कहिले
उडाउला समयको हावाले ?
यो रित्तो प्राणको अस्तित्व
चकनाचुर छु
आफ्नै सपनाहरूबाट ।
आँधी ल्याएर दौडिन्छ
मस्तिष्कको ढाडै-ढाडमाथि
श्रीङ्खलाबद्ध भविष्यका योजनाहरू
आँखाको डिल भत्काएर
भागिदिन्छ एकान्त
र,शून्य हुन्छु समयको मझेरीमा ।
मरेतुल्य बनाउँछ
ढाडस देखाएर मेरो छेवैछेउ
कुद्ने यो हावा
मरणासन्न यी जिजीविषा
अलौकिक भएर उभिदिन्छ
समयको संघार छेउ ।
सपनाको चुरे पहाडबाट जब म खस्छु
काँडाहरूको ढाडमाथि
फेरि कोतरिदिन्छ
समयको डेगनाले बसालेका
निलडामहरू
अनि- संभोग गर्न लाग्छन्
चुराजस्ता यी मनसँग
अव्यवस्थित चाहानाहरू ।
बगरजस्तो उराठ ओठमा
दौडिन्छन्
कृतिम हाँसोका केही लस्करहरू
बाँचिदिन्छन्
एक समयसम्म आफ्नै छायाको
अस्तित्व मेट्दै- मेट्दै एक
बुख्याच्या जीवन ।
यी जीर्ण सपनाको थाङ्ना
अस्तब्यस्त गोरेटोहरू
छुट्टिएको सम्बन्धको धागो
जसले
अनवरत निमोठिरहन्छ
आफ्नै पाइला अगाडि टुसाउदै गरेको
एक अभ्यस्त ईच्छा ।
(रोल्पा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।