अलोक र प्रणिता कलेज जीवनदेखि नै मायाप्रीति गाँसेर एकाअर्कामा अति घनिष्ट सम्बन्ध बनाएका थिए । उनीहरू दुवैले कलेजको पढाई सिध्याई सकेपछि मायाप्रीतिको लामो अध्यायलाई मूर्तरुप दिदै वैवाहिक बन्धनमा गाँसिन पुगेका थिए ।
बिहे गर्दा दुवैजना शिक्षित बेकारी थिए । आलोकको घरमा उनको विधुवा आमामात्र थिइन् । आलोकको आमाले कमानमा काम गरेर छोरोलाई कलेजसम्मको शिक्षा हासिल गराउन सक्षम भएकी थिइन् । आलोकले बिहे गरेपछि अहिले उनीहरुको घरमा तीन जनाको परिवार भएको थियो । आमाले दुःख गरेर कमानबाट कमाएको पैसाले घर चलाउन हम्मेहम्मे पर्दथ्यो । त्यसैले गर्दा आलोकले कामको खोजी गर्न शुरु ग–यो । अन्तमा एउटा निजी अंग्रेजी स्कुलमा शिक्षकको नोकरी पायो ।
अलोकले यसरी स्कुलमा काम पाएपछि आमालाई घर चलाउन केही मात्रमा सहयोग हुन थाल्यो । यसरी उनीहरुको घर शुरुबुरु चल्न थाल्यो । उनीहरु दिनचर्या यसरी नै चल्दै गर्दा एकदिन आमाले आलोकलाई भनिन्– “छोरा तैले काम पाएपछि मलाई घर चलाउन केही भएपनि सहयोग पुग्यो । तर अहिलेको जमानामा खानु लाउनु पुगेर मात्र हुदैन विभिन्न भौतिक सुखसुविधाहरुको सबैलाई नै इच्छा हुन्छ, राम्रो खानु, राम्रो लगाउनु, बिल्डिड घरमा बस्नु, बाइकमा हिँड्नु यस्तायस्तै धेरै कुराहरुको चाहना हुन्छ । त्यसैले तैले बिहे गरेर ल्याएको बुहारीको पनि कतिपय इच्छा होला, तैले पूरा गर्दैछस् के त ?
यसरी आमाले यी कुराहरु भन्दा आलोक झस्कियो । त्यही बेला बुहारी पनि पँधेरोबाट कम्मरमा गाग्रोभरि पानी बोकेर आई पुगिन् । बुहारीले गाग्रोको पानी बिसाउँदै भनिन्– “मलाई त सबै ठिकै छ,बरु आमालाई पो हामीेले अझसम्म केही गर्न सकेका छैनौ । बरु आमालाई पो बुडेसकालमा सुख दिन सक्छौँ कि सक्दैनौँ भन्ने लाग्छ । हामी दुवैले त्यत्रो पढेर पनि अहिलेसम्म भनेजस्तो काम पाउन सकेका छैनौँ । आलोक पनि जाबो प्राइवेट स्कुलमा काम गरेर कति पो कमाउँछ र ! बरु म पनि केही काम पाँए त गर्थें । घरमा पनि खासै त्यस्तो काम पनि छैन । “
यसरी प्रणिताले भन्दा नभन्दै अलोकले भन्यो– “मलाई बजारमा एउटा मोबाइल दोकानको मालिकले एकजना राम्रो सेल्स गल्स् चाहिएको छ, राम्रो सेलरी पनि दिन्छु भन्दै थियो, त्यो काम गर्ने त !“
यति भन्दानभन्दै प्रणिताले भनी हाली– “त्यसो भए म गर्छु, लु भोलि नै भनिदिनु होस् न, हामी तीन जनाको कमाइले आमालाई घर चलाउनु पनि धेरै सुविधा हुन्छ ।“
आमाले पनि जोड दिदै भनिन्– “बुहारीको कुरा पनि ठिकै छ, साँच्चै त्यस्तो मौका छ भने भनिदेन ।“
आलोक एक छिन घोरिएर भन्यो– “भोलि म स्कुल जाँदा त्यो साहुसँग कुरा गर्छु, साँच्चिकै भनेको रहेछ भने म कन्फर्म गरेर आउँछु है त ।“
