चाडबाडको समय पारेर कतिपय मानिसहरू नगएका ठाउँहरूमा घुम्न मन पराउँछन् । मलाई भने यस्तो समय परिवारका सदस्यहरूसँगै बिताउन मन लाग्छ । त्यसै भएर होला यसअघि मैले दसँैँमा घर छोडेर आफू नपुगेको कुनै अपरिचित स्थानमा जानका लागि कुनै प्रकारको योजना बनाएको थिइन । तर यसपालि त्यसो भएन । हामीले हाम्रो दसैँ नेपालबाट अलिकति पर, छिमेकी मुलुक भारतको सिलिकन सिटी बैंगलोर घुमघाम गरेर बिताउने योजना बनायौं । चाडबाडको समयमा हामी किन र कसरी त्यस्तो योजना बनाउन पुग्यौँ भन्ने कुराको आफ्नै प्रकारको एउटा अन्तर्कथा छ ।
नेपाल आएको समयमा कहिलेकाहीँ दीपेशले बैंगलोरका विषयमा कुरा गर्दा त्यो ठाउँ कस्तो होला भन्ने ठानेर विजया र म एक आपसमा त्यहाँका विषयमा अनेक प्रकारका परिकल्पना गथ्र्यौं । ‘जाउँ न एक पटक हामी पनि त्यतातिर घुम्न । दीपेशले घुमाइदिन्छु भनेकै छ ।’ बैंगलोरको कुरा चल्दा विजया जहिले पनि आफ्नो भदाको प्रसङ्गसमेत जोडर यसो भन्न बिर्सिन्नथिन् । यस पटक दसँैं लाग्नुभन्दा डेढ महिनाजति अगाडि दीपकले पोखराबाट फोन गरेर यसपालि दसैँ बिदामा छोरालाई भेट्न बैंगलोर जाँदैछौँ, दिदी–भिनाजु पनि जान चाहनुहुन्छ भने ३ अक्टोबरका लागि टिकट बुक गर्नोस् भन्ने खबर गरेपछि विजयाले मलाई टिकट बुक गर्न कर लगाउन थालिन् । यस अघि दक्षिण भारत नघुमेको हुनाले, घुम्न पनि पाइने अनि बैंगलोरसम्म सोझै पुगिने आर.ए.को सेवा सुविधासमेत भएको हुनाले ट्रान्जिटको पनि झन्झट बेहोर्न नपर्ने भएपछि मलाई पनि ठिकै लाग्यो र सहमति जनाएँ ।
दसँैंको मुखमा छोरालाई भेट्न हिँडेका दीपकका जोडी पूरा बन्दोबस्तीका साथ असोज १५ गते पोखराबाट काठमाडौँ आइपुगे । १६ असोज २०७६, तदनुसार ३ अक्टोबर २०१९ का दिन बिजया र म अनि दीपक र दीपासमेत हामी चार जना दुईवटा ट्याक्सीमा त्रिभुवन विमानस्थलका लागि प्रस्थान ग¥यौँ । ११ बजे विमानस्थल पुग्नु पर्ने समय दिइएको थियो । कुनै पनि ठाउँमा जाँदा तोकिएको समयमा ढिलो नगरीकन, अझ अलिकति समय बचाएर नै दुई–चार मिनेट अघि पुग्नुपर्छ भन्ने किसिमकोे मेरो धारणा पहिलेदेखि थियो र त्यो अहिलेसम्म पनि छ । त्यति भएन भने पनि निर्धारित समयभन्दा ढिलो हुनु हुँदैन भन्ने ठान्दछु म । यो समयसित चल्ने एउटा अनुशासनको कुरा पनि हो । त्यसो भएको हुनाले निर्धारित समयमा नै नपुगिएला कि भन्ठानेर मनमा अलिकति अत्यास पालेर एक प्रकारले थोरै हतार गर्दै हामी समयमा नै घरबाट निस्कियौँ र विमानस्थल पनि यथासमयमा पुग्यौँ । विमानस्थल पुग्ने बित्तिकै हामी प्रस्थान कक्षतिर लाग्यौँ किनभने हामीलाई बिदाइ गर्नका लागि अरू कोही गएका थिएनन् र अरूलेझैँ बिदाइको समयमा मलिनु अनुहार लगाउँदै एक अर्कालाई अँगालो हालेर रोइकराई गर्दै एक अर्काप्रति स्नेहले बसिभूत भएर वेदना पोख्नुपर्ने स्थिति पनि थिएन हाम्रो । त्यसैले ट्याक्सीलाई बिदा गरेपछि हामी लगेजका ट्रली गुडाउँदै प्रस्थान–कक्षतिर लाग्यौँ । भित्र गैसकेपछि पनि पहिले त बैंगलोरका लागि निर्धारित डेस्क कतातिर पर्छ भन्ने पत्ता लगाउन निकै सकस प¥यो, पत्ता लगाइसकेपछि पनि हामी अलिकति असमन्जस्यमा प¥यौँ । एयरपोर्ट रिर्पोटिङ टाइम ११ बजे दिइएको भए पनि त्यति बेला काउन्टर खुल्ने कुनै सङ्केत थिएन त्यहाँ ।
बिना कारण पर्खेर बस्नुपर्ने जस्तो बेठिक कुरा केही पनि लाग्दैन मलाई । ११ बजे खुल्नुपर्ने चेक इन डेस्क पौने बाह्र बजे खुल्यो र अलिकति उज्यालो अनुहार बनाउँदै हामी त्यता लाग्यौँ तर डेस्कमा गफिएर बसिरहेका कर्मचारीहरूले तोकिएको समय भैसक्ता पनि काम सुरु गरेनन् । प्रतीक्षालयमा हामीजस्तै अरू यात्रुहरू पनि अत्यासले थिचिएको अनुहार लिएर बसिरहेका थिए । काउण्टर कति बजे खुल्छ भन्ने हामीसँगैका यात्रुहरूको उत्तरमा उनीहरूले १२ बजेपछि मात्र खुल्छ भनेपछि हामी फेरि प्रतीक्षालयका चिसा कुर्चीमा बस्न बाध्य भयौँ ।
जेनतेन एक घण्टाको समय धकेलेपछि बल्ल काउन्टर खुल्यो र लगेज जिम्मा लगाएपछि हामीले बोर्डिङ् पास लियौं । माथिल्लो तलामा पुगेपछि यात्रुहरूको लाइन नागबेली शैलीमा अध्यागमनतिर बढिरहेको देखियो । केही बेर त्यसरी नै लाइनमा बसे पनि धेरै बेर त्यही तरिकाले अघि बढ्न मलाई असजिलो लागेको हुनाले सँगै उभिएको दीपकलाई ‘तिमीपछि मेरो पालो है, म एक छिन आराम गर्र्छु’ भनेर लाइनमा आफ्नो स्थानको सुरक्षाको जिम्मा उनलाई सुम्पेर म नजिकै रहेको विश्रामस्थलतिर लागेँ ।
दीपकहरू निकै पर पुगेपछि म फेरि उनीहरूसित मिसिन त्यतै गएँ । म लाइनमा बसेको एकै छिनपछि एक जना हट्टाकट्टा अधबैँसे पुरुष लाइनमा बसेका मानिसहरूलाई मिच्दै बार फड्केर अघि बढ्यो र अध्यागमन पुग्नुभन्दा थोरै यतातिर राखिएका कुर्चीमा गएर ढसमस्स परेर बस्यो । ऊजस्ता कुनै कुनै एकाध जना मनिसको मिचाहा प्रवृत्ति देखिएको भए पनि त्यहाँ भएका धेरै यात्रुहरू सज्जन रहेछन् । अनुशासन तोडेर हिड्ने मानिसहरूलाई सही बाटोमा ल्याउन केही यात्रुहरूले त्यसरी भित्र जाने व्यक्तिलाई लक्ष गर्दै कराउन थाले । मानिसहरूले उसको अशिष्ट व्यवहारको विरोध गरेको देखेपछि त्यो पालो मिचाहा युवक लाज र क्रोधले निलो हुँदै टाउको निहु¥याएर बसिरह्यो ।
अध्यागमनका युवा कर्मचारी बोलीबचनमा मृदुभाषी र ब्यवहारमा सहयोगी भावनाका रहेछन् । म चेकिङ डेस्कअगाडि पुगेपछि उज्यालो मुहार बनाएर उनले मसित ‘कहाँ जाँदै हुनुहुन्छ?’ भनेर सोधे । मैले ‘बैंगलोर’ भनेपछि मेरो पासपोर्टमा छाप लगाए र मृदु मुस्कानसहित ‘शुभ यात्रा’ भन्दै मलाई बिदा गरे । मैले पासपोर्ट लिँदै ‘धन्यवाद’ भनें र आफ्नो बाटो समातेँ ।
बाहिर प्रतीक्षालयमा पुगेपछि हामी उडानको प्रतीक्षामा बसिरहेका मानिसहरूले खचाखच भरिएको ठुलो हलमा पुग्यौँ । उडान ढिलो भएको सङ्केत पहिले नै पाइसकेका हामीले त्यहाँ पुगेपछि २.०५ को हाम्रो फ्लाइट ४.१५ का लागि सरेको थाहा पायौँ । घरि यता र घरि उता गर्दै निर्धारित समय काटिसकेपछि पनि जहाजको उडान हुने कुराको कुनै सुरसार नदेखेपछि त्यसबारे बुझ्न हामी फेरि अगाडिको काउन्टरमा गयौँ । यस पटक जहाज ५ बजे उड्छ भन्ने जवाफ पाइयो ।
पौने पाँचतिर जहाजभित्र पसे पनि जहाजले ५.३० मा मात्र जमिन छोडेर आकाशमार्गको बाटो समात्यो । तोकिएकै समयमा सबै काम गरेर आफ्नो प्रतिष्ठा बचाउने काम नेपाल बायुसेवा निगमले कहिलेदेखि गर्ने होला ?
