्यति छिटो कम्प्युटर टाइप गरेको देखेको । राती नै तयार भयो पत्रिका । पत्रिका छापिएको हेर्ने धोको पनि पूरा भयो । खुसी लाग्यो मनमनै साचेँ, पत्रकारिताले यहाँसम्म पु¥यायो ।
बेलुका दाजु दीपेन्द्र रोकायासँग पत्रकारिताको बारेमा छलफल भयो । उहाँले मलाई क्षेत्रीय प्रकाशन विभागमा सरुवा गरिएको कुरा जानकारी गराउनुभयो । उहाँले पहिल्यै यस विभागमा सरुवा गराउन खोजिएको भए पनि कमरेड सुशीलले नमानेको उल्लेख गर्नुभयो । उहाँको यस कुराले म अत्यन्तै खुसी भएँ । मलाई सहरकेन्द्रित पत्रकारिता गर्न खुब रहर लागिरहेको थियो । अबदेखि क्षेत्रको मुख्य भागमै रहेर आफ्नो प्रतिभा प्रष्फुटन गर्न पाइने भयो ।
बिगतका जस्तो समाचार लेखेर कसरी पठाउने, पत्रिका कतिबेला बितरण गर्ने भन्ने चिन्ता रहेन । अबदेखि नेपालगञ्जमा बसेर एक दक्ष पत्रकारको रुपमा भूमिका निर्वाह गर्न पाइने भयो भनेर मेरो मन प्रफुल्ल भइरहेको थियो । त्यसपछि बजारका बारेमा जानकारी लिएँ । विभिन्न स्थानहरुमा भएका कार्यक्रमहरुमा सहभागी भएर समाचार सङ्कलन गर्न थालेँ । विभिन्न संचार–माध्यममा कार्यरत सञ्चारकर्मी साथीहरुसँग परिचय पनि भयो ।
रिपोर्टिङको सिलसिलामा कहिलेकाहीँ राप्तीपारिका गाउँहरुमा पनि पुगियो । यस अवधिमा मैले मेरो कलमलाई झनै तिखार्ने मौका पाएँ । कार्यलयमा काँसीचन्द्र बराल, दिपेन्द्र रावल, रतिमान सिंहलगायतका साथीहरु पनि हुनुहुन्थ्यो । हामी सबैका आआफ्नै जिम्मेवारीहरु तोकिएका थिए । मैले सुरुमा रिपोर्टरकै काम गरेको थिएँ । केही समयपछि दाइ प्रभात चलाउने, कमरेड कमल निओल, महारुद्र आचार्य, अर्जुन कार्की, सुशील शर्मालगायतका साथीहरु पनि आउनुभयो ।
त्यतिबेलासम्म इन्टरनेटको राम्रो सुविधा थिएन । राष्ट्रिय समाचारका लागि बेलुका बिबिसी, नेपाल नेटवर्कको कायाकैरनलगायत विभिन्न एफएमहरुका समाचार सुन्थ्यौँ र त्यसैका आधारमा समाचार बनाउँथ्यौँ । रेकर्डरमा रेकर्ड पनि गरिन्थ्यो । विभिन्न जिल्लामा भएका साथीहरुले समाचार फ्याक्स गरेर पठाउँथे । कहिलेकाहीँ लेखिएका समाचार राम्रोसँग बुझिन्नथे । स्पष्ट आउन्नथे । अनुमानको भरमा त्यसलाई सच्याएर पुनर्लेखन गर्नुपथ्र्यो । बाहिरबाट पठाइएको फ्याक्स कस्तो आउँदोरहेछ भन्ने कुरा बल्ल थाहा भयो । फ्याक्स स्पष्ट नहुँदा समाचार डेक्समा बसेका साथीहरुलाई बुझ्नमा एकदमै गाह्रो हुनेरहेछ ।