भोलिपल्ट आलोक स्कुलबाट फर्कदा मोबाइल दोकानको मालिकसँग बात गर्दा साँच्चै एउटा रिक्त रहेको सेल्स गल्सको ठाउँ रहेको र राम्रो काम गर्ने केटीलाई काममा राख्ने भनेपछि आलोकले आफ्नो श्रीमतिलाई उक्त काममा लगाइदिने निवेदन ग–यो । दोकानदारले भोलिदेखि नै काममा आउने वचन दिएपछि आलोक खुशी मन लिएर घरतिर लाग्यो । घरमा आएर प्रणितालाई भोलिदेखि नै काममा जानु पर्छ भनेपछि घरमा तीनै जना खुसी भएर घरको माहोल नै सुखमय बन्यो ।
भोलिपल्ट बिहानै आलोक र प्रणिता उठेर बिहानको घरधन्धा गरेर आमालाई कमानमा लाने खाजा डबिनमा हालिदिए पछि सबैले खाना खाएँ ।खाना खाएपछि आमा चाहिँ टोकरी पिठ्युँमा बोकी कमानतिर लागे । आमा कमान हिँडेपछि केही क्षणमा आलोक र प्रणिता पनि दुवैजनासँगै आफ्नो ड्युटीमा हिँडे । प्रणितालाई दोकानमा छोडि राखेर आलोक स्कुलतिर लागे ।
यसरी उनीहरुको दिनचर्या चल्न थाल्यो । यसरी उनीहरुको घर शुरुबुरु चल्दै गयो । यस्तै क्रममा प्रणिताले एउटा छोरो जन्माइन् । घरमा नयाँ सन्तानको आगमनले सबैजना मुहारमा खुशीका चमक छर्लङ्ग देखिन्थे । यसरी चारजनाको परिवार सुखदुख राम्रै प्रकारले चल्दै गयो । छोरा तीन वर्ष पुग्दा आमा पनि कमानको कामबाट सेवानिवृत भइन् ।
आमा कमानबाट सेवानिवृत भएपछि नाति हेर्दै दिन बिताउन थालिन् । छोरा बुहारीको कमाइले मात्र घर खर्च चलाउन निक्कै गाह्रो हुँदै गयो । एक दिन बेलुकी सबै जना खाना खाइसकेपछि घरको बारेमा दुःखसुखको गफ गर्न थाले । यसरी गफै गफमा घर खर्च, गाउँ समाज टार्नुपर्ने साथै नानीलाई स्कुल हाल्नुपर्ने विषयमा चर्चा चल्यो ।
अब आलोक र प्रणिताको कमाइले यी सबै खर्च पुर्याउन गाह्रो हुने भयो । परिवारका सबै जना भविष्यबारे निक्कै चिन्तित बने । यस्तै कुराहरु चलिरहेको बेला प्रणिताले भनी– “मेरो साथीको श्रीमानले विदेशमा जागिर खाने इच्छा हुनेहरुलाई विदेश पठाउने काम गर्छ । कि आलोकले पनि विदेश गएर अलिक रुपियाँ कमाए त घर राम्रो चल्थ्यो कि ।“
आलोकले विदेश जाने कुरामा त्यति मन गरेन । तर आमाले भने बुहारीको कुरोमा समर्थन जनाइन् । आमा र श्रीमतीको अघि आलोकको केही जोर चलेन । अन्तमा आफ्नो छोरोको भविष्य र परिवारलाई सुख दिन मनासाय बनाएर अलोक विदेश जान तयार भए । कमानबाट आमाको आएको ग्याजुटी र भविष्यनिधि कोषबाट आएको डेड लाख रुपियाँ लगाएर आलोक विदेशको जागिर खान दुवई लागे ।
विदेशमा आलोकले खुन पसिना एक गरेर रुपियाँ कमाउन थाले । यता छोरोलाई पनि स्कुल भर्ना गरेर आमाले दिनहुँ स्कुल लाने र लैजाने गर्थिन् । प्रणिता पनि आफ्नो काममा निरन्तर जान्थिन् । यसरी उनीहरुको घर चल्दै थियो । बेलाबेलामा आलोकले घरमा पैसा प्रणिताको एकाउन्टमा पठाउन थाले । अलोकले पैसा पठाएको बारे प्रणिताले सासुलाई सधै बताउँथिन् ।
