सुमन घर फर्कियो । अमेरिकामा मास्टर्सको पढाइ सकाएर आफ्नो बिहेकै लागि भनी ऊ घर फर्किएको थियो । अझ स्पष्ट भन्नुपर्दा बिहे गर्नकै लागि भनी उसलाई केही समयका लागी घर बोलाइएको थियो । यद्यपि घर नफर्कुन्जेलसम्म उसलाई आफ्नो हुनेवाली श्रीमतीको बारे केही थाहा थिएन । होस् पनि कसरी, उसले नेपाल आएरै जो पहिलोपल्ट भेट्ने वाला थियो ।
सुमनका बाबुआमाले छोराका लागि भनेर महिनौँको खोजीपश्चात उनीहरुको नजरमा सर्वोत्तम तीन युवतीहरु चुनेर राखेका थिए । अब अन्तिम छनौट सुमनले गर्नुपर्ने थियो । आफ्ना बाबुआमाले भनेअनुसार उसले पहिले ती तीनै युवतीहरुलाई पहिले फेसबुकमा एड गर्यो अनि एकदुई दिनको सामान्य कुराकानीपश्चात तीनैजनासँग पालैपालो भेटघाट गर्यो । तीनैजनासँगको भेटघाटबाट सुमन प्रस्ट भयो, ती सबै युवतीहरु ऊभन्दा निकै भिन्न थिए । उनीहरुको हाउभाउ र बोलीचाली आधुनिक थियो, त्यसमा उसको खासै आपत्ती थिएन ।
पाँच वर्षे विदेशको बसाइमा उसले आफू जन्मेहुर्केको समाजभन्दा भिन्न संस्कार, चलन र रहनसहन स्वयम् आफैँले देखे, भोगेकै थियो । देशकै महङ्गो कलेजमा पढिरहेका ती युवतीहरु उसलाई भित्री रुपमा भने अत्यन्तै सतही, वस्तुभोगी र भौतिकवादी लागे । सुमनले उनीहरुमा आफुसरह समाज, जगत र जीवन–दर्शनप्रति कुनै अभिरुची भएको पाएन । तिनीहरुको स्वरुपमै खोटै लगाउनु पर्ने ठाउँ त उसले केही देखेन तर उनीहरुको स्वभाव, रुची र व्यवहार भने आफ्नोभन्दा निकै भिन्न पायो । वास्तवमा ऊ र ती युवतीहरुबीच मिल्दो भनेको एउटै चीज थियो – उनीहरुको सम्पन्न पारिवारिक प्रिष्ठभूमी !
सुमनका बाबु शहरकै ठुलामध्येका व्यापारी एवम् गनेमानेका व्यक्तिमा पर्दथे । उसकी आमा आफु स्वयम् शहरको एक प्रतिष्ठित प्राइभेट स्कुलकी प्रिन्सिपल थिइन् । त्यत्तिको सम्पन्न परिवारको छोरो, त्यसमा पनि एक्लो सन्तान भएकाले सुमनको बिहे उसको परिवारका लागि ठुलै पर्वभन्दा कम थिएन । परिवारका नातागोता, इस्टमित्र, छरछिमेकका लागि पनि उसको बिहे लामो पर्खाइकै विषय बनेको थियो ।
“कुन चाहिँ मनपर्यो त बाबु तलाईं ?“
डिनरमा सुमनकी आमाले उसलाई सोधिन् । सुमनसँग त्यस प्रश्नको उत्तर थिएन । उसले आफ्नी आमासामु वास्तविकता भन्ने आँट पनि गर्न सकेन । यत्तिका वर्षसम्म उसले कहिल्यै आफ्ना आमाबाबुका कुरा कहिल्यै नकारेको थिएन । बाबुआमाको लाडप्यारले हुर्केको उसका लागि पनि आफ्ना अभिभावकको खुसी नै सर्वोपरी थियो । आफ्नो जिन्दगीको त्यस महत्वपूर्ण घटनाको विषयमा परिवारसँग प्रस्ट कुरा राख्नेबारे पनि उसले पटकपटक नसोचेको होइन । तर निकै समय आफूभित्रै घोत्लिएपछि अन्तिममा उसले आमाबाबुसँग प्रतिवाद नगर्ने नै निर्णयमा पुग्यो । सुमनले ती युवतीहरुबारे धेरै ब्याख्या नगरी आफूलाई सबैजना उस्तै लागेकाले आमाबाबुलाई नै एउटा रोजिदिन आग्रह गर्यो । दुई अभिभावकले एक आपसको छलफलपछि अलि उँचो खानदानी स्ट्याटस भएकी युवतीलाई बुहारीका रुपमा छिनोफानो गरे । युवतीका परिवारसँगको कुराकानीपश्चात केही दिनमै बिहेको तिथि तोकियो ।