आकाश मार्गमा उकालो चढिरहेको नेपाल वायुसेवा निगमको सगरमाथा जेट बिमानको झ्यालबाट मैले बाहिरतिर चियाएँ । सुरुमा मेरा आँखा काठमाडौं उपत्यकाका नाङ्लामा सुकाएका मस्यौराजस्ता देखिएका असंख्य ससाना अब्यवस्थित घरहरूमाथि चिप्लिए र ती क्षितिजरेखामा रक्ताम्मे भएर पोतिएको साँझपखको सूर्यको मलिन प्रकाशको चहकमा मुछिएका सेता र काला बादलका मनमोहक पहाडहरूमा ठोक्किन पुगे । करिव आधा घण्टापछि बाहिरको उज्यालो निस्तेज भयो र धरती अनि आकाश दुवैतिर अन्धकारको पालतो पर्दामा क्रमशः गाढा रङ भरिंदै गयो ।
काठमाडौंबाट उडेको ठीक २ घण्टा ५० मिनेटमा हाम्रो जहाज बैङ्लोरको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । इमिग्रेसनको सामान्य प्रकृया पूरा गरेर बाहिर निस्कँदा लगभग १० बजेको थियो । लगेजका कुटुरा घिसार्दै बाहिर निस्कने बित्तिकै हामीलाई पर्खेर बसेको विजयाको भदा दीपेशलाई देख्ता हाम्रो मन औधी रमायो । बाक्लो ट्राफिकबिच बैंगलोर एयरपोर्टदेखि सर्जापुर रोड लियो कन्फिडेन्स पुग्दा साढे एघार बजिसकेको थियो । हँसीखुसी र उमङ्गबीच केही समय बित्यो । मध्यरातको १२ बजेपछि अर्को दिन पनि सुरु भयो । त्यसपछि हामी सुत्ने तरखर गर्न थाल्यौँ ।
भोलि पूmलपाती । पूरै देश दसँैंको महाउत्सबमा रमाउन थालिसकेको छ । हामी भने हिजो यता लाग्यौँ । आन्तरिक मनमा अलिकति नरमाइलो लाग्यो । तर चित्त बुझायौँ । एक प्रकारको बाध्यता पनि प¥यो । आफ्नो खटनको विषय भएन यो । रहरको कहर पनि त काट्नै प¥यो ! एक दिन थकाइ मारियो । भोलिपल्टदेखि दसँैंको रौनकले छोपिहाल्यो । दसमीसम्म समय त्यसको गतिमा चिप्लिएर बिस्तारै बिलायो । विगततिर फर्केर हेरेँ, मनमा विगतका वर्षहरूको उत्सबको चित्र कोरिएर आयो ।
कोठाको बिचमा ओछ्याइएको गलैँचा, त्यसमाथिका पूजा सरजाम र नाति–नातिना तथा छोरा–बुहारीलगायत घर–परिवारको उपस्थिति थिएन त्यहाँ । यो उमेरसम्म हामीले दसँैँको समयमा यसरी घर छोडेर यसअघि कहिल्यै पनि बाहिर हिड्ने परिस्थिति निर्माण भएको थिएन । त्यसैले हाम्रो आन्तरिक आनन्द पनि उतै नेपालतिर नै छडिएको थियो यस पटक । पारिवारिक मिलनको यति ठूलो अवसरमा हामी घर परिवारदेखि हज्जारौं माइल पर दक्षिण भारतको कर्नाटक राज्यको एक अपरिचत सहर उन्मुख क्षेत्रमा थियौँ तथापि हाम्रो मन भने उतै नेपालतिर छोरा–छोरी, नाति–नातिना, इष्टमित्र, साथी–सँगाती र गाउँघरतिरै डुलिरहेको थियो ।
यसरी २०७६ सालको दसँैँताकाको समय हामीले बैंगलोरमा बिताउनु प¥यो । हामी विजयाको साइलो भाइको परिवारसहित दीपेशको पाहुना भएर घुमफिर गर्न त्यता गएका थियौँ । विजया दसमीको भोलिपल्ट पूर्व निर्धारित कार्यक्रम अनुसार हामी तीन जोडी, अर्थात् म र विजया, दीपक र दीपा अनि दीपेश र गजल पन्डिचेरीतिर लाग्यौं । हामी नेपालबाट यता लाग्नुभन्दा पहिले नै पन्डिचेरी (अहिले बम्बईबाट मुम्बई, बैंगलोरबाट बैंगलुरु भएजस्तै पन्डिचेरीबाट भएको ‘पुडुचेरी’) मा दीपेशले यसअघि नै अनलाइन बुकिङ् गरेर बस्ने ठाउँको ब्यवस्था मिलाइसकेको कुरा विजयाले मलाई पहिले नै बताइसकेकी थिइन् । फेरि हामी उनीहरूका पाहुना भएर आएका हुनाले त्यसको चिन्ता लिनुपर्ने अवस्था पनि थिएन हामीलाई । ‘भोलि कति बेलातिर निस्कने कार्यक्रम छ नि हाम्रो’ भन्ने मेरो प्रश्नको उत्तरमा दीपेशले बिहान सबेरै पाँच बजे नै हिँड्ने हो भन्ने जवाफ पाएको थिएँ हिजो, तर सबै तारतम्य मिलाउँदा घर छोड्ने बेलामा आठ बज्यो ।
मझौलो किसिमको कार, सजिलो किसिमले बस्दा तीन जनालाई ठिक्क हुने, तर त्यसमा अटाउनु पर्ने थियो चार जना । दीपेश गाडी हाक्ने र मेरालागि अगाडिको सिट छुट्ट्याइएको हुनाले कुनै प्रकारको समस्या पर्ने भएन मलाई । पछाडि दीपक, दीपा, विजया र गजल चार जना अट्नु पर्ने, सबैको शारीरिक बनोट मध्यम किसिमको भएको हुनाले उनीहरू पनि सुबिस्तासाथै बसे । खासै समस्या परेन ।
बैंगलोरको सर्जापुर मेन रोड । कन्फिडेन्ट लियो ग्रुपको अपार्टमेन्ट । फ्ल्याट नम्बर १००५ । यही रहेछ दीपेशको हालको घर । हिजो यहाँ आइपुगेको बेला, सुरुमा मैले यो उत्तर दिशा होला भन्ठानेको ठाउँ भोलिपल्ट त्यतैबाट घाम उदाउँदा पूर्व रहेछ भन्ने मान्नुप¥यो । हामी बसेको ठाउँभन्दा आठ–दस माइलको दूरीमा पर्ने देहातको सर्जापुर गाउँ जाने हुनाले त्यसैबाट नामकरण गरिएको त्यही सर्जापुर सडकमा जिप कम्पनीको उसको आरामदायीे नयाँ रातो कारमा दीपेशले हामीलाई कुदाउन थालेपछि नयाँ ठाउँको अवलोकन गर्ने हाम्रो चञ्चल मनको प्रफुल्लता समेत बढेर जान थालेको मैले अनुभव गरेको थिएँ ।
तुलनात्मक रूपमा साँगुरोजस्तो लाग्ने चार लेनको सर्जापुर सडकमा केही समय घुईंकिएपछि केही बेरमा दीपेशले उसको कारलाई सडकसँगैको ग्यास स्टेशनतिर मोड्यो र फूल ट्याङ्की पेट्रोल भ¥यो, चक्कामा हावा, ब्रेक चेक आदि सबै त्यहीँ हँुदोरहेछ, भयो । त्यहाँबाट बाहिर निस्केर सर्जापुर सडकमा घुइँकिएको हाम्रो कार केही मिनेटको यात्रापछि दाहिने मोडियो र मुम्बई रोडका नामले समेत चिनिने फराकिलो राष्ट्रिय राजमार्ग ४४ मा बेगबान गतिमा दौडन थाल्यो ।
