सुस्तरी बोल । यो आन्दोलनको ¥याली होइन । ढाँटीढाँटी जिब्रो नचपाऊ, यो पार्टीको अभियान होइन । पैसा र रसिद नदेखाऊ, यो बेकामेहरूले सित्तैमा परिश्रमको बलात्कार गरेर हाँस्ने समय होइन । बरु, एकपटक मौन बसेर हेर, दुनियाँ कति चलायमान छ, आगोमा पानी छ छैन । बस् नबोल्नु भन्दिनँ बरु कमकम बोल्नू, सत्यसत्य बोल्नू । अलिअलि हाँस्नु, कुरा बुझिसकेसि । ती हर्कमान तामाङ हुन्, भेट्यौ भने सोध्नू ।
मौनताभित्रै सेतो कमल खोल्छ बुद्ध मुस्कान
हामी बढी बोलेर पोचा बन्दै गयौँ । हुन त बोलीको प्रशंसामा प्रशस्तिहरू बनाइएका छन् मनग्यै । बोल्नेको भुस पनि बिक्ने यो जमानामा बोलीकै चक्चकी छ । बोलीका बुट्टे जामा लाएर नाचिरहेछन् नानी–सपनाहरू राजनीतिको आँगनमा । तब त बोकाको टाउको टेबुलमा राखेर स्याल र कुकुरको मासुको सिकार धमाधम बेच्दै छन् राजनीतिका महान् बगरेहरू ।
हजुरआमा भन्नुहुन्थ्यो— ‘बोलेर के बिग्रन्छ बाबै ! मीठो बोल्नू, हाँसेर बोल्नू । मन दुखाउनलाई त हजार शिरका धारे जिब्राहरू छँदै छन् नि !’ सम्झेर अर्ती हजुरीको तन्मय बन्छ मन । साँच्चै त, मुटु फुट्ने गरी मायालुलाई सम्झिनेहरू बेतना सिमसारको शीतल चौतारीमा बस्न पाए कस्तरी झगडा गर्दा हुन् नि, ओठ–ओठमा आँखा–आँखामा । बोल्नु र नबोल्नुमा जब भिन्नता हुन छाड्छ तब खोलाको बगर, चौतारीको ठुटो र चतराको चिता उस्तै त हो नि !
हो, मुस्कानसहितको सेवा दिने वर्गले जब, चुस–की–सहितको सेवा र घुस–की–सहितको मेवामा आफूलाई भुलाउँछन्, तब मौनता पनि कोलाहलको सन्तान बन्छ । सुनामी आउनुअघिको सन्नाटा छाउँछ भन्छन् काफिया–बोलका गजलवान्हरू । म रेडियोको कान बटार्थें ऊबेला रामेशहरूका बोली सुन्न :
‘गाउँ गाउँबाट उठ बस्तीबस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ !’
अहिले पनि रामेशको बोली सुन्छु, तर लाग्छ समयको घाँटी कसैले अँठ्यायो कि ! पटक्कै उनको आवाज सुनेन सुन्नुपर्नेले ।
श्याम तमोट पनि कम बोल्छन्, तर उनका शब्दहरूले उचालेर ओली काकाहरूलाई ‘सम्माननीय’ बनाउन्जेल तमोटहरू तमोर–पुलमा सुस्ताइरहेछन् अझै कलम बोकेर । अँ त खै त बोलीको दम ?
इमान, जमान र कमान (कमान्ड !) नभएको मानिस न नेता बन्छ न विजेता !
पैसा, पद र पाखुराले जित्ने आधुनिक मौसमी हनुमान्हरू हाम्रा तर्कमा पर्दैनन् । वायुपुत्रहरू वायुकै सतहका सन्तति !
हेरेर हैन मान्छे मनले बेरेर चिन्नुपर्दोरहेछ । उसका कोखामा दाँत छैनन् भने ऊ जाती हो, अँगालो हाल्नुस् । उसका ओठमा कुटिल मुस्कान छैन भने ऊ सत्य हो, सङ्गत थाल्नुस् । उसमा स्वार्थका ओठ, नोट र कोटका छाया देख्नासाथ धर्मको माया छाड्नुस् र त्यस आडम्बरीलाई मनको पहराबाट सयौँ मिटर तल फाल्नुस् । हो, यस्तै कुरा मनमा खेलिरहँदा जब इमान, जमान र कमानको सवाल आउँछ, तब मेरा आँखाभरि हर्कमान तामाङको तस्विर छाउँछ सत्ते !
