छोटो एउटा शब्द जसले पनि उच्चारण गर्नसक्ने अति सरल शब्द यो दुई वर्णभित्र लुकेको हुन्छ एउटा अभागी सङ्घर्षमय जीवन दबिएका हुन्छन् प्रतिवादका ज्वाला समाजका बाठाहरूप्रति छुपेको हुन्छ शब्दहीन चीत्कार मनभित्र गाभिएको हुन्छ आक्रोशको ज्वालामुखी लाटी ! ऊसँग बोल्ने शक्ति छैन व्यक्त गर्न सक्दिन ऊ आफ्ना मनका पीडाहरूलाई केही माध्यम नै छैन ऊसँग तर उसको लागि समाजको मुखबाट निस्केका असंवेदनशील शब्दहरूलाई ऊ राम्रोसँग सुन्न सक्छे पढ्न सक्छे उसको निम्ति अरूका आँखामा भएका अनुभूतिशून्य आवेगहरू आखिर दुर्वलहरूको भित्र पनि मन हुन्छ उनीहरूको पनि हाँसो र रोदन हुन्छ यो कुरा हाम्रो बाठो समाजले बुझ्थ्यो भने सायद लाटी, लठ्यौरी जस्ता विशेषण जन्मिने थिएनन् होला बोल्न नसक्नेहरूको पनि नाम हुन्छ त्यो नाम बिस्तारै मेटिन्छ अनि लाग्छ एउटा उपनाम "लाटी" आजभोलि ऊ पनि यही नामले परिचित छे अहिले त उसलाई यही नाम प्यारो लाग्न थाल्यो आफ्नो नामको सट्टा लाटी ! जसको बाल्यकाल मायाको अभावमा बित्छ उसको मनले पनि सहोदरको जत्तिकै माया खोज्छ केही नपाउँदा मन खिन्न हुन्छ भाइ-बैनी काखमा ऊ चाहिँ पाखामा हुँदा कहिलेकाहीँ उसलाई सौताकै छोरी हुँ जस्तो लाग्छ बचपन एकलै रुँदै बित्छ ठुली हुनेबित्तिकै गिद्धे समाजले नै बाटो छेक्छ लाटी भए पनि ऊ विवेकशील छे आज ऊ आफ्नो दु:खको गाथा लेख्दै छे सबैभन्दा पहिलो अभिभावकको पोल खोल्दै छे एकाएक गरी समाजको मुखौटो उतार्ने छे दुर्वलहरूमा पनि बल हुन्छ उनीहरूको समस्याको पनि हल हुन्छ अब बाठो समाजका बाठाहरू छक्क पर्नेछन् शक्तिहीनहरूले जब आफ्नो शक्ति देखाउने छन् । (विश्वनाथ, असम)