जता हे¥यो त्यतै ठाउँठाउँमा झम्म परेका हरिया गोलाकार रुखहरू, जमिनबाट फुत्त बाहिर निस्केर आकाश ताकेर हुत्तिँदै माथि पुगेपछि चारैतिर बान्की मिलेका हरिया पातका छाता ओडेर कुखुरीले चल्ला छोपेझैैँ पूर्ण रूपमा विकसित हुँदै गएका आफ्ना फल छोपेर धनुषाकारमा थोरै ढल्केका अनगिन्ती नरिवलका बोटहरू, अनि थरिथरिका बुट्यानले ढाकिएका फराकिला समथर भूभागहरू हाम्रा नजरमा पर्दै र बिलाउँदै जानथाले । मेरो दृष्टि घरि यी दृश्यहरूको रसास्वादन गर्नतिर पुग्थ्यो भने घरी दीपेशले दुई हातले समातिरहेको स्टेरिङ् अघिको गति प्रदर्सन गर्ने १२०–१२५ किलोमिटर देखाइरहेको इन्डिकेटरतिर तानिन्थ्यो ।
पूर्व–दक्षिण दिशातिर सोझिएर अगाडितिर दौडिइरहेको विशाल राजमार्गमा कुदिरहेको गाडीबाट पहाडको कुनै नाम निसान नभएको यस समथर भूमिमा एकाएक हाम्रा आँखा टाढाबाट हेर्दा हरिया रूखहरूका बिचबिचमा परालका टौवाजस्ता वा खरले छाएका साना घरजस्ता दृश्यहरूले भरिएका थुम्काहरूसित ठक्कराउन पुगे । नजिकै पुगेपछि हामीले देख्यौँ, ती त यामानका खैरा ढुङ्गा पो रहेछन् । ढुङ्गैढुङ्गाका पहाडहरू, यिनै दृश्यहरूलाई स्मृतिको क्यामरामा कैद गर्दै हाम्रो यात्रा अघि बढ्दै गयो । डेढ घण्टाको दूरी पार गरेपछि हामी ९.३० मा तमिलनाडु राज्यमा पर्ने कृष्णगिरीको काखमा रहेको अडियरको आनन्द भवन पुग्यौँ । आनन्द भवन यस राजमार्गमा यात्रा गर्ने सबै यात्रुहरूका लागि इच्छा माफिकको भोजन गर्न पाइने थलो रहेछ । पार्किङ्का लागि तयार गरिएको फराकिलो प्राङ्गण कटेर सिँडी उक्लेपछि एउटा ठूलो हलमा पुगिँदोरहेछ । २५ वटा जति लहर मिलाएर राखिएका डाइनिङ् टेबुलहरू हाम्रा आँखा अघि देखिए । ती सबै टेबुलहरू ग्राहकले टनाटन भरिएका थिए । उत्तरतिरको लङमा एउटा टेबल खाली गराएर त्यही बस्न आग्रह गरेपछि विजया र म माथितिरको लहरमा बस्यौँ अनि दीपक र दीपा हाम्रो अगाडितिर आमने–सामने बसे । दीपेश र गजल हाम्रो दाहिनेतिरको सानो टेबलमा । हाम्रो फर्माइस पाएपछि एकै छिनमा खानाका किस्तीहरू लिएर तमिल भाइहरू हाम्रा अगाडि आए र हल्का मुस्कानसहित पानी र खाना टेबलमा राखे । किस्तीमाथि किस्तीकै आकारमा फैलिएका केराका सफा पात, त्यसमाथि राखिएका थरीथरीका मगमग बास्ना आइरहेका ताजा खाना र कोरेको नरिवलका किसिम किसिमका अचारका परिकार । हामीले खुवै स्वाद मानेर खाना खायौँ । यहाँको खाना र अतिथि सत्कारको उच्च शैली प्रदर्सन गर्ने तमिलहरूको आतिथ्य देखेपछि हाम्रा राजमार्ग छेउछाउका बासी र अस्वस्थकर खाना बेचेर यात्रुहरू लुट्ने आदत बसालिसकेका होटल नाम दिइएका जाल थापेर बस्ने अधिकाङ्श ब्यापारीहरूको ग्राहकहरूसित मूल्य लिएपछि उचित सेवा प्रदान गर्नुपर्छ भन्ने चेतनाको ढोका कहिले खुल्ने होला भन्ने कल्पना गरेर म एकछिन त्यसै टोलाउन पुगेँ । उहिले प्रधानमन्त्री भएका बेला डा. बाबुराम भट्टटराईले मुगलिन लगायत बाटामा पर्ने अरू भान्छाघरका चुलामा नै पुगेर अनुगमन गर्दै आइन्दा यात्रुहरूलाई बासी खाना नख्वाउनुहोला, ख्वाएको खण्डमा ठीक हुने छैन भनेजस्ता चेतावनी यता मोदीजीले पनि दिएको भएर हो कि चमेनागृह सञ्चालकहरूका दिमागमा स्वतस्फूर्त रूपमा बलेको ज्ञान र कर्तव्यबोधको दियोको प्रकाशले प्रज्वल्लित भएर हो कुन्नि ? त्यो हामीले खुट्ट्याउन सकेनौँ । जे भए पनि कृष्णगिरीको काखमा अवस्थित आनन्दभवनको मिठो खानाको स्वाद हामी आउने धेरै दिनसम्म बिसर्न सक्तैनौँ होलाजस्तो लागेर मेरो मन भने निकै प्रफुल्ल भयो ।
बाहिर यत्रतत्र वातावरणभरि आकाशबाट आगाको भकुन्डोजस्तो चर्को सूर्यका किरणहरू धरतीमा बाणझैँ खनिएका थिए । हामीले कृष्णगिरीको काखमा अवस्थित आनन्द भवनको स्मृतिलाई सुदूर भविश्यसम्म सुरक्षित गर्ने ध्येयले बिदा हुने बेलामा भवनको अगाडि बसेर केही स्न्याप फोटो खिच्यौँ र त्यहाँबाट बिदा भयौँ । हाम्रो कार फेरि पूर्ववत् एन्.एच्. ४४ मा प्रवेश ग¥यो र त्यो क्रमशः बेगबान गतिमा सडकको सतहमा गुड्न थाल्यो ।
पाँच– छ वर्ष अघि होला, मैले लगाएका क्लार्क जुत्तातिर हेर्दै एक पटक दीपेशले भनेको थियो, भिनाजुले क्लार्क कम्पनीका जुत्ता लगाउनु भएको रहेछ । मेरो पनि मन पर्ने ब्राण्ड नै हो यो । त्यति बेला मैले केही टिप्पणी गरेको थिइन, केवल उज्यालो अनुहार बनाएको थिएँ । कहाँ किन्नुभएको नि भिनाजुले यी जुत्ता ? उसले फेरि मलाई सोधेको थियो । खासमा छोरीले मलाई बेलाइतबाट ल्याइदिएकी थिई ती जुत्ता । यस पटक पनि मैले क्लार्क कम्पनीकै जुत्ता लगाएको थिएँ । उसले मेरा जुत्ता देखिरहेकै थियो । हामी गाडीमा कुदिरहेको बेलामा आज पनि दीपेशले मलाई एउटा अर्को प्रश्न सोध्यो, ‘हजुरले लगाइरहेका जुत्ता कहाँ बन्छन् थाहा छ भिनाजु हजुरलाई ?’ मैले थाहा छैन भनेँ । ती सबै यहीँ बन्छन् । अम्बुरमा जुत्ता कारखाना धेरै छन् । समुद्रपारका धेरै कम्पनीहरूका ब्रान्डेड जुत्ता यहीँ अम्बुरमा बन्छन् ।
