कविता नै साहित्यमा सबैभन्दा बढी लेखिने विधा। त्यसैले होला अरू विधाहरूको तुलनामा यो विधा मौलाएको छ। केवल पुस्तकहरू मात्रै नभएर अनेकौँ माध्यमहरूबाट कवितालाई पाठकसम्म पुर्याउने हुँदा कवितामा सङ्ख्यागत बढोत्तरी भएको देखिन्छ। नयाँ नयाँ प्रवृत्तिलाई प्रवेश गराउने कार्य पनि भएकै छ। जनताको आवाज, प्रकृतिको रक्षा, भूमण्डलीकरणको डरलाग्दो भुमरीको चेतावनी दिँदै नयाँ प्रतीक, बिम्ब, मिथक लिएर दगुरेको आजको कविता जनमुखी बन्ने क्रममा निकै फड्को अघिबढेको छ। कविहरूका कवितामा प्रयोग सिर्जना, कलात्मकता, भावको आरोह-अवरोह, अभिव्यक्तिको चमत्कारिताका, नयाँ नयाँ शिल्पको अनुसन्धान, अलङ्कार योजना आदिले नेपाली कवितालाई उच्चताको शिखरतर्फ लगिरहेको अनुमान गर्न सकिन्छ।
१. कवि हृषिकेश भरद्वाज : असमेली काव्य जगतमा ह्रषिकेश भरद्वाज कुनै नौलो नाम होइन। ह्रषिकेश भरद्वाजको नाम सिर्जनाको क्षेत्रमा व्यवहार गरे तापनि उनको असल नाम चेवन शर्मा हो। विश्वनाथ जिल्लाको मोनाबारी गाउँमा जन्मेका ह्रषिकेश शिक्षण पेसामा जडित छन्। संस्थागत रूपमा पनि विभिन्न सङ्घ-संस्थासित जडित भई सामाजिक सेवा गरिरहेका छन्। उनी क्वीज मास्टरका रूपमा पनि परिचित छन्। उनी सोसियल साइटमा क्वीज, साहित्य आदिका कार्यक्रमहरूमा एङ्करको भूमिकामा पनि देखिन्छन्। उनका कविता, कथा, निबन्धहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित छन्। उनको अहिलेसम्म एउटा मात्र कृति प्रकाशित छ। कविता कृति।
२. ह्रषिकेशको काव्यकृति : सन् २०१९ मा विश्वनाथ चारालीको अनुपम चिन्तन मञ्चले प्रकाशित गरेको ह्रषिकेश भरद्वाज कविता कृतिको छुट्टै पहिचान छ। एउटा कृतिको दुइटा नाम छन्। अर्थात् एउटा साइटमा कसरी भनौँ…कति माया गर्छु तिमीलाई भनी नामाकरण गरी प्रेमका २८ वटा कविता समावेश गरिएको छ। यसै पुस्तकको अर्को साइटमा साथी, यहाँ यस्तै छ जिन्दगीज् शीर्षक दिएर मानव जीवनका ३१ वटा कविता समावेश गरिएको छ। कुल ५९ वटा कविताहरू समावेश गरिएका छन्। सायद यो किसिमको कविता कृति असमेली नेपाली साहित्यमा पहिलो होला। दुवै साइटमा पुस्तकको आवरण सज्जा चिटिक्क पाराले सजिएको छ। यस कृतिका भूमिका वरिष्ठ साहित्यकार प्रा. टीकाराम उपाध्याय निर्भिकले लेखेका छन्। कृतिभित्रका अधिकांश कविताहरूमा प्रेम-प्रीतिको पुकार छ।
३. कृतिको विषयवस्तु : अधिकांश कविताहरूमा प्रेम-प्रीति विषयवस्तु भए तापनि अरू विषयहरूले पनि यस कृतिमा ठाउँ अगोटेको छ। अध्ययन गर्दा मुख्यत जातीय अस्मिता, जीवन चिन्तन, समय चेत, राजनैतिक चेतना, राष्ट्रप्रेम, पर्यावरण चेतना आदि पाइन्छन्।
३.१ स्वच्छन्दतावाद : स्वच्छन्दावादी स्वरको गुञ्जन कविताहरूमा पाइन्छ। वैयक्तिकता, काल्पनिकता, भावुकता, अद्भूतता साथै कृत्रिमताबाट मुक्तिको स्वर पाइन्छन्। कविले मनको भावावेगलाई आफ्नै तरिकाले प्रस्तुत गरेका छन्। छेउछाउको हरियाली स्वत: भित्रिएको छ कविताहरूमा। गाउँलेपनले आफ्नै स्वर प्रस्तुत गरेको छ कवितामा।
