(सीमान्तकृत पात्रहरूलाई केन्द्रमा राखेर आख्यान सिर्जना गर्ने साहित्यकार हुन् नयनराज पाण्डे । समाजका ससाना विषय र छायामा पारिएका पात्रमार्फत् सामाजिक विसङ्गति, वर्गीय शोषण र राजनीतिक विकृतिमाथि प्रहार गर्न खप्पिस छन् उनी । सरल तर गहन भाषाशैली र तीक्ष्ण व्यङ्ग्यचेतका साथ मधेशका विषय, मुद्धा र पात्रमाथि लेखिएका उनका ‘उलार’ र ‘लू’ जस्ता आख्यानकृतिहरू नेपाली साहित्यका मानक कृति हुन् ।
अहिलेसम्म उनका सात उपन्यास, जियरासहित चार कथासङ्ग्रह र एक संस्मरण प्रकाशित छन् । आधा दर्जन बालसाहित्यका कृति लेखिसकेका पाण्डेले दुई दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् ।
नेपाली आख्यान क्षेत्रका यिनै लोकप्रिय लेखक नयनराज पाण्डेसँग भर्खरै बजारमा आएको उनको कथासङ्ग्रह ‘जियरा’माथि केन्द्रित रहेर साहित्यकार विष्णु भण्डारीले गरेको काव्यिक संवाद प्रस्तुत गरेका छौँ )
तपाईंको ‘जियरा’ कथासङ्ग्रह भर्खरै बजारमा आएको छ । सर्वप्रथम त म नेपाली साहित्य घरको तर्फबाट बधाई र शुभकामना व्यक्त गर्छु ।
धेरै धेरै धन्यवाद ।
तपाईं फेरि मधेशतिरै फर्किनु भयो हगि ? नेपालगन्जको तातोमा हुर्किएको नयनराज हिमालको चिसोमा अड्न नसकेर उतै फर्कियो भनेर बुझ्नुपर्ने भयो पाठकले, हैन ?
म आफ्नो मुद्धा, विषय र पात्रचयनमा स्वतन्त्र छु । त्यसैले मलाई जुन कुरा उठाउनु पर्छ भन्ने लाग्छ, त्यसमा म आफूलाई नियन्त्रित गर्दिनँ । नेपाल सानो छ । सय दुई सय किलोमिटर परको हिमाल या केही घण्टाको दूरीको मधेशका कुराहरु लेख्न मलाई कसैको आदेश या अनुमति पर्खनु पर्दैन पनि ।
जादुगरी यथार्थवाद खास प्रयोजनसहित विकसित भएको हो भनिन्छ । तपाईं आफ्नो पूर्ववर्ती शैली र लेखन पद्धतिलाई चटक्कै छोडेर कथावाचनको सबैभन्दा विवादित र क्लिष्ट शैली जाजुगरी यथार्थतिर लहसिनुको कारण बताइदिनुहोस् न ।
कुन वाद कहाँ विकसित भयो त्यो मेरो मतलबको कुरा भएन । मैले जियरामा जादुयी यथार्थवाद प्रयोग गरेको दावी पनि गरेको छैन । मैले त हाम्रै लोक कथामा प्रयुक्त हुने कथा वाचनको शैली, हाम्रै वरिपरिका मिथहरुलाई प्रयोग गरेको मात्र हुँ । महाभारत पढेर हुर्किएको हुँ । त्यसमा एकसाथ कति कथाहरु भनिन्छ । त्यसमा कथाका कति आयामहरु छन् । कति तिलस्मी छ महाभारतको सिर्जना । मैले प्रयोग गरेको कथावाचन शैली त युगौं अघिदेखि हाम्रोमा प्रयोग भैरहेकै कुरा हुन् ।
यसको अर्थ सामाजिक यथार्थवादी शैलीमा पश्चिम मधेशका कुरा भन्न अपुग र अप्ठ्यारो भयो ? कि नयाँ प्रयोग र शैलीको खोजी गर्ने हुटहुटीले जादुगरी यथार्थको नजिक ल्यायो ?
हो, मैले यस पटक लेख्न चाहेको कथामा यथार्थको सोलोडोलो प्रस्तुति काम लागेन ।
तपाईंका यसभन्दा पहिलेका आख्यान कृतिहरूमा जुन किसिमको सरलता र सम्प्रेषणीयता पाइन्थ्यो, जियरामा पाउन सकिँदैन । कथामा आउने विभिन्न उपकथा र बिम्बहरूले गर्दा लेखकले के भन्न खोजेको हो छुट्याउन पाठकलाई हम्मेहम्मे पर्छ । यस्तो प्रयोग गर्नुको रहस्य केही त अवश्य पनि होला ।
केही रहस्य छैन । अहिलेका पाठकका लागि मैले प्रयोग गरेको कथावाचन नयाँ हैन । उहाँहरु अभ्यस्त भैसक्नु भएको छ । हामीले पाठकलाई कमजोर ठान्नु हुँदैन ।
तपाईंले दईमारा कथामा इतिहासले मधेशीमाथि गरेको मजाकविरुद्ध प्रतिरोधी चेतनाको उठान गर्दै इतिहासको नयाँ संस्करणको प्रसङ्ग उठाउनु भएको छ । तर अहिले पनि हामीकहाँ इतिहासका पुरानै संस्करण पढाइँदै छ । यस्तो अवस्थामा ‘देशी कट्टा’ बनाउँदै गर्दा समातिएको चन्दलाल के अब साँच्चिकै पराजित भएको हो ?