अम्बुर कटेपछि अब हाम्रो यात्रा भेलोरतिर अघि बढिरहेको थियो । मामुली किसिमका सानादेखि असाध्य र ठूला किसिमका रोगले सताइएका मानिसहरू उता हाम्रोतिरका बागमतीका ब्रह्मनालजस्ता अस्पतालहरूबाट पीडित र शोषित मदौराहरूले भेलोरको मिसन अस्पतालबारे गफ गरेको बेलामौकामा सुनेको थिएँ मैले । आज हामी त्यही ठाउँमा आइपुगेका थियौँ । यस अघि नदेखेको तर त्यसबारे धेरै सुनेको कुनै प्रख्यात ठाउँमा एक्कासि पुग्दा मनमा एक प्रकारको अकल्पनीय आनन्दको अनुभूति हुँदोरहेछ । मलाई त यहीँ ओर्लेर भेलोरका गल्ली गल्ली चाहार्न मन लागेको थियो । आफ्ना बिरामीहरूप्रति प्रेमपूर्ण ब्यवहार प्रदर्सन गरेर आधा रोग त्यसै बिसेक गराउने यहाँका सज्जन चिकित्सकहरूसित एक छिन भलाकुसारी गर्न मन लागेको थियो । तर आजको हाम्रो लक्ष त हिन्दमहासागरको किनारमा रहेको पर्यटकीय नगरी पोन्डिचेरी को घुमफिर गर्ने थियो र समयले हामीलाई पूर्व योजना बिनाको भेलोर यात्रा गर्ने अनुमति पनि दिन सक्तैनथ्यो । त्यसैले हामी सडकबाट गाडीमा कुदिरहेकै समयमा देखिने किनाराका सामान्य दृश्यहरू बाहेक आनन्दले रमाएर, बिस्तारै हिँडेर यताउता हेर्दै भेलोरलाई स्पर्स गर्न सक्ने अवस्थामा थिएनौँ हामी । यस भन्दाबढी अनुकूल मिले फर्कंदा हेरौँला भन्दै हामी निरन्तर आफ्नो गन्तव्यतिर बढिरह्यौँ । यसरी हामीले बैंगलोर छाडेपछि यति बेलासम्म बाटामा पर्ने सानातिना स्थानहरू बाहेक होसुर, कृष्णगिरीको काख अडियर, अम्बुर र भेलोरजस्ता प्रशिद्ध ठाउँहरू पार गरिसकेका थियौँ र अबको हाम्रो काम आर्कोट, लिन्डिभारानम् हुँदै पोन्डिचेरी पुग्नु थियो । तसर्थ, बाटामा कतै कतै छोटो वासरुम पस्ने कामबाहेक हामीले कतै पनि समयको दुरुपयोग गरेनौँ ।
भोलोर कटेको केही समयपछि हाम्रो गाडीको स्क्रिनमा गुगल म्यापमा लेखिएको एस्.एच्. अर्थात् स्टेट हाईवे प्रदेश राजमार्ग) का नामले चिनिने दुवै किनारामा हरिया गोलाकार रुखहरूले शितल बनाएका तुलनात्मक रूपमा साना र शितल सडकबाट अघि बढ्यौँ । यसरी हामीले बैंगलोरदेखि पोन्डुचेरीसम्मको ३६८ किलोमिटरको दुरी तय गर्ने सिलसिलामा सुरुमा एन्.एच्ं ४४, त्यसपछि एन.एच्. ४८, त्यसपछि केही घण्टा प्रान्तीय राजमार्ग एस् एन्. ५८ र अन्त्यमा एन्, एच्. ३२ पारगर्दै हामी सडकका दुवै किनारमा लगाइएका नरिवलका बोटहरूलाई पछिल्तिर छोड्दै दिउसो तीन बजे समुद्र किनारको नजिकै रहेको ‘द वाइन्डफ्लावर रिसोर्ट एण्ड स्पा’ मा पाइला टेक्न पुग्यौँ ।
आँगन कटेर सिँडी उक्लँदै हामी गोला रङ्गीन खम्बाहरूले धानिराखेको प्रशस्त फराकिलो पटाङ्गिनीमा पुग्यौँ । दायाँ काउन्टर, बायाँ तीनतिर फर्काएर राखिएको तीन फिटे सोफा, अगाडि कालो पत्थरमा कुँदिएको जस्तो देखिने पद्माशन मुद्रामा रहेको बुद्धको प्रतिमा । त्यसको ठीक अगाडि पर्ने स्थानमा ठूलो ताउलो आकारको भाँडामा बिटसम्म भरिएको पानीको सतहमाथि विविध रङका पूmलका गुच्छाहरू, पछाडिको वारपार खण्डमा एक फुटजति गहिरो कलात्मक पोखरीमा ठाउँठाउँमा थरीथरीका पूmलहरू र त्यसभन्दा पर नजरले छोपेजति क्षेत्रमा फैलिएको बगैँचा अनि किनारातिर ठाउँठाउँमा हाम्रो तराईतिरका आदिबासी थारुहरूका जस्ता देखिने खपटाले छाएका राता घरहरू । बाहिरबाट हेर्दा ख्यालख्यालका जस्ता लाग्ने ती घरभित्रका कोठाको ब्यवस्थापन भने निकै आकर्षक र पूर्ण रहेछ ।
हाम्रा झोला आदि आआफ्ना कोठामा थन्क्याएपछि हामी चर्को घामलाई तालुमाथि थापेर लन्चका लागि दुई सय मिटरजति पूर्बमा रहेको डाइनिङ हलतिर लाग्यौँ । यति बेला हामी ताड र नरिवलको जङ्गलबिच समुद्र किनार नजिकै थियौँ । खाना खाइसक्ता एक घण्टा बित्यो । त्यसपछि हामी समुद्र किनारतिर गयौँ ।
करिव पाँचसय मिटर जति पैदल हिँडेर पूर्व लागेपछि हामी समुद्र किनारमा पुग्यौँ । अथाह जलराशिले भरिएको निलो विशाल समुद्र हाम्रा आँखा अगाडि थियो । हाम्रो यात्रादलका अरू सबै समुद्रको पानी छुन र परबाट बटारिँदै उर्लेर आएको छालसित खेल्न पानीतिर लागे, मलाई भने त्यो दृश्यको आस्वादन गर्नमा नै आनन्द लाग्यो । केही बेर किनारैकिनार माथिसम्म पुगेँ र फेरि त्यसरी नै फर्केर आएँ । उता नेपालमा छँदा पनि कहिलेकाहीँ म साँझ पख नारायणगढमा उद्योग वाणिज्य सङ्घपछाडि नदी किनारमा नारायणीको निलो पानी र वरपरको हरियो जङ्गल हेर्दै यसरी नै हिड्थेँ र मलाई त्यसैमा आनन्द लाग्थ्यो । आज पनि मलाई त्यस्तै अनुभूति भैरहेको थियो । यति बेला हामी पोन्डिचेरीको पूर्वी किनारमा रहेको इन्डियन ओसनको पश्चिमी तटमा खेलिरहेका थियौँ । त्यसरी नै ठिक यति नै बेला भारतका प्रधानभन्त्री नरेन्द्र मोदी चेन्नाईको समुद्रतटमा चिनका राष्ट्रपति सि चिनफिङलाई पथप्रदर्सँन गरिरहेको खबर यहाँका समाचारमाध्यमहरूले निरन्तर दिइरहेका थिए । यस्तो संयोग देखेर हामी बढो आनन्दविभोर हुँदै दङ परिरहेका थियौँ ।