बिहेको दिन नजिकिँदै गर्दा भव्य तामझामका साथ घर सिँगार्न थालियो । टाढाटाढाबाट नातागोता, आफन्त, इस्टमित्रहरु डाकिए । पाहुनाहरुका निम्ती शहरकै ठुलो होटल ‘रिजर्भ’ गरियो । घरमा भव्य जमघट को माहौल बन्यो, बिहेकै निम्ती केही दिनका लागी बाहिरबाट कुक, हेल्पर इत्यादी मगाइए । अत्यन्तै महङ्गा, आकर्षक सेटहरुले घर सजाइयो, शहरभरिका ठुला नेता, व्यापारी, धनाढ्यहरुलाई बिहेको निम्ता पठाइयो ।
बिहेको दिन सबेरै बाजागाजाका साथ दुलहा बोकेको पजेरो, जन्ती बोकेका अरु गाडीसहित दुलही लिन प्रस्थान गर्यो । केही घन्टाको यात्रापश्चात छिमेकी शहरको एउटा ठुलो पार्टी प्यालेस अगाडी पुगेर गाडी रोकियो । दुलहा सहितको टोली गेट अगाडि उभिए । भित्रबाट दुलही सहितको टोली आयो । सुमनले अघिल्तिर हेर्यो, उसकी हुनेवाली दुलही आकर्षक रातो पहिरन र पहेँलपुर गहनामा धपक्कै बलेकी थिई । ऊ उसले अस्ति नै भेटेको भन्दा निकै भिन्न देखिएकी थिई, झण्डैझण्डै चिन्नै मुश्किल हुने गरी ! बेहुली पक्षले बेहुला पक्षकालाई टिका लगाइदिएपछि जन्तीको जम्बो टोली पार्टी प्यालेसभित्र लम्कियो । बेहुला बेहुली मन्डपमा गएर बसे । पण्डितले मन्त्र पाठ गर्न सुरु गरे ।
सम्पूर्ण जन्ती टोली डाइनिङ हलतर्फ लम्कियो । हल बडेमानकै भएतापनि जन्ती टोली झनै भव्य भएकाले लाम बढेर हलको ढोकाबाहिरैसम्म पुग्यो । हलभित्र पूर्वतयारी अवस्थामा राखिएका दर्जनौँ परिकारका वासना उडेर जन्तीका कोट, प्यान्ट, साडी, कुर्ता, सुट, लेहेङ्गा आदिबाट उडिरहेको अत्तरको गन्धसँग मिसियो र गन्धैगन्धको ककटेल सिङ्गो हलभरी फैलियो । मानिसहरु हातमा प्लेट लिई थुक निल्दै सेल्फ सर्भ गर्न थाले । खान्कीमा विशिष्ट प्रकारको पुलाउ, दुइथरीका अचार, तीन थरीका तरकारी, चार थरीका मासु र अरु नानाथरीका भेज, ननभेज्, बेक्ड्, बोइल्ड्, गृल्ड परिकारहरु थिए । जन्तीहरु फटाफट खाना हसुर्न थाले । अघिसम्मको सुनसान हल छिनभरमै थाल, चम्चा, गिलास र मान्छेहरुको आवाजले गुन्जयमान बन्यो । हलभित्रको आवाज पोको परी ढोकाबाट बतास्सिएर बाहिर निस्क्यो र मण्डपमा पण्डितले बजाइरहेको घन्टीमा ठोक्कीई सोझै बेहुलाको कानभित्र छिर्यो । बेहुला सुमन एकाएक ‘ट्रान्स्’ अवस्थामा पुग्यो ।
