कहिले उडाउला समयको हावाले ? यो रित्तो प्राणको अस्तित्व चकनाचुर छु आफ्नै सपनाहरूबाट । आँधी ल्याएर दौडिन्छ मस्तिष्कको ढाडै-ढाडमाथि श्रीङ्खलाबद्ध भविष्यका योजनाहरू आँखाको डिल भत्काएर भागिदिन्छ एकान्त र,शून्य हुन्छु समयको मझेरीमा । मरेतुल्य बनाउँछ ढाडस देखाएर मेरो छेवैछेउ कुद्ने यो हावा मरणासन्न यी जिजीविषा अलौकिक भएर उभिदिन्छ समयको संघार छेउ । सपनाको चुरे पहाडबाट जब म खस्छु काँडाहरूको ढाडमाथि फेरि कोतरिदिन्छ समयको डेगनाले बसालेका निलडामहरू अनि- संभोग गर्न लाग्छन् चुराजस्ता यी मनसँग अव्यवस्थित चाहानाहरू । बगरजस्तो उराठ ओठमा दौडिन्छन् कृतिम हाँसोका केही लस्करहरू बाँचिदिन्छन् एक समयसम्म आफ्नै छायाको अस्तित्व मेट्दै- मेट्दै एक बुख्याच्या जीवन । यी जीर्ण सपनाको थाङ्ना अस्तब्यस्त गोरेटोहरू छुट्टिएको सम्बन्धको धागो जसले अनवरत निमोठिरहन्छ आफ्नै पाइला अगाडि टुसाउदै गरेको एक अभ्यस्त ईच्छा । (रोल्पा)