रचनामा निजी विषयवस्तुको अभिव्यक्ति भरद्वाजले यसरी दिएका छन् -(वैयक्तिकता)
‘’म तिम्रो प्रतिक्षामा छु निरूपमा आशामा छु एउटा म्यासेजको प्रत्युत्तर चौविस वसन्तमा तिम्रो साथ नदीको बालुवादेखि, सागरको सहराइसम्म मेरो हृदय आत्माको युद्धमा तिम्रो साथ...।‘’ (तिम्रो प्रेममा म न्द्रिाहीन निरूपमा, पृष्ठ-२३)
काल्पनिक जगतको विचरण पनि कविले गरेकै छन्। त्यसैले त उनी सपनाको खोजी गर्छन्। सपना देख्ने गर्छन्।
(काल्पनिकता)
‘’मान्छे त हुँदैनन् आफ्ना, सपना त आफ्ना हुन् धेरै दिनदेखिको चाहना एउटा सपना देख्ने सुगन्धले मगमग, सुन्दरताले जगजग बेहुलीलाई लिएर कविता लेख्ने।‘’ (एउटा सपनाको खोजीमा, पृष्ठ-३५)
भावनाको प्रधानता पाइन्छ कविताहरूमा। (भावुकता)
‘’साँझमा जुनकिरी समाती अँध्यारामा रमाउने हत्केलामा लुकाई उज्यालो ढाक्ने आकाशमा उढाई कत्ति रमाउने आकाशका तारालाई छुने मन छातीमा लुकाई मनमा टाँस्ने मन तारासँग बोल्ने, जुनसँग हाँस्ने मन मलाई पनि जुन-तारा हुने मन।‘’ (तिमी मेरो मनको तारा हौ कि जुन?, पृष्ठ-२२)
कविताहरूमा प्राकृतिक अद्भूतताको चित्रण गरिएको पाइन्छ। (अद्भूतता)
‘’के भुल थियो ती लच्छिएकी बुटाको, के भुल थियो त्यो वृक्षको आज दुबै छन् -तर कोही छैनन् अन्तिम सिद्धान्त वृक्षको- पुन: प्रेममा नपर्ने प्रेम बिछोडको अर्को नाम ।‘’ (एउटा वृक्षको प्रेमगाथा, पृष्ठ-१५)
कृत्रिमताबाट मुक्तिको खोजीमा कतिपय कविताहरू देखिएका छन्। गाउँले वातावरणमा कुनै कृत्रिमता रहँदैन। स्वच्छ, निर्मल एउटा गाउँले परिवेश। जो कृत्रिमतादेखि निकै टाढा छ।
‘’हजुर, मेरा गाउँका छातीमा कहिलेकाहीँ सपनाहरू बग्दै जान्छन् बलुवामा छोपिन्छ हरियो घाँस बगि जान्छन् उलाउमा हलो-जुवा र बिउका मुठा सुरक्षित यहाँ बनका जानवर, मृग, भालु र लाटकोसेरो यहाँ हत्या हुँदैन प्राणीको पक्षीहरू गुनगुनाउँछन् भगवान्को नाम।‘’ (मोनाबारीमा पदपृष्ठ हुनुहवोस् न, पृष्ठ-१४)
३.२ सौन्दर्य बोध : कविता भनेपछि सौन्दर्य चेतना, मनस्थिति आदिको समावेश पाइन्छ नै। यस कृतिमा पनि पाइन्छ। सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना ह्रषिकेशमा पाइन्छ। त्यसैले उनका कवितामा सुन्दर र असुन्दरको बिचमा रहेको अन्तर्बोध छ। लालित्य, कोमलता, शिष्टता, माधुर्य आदितर्फको झुकाउ छ।
‘’शृङ्गार बिना उनी सुन्दर हुनुपर्छ रसिला ओठमा हँसिलो मुस्कान हुनुपर्छ बाटुलो शरीरमा सागर जस्तो मन हुनुपर्छ।‘’ (कोही छन् त्यस्ता मैले सोचेजस्ता, पृष्ठ-५०)
३.३ आदर्शवाद : जीवनको यथार्थ घटनाको चित्रण गरी जीवन यस्तो हुनुपर्छ भन्नु आदर्शवाद हो। मानिसले सधैँ असल कुरालाई लक्ष्य गरेर त्यसको प्राप्तिका निम्ति काम गर्नु हो भने संसार नै सुन्दर हुन्थ्यो। भरद्वाजका कविताहरूमा पनि आदर्शवादी चिन्तनको छाप पाइन्छ। मानव समाजको विकृति-विसङ्गति, स्वार्थपरता आदि पक्षलाई पन्छाएर सुन्दर, स्वच्छ समाज निर्माणको सपना देख्छन् कवि ह्रषिकेश भरद्वाज।
