(प्रगतिशील/प्रगतिवादी लेखकीय आन्दोलनका अगुवा लेखक हुन् कृष्णराज अधिकारी । समालोचना र सिर्जनामा सँगसँगै कलम चलाउने अधिकारी चालिसको दशकदेखि साहित्य सिर्जनामा साधनारत छन् । पोखरामा बसेर लेखन, सम्पादन र सांस्कृतिक आन्दोलनमा क्रियाशील कृष्णराजका अहिलेसम्म कथा, कविता, नियात्रा र समालोचना गरी छ कृति प्रकाशित भैसकेका छन् ।
२०४३ सालमा ‘स्वाभिमान एक अभिशाप’ कथा प्रकाशित गरेर लेखन क्षेत्रमा उदाएका अधिकारीका अहलेसम्म ‘स्मृतिका बिम्बहरू’ (नियात्रा, २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य’ (समालोचना २०६६), ‘सुरुङ खन्दै छन् मुसाहरू’ (कवितासङ्ग्रह २०६८), ‘साहित्यिक अवलोकन’ (समालोचना २०७१), ‘केही सिर्जना पृथक विवेचना’ (समालोचना २०७७) र ‘अँध्यारो यात्रा’ (कथासङ्ग्रह २०७८) प्रकाशित छन् । नेपाली साहित्यका यिनै अथक साधक कृष्णराज अधिकारीसँग साहित्यका विविध विषयमाथि केन्द्रित रहेर साहित्यकार विष्णु भण्डारीले गरेको काव्यिक संवाद प्रस्तुत गरेका छौँ )
‘स्वाभिमान एक अभिशाप’ कथा प्रकाशित गरेर २०४३ सालदेखि लेखन यात्रामा लाग्नुभएको तपाईं अहिले पनि यात्रामै हुनुहुन्छ, थाक्नुभएको त छैन नि ?
सशस्त्र र निशस्त्र आन्दोलनबाट शासन सत्तामा पुगेका पार्टी र नेताहरूको मूल्य र आदर्शको स्खलन देख्दानिराश लागेर आउँछ। जसलाई आदर्शको बिम्ब मानेर लेखिन्थ्यो त्यही बिम्ब हराएपछि लेखनमा पनि शिथिलता आउँदोरहेछ ।तर, निराशाको बीच पनि आशाको खोजी गर्नु नै जीवन रहेछ । यसैले मेरो लेखन केही शिथिल भए पनि निष्कृय भएको छैन । मैले धेरै वर्षअघि ‘छोरोसँग’ भन्ने कवितामा लेखेको थिएँ—
‘यात्रा जीवनको छ कष्टकर यो, लाग्यो थकाइ भनी कैल्यै रोकिनु हुन्न बाबु पथमा, सङ्घर्ष हो जीवनी’
तपाईंलाई चिन्नेहरु स्वभिमानी छ भन्छन् । बैंकको नोकरी छोडेर आन्दोलनमा आउनुभयो । तर, आन्दोलनले तपार्ईंको मूल्याङ्कन गर्न सकेन पनि भन्छन् साथीहरु । कतै ‘स्वाभिमान एक अभिशाप’जस्तै त भएन तपाईंको जीवन ?
मैले २०४३ मै ‘स्वाभिमान एक अभिशाप’ भन्ने कथामा गरिबी र अभावमा बाँचेको एउटा कर्मचारीले हाकिमको चाकडी र अनियमित कार्य गर्न नमानेकै कारण पदोन्नतिबाट मात्र बञ्चित नभई जागिरबाटै निकालिनु परेको अवस्थालाई काल्पनिक रूपमा प्रस्तुत गरेको थिएँ । उक्त कथापछि आफैंले पढ्दा कतिपय व्यक्तिको यथार्थ जीवनमा परिणत भएको र कतिपय सन्दर्भमा आफ्नै जीवनमा समेत मेल खाने प्रकृतिको देखिँदा लेखनप्रति एक खाले सन्तोष पैदा भएको थियो । इमानदार र स्वाभिमानी प्रवृत्तिकै कारण म जागिर र आन्दोलनमा समेत उपेक्षित र प्रताडित हुन पुगें । पछि फर्केर हेर्दा आफ्नो स्वाभिमान कतै आवश्यकभन्दा बढी भएको हो कि जस्तो पनि लाग्छ । तर,आफ्नो स्वभाव र प्रवृत्तिप्रति मलाई कुनै अपशोस र ग्लानि नभई गर्वको अनुभूति हुन्छ ।
त्रिचालिस सालमै पहिलो कथा लेख्नभएको देखिन्छ तर भर्खर आएको छ तपाईंको पहिलो कथा सङ्ग्रह । किन यति लामो अन्तर ?