राती अबेरसम्म समाचार लेख्ने र टाइप गर्ने काम हुन्थ्यो । कुनै दिन पत्रिकाको सेटिङ मिलाउँदा–मिलाउँदै बिहानको ४ बज्थ्यो । प्राय साथीहरु निदाइसकेका हुन्थे । कहिलेकाहीँ निम दाइले निदाउँदै टाइप गर्नुहुन्थ्यो । मैले दाइ–दाइ भनेर बेलाबेला बिउँझाउँथे । हुन पनि मान्छेहरु सुतेर उठ्ने बेला भइसक्दासम्म पनि किन निद्रा नलागोस् ।
सुरुसुरुमा पत्रकारिता गर्न साह्रै गाह्रौ थियो । दैनिक पत्रिका चलाउनका लागि प्रत्येक दिन नयाँ–नयाँ सामाग्री पाउन पनि त समस्या हुन्थ्यो । मलाई लाग्थ्यो, यो भन्दा पहिलाका अग्रज पत्रकारहरुले कसरी दैनिक पत्रिका तयार गर्नुभयो होला । पत्रिकाको प्लेट तयार गरी प्रेसमा दिएर सुतिन्थ्यो । सुतेको दुईतीन घण्टाभित्रै उज्यालो हुन्थ्यो । कार्यलयमा पत्रिका पढ्न बाहिरबाट बिहानै आइपुग्थे । होहल्ला भएर अनिदै उठ्न बाध्य हुन्थ्यौँ ।
समाचार लेख्दालेख्दा औँलामा डामसमेत बस्थे । अहिलेको जस्तो सबै ठाउँमा ई–मेल, इन्टरनेटको सुविधा र पहुँच थिएन । अनलाइन पत्रिकाको पनि त्यत्ति राम्रोसँग विकास भएको थिएन । समाचार कभर गर्नका लागि विभिन्न एफएमहरु सुन्नु पर्ने अवस्था थियो । प्रकाशन विभागमा सरुवा भएदेखि थप दुःख गर्नु पर्ने भयो । जिल्लामा हुँदा दिनको एक–दुई समाचार लेखे पुग्थ्यो, तर कार्यालयमा भएपछि त्यत्तिले मात्र पुग्ने भएन । कहिलेकाहीँ सामाग्रीको अभावमा लेख–रचना पनि आफैले लेखेर तयार गर्नुपथ्र्यो ।
समाचार लेख्दै जाँदा समाचार सम्पादन गर्न पनि सिकेँ । त्यसपछि समाचार सम्पादकको रुपमा काम गर्न थालेँ । मेरा लागि अब समाचार, फिचर लेख्न र सम्पादन गर्न कुनै गाह्रो विषय भएन । यसरी लेख्दै जाँदा नेपालगञ्जमा पनि छिट्टै स्थापित हुन सफल भइयो । बाहिरका साथीहरुले पनि मेरो लेखन शैलीप्रति तारिफ गरिदिंदा झनै उत्साह र हौसला बढ्दै गयो ।
जनसन्देश पत्रिका प्रकाशनमा आएको केही समयपछि दाजु दिपेन्द्र रोकायाको नाममा नौलो जनसन्देश दैनिक पत्रिका दर्ता गरियो । नेपालगञ्जबाट प्रकाशित हुने अन्य पत्रिकाभन्दा यसले राम्रो बजार लग्यो । त्यतिबेला नेपालगञ्जमा भएको मधेशी र पहाडीबीचको साम्प्रदायिक द्वन्द्व निरुपण गर्न सघाउ प¥यायो । त्यस समय अधिकांश पत्रिका बन्द भए । ‘रिक्स’ मोलेर भए पनि ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने नारा दिएर नौलो जनसन्देश पत्रिका चलिरह्यो । त्यसपछि यो नारा सबैमा स्थापित भयो । त्यतिबेला शान्ति स्थापना र मेलमिलाप कायम गराउने कार्यमा यसले ठूलो भूमिका निर्वाह गरेको थियो ।
(बर्दिया)