गाउँ हेर्दै डर लाग्छ । माथितिर ठूलठूला ढुङ्गाका चट्टान, तलतिर भिर । पहिलोचोटी गएका मान्छे त बस्नै डराउँछन् माथितिरबाट डाँडाका ढुङ्गा खसेर आउने हुन् कि भन्ने डरले । तर बुवा बाजेको पालादेखि गाउँमा एक ढुङ्गो खसेको छैन । ठूलो वर्षा भएपछि अन्ततिर पहिरो जान्छ । मान्छे बिचल्लीमा पर्छन् । मान्छेहरु ज्यान जोगाउन गाउँ छोडेर भाग्छन् सात कोस टाढा । तर यो ठाउँमा भने जति ठूलो वर्षा भएपनि कुनै असर पर्दैन ।
परापूर्व कालमा बढी वर्षा हुने भएकाले बाजेहरुले त्यहीँ ठाउँ रोजेछन् । त्यतिबेला प्रशस्त वन–जङ्गल भएको, धेरै जाडो र धेरै गर्मी नहुने अनुकूल वातावरण भएकाले यो ठाउँ रोजेको हुनुपर्छ । मैले नै घम्क खोलामा घट्ट लगाएको देखेको थिएँ । त्यतिबेला त्यो घट्ट भत्केको अवस्थामा थियो । बुवा बाजेको पालामा त्यही ठाउँमा घट्ट पिस्थे रे । घम्ककै पानीले स्याँलखेत, पटाहा, घरचिउलो सबै ठाउँमा रोपाइँ हुन्थ्यो । घम्क मात्र होइन तलीखोला, उँदाखोलालगायत धेरै ठाउँमा पानीका ठूलठूला मुहानहरु थिए । वर्षाको समय लाग्ने बित्तिकै बुवाआमा, दाजुभाउजुहरुलाई फुर्सद हुँदैनथ्यो धान रोप्नलाई । घरका खेतमा पनि धान उत्तिकै फल्थ्यो । त्यतिबेला प्रमुख बाली धान थियो । अहिले वर्षेनी खडेरी पर्छ । पानीका मुहानहरु सुक्दै गएपछि अहिले यहाँ खाने पानीको पनि हाहाकार भएको छ । भोकमरी पर्छ बेलाबेला ।
गाउँका अधिकांश मान्छे सोझा र सिधा छन् । कसैले अन्याय गरे पनि सहेर बस्छन् । कसैले गल्ती ग¥यो भने पनि माफी दिन्छन् पहिलोचोटी । गल्ती स्विकार्न र सुधार्न प्रेरित गर्छन् । त्यसपछि भएन भने रिसाउँछन् र बन्छन् साँपजस्तै । बुवा राणा शासनमा जन्मिनु भयो । पञ्चायत कालमा हुर्कनुुभयो । राणा र पञ्चायत कालमा उनीहरुका भारी बोकेर जुम्ला जानुपथ्र्यो रे । त्यो पनि मास, समुरो र स्थानीय धानको चामल । त्यतिबेला पञ्चायती पञ्च–मण्डलेहरुका लागि घर घरमा घिउ, मह, दही, मासु, धानको चामल, दाल सबै छुट्याएर राख्नु पथ्र्यो रे । यो कुरा मलाई बुवाले सुनाउनु भएको थियो ।
एक दिन जुम्लाबाट आएको पञ्चेहरुको टोलीलाई खाना पकाउने पालो बुवाको परेछ । खाना खुवाउँदा मह, घिउ, दाललभात सबै दिनुभएछ । घाना खुवाउँदा गाउँबाट सबै कुरा उठाउनु पथ्र्यो रे । खाँदाखेरी मासु मागेछन् । ‘मासु त छैन साहेब, खोज्दा, खोज्दा हैरान भयौँ ।’ बुवाले भन्नुभएछ । बुवाको कुरै नसुनी मण्डलेले बुवालाई गाली गरेर थर्काउन थालेछ । बुवाको कन्सिरी तातेछ । खाना पकाएको तातो ओदान उठाएर हिर्काउन थाल्नुभएछ । डरले थुरथुर भएर उसले भैगो भैगो भन्दै उल्टै माफी मागेछ । अनि त्यसपटक बुवाको भारी बोक्ने पालो कट्टी भएछ ।