मैले लेखनको सुरुवात कविताबाटै गरेको थिएँ, २०४०–०४१ तिर ‘मातृभूमि’ साप्ताहिकमा एउटा छोटो कविता प्रकाशित भएको थियो । मैले त्यसको शीर्षक र कवितासमेत अहिले बिर्सिसकेको छु । तीन–चार वर्षको कविताभ्यास पछि मात्र मैले कथा लेख्न सुरु गरेको हुँ । तीन–चारवटा कथा लेखेपछि कथाले पनि निरन्तरता पाएन बरु फाटफुट रुपमा कविता नै निस्कन थाले । जागिरका क्रममाविभिन्न दुर्गम स्थानहरुमा जानु परेकाले प्रतिकूल वातावरणका कारण पनि साहित्यिक गतिविधि अपेक्षाकृत अघि बढ्न सकेन ।
यस बीचमा मैले आफ्नो औपचारिक अध्ययनलाई निरन्तरता दिएँ । विद्यावारिधितिर लाग्दा अनुसन्धानमूलक तथा समालोचनात्मक लेखहरु लेख्नु आवश्यकजस्तै बन्न पुग्यो । यसैले मेरो लेखन अनायासै समालोचनातिर अघि बढ्न पुग्यो । समालोचनात्मक लेखनतिर लाग्दा सिर्जनात्मक लेखन पछि पर्न पुग्यो । यसैले एउटा नियात्रा, तीनवटा समालोचना र एउटा कवितासङ्ग्रह प्रकाशित भइसकेपछि मात्र कथासङ्ग्रह प्रकाशन हुन पुग्यो । मेरो यसै बर्ष प्रकाशित कथासङ्ग्रह ‘अँध्यारो यात्रा’ का केही कथाहरु ०४६–०४७ तिरका भएपनि अधिकांश कथाहरु २०७५ यता लेखिएका हुन् ।
समालोचना कृति तिनोटा प्रकाशित हुँदा नियात्रा, कविता र कथासङ्ग्रह एक÷एकओटा मात्र प्रकाशित छन् । तपाईं समालोचक कि कथाकार ? पाठकले स्रष्टा भनेर चिन्ने कि द्रष्टा ?
कुनै पनि लेखक एकसाथ स्रष्टा र द्रष्टा हुन सक्छ । फेरि, जीवनको कुनै एक चरणमा स्रष्टा भएको लेखक अर्को चरणमा द्रष्टा पनि हुन सक्दछ । यो कुरा लेखकको मनमा उब्जने अनुभूतिको तह, अवस्था, समय र आवश्यकतामापनि निर्भर हुन्छ । मेरो लेखनयात्रा कविता र कथाबाटै भएको हो, बीचमा आवश्यकताले डो¥याउँदै जाँदा समालोचनातिर लागें ।अहिले फेरि आख्यानतिर उन्मुख हुँदै गएको छु । लेखकले जुन विधामा आफ्नो विशिष्टता कायम गर्छ पाठकले त्यही आधारमा चिन्ने र मूल्याङ्कन गर्ने हो ।
नेपालमा सामालोचनालाई मूल विधा बनाएर स्वतन्त्र लेखनमा क्रियाशील लेखक खासै छैनन् । विश्वविद्यालयमा बढुवा लागि र पाठ्यपुस्तकका लागि लेख्नेहरूलाई नै खास्सा समालोचक भन्ने गरिएको छ । अवस्था यस्तै हो त ?