यसरी समय बित्दै गयो । अलोक विदेश गएको पनि डेडवर्ष पुगिसकेको थियो । बेला बेलामा अलोकले घरमा भिडियो कल गरेर सबैसँग बातचित गर्थे । कहिले छोरोसँग निकैबेर गफ गर्थे भने कहिले प्रणितासँग प्रेमालाप गर्थे । यसरी समय बित्दै गयो ।
प्रणिता विवाहित भए पनि निकै सुन्दरी र बान्की परेकी थिइन् । दोकानमा आउने कतिजना ग्राहकहरुले प्रणितालाई जिस्काउने पनि गर्थे तर प्रणिता भने चुपचाप आफ्नो काममा लीन हुन्थिन् । प्रणिताले कामबाट बेलुकी आएपछि छोरोको होमवर्क गराउँदै बेलुकी खाना पकाउथिन् । बेलुकी सुत्ने बेलामा प्रणिता फेसबुकमा केही समय बिताउँथिन् । यसरी उनीहरुको दैनिकी चल्थ्यो । साँच्चै भगवानले मानिस बनाउँदा अचम्म प्रकारले बनाएको छ । सबै कुरो ठिकै बनाए पनि मन भने चञ्चल बनाइदिएकोले कहिलेकाहीँ मान्छेको मन तुलबुल हुने गर्छ ।
यस्तैमा सधै दोकानमा आइरहने एकजना निक्कै हेनसम केटाले प्रणितालाई फ्रेण्ड रिक्वेस्ट पठाएछ । प्रणिताले त्यो फ्रेन्ड रिक्वेस्ट धेरै दिनसम्म एक्सेप्ट गरेन ।तर फेसबुक जातिबेला खोल्यो तेति बेला घरिघरि त्यो केटाको फ्रेन्ड रिक्वेस्टले प्रणितालाई झस्काउन थाल्यो । एक दिन दोकानमा प्रणिता मात्रै भएको मौका छोपेर त्यो केटाले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्ने अनुनय गर्याे । प्रणिताले पनि फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गर्ने सहमति दिइन् ।
यसरी उनीहरु फेसबुक फ्रेण्ड भएर कहिले कही म्यासेन्जरमा च्याट गरेर गफिन्थे । प्रणिता बिस्तारै त्यो केटासँग आकर्षित हुन थालिन् । उता भने आलोक दुवईको उखरमाउलो गर्मीमा दिनरात खटेर पैसा कमाउन मग्न थिए । जति कमाउँथे उति उसले घरमा प्रणिताको एकाउन्टमा पठाउँथे । यता छोरो पनि स्कुल नियमित जान थालेको थियो । यता प्रणिता पनि पच्चिस वसन्तको पार गरेर छब्बिसमा टेकेकोले उसलाई पनि घरि घरि यौन चाहना हुन्थ्यो तर अलोकलाई सम्झिए र गाउँ समाजको डर बोकेर उसले आफ्नो यौन इच्छालाई जतिसक्दो नियनत्रण गरेरै बस्दै थिए । तर एकदिन प्रणितालाई मन पराउने केटाले च्याट गर्दा गर्दै यौनबारे चर्चा गर्न थाले । प्रणिताले भने केही जवाब नदिई ,त्यो केटाले लेखेको म्यासेज मात्र हेर्दै बसिन् । तर उता त्यो केटाले उसले पठाएको म्यासेज प्रणिताले हेर्दैछिन् भन्ने थाहा पाउँदै थिए । यसरी म्यासेन्जरमा उत्तेजक यौन क्रीडा सम्बन्धि भिडियोहरु पनि पठाउँन थाले । यसरी त्यो भिडियो हेरेपछि अन्तमा प्रणितालाई पनि बडी यौन चाहना हुन थाल्यो, त्यसपछि त त्यो केटासंग प्रणिताले पनि यौन सम्बन्धि खुलेरै म्यासेन्जरमा बात मार्न थालिन् ।