यो पहाड हो सधैँ यही बाटोमा जून उक्लन्छ
बजारको लौको नङ गाडेर थाहा हुन्छ कति चरित्रवान् छ, मान्छे त उफ्रिहाल्छ चिमोट्दा । बरु बोली र व्यवहारकै कसीमा मान्छेका पाइला चोपलेर विश्वासका मसीमा बल्ल लेख्न सकिन्छ— अब्बल, दोयम्, सीम र चाहार प्रवृत्तिको प्रारम्भिक रिपोर्ट ।
सङ्गत पुरानो चाहिन्न । एक किलोमिटरको यात्रामा नै कन्डक्टरले यात्रीको कन्जुसे क्यारेक्टर पढिसक्छ । बोली पनि ठाउँमा परेन भने त हिरोसिमाजस्तै दुखिरहन्छ नि सधैँ । अनि त हाम्रै चाहारे गुरुको गति सबैको । सधैँ बसमा चढ्नासाथ लुसुक्क झ्यालतिर पस्यो र बस्नासाथ घुर्न सुरु । धरानबाट दमक पुगुन्जेल कन्डक्टरलाई पुलुकपुलुक आँखा चोरेर हे¥यो खुत्रुक्क उत्रियो, कोर्से कोर्से प¥यो टाप् । हर्न बजाएर दशा आएछन् । सधैँको आइडिया लाएर चाहारे गुरु दमकमा उत्रिन मात्र लागेका, कसैले पा¥यो माथिबाट कमिजको कल्लरभागमा करप्पै ! प्राध्यापक मान्छे, कतिपय चिनजानकै हुनन् बस र स्टेनमा पनि । उसका कुराले बर्बाद नहोस् भनेर बूढाले पचासको नोट पछाडिबाटै निकालेर भनेछन् ‘भाइ ! बिर्सेंछु, लु ।’ गर्धनमा समातेको छाडे पो त ! अब भने बेइज्जतको डरका मारे चाहारेले सयकै नोट झिकेर अलि रवाफका साथ भनेछन्, ‘किचकिच नगर न भाइ ! प्रोफेसर हुँ, तिम्रो बसमा सित्तैँ यात्रा गर्नु छैन मलाई ।’ झोकमा निकै सारो कराएछन् बूढा । ढोकामा उत्रन नपाएका यात्रीहरूको बराम छ, उत्रिएका पनि पागल रेछ कि बूढो भनेर हाँस्दै झुम्मिएका । ‘अझै तान्न नछाड्ने मुलाङलाई कि !’ भनेर रिसालु आँखाले हेर्दै र कुम झट्कार्दै बूढा अलि झस्केर पछि फर्केर हेर्छन् त तिनको कमिज ढोकाको छेस्किनीमा पो अट्केको रहेछ । हरिः शरणम् । आजभोलि उनी सुरुमै पैसा तिरेर बस्छन् रे । प्रोफेसरको इज्जतको सवाल छ नि !
मैले बोलेर कति मानिस आफ्ना बनेका छन्— के पुराणवाचक, के नेता, के गायक, के पादरी ! आजको हतपते मान्छे यस्ता कुरा सम्झनै कहाँ भ्याउँछ र !
रिटायर्ड प्रोफेसरकी नातिनी विश्वसुन्दरी बन्छे । नचिन्नेहरूका लागि ‘प्रोफेसर’ विज्ञापन सुन्दरीभन्दा के कम र !
‘अभिवादन सर !’ मन्दमुस्कानमा सातदशक वसन्तका डफ्फा पार गरेर पनि सदाबहार अनुहारका हर्कमान सरको उपस्थितिले गर्विलो बनायो हाम्रो यात्रा ।
कक्षा आठसम्म दार्जिलिङ, बिजनबारीकै विद्यासागरमा पढेका हर्क सर के.बी. तामाङ हेडसरका असली चेला पो त !