गाउँमा पढलेख नगरेकाले अन्य गाउँका मान्छेहरु पनि अलि हेला गर्ने । राज्यसत्ताले कर्णालीलाई, कर्णालीले हुम्लालाई, हुम्लाले श्रीनगरलाई र श्रीनगरले कल्खेलाई दबाएको घाम झैँ छर्लङ्ग देखिन्छ । त्यहाँका मान्छेलाई हेप्ने गरेका थिए । तल्लो कल्खेलाई त झन् ‘कुखुरे खोर’ भनेर पनि निच भावनाले बोल्ने गर्थे । सबै कामकुराका लागि गल्फा नै जानुपर्ने बाध्यता अहिले पनि कायमै छ । त्यसैले पनि यो गाउँ दुर्गम र पिछडिएकै क्षेत्रमा पर्छ । वर्षेनी भोकमरी पर्छ । महामारी फैलिन्छ । यहाँका जनता समस्यामा परिरहेका हुन्छन् । बेलाबखत सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ । तर ती कुरा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुबाट बाहिर आउँदैनन् । यदि आइहालेको खण्डमा पनि राज्यले सुन्दैन ।
बाटोघाटो, खानेपानी, बिजली बत्तीको राम्रो प्रवन्ध भएको छैन । यहाँका धेरै मानिसहरु बेरोजगार छन् । मौलक अधिकार मात्र होइन नैसर्गिक अधिकारबाट समेत बञ्चित छन् । कुनै सङ्संस्थाहरुको पनि त्यतातिर नजर गएको छैन । लोकतान्त्रिक गणतन्त्र आएको पनि धेरै समय भयो । अहिलेसम्म यो गाउँ गुमनाममै रहेको छ । भौगोलिक बनावटले पनि साथ दिएको छैन । नत प्रकृतिले नै । सबै ठाउँबाट ठगिएको छ यो गाउँ । यो गाउँले मुक्ति खोजिरहेको छ । त्यो मुक्तियोद्धाको प्रतिक्षामा छ । कुनै दिन यहाँको पनि त दिन आउला भनेर स्थानीय बासिन्दाहरुले प्रतिक्षाको घडी कुरिरहेका छन् ।
जति समस्या परे पनि कहिल्यै आत्तिदैनन् यहाँका मान्छे । नआत्तिने, नमात्तिने र नतात्तिने उहीहरुको बानी छ । हो, म त्यहीँ गाउँमा २०३८ सालको असोज ७ गते बुधबार जन्मेको हुँ । आमाले भन्नुभएको थियो, ‘तो छकाल घाम झुल्किनि बेला भएको होस् ।’ आमाको भनाई अनुसार म विहान ७ बजेतिर जन्मेको रहेछु । किनभने असोज–कात्तिकतिर त्यहाँ विहान सात बजेतिर घाम भुल्किन्छन् । एस.एल.सी.को मार्कसीट अनुसार नागरिकता बनाउँदा दुई दिनको जेठो छु जन्मदिन भन्दा । मेरो सैशवकाल यही ठाउँमै बित्यो । शिक्षको आरम्भ भयो । मैले जीवनको सुन्दर सपना यहीबाट बुनेको हुँ ।
यहाँ उत्पादनको हिसाबले हिमालदेखि तराईसम्म फल्ने सबै अन्नबाली र फलफूल पाइन्छ । सिचाइँको सुविधा पु¥याउन सक्ने हो भने यो ठाउँ स्वर्ग नै हो । स्याउ, सुन्तला, ओखर, चुली, आरुबोखडा, आरु, खामु, केरालगायतका फलफूल पाइन्छन् । अन्नबालीमा धान, मकै, गहुँ, चिनो, कागुनो, कोदो, फापर, जौ, उवा, जुनेलो उत्पादन हुन्छ । तोरी, चिउरी, ढँटेलोबाट तेल उत्पादन हुन्छ । सिमी, मास, भट्ट, बोडीलगायतको