‘’मुनाहरू मौलिन्छन्, बतासको सङ्गीत सभ्य मानिस, सभ्य देश-महझैँ मिठो शब्द मुखमा रोटीको निम्ति सङ्ग्राम छैन, गाँसवासको प्रश्न छैन प्रेमको संगीत गन्किन्छ, मानवताको पाठ पढिन्छ उनाउ आउँछ हाँसोको...।‘’ (बादलपारिको देश, पृष्ठ-४७)
३.४ प्रगतिवाद : समाजमा हुनेगरेका अन्याय, अत्याचार, शोषण, दमन र सामाजिक विभेद जस्ता क्रियाकलापको अन्त्य गरी त्यहाँ समानता कायम गर्ने उद्देश्य राख्नु प्रगतिवाद हो। यसलाई समाजवादी यथार्थवाद पनि भनिन्छ। यसले क्रान्ति र सामाजिक परिवर्तनप्रति गतिशील दृष्टिकोण राख्छ। भरद्वाजका कुनै कुनै कविता प्रगतिवादको घेराभित्र पर्न गएका छन्।
हिमालको उच्च शिखरमा नाच्ने सपना सागरका विशाल वक्षमा तर्ने मन ‘’हावासँग उफ्रिएर आगोलाई फाँडेर रच्नु छ नयाँ इतिहास। टल्किनु आकाशमा, झल्किनु हृदयमा मनले, प्राणले, हृदयले प्रणाम आकाश छुने, साहस हुने शुभकामना नयाँ पिँढीलाई।‘’ (शुभकामना नयाँ पिँढीलाई, पृष्ठ-४६)
बिम्बविधान : बिम्बले प्राय: पाठकको मस्तिष्कमा मानसिक प्रभाव उत्पन्न गर्ने वर्णनात्मक पदावली वा आलङ्कारिक भाषा र त्यसबाट उत्पन्न हुने प्राय: दृश्यमान प्रभावलाई बुझाउँछ। कवितामा प्रयुक्त हुने अधिकांश बिम्बहरू चाक्षुष हुन्छन् , र यिनले कविको यथार्थ वा काल्पनिकजगत्का शब्दचित्र प्रदान गर्छन्। बिम्बविधान कविताको सजावट वा आभूषण मात्र नभएर अर्थको निर्माण गर्ने आवश्यक तत्त्व पनि हो। कवितामा बिम्बविधानको स्वरूप कविपिच्छे फरक हुनसक्छ र यसले कविलाई परिचित तुल्याउन र कवितालाई सशक्तता प्रदान गर्न मदत गर्छ। तर, हषिकेश बिम्बविधानमा अल्झिएका छैनन्। उनले प्रतीकलाई पनि कम्ती नै कवितामा भित्र्याएका छन्। उनले कवितालाई सहज, सरल तरिकाले प्रस्तुत गरेका छन्। हृषिकेशका कविताहरू नदीझैँ सलल बगेका छन्। पाठकहरूले पनि कुनै दिमागी कसरत नगरीकनै बुझ्न सक्नेछन्।
उपसंहार : यस कविता कृतिले हृषिकेश भरद्वाजलाई स्वच्छन्दतावादी कविका रूपमा स्थापित गरेको छ। उनको यस कृतिका कविताहरूमा आदर्शवाद, प्रगतिवाद आदि चिन्तन पाइए तापनि अधिकांश कविताहरूमा स्वच्छन्दतावादको छाप परेको छ। हृषिकेशको यो कृतिले पहिलो काव्य यात्राको साक्षी वहन गरेका छ भने अहिले यिनका कविताहरू निकै खारिएर आएको देख्न पाइएको छ। यस कृतिमा कतै कतै हिज्जेगत सहितै वर्णविन्यास त्रुटि देखिन्छन्। परवर्ती संस्करण अथवा अरू प्रकाशोन्मुख कृतिहरूमा यसखाले त्रुटि रहँदैनन् भन्ने आशा गर्न सकिन्छ। अन्त्यमा, हृषिकेश भरद्वाज (चेवन शर्मा) को सिर्जनात्मक यात्राले असमेली साहित्याकाशमा एउटा दर्बिलो छाप छोड्नसक्ने सम्भावना देखाएको छ।
(विश्वनाथ, असम)