भनिन्छ हरेक छोराछोरीका लगि बा आमा देखिने भगवान हुन् । त्यसमा पनि छोरीको नजरमा आफू पराइ घरमा गए पनि उसको मन जन्मघरमै बाआमासँग हुन्छ । छोराछोरी जन्माउनेदेखि बाल्यकालमा हुर्काउने जिम्मेवारी आमाको हुन्छ भने ठूलो भएसि पठनपाठन गराउने र देश दुनियाँ देखाउने भूमिका बाको हुन्छ ।
बा एक आदर्श पुरुष हुन्छन् । उसको हिम्मत अनि आँट, भरोसा, र विश्वासको केन्द्र पनि हुन्छन् । मनोविज्ञानले त भन्ने नै गर्छ बिबाहपछि पनि छोरीहरु आफ्नो बाको गुण श्रीमानमा खोजिरहन्छन् । हरेक छोरीलाई आफ्नो बाप्रति गर्वको भावना हुन्छ । त्यसो त सँगसँगै हुँदा त्यसको त्यति महङ्खव हुँदोरहेनछ । जब उहाँहरूभन्दा टाढा बसियो, उहाँका सिर्जना पढियो र उहाँका बारेमा आमाले बताएका कुराहरू सुन्दा छोरी हुनुको नाताले उहाँका बारेमा नलेखी बस्नै सकिएन र बाको बाल्यकालको अनुभूति सम्प्रेषण गर्ने रहर जाग्यो ।
सल्यान जिल्लाको पहाडी दुर्गम बस्तीमा बाको निम्न मध्यमवर्गीय परिवारमा जन्म भयो । आमाबुवाका दुईभाइ दुई बहिनीमध्येका कान्छा छोरा । अत्यन्त संघर्ष र कठिन परिस्थितिबाट गुज्रिएको मेरा बाको बाल्यकाल सामान्य थिएन । आमाको धमिलो आकृतिको चित्र पनि नबन्दै बाले जन्मेको पन्ध्र महिनामा आमा गुमाउनु भयो । त्यसपछि हजुरबाले आमाको माया पनि दिएर बालाई हुर्काउनु भयो ।
पहिलेको जमाना पढेको मान्छे कोही पनि नहुने तर पनि केही सिप सिक्नु पर्छ आफैले केही गरेर खाना सक्ने हुनुपर्छ भन्ने बिचार भएको । त्यस्तै हाम्रो हजुरबा पनि नपढ्नु भएको तर एक महान विचार भएको व्यक्ति, गाउँघरले मान्ने एउटा असल व्यक्ति हुनुहुन्थ्यो रे । मान्छे ज्ञान मात्र सिकेर हुँदैन सिप पनि सिक्नु पर्छ भन्ने कुरा हजुरबाको आदर्श थियो ।
हजुरबासँगै खेल्दै रमाउँदै हजुरबाले गर्ने काम डोको, मान्द्रो बुन्नेदेखि लिएर धेरै कामहरु बालाई पनि सिकाउदै केही न केही सिप जान्नु पर्छ । ल हेर ! तँ पनि सिक केही नसके यहि बुनेर भए पनि खालास भन्दै सिकाउनु हुन्थ्यो रे । आमा नभए पनि हजुरबाले आमाको कमि हुन दिनु भएको थिएन । तातेताते गर्दै जीवन अघि बढी रहेको थियो भने पाँच बर्ष पुग्दानपुग्दै उहाँले बुवा पनि गुमाउनु भयो । सायद बा को त्यो पीडा म कल्पना मात्र गर्न सक्छु ।