यिनको जिन्दगीका उहापोहको लामै कथा बन्न सक्छ, तर यत्ति त भन्नै पर्छ कि हर्कमान माक्र्सवादी सङ्गठक बाबुका छोरा भएकैले त्यो बेलाको सत्तासँग थर्कमान् नभएका हुन् है ।
हो, माक्र्सवादलाई मागीखाने र ठगीखाने भाँडो बनाइनुपूर्व त यो गरीखानेहरूको मन्त्र थियो । श्रमका पुजारीहरूको आस्था थियो । दार्जिलिङका चिया बगानहरूमा ठेक्केदार र मालिकहरूले आपूmलाई मन नपरेका, न्याय माग्न अघि सर्ने, नबिराउने र नडराउने प्रवृत्तिका मजदुरहरूलाई मनखुसी ‘हट्टा बाहर’ गर्थे र तिनको मजदुरीसँगै घरबारी सबै खोसेर बेहाल पारेर सपरिवार सिमाना कटाइन्थ्यो । यस्ता कान्डमा सबभन्दा ठूलो अपराध मानिन्थ्यो कम्युनिष्ट पार्टीको सम्पर्कको गन्ध । यस्तै आरोपमा पारिजात दिदीकै घर भएको लिङ्गे कमानका मजदुर पाङ्माली छेत्रीलाई हट्टा बाहर गरिएपछि प्रतिरोधको आगो सल्क्यो । हो, हर्कमानको संलग्नताको सामाजिक अन्यायविरोधी पहिलो प्रतिरोधी सङ्घर्ष यसरी सफल बन्यो कि त्यसपछि हट्टा बाहरको नीति नै हट्टा बाहर हुन विवश भयो शासकहरूको ।
नेपाली भाषामै शपथ खाने दार्जिलिङबाट एम.पी. निर्वाचित रतनलाल ब्राह्मण तथा कम्युनिष्ट सिद्धान्त र व्यवहारका आदर्श आनन्दप्रसाद पाठकसँगको साहचर्यले तामाङ सरलाई जनताप्रति इमान्दार बन्ने राजनैतिक विचारतर्फ अग्रसर बनायो । त्यसो त पी. सुन्दरैया, एके गोपालन, बीटी रणदिबे, नाम्बसदिरिपाद, हरेकृष्ण कोनार र ज्योति बसु जस्ता थुप्रै नेताहरूको सङ्गतको सकारात्मक छाप हर्क सरमा अझै पाइन्छ । अझै आरबी राई, डा. प्राणतोष राय र हर्कमानको मित्रतालाई त मानिसहरू ‘थ्री मस्ट डियर्स’ नै भन्ने गर्थे । पार्टीको पाक्षिक मुखपत्र अग्रदूतको सम्पादनको त्यो समय साँच्चै वहाँहरूको ससानो कम्युन एउटा आदर्श सुरुवात थियो साझे समाज व्यवस्थापनको । यस सन्दर्भमा पश्चिम बङ्गालका पूर्वमन्त्री दावा लामासँगको प्रेरक साहचर्य तामाङ सरको जीवनकै प्राप्ति बनेको कथा निकै रोचक छ ।
आस्था सम्झन्छ प्रमिथस पर्खेर धर्तीसन्तति
आस्थाको इस्पातिलो जीवनकथा भुईंमान्छेहरूको भरोसा बनेर अघि बढ्छ । संसदीय अभ्यासमा अनुदित नेपाली कम्युनिष्ट आन्दोलनका पूर्वेली अभियन्ता हर्कमान तामाङले पचासपछिका दुई दशक सक्रिय सांसद्को रूपमा गरेको योगदान प्रशंसनीय छ । यस क्रममा तामाङ सरले अन्तर्राष्ट्रिय पार्लियामेन्टरी युनियनको सदस्य भएर प्रतिनिधि नेपाली सांसद्को रूपमा विश्वका अनेकन मुलुकहरूमा भ्रमण गरेर अनुभूत गरेका मानवीय, सामाजिक तथा व्यवस्थापकीय हजारौँ परिदृश्य र घटनाहरू कुनै दिन हामीसमक्ष आउने अपेक्षा गरौँ । हर्कमान सरले सांसद–जीवनमा सम्पादन गरेको प्रशंसनीय र गर्व गर्न लायक एउटा काम चाहिँ स्मरणीय लागिरहेछ मलाई कि चर्चित अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर नेतृत्वको एउटा अन्तर्राष्ट्रिय राजनेताहरूको टोलीमा नेपालको प्रतिनिधिका रूपमा रहेर हर्क सरले इन्डोनेसियाको सन् १९९९ मा सम्पन्न आमनिर्वाचनको पर्यवेक्षण गर्ने अवसर र दायित्व सफलताका साथ पूरा गर्नुभयो । नेपाली संसदीय इतिहासमा यो सामेलीलाई निकै महङ्खवपूर्ण सहभागिताको रूपमा लिइन्छ । अहिले पनि घामदेखि जूनसम्मको राजनैतिक र सांगठनिक व्यस्तताबाट अल्लि मत्थर तामाङ सरको निवृत्त जीवन राजनैतिकभन्दा सामाजिक सांस्कृतिक अभियानहरूमा केन्द्रित देखिन्छ । साहित्यजस्तो सांस्कृतिक अभियानकै मूल बाटोमा पनि नेतृत्व गरिरहेछ उही आदर्श छायाका बलमा जनताका पसिनाको सम्मानको प्रेरणा दिँदै तामाङ सरका कलमले ।