यसरी च्याटमा बात गर्दा गर्दै दुवैमा माया बस्न गयो । यसरी प्रणिताको त्यो केटासँग सम्बन्ध नजिक हुँदै गयो । बिस्तारै प्रणिताको घरका सासू र छोरासँग पनि हाउभाउ बिस्तारै बदलिँदै गयो । उता आलोक भने श्रीमतिको बदलिएको हाउभावदेखि अनभिज्ञ थिए । यसरी त्यो केटासँग प्रणिता यतिसम्म नजिकिए कि उनीहरु अब बिहे गर्ने अवस्थामा पुगिसकेका थिए । किन कि उनीहरु दुवैमा शारिरिक सम्बन्धसम्म भइसकेका थियो । त्यसैले गर्दा प्रणिताले आलोकसँग पनि पहिलेभन्दा धेरै कम मात्र बात गर्दथिन् । विभिन्न बहना गरेर फोनमा बात हुदाँ हुँदै फोन काटी हाल्थिन् ।
प्रणिताले त्यो केटा पाएपछि आलोकसँगको कलेज जीवनदेखिको मायालाई चटक्कै भुलिसकेका थिई । प्रणिताले गाउँ समाज र परिवारदेखि कसरी मुक्त भएर त्यो केटासँग भागेर गई नयाँ जीवन शुरु गर्ने जुक्तिहरु खोज्न थालिन् । अन्तमा अबोध छोरालाई माया मारेर, सधैझैँ काममा जाने बहना गरेर उताबाट आलोकले पठाएको सम्पुर्ण रुपियाँ बैकबाट निकालेर त्यो केटासँग टाप कसिन् ।
प्रणिताले घर छोडेर अर्काे केटासंग भागेको कुरो आलोकको सासुले बेलुकी बुहारी घर नआउँदा दोकानमा फोन गरेर सोद्धा थाहा पाइन् । प्रणिताको छोरोले भने आमा खोज्दै बाजुलाई आमा कतिबेला आउँछ भन्दाभन्दै बोजुको काखमै निदाए । आलोकको आमा भने बुहारीले घर छोडेर हिडेकी र सम्पुर्ण सम्पति कुमल्याएर हिँडेकी थाहा पाएपछि छागाँबाट झरेको जस्तै भइन् । भोलिपल्ट आलोकको फोन आयो । फोनमा आमाले बुहारीले घर छोडेर अर्कै केटासँग भागेको कुरा भनु कि नभनु हुँदै भए पनि एक आँट गरेर वृतान्त सुनाए । प्रणिताले आफुलाई माया मारेको कुरा त पहिले त पत्याउनै सकेन आलोकले तर आमाले कहिले झुटो बोल्दैन भन्ने कुरा आलोकलाई थाहा थियो । आमाबाट सबै कुरा सुनेपछि विदेशमै आलोक धुरुधुरु रोए । उसलाई आफुमाथि आकाश झरेझैँ भयो । अब किन बाँच्नु भन्ने पनि लाग्यो तर सानो छोरा र आमालाई सम्झेर आफुलाई सम्हाले । एक महिनापछि आलोक दुवईबाट घर फर्के ।
घर शून्य शून्य थियो, सबै लथालिङ्ग र छरपस्ट थियो । छोरो भने बाबुलाई मेरो आमा खै कहाँ जानुभएको छ भन्दै थियो । यस्तो दृष्य देखेर आलोकको गहबाट तुरुक्क आँशु झर्याे । घरमा आएर प्रणिताबारे सोधी खोजी गरे तर त्यो केटासँग कहाँ गए केही पत्ता लगाउन सकेन । उसले आफुलाई धिकार्दै भने– “मैले प्राण भन्दा ज्यादा माया गरेकी प्रणिताले मलाई विश्वासघात गरेर छाडेर गई, अबोध बालकलाई कसरी छोडेर जान सकेकी होला ? खै कहाँ गयो आमाको मातृप्रेम ? पैसा मात्र पनि ठुलो होइन रहेछ । मैले कुन दिनमा विदेश जाने सोच बनाए ? आमाले अन्ठाउन्न वर्षसम्म खुन पसिना एक गराएर कमाएको सबै रुपियाँ डुबाएँ, थुक्क मेरो जीवन !“
(मिरिक, दार्जिलिङ)