यथार्थकरिव त्यस्तै देखिन्छ । विश्वविद्यालयमा पढाउँदाका नोटहरुलाई नै सामान्य हेरफेर गरी समालोचनाका नाउँमा छपाउने र पदोन्नतिका लागि निर्धारित ढाँचामा लेखिएका समालोचनात्मक लेख लेख्नेहरु नै प्रायः समालोचकका रूपमा देखिएका छन् । यस्तो समालोचना निश्चित ढाँचामा निश्चित कृतिको मात्र लेखिएको हुन्छ । त्यस्ता समालोचनाले कृतिको गहिराइमा पसेर राम्रा–नराम्रा पक्ष उजागर गर्नुभन्दा पाठ्यक्रमले तोकेबमोजिम कृतिकानिश्चित पक्षको वर्णनमा केन्द्रित रहेका हुन्छन् । कृतिको वैचारिक पक्षमा तिनको ध्यान गएको हुँदैन, त्यसैले तिनमा आलोचनात्मक पक्ष कम अनि प्रशंसा र विशेषता बढी पाइन्छ । यसैले पाठ्यपुस्तकमा नपरेका कृतिहरु समालोचनाको दायरामा पर्न सकेका हुँदैनन् ।
विश्वविद्यालयहरूमा पाठ्यक्रमले निर्धारित गरेका कृतिको निर्धारित पक्ष मात्र पढाइने र प्राध्यापकहरुले पनि पाठ्यपुस्तक र विद्यार्थी केन्द्रित भएर लेख्ने भएकाले नेपाली समालोचना विधा टाक्सिन पुगेको हो । फेरि, विद्यार्थीले पाठ्य वा सन्दर्भसामग्री समेत हतपति नपढ्नेअवस्था रहेको नेपालमा स्वतन्त्र कृतिका समालोचना पढिदिने पाठक पाउनु दुर्लभजस्तै भएको छ । यसैले पनि वास्तविकसमालोचनाले त्यति फस्टाउने अवसर पाएको छैन । विश्वविद्यालय बाहिरै रहेर पनि कतिपय लेखकहरुले भने समालोचनालाई नै प्रमुख विधा बनाएर लेख्ने गरेको पाइन्छ । पहिलेका यदुनाथ खनाल, रामकृष्ण शर्मा, कृष्णचन्द्रसिंह प्रधान र तारानाथ शर्मा अनि अहिलेका मोहन वैद्य, निनु चापागाईं र ऋषिराज बराललाई उदाहरणका रूपमा लिन सकिन्छ ।
अहिलेको नेपाली समालोचना समालोचना नभएर भक्तिरचना हो भन्नेहरू पनि छन् । नेपाली समालोचना यतिविघ्न कमाजोर हुनुको कारण के होला बताइदिनुहोस् न ।
निश्चय पनि अहिलेका कतिपय समालोचनाहरुकृतिको प्रशंसा र विशेषतामा मात्रै केन्द्रित भएको पाइन्छ । लेखकको अनुरोधमा लेखिने र लेखक वा प्रकाशकले दिने पारिश्रमिकका आधारमा लेखिने समालोचनामाकृतिगत कमजोरीपट्टि आँखा चिम्लँदै सबै राम्रो मात्रै लेखिएको हुन्छ । मित्रको आग्रह र प्रकाशकले दिने पारिश्रमिकले समालोचकको विवेकलाई थिचेको हुन्छ । यसैले उसले त्यहाँ अलिकति पनि आलोचनात्मक दृष्टि पु¥याउने आँट गर्न सक्तैन । यसले लेखकलाई क्षणिक तुष्टि त दिन्छ तर उसले आफ्ना कृतिभित्रका कमजोर पक्ष थाहा नपाउँदा पछिल्ला कृतिहरुले समेत उन्नत र परिष्कृत हुन पाउँदैनन् । यस्ता समालोचनाले नेपाली साहित्यलाई उचाइतिर पु¥याउन मद्दत गर्दैनन् । तर, सबै समालोचना त्यस्ताचाहिँ छैनन् । कृतिको सूक्ष्म अवलोकन गरी तिनका शिल्प र वैचारिक पक्षका कमजोरीमाथि निर्भिक प्रश्न उठाउने समालोचना पनि लेखिएका छन् र यस्तै सीमित समालोचनाले नै नेपाली समालोचनाको शाखलाई जोगाएका छन् ।
तपाईंको मूल परिचय भनेको समालोचनामा नै हो । तर, तपाईं पछिल्लो समय समालोचना भन्दा बढी सिर्जनातिर लागेको देखिन्छ नि किन?