कहिल्यै रक्सीलाई लतको साथी नबनाएका हर्क सरले बेलबारीमै पनि रक्सीका पक्षमा आन्दोलनको नेतृत्व गरेर प्रशासनलाई हायलकायल पारिकन सफल बनेका घटना छुट्टै किताब बनाउन मिल्नेखाले छन् । प्रहरी प्रशासनले स्थानीयस्तरमा रक्सीको उत्पादन र बिक्रीमा बन्देज लगाएपछि त्यही व्यवसायका बलमा बाँचेका अति कमजोर आर्थिक अवस्थाका स्थानीय जनतालाई कि रोजगार देऊ कि व्यवसायमा अवरोध नगर भन्ने आवाज उठाउनु न्यायोचितै थियो ।
बेलबारीलाई भगवती स्कूलले निकै बनायो, भगवतीलाई चाहिँ हर्कमान हेड सरले । बामपन्थी हुनुको अपराधमा तामाङ सरले भगवती स्कूललाई टिकाउन, बढाउन र गाउँमा चेतना पढाउन आफ्नै ज्यान जोखिममा हाल्नुपरेका कतिपय अझैसम्म गोप्य र कतिपय खुल्ला परिघटनाहरू साक्षी छन् । उनको तलब रोक्ने, सरुवा गर्ने, घटुवा गर्ने र स्कूललाई सुविधाहरूबाट वञ्चित गर्नेजस्ता तत्कालीन निरङ्कुश पञ्चायती सरकारका चम्चा, डाडु र टुथपिकहरूका सबैखाले अपमानपूर्ण र अन्यायपूर्ण व्यवहारहरूबाट प्रतिरोधकै बलले खारिँदै आजको व्यक्तित्व बनाउन सफल भएका हुन् तामाङ सर ।
कर्मभक्त हो समृद्धिको सारथी ऊ हर्कमान !
प्रसिद्ध साहित्यकार गुमानसिंह चाम्लिङका असली छात्र हर्कमान तामाङमा दार्जिलिङमा पढ्दैखेर पसेको साहित्यको प्रभाव पारसमणि प्रधानको भारती र नेपाली साहित्य सम्मेलनको दियालोजस्ता साहित्यिक पत्रिकाको प्रेरणाले सात कक्षामा पढ्दै गर्दा कविता सङ्ग्रह बनेर ‘कुसुमिता’ जन्मिएको कुरा हाम्रै लागि पनि ऊर्जाको कथा बन्न सक्छ । त्यसपछि लामो समयको अन्तरालमा बालमनोविज्ञान र नैतिक मूल्यमा आधारित ‘ब्रुनोको देशमा’ प्रकाशन गरेका हर्कमान सरका सेवानिवृत्त दिनहरू अझ व्यस्ततामा बितिरहेका छन् । स्रष्टा समाज, बेलबारी यिनले चिनेको चौतारी हो टाढैबाट देखिने, तर अरू दर्जनौँ सामाजिक र साहित्यिक अभियानहरूका माहुते बनिरहेकै छन् उनी ।
मानवतावादी चेतना अङ्गीकार गर्नासाथ मैले मेरो स्वत्व र पहिचान सक्किएको र मक्किएको किन सोच्नु र ! अनुहारमा झल्किने सौजन्य त भ्रम मात्रै पनि हुन सक्छ नि ! विहार र व्यवहारले मात्रै मानिसभित्र पस्न, उसलाई पढ्न र ऊमाथि गढ्न सकिन्छ । बाटुलो आकृतिका तामाङ गुरुमा विचार र व्यवहारको सन्तुलन सधैँ रहिरहोस्, जसले गर्दा मलाई भोजराजाका कालिदास नभनून् कसैले । श्रद्धा जसले कर्मलाई गर्छ, ऊ स्वाभाविक रूपमा अनगिन्ती भ्रमितहरूभन्दा कता हो कता माथि नि !
मनकारी ऊ आँखामा छ सद्भाव छातीमा सेवा
हो, एच.एम. सरसँग आस्थाका बलिया हातहरू कसेर हामी दार्जिलिङको यात्रामा दुईजुवा घाम आइसक्दा घामकै घरतिर गुड्ने हतारोमा छौँ, साथमा आधादर्जन मुस्कानहरू पनि ।
(धरान)