किरात नेपालको प्राचीन जाति हो । कुनै समय नेपालमा यो सभ्यता शक्तिशाली अवस्थामा थियो । किरातहरू नेपालमा मात्र नभएर पूर्वमा बर्मा, असम—कामरूप र पश्चिममा कस्मिरदेखि दक्षिणमा काशीसम्म फैलिएका थिए । त्यति ठूलो भूभागमा फैलिएको यो जाति पछि नेपालको पहाडी भू–भागमा मात्र सीमित भएको पाइन्छ ।
किरातहरू सभ्य, सुसंस्कृत र लडाकू थिए । काठमाडौं उपत्यकामा पशुपालन गरेर बसेका महिषपाल÷अभिरलाई धपाएर यो जातिले किरात सभ्यताको विकास गरेका थिए । वंशावलीमा पूर्वतिरबाट आएका किरातहरूले अन्तिम आभीरवंशी राजा भुवनसिंहलाई पराजित गरी किरात राज्य स्थापना गरे भनिएको छ ।
किरात राज्यका संस्थापक यलम्बर थिए । किरातहरूले उनैको नेतृत्वमा आभीरमाथि विजय प्राप्त गरेका थिए । किरातको पालादेखि नेपालको मौलिक जीवनको क्रम बसेको थियो भन्छन् इतिहारकार राजाराम सुवेदी ।
गोपाल वंशावली अनुसार किरातकालका सातौँ राजा हुमति महाभारकालीन राजा थिए । इसापूर्व ९५० मा महाभारतको युद्ध भएको मानिन्छ । त्यस्तै बाह्रौँ किराती राजा जितेदास्तिका पालामा गौतम बुद्धका शिष्य आनन्द काठमाडौं आएका थिए । एक्काइसौँ किराती राजा स्थुङ्गोको पालामा भारतीय मौर्य सम्राट अशोक नेपाल आएका थिए । उनले आफ्नी छोरी चारुमतीको विवाह यहीँका क्षत्रीय देवपालसँग गरिदिको र पाटनको चारदिशामा चार चैत्यको निर्माण गरेका थिए ।
सम्राट अजातशत्रु (इ.पू. ४९३–४६२ इ.पू.) को पालामा मगध साम्राज्य विस्तारित भएको थियो । राज्यविस्तारका क्रममा अजातशत्रुले उत्तरी भारतका सबैजसो राज्यमाथि आक्रमण गरे । मगध साम्राज्यसँगको युद्धमा वैशाली गणराज्य तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवीहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे ।
अजातशत्रुबाट पराजीत भएपछि वैशालीका लिच्छवीहरू उपत्यकामा सरणार्थी भएर आए । त्यस्तै कपिलवस्तुबाट शाक्य कुशीनगरबाट मल्ल र रामग्रामबाट कोलियहरू पनि नेपाल छिरे । विस्तारै सोझा र इमान्दार किरातीलाई आफ्नो बसमा पारी लिच्छवीहरूले शासनाधिकारमाथि कब्जा जमाए । इसाको प्रथम शताब्दीतिर उनीहरूले किरात राज्य हडपे । अन्तिम किराती राजा गस्तिलाई हराएर उनीहरूलाई कोशीपारि धकेले । यसरी करिब एक हजार वर्ष शासन गरेको किरात जातिको पतन भयो ।
किरात सभ्यताको विकास कहिलेदेखि भयो भन्नेमा इतिहासकारबिच फरक मत पाइन्छ । गोपाल वंशावली अनुसार बाह्रौँ किराती राजा जितेदास्तीका पालामा गौतम बुद्धका शिष्य आनन्द काठमाडौं आएका थिए । यो आँकडालाई आधार मान्ने हो भने किरात सभ्यता ३००० वर्षभन्दा पहिलेसम्म पुग्छ ।
