छातीभरि राष्ट्रिय गीत र आँखाभरि सुदूर सपना बोकेर
सबैले छोडी हिँडेपछि टिठलाग्दो भएको छ मेरो देश
आफ्ना आशालाग्दा तन्नेरी सन्तानको बिछोडमा
माया गर्ने छोराछोरीको अभावमा एक्लिएका
बेसहारा वृद्द–वृद्दा जसरी दुख्छन् त्यागिएर
पैसाको बोट खोज्दै बाहिर निस्केपछि
देश त मुगलानमा पो दुख्दोरहेछ बेस्मारी
भबितब्यले गुँड छोडेर बसाईँ सर्न वाध्य
निर्वासित चराहरुको मुटुजस्तो ।
काठमाडौं खाल्डोले पुरा देश नै त चिन्दैन
झन् के चिनोस् संसारभरि पोखिएका देशबासीलाई
आफूभन्दा बाहिर
कसैलाई मोफसल देख्छ
कसैलाई मुगलान मान्छ
कसैलाई लाहुर ठान्छ
र यतिबेला कसै-कसैलाई डायस्पोरा भन्न थालेको छ
आखिर त्यही काठमाडौँ खाल्डो मात्र त रहेछ नेपाल
त्यही काठमाडौँ खाल्डो बाँकी देश टुक्र्याएर
माटो अंशबण्डाको लडाईं लड्दैछ
मेची-महाकाली भजाएर / बजाएर
मधेसे बासमती चामलको भुजा ज्यूनार गर्दैछ
मुगलाने तरुणहरु सातु प्राप्तिको लागि देश अलापेर
पसिनासँग पैसा साट्ने इमान्दार इलम गरिरहेछन् मुगलानमा ।
नाकको लम्बाई
आँखाको गोलाई
र अनुहारको चौडाई मापनमा
योजनाबद्द चर्किंदा छन्
भागबण्डाका चरणवद्द लडाईंहरु
हिमालको जडिबुटी र पहाडको फलफूल पनि
पक्षपात गरीगरी हसुर्छ काठमाडौँ खाल्डो एक्लैले ।
बिरामी आमालाई एक्लै छोडेर
मुगलानिएका भूमिरक्षक छोराहरु
मकै पिस्दा भाग्यले बचेँका घुन सरह
जबर्जस्ती जिउदो सहिद जीवन धान्न वाध्य छन्
गाउँ-घरमा रोपाहार, बाउसे र खेताला नपाएर
बाँझिएका सिमखेत रणभूमी हुँदा
बाध्यताले स्वीकारिएको क्रुर मुगलान
माछालाई मिनपचासको जाडो भगाउन
बालुवामा स्थानान्तरण गरेजस्तो अनौठो छ ।
देश एक्लिएको त सारै नजाती पो हुँदोरहेछ
अभावको खाडल पुर्ने उपक्रममा
कोखका पारसमणीहरु धमाधम प्रवासींदा
बिरक्तिएकी आमा देश बनेर रुँदैछिन्
त्यही रगतको नाता दाबी गर्ने कुलङ्गारहरु
पवित्र माटोमा बिषका बेर्ना सारेर
अमृत फलाउने पाखण्डी हुँकार डुक्रिन्छन्
देउरालीको ढुङ्गो जस्तो देश,…
कठैबरा, आफ्ना सन्तान खोज्दै मुगलान चिहाउँछ
देशलाई अन्धकारमा एक्लो पारेर चश्माको दोकान थाप्नेहरू
मुगलानमा मृत्युदण्ड सुनाइएको आफ्नो नागरिकको जात ठम्याउदैनन्
आफ्नो अनुहारको धूलो नदेखेर ऐना सफा गर्ने बहुलठ्ठीहरु
आफैंले लगाएको देशको घाउ कहाँ दुख्छ पत्तै पाउँदैनन् ।
(भोजपुर हाल सेसेल्स)