समुद्र किनारमा खेल्ने मानिसहरूको सङ्ख्या केही समय अघिसम्म बाक्लै थियो, साँझ पर्दै गएपछि भने वातावरणमा विस्तारै अँध्यारो खस्न थाल्यो र ती सबै मानिसहरू बिस्तारै उनीहरूका बासस्थानतिर फर्कन थाले । त्यसपछि हामी पनि हाम्रो अस्थायी बासतिर लाग्यौँ ।
होटलमा फर्केको केही समयपछि दीपेशले रक बिचतिर जाने भनेको हुनाले हामी सबै उसैको पछि लाग्यौँ । पोन्डुचेरीका प्रमुख पर्यटकीय स्थलहरूमा रकबिच सहित अरोविन्दो आश्रम, समुद्र किनारमा रहेको महात्मा गान्धीको सालिक, पोन्डिचेरी म्युजियम, बोटानिकल गार्डेन, युनिभर्सल टाउनका रूपमा प्रख्यात औरोभिल, ह्वाइट टाउनका रूपमा प्रशिद्ध फ्रेन्च स्क्वायर आदि रहेछन् ।
सोह्रौं शताव्दीको मध्यतिर इस्ट इन्डिया कम्पनीको संचालकका रूपमा भारत पसेका फान्सेलीहरूले आन्ध्र प्रदेशको किनारी भागमा पर्ने यानाम, केरलामा पर्ने ९५९ वर्ग मिटर क्षेत्रमा फैलिएको माहे, पोन्डिचेरी भन्दा १३२ किलोमिटर दक्षिण तमिलनाडुमा नै पर्ने करिकाल र पोन्डिचेरी, पर्यटकीय दृष्टिले विशेष महत्वका यी चार ठाउँलाई आफ्ना उपनिवेश बनाएका रहेछन् । भारत स्वतन्त्र भइसकेपछि पनि आफ्नो आधिपत्य कायमै राखेका फ्रान्सेलीहरूका विरुद्धको अन्तिम लडाइँ १९५६ मा माहेमा फ्रान्सेली झण्डा झिकेर त्यसको ठाउँमा भारतीय तिरङ्गा फैलाएर गरेका रहेछन् स्वतन्त्रता पे्रमी भारतीय जनताले । यी चार ठाउँमध्ये ती ठाउँको स्थानीय नामसँगै जोडेर पोन्डुचेरी वा पुडुचेरी भन्दारहेछन् यिनलाई । यीमध्ये क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो तमिलनाडुको ठूलो क्षेत्रको नाम पुडुचेरीबाट सबैको नामपछि पुडुचेरी जोडिएको रहेछ । तर यहाँ ती सबै ठाउँको भूगोल वा इतिहास खोज्ने मेरो उद्देश्य होइन । मैले त केवल आपूmले छोटो समयमा घुमफिर गरेका ठाउँहरूबारे आफ्ना अनुभूतिहरू पस्कने प्रयत्न मात्र गरेको हुँ ।
रात परिसकेको थियो, तर दीपेशहरूले रकबिच हेर्न जाने कुरा निकाले । बिरानो ठाउँ, आफ्नो योजना अनुसारको घुमफिर कार्यक्रम नभएको हुनाले अरूको योजना जेजस्तो छ त्यसैमा हिँड्नै प¥यो । हामी छ जना सँगै पूर्ववत् स्थितिमा पुडुचेरीका स्थानीय साना–ठूला आवादीहरू पार गर्दै उत्तर–पूर्वतिर लाग्यौं र केही समयको कुदाइपछि चार किलोमिटर जति परको रकबिच पुग्यौँ ।
समुद्रको पश्चिमी किनारामा उत्तर दक्षिण कुदेको सफा चौडा सडक र त्यसको पूर्वी किनारमा रहेको रकबिच । सडक सामनेमा दुई फिटजचि उठाइएको चौकोजस्तो मानव निर्मित लामो समतल भाग र त्यसभन्दा पर समुद्रको किनारातिर तर्पाएँ भिरालो परेको आकृतिमा मानिसले नै मिलाएर राखेका हुन् कि जस्ता देखिने एकमाथि अर्कासित टाँसिएर खप्टिँदै लहर लागेर समुद्रको पानीलाई छुन तलतिर झरिरहेका कालीगण्डकी किनारमा पाइने शालिग्राम रङका यामानका कतै गोलाकार अनि कतै चेप्टा चट्टान । मानिसहरू रातको समयमा पनि ती ढुङ्गामा बसेर शान्त मुद्रामा अशान्त समुद्रको अथाह जलराशीलाई हेरिरहेका छन् । टाढा कतै क्षितिज किनारतिरबाट यता आउँदै गरेका पानी– जहाजका बत्तीको उज्यालो आकाशमा चम्किरहेका ताराजस्तै देखिन्छन् र समयको पदचापमा बिलाउँदै जाँदा ती क्रमशः ठूला हुँदै स्पष्ट आकारमा मानिसहरूका नजरमा पर्छन् । शान्त समुद्रको सतहबाट निस्केका अनगिन्ती छालहरू एकले अर्कोलाई उछिन्दै र लछार्दै स्वाँ… गर्दो सुसाईसँगै किनारातिर बढ्छन् र रकबिचका काला पत्थरहरूमा ठोकिएपछि तिनलाई पखाल्दै लहरको काँध चढेर तिनलाई पुनः पखाल्छन् र एकैछिनपछि फेरि हुर्रिँदै समुद्रतिर तानिन्छन् । लाखौँ–करोडौं वर्षदेखि निरन्तर चलिआएको यो क्रिया आजपर्यन्त जारी छ र भोलिका दिनमा पनि यसरी नै रहिरहने छ भन्ने म अनुमान गर्दछु ।
यता सोरलाइनको एक खण्डमा जात्रा लागिरहेको छ, मानिसहरू आइरहेका छन्, गईरहेका छन्, एउटा भिन्ने संसार छ पोन्डुचेरीको । जलवायु पनि कल्पनातित मनमोहक छ । मौसम सुन्दर छ । यति बेला वातावरणमा न गर्मी छ, न जाडो । मानिसहरू आफ्नै धूनमा मस्त छन् । कसैलाई कसैको मतलव छैन । सबै आआफ्ना धुनमा टहलिरहेका, छपनीमाथि बसेर समुद्रको अनन्त शान्तिलाई आत्मसात् गरिरहेका, आफैँभित्र हराइरहेका जस्ता लाग्ने । एउटा भिन्नै प्रकारको आनन्दको साम्राज्य छ यहाँ ।
राती दस बजेतिर हामी ह्वाइट टाउनको एउटा क्याफेमा पस्यौंँ । मूल ढोका खोलेर भित्र पुग्ने बित्तिकै एउटा सानो हलमा पुगिँदोरहेछ । मुडाको प्राकृतिक आकार जेजस्तो छ त्यस्तै रूपमा निर्माण गरिएका जम्माजम्मी ७ या ८ वटा ससाना डाइनिङ टेबल, एउटै किसिमका सामान्य पहिरनमा सजिएका तमिल युवाहरू मन्द मुस्कानसाथ हाम्रो स्वागत गर्छन् । हरेक टेबुल अगाडि मेनु छन्, अनेक प्रकारका परिकारहरूका सूचीले भरिएका । हामी आफ्ना रुचि र आवश्यकताअनुसार फर्माइस गर्छौं । केही बेरको पर्खाईपछि भनेजति चिज क्रमशः आउँछन् । अघिको समुद्र किनारमा जस्तै शान्ति छ यहाँको वातावरणमा पनि । यसरी बाहिरबाट हेर्दा सानो देखिने यस फ्रान्सेली किसिमको भान्छाको आन्तरिक भव्यता र शालीनता मेरो लागि निकै रुचिकर तथा आनन्ददायक लाग्यो ।