आमा बुवा बिहीन भए पनि ठुलोबा र ठूली फुपूको रेखदेख र पालनपोषणमा बाल्यकाल तत्कालीन थारमारे गा.वि.स.को वडा नं ५ लस्तम फर्साबोटमा नै बितेको थियो । घरको सानो कटेरो न घाम छोप्ने न पानी नै रोक्ने, न पेट भरि टन्नै खाना पाउने न आङ्भरि एकसरो लाउन पाउने, कति दुःखदायी जीवन थियो ! अहिले त्यतिबेलाको कहानी सुन्दा जिउभरि काँडा उम्रिन्छन् । खानाका लागि पेटभरि अन्नको समस्या, रातभरि ओछ्यान र छानाको समस्या । उहाँले आफ्ना पीडा व्यथा पोख्ने ठाउँ कतै नपाएसि गजलमार्फत् यसरी अभिव्यक्त गर्नु भएको छ ।
म के बताऊँ साथी अन्तै मेरो ध्यान छ ! आत्मामा दारिद्रयको गहिरो निशान छ !! घाम नछेक्ने कटेरो जिन्दगीको ओत मेरो ! म के बताऊँ साथी आँशुको महल यहाँ ढलान छ ।
हजुरबाको पुख्र्यौली पेशा कृषि, भएकाले गाई, गोरु, भैँसी, बाख्रा धेरै नै पाल्नु भएको थियो रे । घाँस काट्ने, बारी जोत्ने मल फाल्ने खेत लगाउने घरको सबै काम गरेर पनि आफ्नो पढाइलाई निरन्तरता दिइरहनु भयो। आफ्नो दुःख व्यथा सुनाउने मान्छे कोही नभएपछि आफ्नो दुःखलाई बिसाउने माध्यम साहित्यिक सिर्जना छान्नु भएछ र गीत गजल र कविता लेखनतिर मोडिनु भएछ ।
कक्षा ८ मा पढ्दै गर्दा ठुलोबाले घरमा बा को बिहे गर्दिनु भयो । बिहे भैसकेपछि घरको सबै काम आमाले समाल्नु भयो। आमाको आँट र हौसलाले बाले आफ्नो पढाइलाई अघि बढाउँदै जानु भयो । प्राकृतिक रुपले सुन्दर बस्तीमा जीवनलाई आफ्नै प्रकारले भोग्दै बाको बाल्यकाल बित्यो । शारदा नदीको पानीमा पौडी खेल्दै माछा पक्रदै, उकाली ओराली लेकबेसी र विद्यालयकै सेरोफेरोमा बा हुर्किनु भयो ।
सबैसँग छिट्टै घुलमिल हुन सक्ने क्षमता र हँसिलो फूर्तिलो बानी व्यहोराको कारण साथीभाइ, इस्टमित्र सबैका माझ एकदम प्रिय बन्नु भएको थियो । सबैको माया स्नेहले बाबालाई कहिले पनि हार्न दिएन । सल्यानको यति दुर्गम ठाँउ, जीवनका एक पछि अर्को आरोहणहरुको बाबजुद पनि जीवनका छालहरुलाई पार लगाउँदै प्रा.वि लस्तम बनेचौरदेखि जनकल्याण मा.वि. थारमारे, महेन्द्र बहुमुखी क्याम्पस दाङ हुँदै काठमाडौंसम्मको शैक्षिक यात्रा पूरा गर्नु भयो ।
जोखिम भन्नु नै जिन्दगीको अर्काे पर्याय हो त्यसैले जोखिमसँग पौठेजोरी खेल्न सक्नुपर्छ भन्ने मान्यता बोकेका बाले वि.सं २०४५ सालमा एसएलसी परीक्षामा भूगोल विषयमा ४ नं नपुगेर फेल भएपछि सोही जनकल्याण माविमा त्यही फेल भएको भूगोल विषयको शिक्षक नियुक्त भएर पढाउन थाल्नु भयो र आइ.ए र बी.ए. मा समेत सोही भूगोल विषयलाई मुख्य विषय बनाएर उच्च शिक्षा लिनु भयो । वि.सं २०५० सालमा बी.एड पढ्ने योजनाले जब काठमाडौं पस्नु भयो तब धेरै हन्डर खानु भएछ । ती सबै कुरा उहाँले आफ्नो गजल संग्रह सङ्कल्पका शिखा’मा पूर्ण भण्डारी पङ्कजका नामबाट यसरी व्यक्त गर्नु भएको छ-