त्यस्तै एक्काइसौँ किराती राजा स्थुङ्गोको पालामा भारतीय मौर्य सम्राट अशोक नेपाल आएका थिए । उनी काठमाडौं नआएर कपिलवस्तुसम्म मात्र आएका थिए भन्नेहरू पनि छन् । कपिलवस्तु नै आएका भएपनि उनी जीवनको उत्तरार्धतिर त्यहाँ आएका थिए । यो भनेको इसापूर्व २५० देखि २३२ को बिचमा हुनुपर्छ । त्यतिखेर नेपालमा एक्काइसौँ किराती राजाले शासन गरिरहेका थिए । एउटा राजाको राज्यकाल बिस वर्ष राख्ने हो भने पनि चारसय बिस वर्ष हुन आउँछ । इतिहासकार बाबुराम आचार्यले आँकलन गरेको समयसीमा र यो समय मिल्न आउँछ ।
किरात कालबारे बाबुराम आचार्यको धारणा यस्तो छ, ‘इस्वीसंवत्को उठान हुनुभन्दा ७/८ सय वर्ष पहिलेसम्ममा यस क्षेत्रमा किराँत सभ्यता तथा संस्कृतिको उत्थान तथा विकास पनि प्रारम्भ भैसकेको सङ्केतहरू प्राप्त हुन आएका छन् ।’ (आचार्य : २०६३ : ५७)
यसरी हेर्दा नेपालमा किरातहरूले इसापूर्व १००० वर्ष पहिलेदेखि ने शासन गर्न थालेका थिए । यस्तो स्पष्ट इतिहास हुँदाहुँदै पनि हामीहरूले आफ्नो इतिहास लेखनलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ ।
किरात सभ्यतामा आर्यमा जस्तो जात र वर्णका आधारमा भेदभाव गरिदैनथ्यो । महिलाको उच्च सम्मान गरिन्थ्यो । समाजमा सती र दासप्रथा थिएन । समाज समतामूलक थियो । जाति, वर्ण र वर्गका आधारमा भेदभाव नभको र सबै नागरिकमा समान नागरिक अधिकार प्राप्त भएकोले त्यतिखेरको किराती राज्य लोकतान्त्रिक राज्य थियो । तर त्यही समयमा भारतीय उपमहाद्वीपमा रहेका आर्य सभ्यता र राज्यहरूमा वर्गभेद, जातिभेद र वर्णभेद मात्र हैन दासदासी राख्ने र सतीप्रथाजस्ता विभेदकारी प्रचलन थिए ।
किरात कालमा विकसित भएका काठमाडौं उपत्यकाका गाउँहरूमा कुर्पासी (वर्तमान खोपासी), लेम्बटी (वर्तमान लेलले), थम्बु (वर्तमान ठैव), कुर्पासी (वर्तमान खोपासी), बुगायमी (वर्तमान बेगमती), खोपृङ (वर्तमान खोप अर्थात भक्तपुर)आदि प्रमुख थिए ।
शिव किरातका इष्टदेव थिए भने पार्वती इष्टदेवी । सुरुमा किरातीहरू शिवका उपासक भएपनि वुद्ध धर्मको प्रचारसँगै उनीहरूले वुद्ध धर्मलाई पनि अङ्गाले । यसरी काठमाडौं उपत्यकामा आजपर्यन्त यहाँका रैथानेहरू शिव र वुद्धलाई उत्तिकै श्रद्धा र सम्मान गर्छन् ।
किरातकालीन अर्थव्यवस्था पशुपालन र कृषिमा आधारित भएपनि वन्दव्यापार पनि फस्टाउँदो थियो । किरातीहरू उत्तरमा भोट र दक्षिणमा भारतका विभिन्न महाजनसम्म पुगेर व्यापार गर्थे । त्यतिखेर नेपालबाट निर्यात गरिने सामानमा उन र उनबाट बनेका राडीपाखी, कम्बल, बख्खु र जडिबुटीका साथै कस्तुरी, वन्यजन्तुका छाला र चौँरीको चँवर मुख्य थिए ।
सन्दर्भ सामग्री
आचार्य, बाबुराम । प्राचीन कालको नेपाल, श्रीकृष्ण आचार्य, २०६३ ।