मुङ्ग्रे केराले भन्यो, ‘म सबैभन्दा खँदिलो र मोटो छु । पेट भरिन एउटै कोसो पर्याप्त छ । मलाई छान्नोस् ।’
झप्रीले आफ्नो उपादेयता प्रमाणित गर्न नझोक्किई कैरन ल्यायो, ‘म दशैँ पर्व विशेषको केरा हुँ । म जत्ति मीठो अरू केरा छैनन् । मझौला आकारको मलाई रोज्नुमा नै सबैलाई फाइदा छ ।’
अठियाले आफ्नो विशेषता बतायो, ‘म औषधिजन्य गुणले भरपूर छु । गाउँमा छेरपाटे लाग्दा वा सहरमा पखाला चल्दा म अचूक दबाई हुँ । मलाई छान्नोस् ।’
बयाङ्गो आफ्नो प्रशंसामा बोल्यो, ‘पूजाआजामा मेरो व्यापक प्रयोग गरिन्छ । खेलाडीले मलाई नै रुचाएका छन् । म सबैभन्दा लामो केरा हुँ । बाहिर हरियो देखिन्छु तर भित्र गज्जबले पाकेको हुन्छु । मलाई छान्नोस् ।’
चिनीचम्पाले आफ्नो मुख खोल्यो, ‘म जत्ति गुलियो केरा नै छैन । थोरै मात्रामा फल्ने हुनाले मेरो प्रयोग सीमितले मात्र गर्न पाउँछन् । म सित्तिमित्ति उपलब्ध हुन्नँ । मलाई छान्नोस् ।’
मर्चमाने मस्कियो, ‘म सबैभन्दा सानो केरा हुँ । त्यसैले म लोकप्रिय छु । बूढाबूढी र केटाकेटीलाई मेरो मात्रा उचित हुन्छ । मलाई छान्नोस् ।’
मालभोगले आफ्नो बखान गर्यो, ‘गृहिणीहरूको रोजाइमा सधैँ एक नम्बरमा छु म । मेरो कुनै ‘साइड इफेक्ट’ छैन । बालबच्चाको लागि म सर्वश्रेष्ठ केरा हुँ । बाहिर–भित्र उस्तै सुन्दर देखिन्छु । आँखा चिम्लिएर छान्नुभए हुन्छ मलाई ।’
केरा कथनी सुनेर मान्छे अलमलिए । कुन केरा राम्रो छुट्ट्याउन सकस परेकै बेला केराहरू एकाएक हराए ।
मान्छे हेरेको हे¥यै भए जब राप र तापले रूप, आकार र चालढाल नै फेरिएका केराहरू लगभग अठार सय दिनपछि घरघरै आउन थाले ।
(सुनसरी)