मैले माथि पनि भनिसकेको छु, सिर्जना र समालोचना लेखनका भिन्न पाटाहरु हुन् । समालोचनामा कृतिभित्रको सूक्ष्म अवलोकन गरिन्छ भने सिर्जनामा जीवन, जगत् र समाजको अवलोकन गरी आफ्ना विचार र अनुभूतिलाई कलात्मक रुप दिइन्छ । यसैले एउटा लेखक एकसाथ सिर्जनात्मक लेखन र समालोचनामा लाग्न सक्छ । यो लेखकको विचार, अनुभूति, रुचि र प्रतिभामा निर्भर गर्दछ । जव कुनै कृतिले लेखकको मन–मस्तिष्कलाई छुन्छ (प्रायः सकारात्मक र कहिलेकाहिँ नकारात्मक रुपले) तव समालोचना जन्मिन्छ भने समाजका घटना वा परिवेशले छुँदा सिर्जना जन्मिने गर्छ । यसैले समालोचना लेख्ने सिर्जनातिर र सिर्जना गर्नेले समालोचनामा लाग्नु हुँदैन भन्ने हुँदैन ।
तपाईंको पहिलो कथासङ्ग्रह ‘अँध्यारो यात्रा’ भर्खर बजारमा आएको छ । यसमा सङ्ग्रहित कथाका बारेका बताइदिनुहोस् न ।
‘अँध्यारो यात्रा’ मा १४ वटा कथाहरु सङ्गृहीत छन् । हाम्रो समाज, संस्कार र राजनीतिका विडम्बनापूर्ण अवस्थाहरुलाई नै यहाँका कथाहरुले आफ्नो विषयवस्तु बनाएका छन् । जनयुद्धमा लागेर वेपत्ता भएका परिवारको छिन्नभिन्न र पीडादायी अवस्थादेखि कोरोना महामारीले श्रमजीवी जनतामा पारेको पीडादायी अवस्था, राजनीतिक नेता–कार्यकर्ताहरुको भ्रष्टता र लुट अनि आम जनताले भोग्नुपरेको सास्ती र पीडाको अवस्थालाई नै यहाँका कथाहरुले समेट्न खोजेका छन् ।
अहिलेको हाम्रो यात्रा अँध्यारोतिरको यात्रा हो भन्न खोज्नु भएको ?
अहिलेकै अवस्था र बाटोबाट अघि बढ्ने हो भने निश्चय पनि हाम्रो यात्रा उज्ज्वल देखिँदैन । तर, हाम्रा चिन्तन, व्यवहार र दिशालाई परिवर्तन गर्ने हो भने अँध्यारो बाटो छिचल्दै उज्यालोमा पुग्न सकिन्छ । ‘अँध्यारो यात्रा’को पात्र जनयुद्धमा लागेर बेपत्ता भई लामो समयपछि घरमा आउँदा जब घर शून्य र उजाडिएको पाउँछ तव ऊ विरक्तिएर हिँड्छ । उसको गन्तव्य स्पष्ट हुँदैन । तर, उसको त्यो अँध्यारो र अनिश्चित यात्रा सही दिशा र गन्तव्यमा पुग्यो भने छोरो र श्रीमतीसँग मिलन भई यात्रा उज्यालो बन्न पनि सक्छ । यसैले हाम्रो यात्रा पनि अनिश्चित र अँध्यारो हुँदाहुँदै पनि सही दिशा र गन्तव्य पहिल्याउन सक्यो भने अँध्यारो बाटोबाट उज्यालोमा पुग्न सकिन्छ ।
गण्डकी प्रदेश प्रज्ञाप्रतिष्ठानमा पर्नुभएन है ?
गण्डकी प्रज्ञाप्रतिष्ठानको विधान हेर्दा नै त्यो कुनै स्वतन्त्र प्राज्ञिक संस्था नभएर सत्तारुढ पार्टीको एउटा समूहको सांस्कृतिक मोर्चा हुनेछ भन्ने स्पष्ट भइसकेको थियो । विधानमाथिको छलफलमै मैले स्पष्ट भनेको थिएँ कि ‘त्यहाँ कुनै पनि स्वामिमानी र सच्चा लेखक बस्नै सक्तैन, उक्त प्रतिष्ठानमा बस्नुभन्दा विद्यमान अन्य साहित्यिक संस्थामा बस्नु गौरवपूर्ण हुनेछ । यसमा नियोजित रुपमै सत्ताको गुणगान गाउँदै आएका र चुनावी ¥यालीमा भजन गाउँदै हिँडेका कार्यकर्ता मात्रै अटाउने छन् ।’ पञ्चायतमा अरु सबै कार्य–पद्धति गलत भएपनि व्यक्तिचाहिँ प्राज्ञिक नै हुन्थे यसैले अरु सबै कुरामा प्रश्न उठे पनि व्यक्तिको बारेमा कमै प्रश्न उठ्ने गर्थे । तर अहिले त प्रज्ञा शब्दकै हुर्मत लिने काम भएको छ । जीवनमा एउटासम्म कृति पूरै नपढेको र एक पेजसम्म कहिल्यै नलेखेको व्यक्ति पनि प्राज्ञ बनेको देख्दा उदेक लागेर आउँछ । यसैले त्यहाँ जाने कुरा म जस्ताका लागि न सम्भव थियो न कुनै सोचाइ ।
केपी ओलीलाई ‘राष्ट्रियताको फूल’ र वीरेन्द्र राजालाई ‘श्रद्धाको पूmल’ लेख्ने सूर्य खड्का विखर्ची कुलपति हुँदा कस्तो लाग्दै छ ?