सुमनले आफ्ना अगाडि हेर्यो, यज्ञमा धुँवाधार आगो बलिरहेको थियो, पण्डित एकोहोरो मन्त्र फलाक्दै थिए, छेउमा युवती चुपचाप बसिरहेकी थिई, वरिपरि मानिसहरु उभिइरहेका थिए । उसले एकपटक आफैँलाई सर्लक्क नियाल्यो, र तत्पश्चात नै उसलाई एउटा अचम्मको बोध भयो । वरिपरि घटिरहेका दृश्यहरु उसलाई एकाएक कुनै अनौठो सपनाझैँ लाग्न थाले । मानौँ, आज उसको बिहे नै होइन । मानौँ, उ आज अरु कसैको बिहेमा आएको हो । उ आफू अहिले त्यस मण्डपमा बसिरहे पनि, उसका छेउ अहिले एउटी युवती दुलहीको भेषमा बसिरहेकी भएपनि, ती सबै उसलाई कुनै अजीब स्वैरकल्पनाझैँ लाग्न थाले । तथापि उसले त्यहाँ कुनै प्रतिकृया भने जनाएन र चुपचाप मण्डपमै बसी पण्डितले अह्राएअनुरुप गरिरह्यो ।
बिहेका कर्मकाण्डहरु एकपछि अर्को पूर्ण हुँदै गए । सुमनलाई ती सबै कुनै फिक्सनल कथाका घटनाक्रमझैँ लागिरहेका थिए । मानिसहरु आएर उसलाई टीका लगाइदिए, उसँग फोटा खिचाए, केहीले त उसका हातखुट्टा पनि धोइदिए, तर सुमन चुपचाप बसी त्यो सब हेरिरह्यो । एकैछिनमा एकजनाले उसको हातमा रातो रङ्ग थमाइदियो, उसले पनि आफूलाई अह्राएबमोजिम युवतीको निधारमा त्यो रङ्ग भरिदियो । सबैले ताली बजाए, सुमनले हेरिरह्यो । सुमनले देख्यो, अलि पर मानिसहरु एकतमासले बाजा बजाइरहेका थिए, बाजाको तालमा केहि मानिसहरु कम्मर मर्काइ मर्काइ नाचिरहेका थिए । उनीहरु निकै खुसी देखिन्थे । केहीबेरपछि उसले देख्यो, बेहुली र उसका परिवारका सदस्यहरु रोइरहेका छन् । सुमनले त्यसमा पनि कुनै प्रतिकृया नजनाई चुपचाप हेरिमात्र रह्यो ।
साँझ परिसकेको थियो । बेहुली लिएर जन्तीसहितको टोली घर फर्किँदै थियो । गाडीभित्र दुलही अझै सुँक्कसुँक्क रोइरहेकी थिई । बाहिर सिमसिम पानी परिरहेको थियो, पानीका थोपाहरु गाडीका सिसाहरुमा ठोक्किँदै तपतप बगिरहेका थिए । सुमन अझै ’ट्रान्स्’ अवस्थाबाट निस्किसकेको थिएन ।
गाडीहरु बेहुलाको घर अगाडी थपक्क बिसाए । वाद्यवाद्यक टोलीले पुनः पन्चेबाजा घन्कायो । थाकिसकेका जन्तीहरु पुनः जोस्सिँदै कम्मर मर्काउन थाले । फोटोग्राफर, भिडियोग्राफरहरु पुनः फोटो, भिडियो खिच्न थाले । घरमा दुलही हेर्नेको घुइँचो लाग्यो ।
घर प्रवेशका सबै कर्मकाण्डहरु सकिएपछि मध्यरातमा बल्ल नवदम्पत्ती भीडबाट मुक्त भए । थाकेर लखतरान परी सकेका ती दुई चुपचाप माथिल्लो तल्लातिर लागे । सुमनले आफ्नो कोठाको ढोका उघार्यो । कोठाभित्र दिनभर थुनिएको महङ्गो अत्तरको बास्ना पोको परी उडेर आयो र सिधै उसको नाकका पोराभित्र पस्यो । सुमन एकाएक झसङ्ग भयो । कुनै गहिरो निद्राबाट हठात् ब्युझिँएको मानिसझैँ ऊ ब्यँुझियो ।
उसका अगाडि उसको कोठा थियो, जुन पूर्णरुपले सजाइएको थियो । भित्ताभरि रङ्गीचङ्गी फूल र रिबनहरु टाँगिएका थिए । गुलाफका पत्रहरु उसको ओछ्यानभरि छरिएका थिए । सुमनले गहिरो श्वास फेर्यो । परिवर्तित परिवेशका दृश्यहरु उसको मानसपटलमा अब बल्ल घुल्न थाले । यथार्थको घन्टी उसको मथिङ्गलभित्र जोडजोडले बज्न थाल्यो । बिस्तारै उसले आफ्ना छेउतिर नजर डुलायो र देख्यो, उसले आज भर्खरै बिहे गरेर ल्याएकी युवती मलीनो अनुहारका साथ ढोकाबाहिर उभिएकी छे ।