यसरी केही समयको आरामपूर्वकको बसाइ र खानपिनपछि रातको करिव ११ बजेतिर हामी मनभेली रेभेनु भिलेज, माराइमालाई अडिगाल स्ट्रिट, चिन्नाभिरम पट्टिनाम पोण्डिचेरीमा अवस्थित हाम्रो अस्थायी वासस्थान ‘द वाइन्डफ्लावर रिसोर्ट एण्ड स्पा’ तिर फर्कियौँ ।
बसाई अनुमान गरेभन्दा राम्रो र सुव्यवस्थित थियो । अगिपछि कहिलेकाहीँ राम्ररी निद्रा परेन भनेर घरि दाहिने र घरि देब्रे कोल्टो फेर्दै छटपटाउने विजया पल्टन नपाउँदै भुसुक्कै निदाइहालिन्, सुत्ने बित्तिकै एकै छिनमा भुसुक्कै निदाउने मलाई भने त्यस रात धेरै बेरसम्म निद्रा परेन । खासमा मभित्र एक प्रकारको त्रास पलाएको मैले महसुस गरेँ । हामी भुर्इं तलाको कोठामा थियौँ र त्यस अपरिचित वातावरणमा मेरो मन त्यति राम्ररी भिज्न सकेको थिएन । राती निकै अबेर निदाएछु । त्यसैले होला, बिहानीपख अलिकति गाढा निद्रा लागेछ र म सात बजेसम्म नै सुतिरहेँ । दीपकहरू भने सूर्योदय हेर्न भनेर बिहान झिसमिसेमा नै समुद्र किनारतिर लागेछन् ।
ब्रेकफास्टपछि सबै आराम गर्ने उद्देश्यले कोठातिर लागे । मलाई भने पोण्डुचेरीको कला, संस्कृति र यसको इतिहास आदिबारे जान्ने उत्सुकता जागेर आयो र म रिसोर्टको सूचना केन्द्रतिर लागेँ ।
मैले प्राप्त गरेको सूचनाका आधारमा के कुरा थाहा पाएँ भने सोह्रौँ शताव्दीको अन्त्यतिर भारत पसेका फ्रान्सेलीहरूले भारतका विविध चार ठाउँ, तमिल नाडुको पोन्डिचेरी, पोन्डिचेरीबाट १३२ माइल दक्षिणमा पर्ने तमिल नाडुकै, करिकाल, केरलाको पश्चिमी तटमा पर्ने माहे र आन्ध्र प्रदेशको यानाम यी चार स्थानलाई आफ्नो उपनिवेश बनाएर यीमध्ये सबैभन्दा ठूलो पोन्डुचेरीबाट सबैको नाम पोन्डुचेरी राखेछन् फ््रmान्सेलीहरूले । पोन्डुचेरी भारतीय सङ्घ अन्तर्गत भए पनि यो स्वतन्त्र स्वशासित क्षेत्र रहेछ । यसको आफ्नै विधि–विधान रहेछ, तर यो छुट्टै राज्य नै भने होइन रहेछ । यसको सीमारेखाभित्र यो एक स्वतन्त्र स्वशासित क्षेत्रका रूपमा संचालित रहेछ ।
अक्टोबर १०, तदनुसार २०७६ को असोज २४ गते हाम्रो टोली पुनः हिजो बेलुका रातको समयमा हेरेको रकबिच र ह्वाइट टाउन हेर्ने सल्लाह गरेर ११ं.३० तिर त्यहाँबाट प्रस्थान ग¥यो । सूचनागृहबाट प्राप्त जानकारीका अतिरिक्त मैले नेटमा खोजेर समेत यहाँका विशेष ठाउँहरूबारे अलिकति धारणा बनाइसकेको थिएँ । तीमध्ये मलाई जि. एस्. पट्रोटेटद्वारा अठारौँ शताव्दीको मध्यतिर त्यहाँ स्थापना गरेको बोटानिकल गार्डेनले मलाई निकै आकर्षित गरेको थियो । गाडीमा जाँदैगर्दा मैले १५०० भन्दा धेरै प्रजातिका बोट–बिरुवा भएको त्यो बगैँचा हेर्ने प्रस्ताव राखेँ । त्यसपछि हामी रकबिच पुग्नुभन्दा करिव एक किलोमिटर वर समुद्र किनारतिर जाँदा दाहिनेतिर पर्ने त्यही बोटानिकल गार्डेन हेर्न गयौँ ।
यसको उत्तरी मोहोडाको पश्चिम किनारातिर रहेको सेतो र पहेँलो रङ लगाइएको अर्ध गोलाकार भव्य प्रवेशद्वारको देब्रेतिरको काउन्टरमा टिकट काटिसकेपछि त्यसैको अगाडिपट्टिको सानु सिमेन्टेड पैदलमार्गबाट भित्र पस्नेबित्तिकै मध्य दिनको चर्को घामको अत्यधिक गर्मीबाट केही समयका लागि भने पनि मुक्त हुँदै रुखैरुख र अनेक थरी बोट–बिरुवाले ढाकेको यस सुन्दर हरियालीको बिच भागबाट गएको फराकिलो सफा सडकबाट सुन्दर वातावरणबिच शितल वातावरणको आनन्द अनुभूत गर्दै हामी अगाडि बढेको केही बेरपछि हाम्रा आँखा देब्रेतिर बालबालिकाको लागि निर्मित चिल्ड्रेन्स पार्क र अगाडि सडकको बिचोबिचमा ग्रिलको गोलाकार टापुमा यामानको जुरो भएका दुइटा सेता साँढे जुधिरहेको मूर्ति देखिए । त्यसपछि अगाडि बढ्दै जाँदा केही पर सडकको दाहिनेतिर एउटा पोखरी र पानीको फोहोरा अनि वायाँतिर रङ्गशालाको शैलीमा एकपछि अर्को खण्ड माथि उठाउँदै अर्ध–गोलाकार किसिमले निर्मित दर्सक दिर्घा हाम्रा अगाडि पर्छन् । थरीथरीका बोट–विरुवा र रुखहरूले भरिएको यस बगैँचाभित्र रेलमा घुमेर मनोरञ्जन लिनसमेत सकिने किसिमको सानो रेलमार्ग पनि रहेछ । फर्कदैगर्दा समग्र बगैंचाको एैतिहासिकता दर्सँउने गरी विविध जानकारी दिने उद्देश्यले निर्माण गरिएको संग्रहालय एवम् सूचना केन्द्र देखिन्छ । यसरी केही समय बोटानिकल गार्डेन अवलोकनको आनन्द लिइसकेपछि हामी रकबिचतिर लाग्यौँ ।