दलहन बाली पनि यही फल्छ । यसरी हेर्दा यहाँको माटो त हिरा नै हो भन्न सकिन्छ । तितेपाती, पाँचऔँले, कटुस, चिराइतो, च्याउ, मच्याकयार, बुकीलगायतका जडिबुटी पाइन्छन् । तर पनि यसको संरक्षण र सम्बर्धन भएको देखिदैन । यी बस्तुहरुको संरक्षण गर्दै उत्पादन बढाउनतिर लाग्ने हो भने यहाँको भोकमरी र बेरोजगारी समस्या हटाउन सकिन्छ । र समग्र देशको आर्थिक अवस्था सुदृढ गर्न सकिन्छ ।
वनपैदावार, वन्यजन्तु, जडिबुटी, फलफूल, अन्नबाली मात्र होइन यहाँको रहनसहन, भेषभूषा तथा सामाजिक, साँस्कृतिक आदि विषयहरु पनि महत्वपूर्ण छन् । यसलाई मध्यनजर गर्दै यहाँ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । जहाँ समस्या मात्र होइन अनेकौँ सम्भावना पनि छन् । अहिलेसम्म यी सम्भावनाको खोजी भएको छैन । त्यतातिर सरोकारवालाहरुको ध्यान जान सकेको छैन । मेरो यो गाउँ एक प्रतिनिधिमूलक घटना मात्रै हो । यस क्षेत्रमा यस्तै सम्भावना बोकेका यस्तै कैयौँ ठाउँहरु रहेका छन् । त्यसलाई चिनेर विकास गर्ने हो भने आर्थिक श्रोतको मुख्य आधार बन्न सक्छन् ।
यति धेरै सम्भावनाले भरिएको ठाउँ छ । जसलाई विकास गर्न सकियो भने स्वर्गको एक टुक्रा जस्तै बन्न सक्छ । यस्तो विविधताले भरिएको ठाउँमा जन्मियो । हुर्कियो । खेलियो र रमाइयो पनि । जुन ठाउँ र जहाँ रहे पनि जन्मस्थान सबैलाई प्यारो लाग्छ । त्यसैले जन्ममूमिप्रति माया लागेर दुई–चार ओटा शब्द लेखियो । कवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मभूमि ओखलढुङ्गालाई सम्झेर कविता लेखेका छन् । त्यहाँ हाँसेको, खेलेको रमाएको र जुन ठाउँमा गएपनि ओखलढुङ्गाकै स्मृतिको प्रियगङ्गामा सयर गरेको प्रसङ्ग उल्लेख गरेका छन् । मैले भने मेरो गाउँलाई सम्झेर कविता लेख्न सकिन । दुई–चार ओटा हरफ लेखेर आफ्नो सम्झना मेटाउने कोसिस गरेँ । मलाई पनि कवि श्रेष्ठकै जस्तै जन्मभूमिप्रति अगाध माया र स्नेह लागिरहेको छ । जन्मभूमि भनेको नै जननी हुन् ।
सरकारले सुनिदिइयोस् यहाँका व्यथा । पढिदिइयोस् यहाँका कथा । छिट्टै यस ठाउँ स्वर्ग जस्तै सुन्दर भएको देख्न पाइयोस् । यहाँका सबै घरमा बिजुली बत्ती बलेको देख्न पाइयोस् । कर्णालीको पानी तानेर मदना, मनेलेख जस्ता पहाडको टुप्पोमा लिएर सिचाइँ सुविधा पुगेको, यहाँका डाँडाहरुमा केबुलकार जोडिएको, जडिबुटी प्रशोधन केन्द्र निर्माण भएको निर्माण भएको देख्न पाइयोस् । यहाँका मान्छेले मागेको होइन अरुलाई दिएको कुरा समाचारमा पढ्न पाइयोस् । स्वास्थ्य, शिक्षा, यातायातलगायत भौतिक पूर्वाधारको विकास भएको देख्न पाइयोस् ।
(गुलरिया, वर्दिया)