एउटी अन्जान युवती जसलाई उसले चिनेको छैन, जोसँग कुनै माया बसेको छैन, ऊ आजबाट उसकी श्रीमती भएकी छे, र ऊ त्यस युवतीको श्रीमान । आफ्नो उक्त अवस्था देखि सुमनलाई भाउन्न रिँगटा लागेजस्तो भयो । ऊ चुपचाप आफ्नो कोठाभित्र छिर्यो, युवती उसको पछिपछि लागि । सुमनले केही नबोली ढोका बन्द गर्यो अनि बत्ती मधुरो पारेर कुनातिर गई कुनै थकित मजदुरलेझैँ आफ्ना पोसाक फुकाल्न थाल्यो । बाहिरी कपडा फुकालिसकेपछि उसले बिस्तारै पछाडि फर्किएर हेर्यो, युवती कोठाको अर्को कुनामा पूर्ववत् अवस्थामै उभिइरहेकी थिई । सुमन अझै केही नबोली आफ्नो पलङमाथि चढ्यो र एउटा कुना च्यापी पल्टियो । एकछिनपछि युवती पनि आई र पलङको अर्को कुनामा पल्टिई । कोठाभरि बाक्लो सन्नाटा छायो ।
स्थिति सहज गर्ने मनसायस्वरुप सुमनले आफ्नी नवपत्नीतर्फ बिस्तारै आफ्ना हातहरु फैलायो । उसका हातहरुले युवतीका हात अनि कम्मरमा स्पर्श त गरे, तर तिनले उसको शरीरमा कुनै कम्पन भने पैदा गराउन सकेनन् । सुमनका हातहरु जलेर निभिसकेका काठझैँ चिसा र कमजोर भए । उसले जसोतसो पुनः प्रयत्न गर्यो, तर न उसले युवतीबाटै कुनै प्रतिकृया पायो न आफैँले नै केही महशुस गर्न सक्यो । अन्तिम पटकको प्रयासमा उसका हातहरु बीचैमा आफैँ रोकिए र तत्पश्चात अघि बढ्न सकेनन् । मानौँ, ती हातहरुमा अब कुनै उर्जा नै छैन, मानौँ ऊभित्रको चाहनाको आगो जलेर सारा खरानी भैसकेको छ । एउटा अन्जान स्त्रीसँग अर्धनग्न अवस्थाको त्यो अप्ठेरो परिस्थितीका बीच सुमनले एक्कासी केही वर्ष पहिलेको वार्तालाप सम्झियो ।
“अनि म बाहेक अरु कोही मन पर्यो भने नि ?“
“त्यस्तो हुनै सक्दैन ।“
“हाम्रो बिहे भएन रे, त्यतिबेला के गर्छौ ?“
आफ्नी प्रेमिकासँगको उक्त कुराकानीका दृश्यहरु सुमनका आँखा अगाडि प्रस्टसँग देखा परिरहे । उसकी प्रेमिका, जसलाई उसले अमेरिकामै पहिलोपल्ट भेटेको थियो, र जोसँग ऊ विगत पाँच वर्षदेखि प्रेममा थियो । उसको जीवनको पहिलो र एकमात्र प्रेम, जसलाई ऊ आफैँले लत्याएको थियो । उसकी प्रेमिका, जसको एक मुस्कानले उसको हृदय भरिन्थ्यो, जसको एक स्पर्शले उसको शरीरभरि काँडा उम्रन्थे । त्यही प्रेमिका, जो सर्वगुणले सम्पन्न भएर पनि उसमा एउटा ठूलो खोट थियो – समाजको कथित तल्लो जातमा जन्म लिनु ।
त्यस रात पलङको त्यस कुनामा आँखाभरि आँसु लिई सुमनले आफ्नो अधुरो प्रेम सम्झियो, जसलाई उसले आफ्नो पारिवारको ’इज्जत’ का अघि अपनाउने आँट गर्न सकेन । उसको मन भारी भएर आयो, गला अवरुद्ध भयो । आफ्नी प्रिय प्रेमिकासँग मनमनै माफी माग्दै ऊ हिँक्कहिँक्क गर्दै रुन थाल्यो । हत्केलाले मुख छोपी जति नै रोक्न खोजे पनि सुमनका चित्कार रोकिएन । पलङको अर्को छेउमा पल्टिरहेकी उसकी श्रीमतीले पनि रातभर बलिन्द्र आँसु झारीरही ।
(जर्मनी)