थोरै भयो मित्रहरु राज्धानीमा पसेको छु सृजनाका चल्ला दिन ओथारोमा बसेको छु । सहर बस्ने रहरहरू अचेल कहर काट्ने भए । चाहनाका दौरा सुरुवाल विनासित्तै फाट्ने भए ।।
उहाँले उच्च शिक्षा पढ्ने रहर त पनि गर्नुभयो तर पैसाको अभावले काठमाडौंबाट दाङ फर्किनु भयो । दाङमा बिए भर्ना भएर पनि नियमित कक्षा लिन सक्नु भएन । त्यसपछि घोराहीको माउन्ट भ्यू बोर्डिङ स्कुलमा केही समय न्यून तलवमा पढाउनु भयो । त्यतिबेला निरास भएर लेख्नुहुन्छ-
योग्यताले गर्न सक्ने यौटा कुनै काम भएन । पसिनानै डुबे पनि बाच्ने कुनै नाम भएन ।
बिहान क्याम्पस जाने र दिनमा स्कुल पढाउने क्रम केही समय चल्यो । एकातिर क्याम्पसमा आफ्नो कक्षाको होमवर्क र अर्कोतिर पढाउने स्कुलमा बच्चाहरूको होमवर्क चेक गर्नु पर्ने बाध्यता । उहाँ पूरा समय सुत्न पनि पाउनु भएन । दिनमा साथीहरूले के भो आँखाभन्दा उहाँ भन्नुहुन्थ्यो–
धरोधर्म निदाएर रात काट्या छैन । नपत्याए आँखा हेर कत्ति ढाँट्या छैन ।।
करिब छ महिनापछि सल्यानको सरस्वती मावि शिवरथमा निजीश्रोत शिक्षकका रूपमा पढाउन थाल्नु भयो । सरकारी दरबन्दी हुँदाहुँदै पनि राजनीतिक खिचातानीले उहाँलाई वञ्चित गर्ने कोशिस गरियो । त्यतिबेला उहाँ लेख्नुहुन्छ–
सोचेजति हुन्न रैछ आधार बिनाको । तरबार पनि कहाँ हुन्छ धार बिनाको ।। व्यर्थ भयो जिन्दगी यो कन्टेनरमा फालूँजस्तो । योग्यताका प्रमाणपत्र सलाई कोरी बालूँजस्तो ।। धेरै खोजें भौतारिएँ जागिरको ठेगान छैन । झोलाभरि प्रमाणपत्र यिनको कुनै मान छैन ।।
जसलाई आफ्नो सोचेर गयो, आफ्नो गुनासो पोख्यो, भेटेजति सबैले वास्ता नगर्दा अब कसलाई गुनासो पोख्ने ? फेरि निराश हुँदै कापी कलम लिएर बस्नुहुन्थ्यो ।
उहाँ अचेल चिन्नु हुन्न बिर्सिदिने बानी भाछ । महादेवको तेस्रो नेत्र आँखाको त्यो नानी भाछ ।।
जिन्दगी एउटा प्रयोगशाला हो, यसलाई विभिन्न कोणबाट प्रयोग गर्न सिक्नुपर्छ र सक्नुपर्छ भन्ने मान्यता बोक्दै अगाडि बढिरहनु भयो । निराश हुनु भएन । अथक प्रयासका वावजूद उहाँले त्यही स्कुलमा पढाउँदै काठमाडौं कीर्तिपुर क्याम्पसबाट एम. ए प्रथम श्रेणीमा पास हुनुभयो । एकातिर घरायसी जिम्मेवारी अर्काेतिर विद्यालयमा प्र.अ.को जिम्मेवारी उता आफ्नो पढाइको बोझ, सबैतिरबाट केही न केही आरोप लाग्थे । उहाँ कसैसँग प्रतिकार नगरी केवल कापीमा लेख्नुहुथ्यो ।