कथामा पराजयको कुरा छैन । प्रतिशोधको कुरा छ । मधेशलाई अब दबाएर राख्छु भन्ने सोचबाट हामी मुक्त हुनैपर्छ । मधेशी पात्र वाचाल भएको हामी धेरै लेखकलाई मन पर्दैन सायद । किनभने हामी पहाडीया शासक मानसिकताबाट ग्रस्त छौँ । तर अब स्थिति फरक भैसकेको छ ।
सबैजसो कथाहरूमा पश्चिम मधेशको डरलाग्दो गरिबी र पछौटे सामाजिक चेतनाको चित्रण छ । के त्यहाँको अवस्था अहिले पनि त्यस्तै भयावह र हृदयविदारक छ ?
मैले जे देखेँ त्यही लेखेँ । खासमा यो प्रश्न त सत्तासित सोध्नु पर्ने । त्यसले कस्तो देखिरहेछ मधेशलाई ? जियराले ती प्रश्नहरु सोधेको छ । जवाफको पर्खाइ छ ।
सबैजसो कथाहरूमा नागरिकताको विषयलाई प्रमुखताका साथ उठाउनु भएको छ । कथा पढ्दा यस्तो लाग्छ कि त्यहाँका मानिसहरूको मुख्य समस्या भनेकै नागरिकता हो । के त्यहाँको नागरिकताको समस्या कथामा व्यक्त भएजस्तै हो त ?
विषय चयन मेरो लेखकीय स्वतन्त्रताको कुरा छ । मधेशको हकमा त्यो अब सम्बोधन गरिहाल्नु पर्ने मुद्धा हो । नहुन्जेलसम्म म पटकपटक यो मुद्धा उठाइरहन्छु ।
जियरा कथामा समालोचककी स्वास्नीले चिठीमा लेख्छे, ‘सहनु छैन, मलाई तपाईंको अत्याचार र बलात्कार । चलाउनु छैन मलाई जियरामा आरी । मलाई बाँच्नु छ । मलाई स्वतन्त्र हुनु छ । मलाई गुडिया बनेर जल्नु छैन ।’ त्यसो भए कथाले भनेजस्तै मधेशमा महिलाद्वेषी, अत्याचारी र ढोँगी पितृसतात्मक अहंका विरुद्ध प्रतिरोधी चेतना विकसित भएकै हो त ?
विकशित भएको छ । यदि अझै पनि विकशित हुने कुरामा केही समस्या छ भने त्यो हट्नु पर्छ भन्ने सोचका साथ लेखेको हुँ त्यो कथा ।
जियरामा लेखक सिर्जनामा बोल्नुपर्छ आफ्नो लेखनमाथि सफाइ दिँदै हिँड्न थाल्यो भने एक दिन लेखक, लेखक रहनेछैन, सफाइ कर्मचारी हुनेछ भन्नुभएको छ । त्यसो भए विद्रोही आवाज सुन्न नचाहने रक्तचापका रोगी समालोचकले जे भन्यो त्यही ठिक भन्नुपर्ने भयो हगि ! एकातिर समालोचकसँग असन्तुष्ट पनि हुनुहुन्छ अर्कोतिर लेखकको काम सफाइ दिने हैन पनि भन्नु हुन्छ, यो आफैमा विरोधाभास भएन र !
लेखकले लेखनबाट आफ्नो कुरा बुझाउनु पर्छ । आफ्ना कथाबारे स्पष्टीकरण दिएर या आफ्ना कथाको विशेषता भट्याएर हिँड्नु हुन्न भन्ने सोच हो मेरो । लेखकले मैले कथामा यो यो भन्न खोजेको भनेर लिष्ट दिने कि यस्तो यस्तो र यसकारणले लेखेछ भने समालोचक महोदयले पहिचान गर्ने ? कुरा यत्ति हो ।
भनिन्छ अफूले उठाएको विषय र शैलीमाथि न्याय गर्न नसक्ने लेखक असफल हुन्छ । के तपाईंलाई आफूले उठाएका मधेशका मुद्धा र शैलीमाथि न्याय गरेको छु भन्ने लाग्छ ?
थाहा छैन । असफल पनि हुँला । तर म निरन्तर प्रयासरत्, अभ्यासरत् लेखक हुँ । मैले न्याय गरेँ कि अन्याय गरेँ भनेर बोल्ने बेलै भएको छैन ।
अन्त्यमा, मेरो तर्फबाट भन्न छुटेका तर तपाईंलाई भन्न मन लागेका धेरै होलान्, केही भनिदिनुस् न !
हामी लेखक भनाउँदाहरु कर्मकाण्डी सोचबाट अब छिटै मुक्त भएको वेश । समाजको चेतनाको गतिसित तालमेल गर्न आएन भने हामी डाइनोसरझैं लोप हुन्छौं ।