बोटानिकल गार्डेनबाट निस्केर रकबिच जाने फराकिलो बाटोबाट समुद्र किनारतिर घुइकिँदै जाँदा हाम्रा अगाडि वरिपरि आसपासमा ठड्याइएका सुुलुत्त परेर आकाशतिर हुत्तिएका कलात्मक किसिमले बनाइएका निकै अग्ला काला खम्बा र तिनको बिचमा पर्नेगरी निर्माण भएको चँदुवा आकारको फटिकजस्तो सेतो छत्तरमुनि दाहिने हातमा लौरो समातेर कदम चाल्न ठिक्क परेको महात्मा गान्धीको पूर्ण कदको प्रतिमा देिखन्छ । समुद्रलाई पृष्ठ भागतिर पारेर अगाडि फर्केको त्यस प्रतिमाको अगाडिबाट उत्तर–दक्षिण भएर दौडेको चौडा सडकमा पुगेपछि दीपेशले कारलाई दाहिने मोडेपछि त्यसको केही बेरमा हामी हिजो बेलुका बिजुलीको मधुरो प्रकाशमा रातको अँध्यारोलाई चिर्दै रकबिचमा बसेर अगाध समुद्रको अज्ञात कलालाई निकै बेरसम्म निःशब्द टोलाएर अवलोकन गर्दै त्यसको रसास्वादन गरिरहेको ठाउँमा पुग्छौँ ।
निलो समुद्रमाथिको उस्तै सफा निलो आकाशमा तुर्लुङ्ङ झुण्डिइरहेको ह्वारह्वारती बलिरहेको फलामको भकुन्डोजस्तो सूर्यले तिखा बाणजस्ता त्यसका ताता किरणहरू एकनासले धरतीतिर फ्याँकिरहेको थियो । गर्मीले उकुसमुकुस हुँदै पसिना पुछिरहेका मानिसहरूलाई समुद्र सतहबाट जमिनतिर आइरहेको शितल हावाले केही मात्रामा त्राण दिइरहेको थियो । अत्यासलाग्दो त्यस चर्को घामको चिरचिराहटबाट बच्नका लागि हामी पहिले कुनै समयमा भन्सार कार्यालय रहेको र हाल एउटा चमेनागृह संचालन भैरहेको घरमा पुग्यौँ र त्यसको पूर्वपट्टिको पालीमा बसेर समुद्रतिर हेर्दै सुस्ताउन थाल्यौँ ।
यसरी, अघाउँजी समुद्र अवलोकनपछि हामी फ्रान्सेलीहरूले उतैको झझल्को दिने गरी निर्माण गरेको ह्वाइट टाउन हेर्न गयौँ । प्रसस्त फराकिला सफा रडक र ती सडक वारि र पारि निकै अग्ला पर्खाल भएका कम्पाउण्ड अनि ती कम्पाउन्डका ठाउँठाउँमा माथिल्लो चौकोसतिरको खण्डमा अर्धचन्द्राकार शैलीका प्रवेशद्वार, अनि तीभित्र समान किसिमका दुई तले घरहरू । भारतको युरोप नामले समेत परिचित पन्डिचेरीको यो ह्वाइट टाउनले स्वाभाविक रूपमा यसमा गोराहरूको बसोबास थियो भन्ने कुरातर्फ सङ्केत गर्दछ । रोमारोलाँ एभेन्यु, नोट्रेडेम डि ला आदि फ्रान्सेली नामहरू र थिएटरको नाम समेत त्यही किसिमको देखेपछि त्यहाँको शान्त वातावरणबिच त्यस क्षेत्रका सडकपेटीहरूबाट बिस्तारै पदयात्रामा निस्केका जोकेहीलाई पनि आपूm उतै फ्रान्सको कुनै सडकमा हिँडिरहेको जस्तो अनुभूति हुनु स्वाभाविकै लाग्छ । त्यस वरपरमा भेट भएका तमिलहरू बोलीबचन र ब्यवहार सबै कुरामा निकै शिष्ट र सभ्य रहेछन् । तिनीहरू सबै कसैसित पनि कुरा गर्दा अनुहारमा हल्का मुस्कान छर्दै बिस्तारै बोल्दारहेछन् । आरामगृह र होटलहरूसमेत सबै उतैको प्रभावमा निर्माण भएका जस्ता । एउटा सुखद् अनुभूति हुन्छ पर्यटकहरूलाई यो परिवेशमा रमाउँदा ।
दिउसोदेखि झमक्क साँझ पर्दासम्म हामी त्यसैको सेरोफेरोमा ओहोरदोहोर गर्दै, त्यहाँका यावत् चिजहरू अवलोकन गर्दै बस्यौँ र साँझ गाढा हुँदै जान थालेपछि हामी बासस्थानतिर लाग्यौँ ।
२०१९ को अक्टोबर ११ तारिख, तदनुसार २०७६ असोज २५ गते । हिजो दिनभरिको थकाईले ज्यान धेरै गलेको रहेछ । अबेला ७ बजेतिर मात्र उठ्न सकेँ । याबत् कृयाबाट निवृत्त भएपछि चेक आउटको तयारीमा लाग्यौँ । ११ बजेभित्र कोठा छोड्रनुपर्ने रहेछ । झिटीगुन्टा तयार गरिसकेपछि ९ बजेतिर हामी ब्रेकफास्टका लागि डाइनिङ हलतिर लाग्यौँ ।
बिहान ११ बजेतिर हामीले एउटा देशभित्रको अर्को देश पोण्डुचेरीलाई बिदाईका हात हल्लायौँ र अस्ति यता आउँदा समातेका बाटाहरू एन्.एच्. ३२, ३८, ४८ र अन्त्यमा ४४ समातेर बैङ्लोरको बाटो लाग्यौँ ।
फर्कँदा बाटामा एकछिन बाटो भुल्दा हामी तमिलनाडुका भित्री गाउँघरका बाटामा कुद्न पुग्यौं जहाँ अझैसम्म पनि बाथरुम वा ट्वाइलेट भन्ने बस्तुको कुनै आवश्यकता वा प्रयोजन नभएको कुरा बुझियो । परम्परागत मैदान जाने तरिका नै अवलम्बन गर्दारहेछन् त्यो स्थानका मानिसहरू ।
त्यो कुरा जे भए पनि हामीले फर्कंदा भेलोरका गाउँहरूका सडकहरूमा समेत केही बेर गुड्ने मौका पायौँ । राष्ट्रिय राजमार्गमा आएपछि हामीले भेलोरमा त्यहाँको प्रशिद्ध भेलोर फोर्टसमेत हेर्ने अवसर पायौँ । बालाजी नगरलाई चारैतिरबाट पर्खाल र पानीका नहरले सुरक्षा घेरा निर्माण गरिएको त्यस्तो सुरक्षा ब्यवस्था यस अघि मैले चीन भ्रमणका बेला सियान सहरमा पनि देखेको थिएँ । बाटामा पर्ने अम्बुरको जैतुन रेष्टुराँलाई पनि हामी भुल्न सक्तैनौं जहाँ हामीले भोक र प्यासले जलिरहेका हाम्रा आँतलाई शितल बनाउन पाएका थियौँ ।
मुस्लिम बाहुल्यता भएको अम्बुर राम्रा र स्तरीय जुत्ता बनाउने कामका लागि प्रशिद्ध रहेछ भन्ने कुरा पनि हामीले त्यहीँ पुगेपछि राम्ररी थाहा पायौँ । यसरी दक्षिणी भारतको डेक्कन प्लेटोमा पर्ने कर्नाटक र तमिल नाडुका केही गाउँहरू र केही सहरहरूको समेत दृश्यावलोकन गर्दै हामी साँझ आठ बजेतिर बैङ्लोरको सर्जापुर मेनरोडमा अवस्थित डोड्डाकन्नलीको कन्फिडेन्ट लियोको कम्पाउन्डभित्र प्रवेश ग¥यौँ ।
+ + +
