सुरक्षित, न्यानो गर्भभित्रै आमाले रोपेको विश्वासको बीऊ उम्रिएको हो आशाको बाली बनेर.....। सन्तानको कोल्टे भविष्यलाई समान आधार दिन दिनचर्यामा आँधीहुरी, भलपैह्रो खपिन् आमाले । बलात्कृत इच्छाहरुलाई पुन: अङ्कुरित बनाउऩ जीवन-बीमा गरेकी हुन् आमाले लगन, परिश्रम लगानी गरेर । यो लम्बित बीमाको मेच्योरिटी पर्खिदै मैले पनि निवेश गरिरहेछु प्रयास, आँट र साहस मसँगै हिँडिरहेको भान्साघरदेखि समग्र भूगोल सम्हालेर । स्याहार-सुसारको गहनाविहीन फुङ्ग उड़ेको गाउँ र आधुनिकताका कृत्रिम आभूषणले झरझुट्ट शहरले पनि बुझेको छ जिम्मावारीको नाम्लोले थिचेको मेरो थाप्लोमा छाप बसेपछि व्यवस्थाको रीढ़ भाँचिनेछ टुक्रा टुक्रा भएर ....। समयको पक्षपाती बतासले निभाउन खोज्ने सिजोफ्रेनिक निराशाको दीयोमा आत्मविश्वासको तेल थप्दै आइरहेछु यसलाई अखण्ड बनाउन मेरो भ्रूणमाथि भरोसा गरेर । ‘भ्रूण….’ ‘पहिलो’ ‘दोस्र' ‘तेस्रो’ कुनै पनि लिङ्गको होस्, हुनेछ समानता र मानवताको पक्षधर लिङ्ग घुम्टो, पर्दा र बुर्काभित्र श्वास – धुकधुकी होइन कुकृत्यहरुका शव छोप्ने लिङ्ग, विभेदका सीमानाको रेखालाई निष्पक्ष न्यायको इरेजरले मेटाउने लिङ्ग । निश्चिन्त छु म मेरी आमा हिँडेको गोरेटोबाट केही पाइला अघि सार्दै पारी क्षितिजसम्म पुग्दा पनि आत्मसम्मानको लौरो टेक्दै चुनौतीको अग्लो पर्वत आरोहण गर्नेछौ तिमी । ‘म’ बादलको ऐना उघारेर हेरिरहनेछु भ्रूण तिम्रो सफलताका इन्द्रेणी रङ्गहरुलाई, तिम्रो विजयका मङ्गल ध्वजाहरुलाई । (गान्तोक, सिक्किम, भारत)