कुनै आश्चर्य लागेको छैन । प्रज्ञा प्रतिष्ठानलाई प्राज्ञहरु बस्ने थलो बनाउनभन्दा अन्यत्र फिट नहुने कार्यकर्तालाई जागिर दिन खोलिएको संस्था बनाएपछि त्यहाँ सोही अनुरुपका व्यक्ति राखिनु स्वाभाविक थियो ।लामो समय नेपाली काँग्रेसमा बसी पछि जनभावना पार्टी खोलेका र २०७४को चुनावको मुखमा एमाले प्रवेश गरेका विखर्चीलाई पार्टीले सांसद बनाउन नसकेपछि त्यहाँस्थान दिएको होला । जव प्रतिष्ठानको संरचना नै प्राज्ञको लागि नभएर कार्यकर्ता भर्तीको थलो बनाइन्छ भने त्यहाँ अट्ने भनेका पार्टीका सेवकहरुनै हुन् । यसैले त छनोट समितिमा पनि कुनै स्वतन्त्र बौद्धिक वा साहित्यिक व्यक्ति नभएर प्रदेशको सामाजिक विकास मन्त्रीको संयोजकत्वमा नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष वा सदस्य र मन्त्रालयकै सचिव सदस्य राखिएको थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका अधिकांश सदस्यहरू दोहोरी र रोदीमा बस्नेबाहेक अन्य प्राज्ञिक हैसियत शून्य भएका विशुद्ध कार्यकर्ता देखिन्छन् ।
तपाईंजस्तो अनुसन्धाता र प्राज्ञिक व्यक्तित्वलाई गण्डकी प्रदेशले पनि चिन्न सकेन । जीवनभर सत्य र निष्ठाको कुरा गर्नुभयो, स्वाभिमानलाई बेच्नु भएन, अहिले आएर ‘यो सब भन्ने कुरा न हो’ जस्तो लागेको छैन ?
देशको हरेक क्षेत्रमा मौलाइरहेको बेथिति, विसङ्गति र विभेदका विरुद्ध कहिले सशस्त्र र कहिले निःशस्त्र रुपमा बारम्बार आन्दोलनहरु भई राजनीतिक परिवर्तन समेत भएपनि त्यो परिवर्तन केही नेता–कार्यकर्ता र विचौलिमा मात्र सीमित हुन गयो ।आम जनतामा परिवर्तनको अनुभूतिसम्म हुन सकेन । यसले सबैतिर एकखाले निराशा उत्पन्न गराएको छ । मेरो मूल्याङ्कन हुनु–नहुनु वा चिन्नु–नचिन्नु गौण कुरा हो, मुख्य कुरा हामीले सङ्घर्ष र बलिदान गरेर ल्याएको परिवर्तन कसको पोल्टामा गइरहेछ ? हाम्रा गलत संस्कार र संस्कृति के कति परिवर्तन हुन सके ? अनि हाम्रो प्रणाली र शासन व्यवस्था कता उन्मुख भइरहेछ ? भन्ने चिन्ता हो । यही चिन्ताले निराशा बढाउँदोरहेछ अनि निराशाले लेखनलाई पनि जवरजस्त प्रभाव पार्दोरहेछ ।
अन्तमा तपाईंलाई भन्न मन लागेका केही छन् भने भन्नोस् न।
भन्नुपर्ने कुराहरु आइसके जस्तो लाग्छ । हाम्रो विडम्बना यो रह्यो कि आन्दोलनबाट शासनसत्तामा पुगेकानेताहरुले पनि आफूलाई सेवक नभएर शासक सम्झन पुगे । शासकहरुले जहिले पनि आफ्नो सत्ता टिकाउन भक्त र दासहरु जन्माउन खोज्छन् । त्यसको दुष्प्रभाव राजनीतिक पार्टीहरुमा पनि पर्न गयो । यसैले शासकहरुमा मात्र होइन राजनीतिक पार्टीका नेताहरुमा पनि आलोचनात्मक चेत र विवेक भएका असल कार्यकर्ताभन्दा आफ्नो प्रशंसा र चाकडीमा रमाउने भक्त र दासहरु जन्माउन उद्दत रहन थाले । त्यसैको परिणाम हाम्रो समाज र राजनीतिमा यो हदसम्मको विकृति, विसङ्गति र मूल्य–स्खलन हुन पुगेको हो । जवसम्म मूल वा संरचना नै सफा र स्वच्छ पार्न सकिँदैन तवसम्म त्यहाँबाट बग्ने खोला–नालाहरु प्रदूषित भइरहन्छन् ।