रुख छाडेर पातहरू कहाँ हिँडेका होलान्,
यी चराका जमातहरू कहाँ हिँडेका होलान् ।
खै कस्ले किन, अभिभावक बेपत्ता पारिदियो,
यी विचरा अनाथहरू कहाँ हिँडेका होलान् ।
जस्ले मुटु टुक्राएर गएको छ उसैको तलासमा,
अविच्छिन्न यी यादहरू कहाँ हिँडेका होलान् ।
हातमा परेवा लिएर, कम्मरमा खुकुरी भिरेर,
अरे यार यी जल्लादहरू कहाँ हिँडेका होलान् ।
भोलि इजलासमा निर्णय हुँदै छ, फैसलाको लागि,
श्रीमान् यी कोरा कागजहरू कहाँ हिँडेका होलान् ।
(दैलेख)