भो नबोलाऊ मलाई बोल्ने फुर्सद छैन । मनका पीडा खोल्ने फुर्सद छैन ।। हिर्काऊ या लगाऊ आरोपका छर्राहरू । पचाउँछु बरु तर ओकल्ने फुर्सद छैन ।।
एकपटक बाङ्गेलाँखुरी बजारमा चिया पिउँदै गर्दा काठमाडौंबाट आएको शिक्षकले गाउँमा पढाएजस्तो हुँदैन मित्र सहरमा पढाउन । उहाँका विद्यार्थी धेरै कडा हुन्छन् भनेकाले उहाँले फेरि जोखिम मोल्ने सोच लिनु भएछ र सरकारी मावि दरबन्दीको जागिर छोडेर करिब नौ वर्षको शिवरथ बसाइपछि वि.सं २०५७ तिर उहाँ काठमाडौं पस्नु भयो । काठमाडौं पसेपछि एजुकेसन क्याम्पस वानेश्वर, मनोहर बहुमुखी क्याम्पस गोङ्गबू, रत्नशिक्षा स्कुल कोटेश्वर, सानोठिमी क्याम्पस सानेठिमी लगायत विभिन्न क्याम्पसहरूमा पार्टटाइममा पढाउन थाल्नु भएछ ।
करिब तीन वर्षको काठमाडौं बसाइपछि मावि स्थायी भएपछि वि.सं २०६० मा सल्यान फर्किनु भयो । जोखिम मोल्ने आदत परिसकेका बालाई फेरि आफैले पढेको विद्यालयमा बी.एड लेभलको क्याम्पस खोल्ने सोच जाग्यो र थारमारेमा घरदैलो अभियान गरी आर्थिक सङ्कलन गरेर जनकल्याण क्याम्पस स्थापना गर्नु भयो । एकातिर स्कुलको प्र.अ. अर्काेतिर क्याम्पसको चिफ हुँदाहुँदै उहाँलाई पिएच.डी गर्ने सोच पलायो र नेपाल संस्कृत विश्वविद्यालयबाट पिएच.डी उपाधि पनि प्राप्त गर्नु भयो ।
अहिले डाक्टर पूर्ण भण्डारीकी छोरी हुँ भन्न पाउँदा गर्वले छाती फुल्छ । जिन्दगीका आयमहरु पार गर्दै, भाग्यलाई आत्मसात र कर्ममा बिश्वास गर्दै अगाडि बढीरहनु भएको छ। क्षमता दक्षता र खुवीलाई आफ्नो बलियो हतियार बनाएर आफुलाई सधैं अगाडि बढाइरहनु भएको छ । सधै सबैलाई साथ, हौसला, सल्लाह दिराख्ने उहाँको महानता हो । सबैसँग मिल्न सक्ने सबैलाई रिझाउन सक्ने उहाँको आदत भैसकेको छ । सबै राम्रो भएको, राम्रो गरेको हेर्न रुचाउने उहाँको बानी भैसक्यो। बाको विगत हेर्दा त्यो धरातलबाट यहाँसम्म आउन सक्ने संसारमा विरलै होलान् जस्तो लाग्छ ।
यतिबेला लाग्छ मेरो बा सिङ्गो महाकाव्य हुनुहुन्छ जसका प्रत्येक सर्गहरू पढ्न सक्यो भने सिङ्गो जीवन प्राप्त गर्न सकिन्छ । उहाँको जीवन पढ्दै जाँदा किताब पढेर मात्रै हुँदो रहेनछ व्यवहार पनि पर्न सक्नुपर्दाे रहेछ भन्ने लाग्छ । वास्तवमा कक्षाकोठाको पढाइभन्दा पनि जिन्दगीको पढाइ धेरै परिपक्व हुँदो रहेछ भन्ने कुरा मेरो बाको सिर्जना, भोगाइ अनुभूति र व्यवहारबाट प्रष्ट हुन्छ ।
(सल्यान हाल नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान)