आज अस्ताई गएको सूर्यलाई जस्तो म अध्याँरो अघि
तिमीलाई भर्खरै ढलेकोरूख जस्तो हेरिरहेको छु
थाह छ फेरि बिहान घाम आउँने छ तिमी आउँने छैनौं
तर म तिम्रो आगमन सोचिरहेको छु
थाह छ ढलेको रूख उठ्ने छैन ।
तिम्रो सदासदाको बिदाईपछि तिमी फर्कन्नौँ भन्ने थाह छ तर म बाटो कुरिरहन्छु
तिमी क्रमश: आगोमा जलेर खरानी भइरहँदा
म तिमीसँगै जलुँ लागेको हो थाह छ आगोले पोल्छ र सकिदैन जल्न
तिमी आगोबाट धुँवामा परिणत हुँदा यो अनन्त सून्यमा लिन हुँदा सबै धुँवा बटुलेर खोकिलामा राखौं लागेको हो
थाह छ ती हानिकारक छन्
तथापि हरेक कालो धुलो बक्रबक्र धुँवाहरू आजकल प्रिय लाग्छन्
यो हिउँदमा टाढा पहाडमा आगो लाग्दा तिम्रो प्रस्थानको याद हुन्छ थाह छ तिमी होइनौ
त्यसैले म भान्साको चुलामा आगो बलेको हेर्न सक्तिनँ ।
हामी सुत्ने कोठामा म छिरेको छैन तिमी हिडेँदेखि
त्यो चुकुल त्यो छेस्किनी त्यो ताला छोएको छैन तिम्रो महाप्रस्थानपछि
ताला त यहाँ भित्र छ त्यो उघ्रिरहेको छ अब बन्द हुँदैन सायद
म देखिरहेको छु हाम्रो कोठामा तिम्रो कोट झुण्डिरहेको छ ।
महशुस गरिरहेको छु तिम्रो आगमन
तिम्रो शारीरिक चाल तिम्रो स्पर्श सबैसबै थाह छ यी सब कति चाँडै कल्पना भै गए अब ।
सबै गहना फुकालेर तिमीलाई समर्पण गर्दा लाग्थ्यो
वियोगपछि पनि पुरूषवादको सांस्कृतिक लहराले अल्झिरहेको छु
तर मलाई तिमी प्रति अप्रिय बनाउँन पनि रहेछ
प्राकृत प्राङ्गारिक उभ्याउँन पनि रहेछ
ताकि तिमीलाई थकथक नहोस् सुन्दर चिज छोडेर आएँ
जसले तिम्रो निर्वाणको मार्ग विलम्ब होस्
शान्त चितामाथि तिम्रो पहिरनहरू सुस्तरी च्यात्नु छुटाउँनु नै रहेछ हाम्रो सांसारिक मायावि बन्धनबाट तिमीलाई
सायद आगो पनि भयभित रहेछ यो बन्धनसँग ।
मध्यरातमा काठको टाँडमा तिम्रो पदचापजस्तै
पाइतालाको चालहरु सुन्यौँ
हामीले सुनिरह्यौँ तिमी आएछौ
अब बोलीमा पनि छैनौँ हामी
निसामको बा ! अब हामी देखिदैनौँ
तिम्रो नाममा सारा मानिसहरू आएका छन्
उनीहरूले पनि देख्दैनन्
तिमीलाई अन्तिम विदाई गरिरहेका छ्न्
हामी छुट्टिनु पर्छ रूखबाट फल छुट्टिएजस्तो
तिम्रो आत्मा माछामा छोडेका छौँ हामीले
तिमी पानी हुँदै सागरमा मिल्नु
आज साँझ हावाहुरीसँग पानी पर्यो त्यसैमा बगेर जानु ।
तिमीलाई सेतो र पहेलो पवित्र फूल अर्पण गरेका छौँ
सुगन्धमा मिल्नु
तिम्रो नाममा दैनिक एक सय आठ बत्ती बालेका छौँ ज्योतिमा लिन हुनु
तिम्रो देहबाट छुटी गएपछि तिमी हावाभन्दा हलुका छौ सायद
थाह हुनुपर्छ तिमीलाई यिनै चिजहरूले मात्र अड्याएर राख्छ ।
आज तेस्रो दिन पनि पानी परिरहेको छ धेरै ठण्डा छ
वापाले सात दिनसम्म तिम्रो आत्माको मुक्तिको कामना गरिरहँदा तिमी सुरुङमा छौ रे
पानी पर्दा हिउँ झर्दा हुरी बतासमा तिमी डराउँन सक्छौ
मुक्तिको बाटोमा अध्याँरो हुनसक्छ तिमी नडराउँनु
मलाई थाह छ यो समाजलाई थाह छ
तिमी आफ्नै पसिनामा उभेको अग्राठ थियौ
तिमी निस्पाप थियौ निश्कलङ्क थियौ
जाने बेलासम्म पनि आफ्नो हृदयको दयालाई
उघारेरै गयौ
जीवनमा अलिकति झ्वाँक देखाउनु
अलिकति कठोर हुनु आफू उभिन ठाउँ बनाउँनु मात्र हो
त्यो कदापि पाप थिएन तिमीलाई थाह हुनु पर्छ ।
म उमेरको पनि छैन जो तिम्रो नाम भूल्न जुनसँग खेलौँ थाह छ यो तिमीलाई पनि
तिमी महाशान्तिमा चुपचाप हिँड्दा आगोले पनि पोलेन तिमीलाई
त्यति गहिरो संखध्वनिले पनि ब्युझाएन तिमीलाई ।
त्यसकारण म चिच्याएर रोइन तिम्रो लागि
जति रोएँ म आफ्नै लागि रोएँ
तिमीदेखि छुट्टिन रोएँ
तिमीलाई मबाट निखार्न रोएँ
हामी छुट्टि सक्यौँ
निसामको बा !
छुट्टिसक्यौँ ! हाम्रो आत्मा फरक भैसक्यो !
सँगै बाँच्यौँ तर सँगै यो लोक त्याग्न सकेनौँ
तिमीलाई मानिसहरूले अतिशय प्रेमपूर्वक
इच्छाको चोयाले बेरेर नयाँ बाँसको खटमा फूलजस्तो बोकेर मबाट छुटाई लगे
अल बिदा !
धागो जस्तो हामी चुडिसक्यौँ !
मलाई माफ गर !
(झापा)