यति बेला त हामीले घर छोडेर हिँडेको पनि दसँ दिन भैसकेछ । यस बिचमा हामी पोन्डिचेरी पुगेर पनि फर्किइसकेका छौँ । त्यस अतिरिक्त बैंगलोरका अरू केही ठाउँ पनि घुमिसकेका छौँ, जसका विषयमा म विस्तृतमा केही लेख्ने मुडमा छैन, किनभने लेख लामो बनाएर पाठकहरूको समय बर्बाद गर्न म चाहन्न । तथापि, साह्रै खसखस लागेको कुरा नभनीकन पनि मनले धर नदिँदोरहेछ । मैले शुरूमा नै कतै उल्लेख गरिसकेको छु, यस अघि चाडबाडका बेला कहिल्यै पनि घर छोडेर बाहिर हिँडेका थिएनौँ हामी । यस पटक हिँड्यौँ । यहाँ आइसकेपछि अलिकति बैंगलोर हेरियो, देखियो । तर आज मलाई चाडबाडका समयमा घर छोडेर हिँडेको पीडाले निकै सतायो । अलिकति पराधिन अवस्था जस्तो, स्वतन्त्रता हराएजस्तो । चाडबाडका समयमा आगामी दिनमा कहिल्यै पनि घर छोडेर हिँड्ने छैन भन्ने प्रतिज्ञा गरेको छु मैले यस पटक ।
यता आएपछि पनि प्रातः भ्रमणलाई चाहिँ नियमित बनाउने प्रयत्न गरेको छु मैले । यहाँको जलवायु राम्रो रहेछ । यति बेला न जाडो छ, न गर्मी । कहिलेकाहीँ टीसर्ट र हाफ पाइन्टमा निस्कन्छु, कहिले भने कुर्ता–सुरुवालमा । कम्पाउन्डबाट बाहिर जानु पर्दैन । हामी बसेको ठाउँ, कन्फिडेन्ट लियो अपार्टमेन्टका दुइटा ब्लक रहेछन्, ब्लक ए र बी । झन्डै एक किलोमिटरको आएतनमा फैलिएका । एकदेखि अर्को भवनका बिचमा अलिकति फासला छ, थोरै मोडिनु पर्ने । दुवैको परिसर सफा चौडा सिमेन्टेड आँगन भने पनि हुने बाटाले जोडिएका । चार–पाँच फन्को लगाउँदा प्रसस्त हिँडाई पुग्ने । ती अपार्टमेन्टमा बस्ने अधिकांस युवा युवती त्यहीको जिमखानातिर जाने भए पनि वृद्धवृद्धाका लागि भने यही प्राङ्गण उपयुक्त रहेछ । घुम्ने क्रममा केही नयाँ साथीहरूसित भेटघाट र चिनापर्ची भयो । कलकत्ताका सुशील बनर्जी, मैसुरका परमेश्वर, लखनउका महेश र मिश्राजी तीमध्ये केही हुन् ।
यहाँको बसाइका क्रममा बैंगलोरको मुटु एमजी रोड, बैंगलोर दरबार, लालबागजस्ता अरू केही महत्वपूर्ण स्थान हेर्न पनि पुग्यौँ हामी । तर तिनको सविस्तार बर्णको खासै उपादेयता नदेखेको हुनाले म त्यतातिर लागिन । मैले यहाँ उल्लेख गर्न छुटाउनै नमिल्ने एउटा कुरो यहाँका मानिसहरूको शिष्ठटा हो । भारत भन्ने बित्तिकै हाम्रो दिमागमा बिहार र उत्तर प्रदेश अनि त्यतैका मानिसहरूको चर्को बोली बचन र व्यवहार आउँछ दिमागमा । यतातिर त्यस्तो होइन रहेछ । उता तमिलनाडुमा समेत हामीले त्यस्तो भेटेनौँ । प्रायः मानिसहरू बाहिरी स्वरूपमा काला देखिए पनि तिनीहरूको भित्री मन तथा बोलीबचन चाहिँ निकै परिस्कृत र सौम्य लाग्यो मलाई ।
यो यात्रा अवधिभर मैले कहिल्यै पनि नेपाली ढाका टोपी शिरबाट छुटाइन । मैले यसो गर्नुको उद्धेश्य मेरो पहिचान झल्काउनु थियो । बेलाइतको विन्डसोर दरबारको शैलीमा निर्मित बैंगलोर दरबार घुमेर जब हामी बाहिर निस्कियौँ र बाहिरफेर घुमिसकेपछि जब म बाहिर निस्कने मूलद्वार नजिकै पुगेको थिएँ, त्यहाँ ड्युटीमा बसिरहेको एकजना भाइले मलाई जङ्गी शैलीमा स्यालुट ग¥यो र ‘कहाँकाट आउनु भएको साहेब ?’ भनेर सोध्यो । त्यसको बोलीबचन सुनेर र व्यवहार देखेर मेरो मन भित्रैदेखि रमायो । मैले उज्यालो मुहार बनाएर उसको जवाफ दिएँ । मैले पनि उसलाई सोधेँ । ऊ दार्जिलिङको रहेछ ।
बैंगलोरमा बसिञ्जेल नरिवल पानी खुवै खाइयो । बढो आनन्ददायक पेय रहेछ ।
मानवतावादी नेता, समाज सुधारक तथा साहित्यकार जयपृथ्वीबहादुर सिंहले नेपालमा उनका ससुराली खलकहरूसित विवाद चुलिँदै गएपछि उनका अन्तिम दिन बैंगलोर गएर बिताए भन्ने कतै पढेको थिएँ । उनको वासस्थान हेर्न मन लागेको थियो र एक पटक दिपेससित पनि मैले त्यो कुरा झिकेको थिएँ तर उसलाई त्यस विषयमा केही पनि थाहा रहेनछ र त्यो मेरो खड्को त्यत्तिकै रह्यो ।
करिव तीनहप्तापछि कात्तिक ५ गते हामी बैंगलोरलाई बिदाइका हात हल्लाउँदै घर फर्कियौँ । एयरपोर्टमा चेक इन गर्ने क्रममा भित्र काउन्टरमा बसेको एक जना भारतीय भाइले मलाई कहाँ कहाँ घुम्नुभयो भनेर हिन्दीमा सोध्यो । भारतमा र बेलाइत वा अन्त कतै पनि हिन्दीमा बोल्यो भने भारतीयहरूले हेप्छन् भनेको सुनेको थिएँ । त्यो कुरा मैले झलक्क सम्झिएँ । त्यसपछि मैले अङ्ग्रेजीमा उत्तर दिदैँ अरू ठाउँ लगायत पोन्डिचेरीसमेत घुमेको कुरा सुनाएपछि उसले त्यसो भए तपार्इँले समुद्र पनि देख्नुभयो ? भनेर मलाई फेरि सोध्यो । मैले अमेरिका र बेलायतको भ्रमणताका प्रशान्त महासागर र आन्द्र महासागरमा पौडी खेलेको कुरा गरेपछि त्यसको अनुहार हल्का फिका भयो । त्यसपछि उसले मेरो पासपोर्टमा छाप लगायो र त्यो मलाई फिर्ता दियो । मैले मुसुक्क हाँसेर पासपोर्ट समातेँ र बिदाईको हात हल्लाउँदै आफ्नो बाटो लागेँ ।
उता जाँदाजस्तो यता आउँदा धेरै बेर जहाज कुर्नु परेन । समयमा नै हामी भित्र गयौँ । त्यसपछि देबेगोडा इन्टरनेशनल एयरपोर्टबाट टेक अफ् गर्ने बित्तिकै हाम्रो जहाज आकाशमार्गबाट काठमाडौँतिर सोझिएर बेगवान गतिमा उड्न थाल्यो ।
(धापासी, काठमाडौँ)