मेरी आमा सुकेका दाउरा देखेपछि औधी खुसी हुनुहुन्थ्यो । सुकेका दाउरा राम्ररी बल्ने र खाना पकाउन सजिलो हुने भएर पनि होला सायद ।
आमाको खुसी मेरो पहिलो प्राथमिकता थियो । ढिकी, झाँतो, मेलापात लगायतका घरायसी काममा म आमालाई सगाउँथेँ । पँधेराबाट पानी ल्याउने काम पनि मेरो प्राथमिकतामा पथ्र्यो । त्यो बेला गाउँमा पानीका धारा थिएनन् । काफलपानी, कालापोखरा, सीम, कामीका पँधेरा आदि ठाउँबाट पानी ल्याउनु पथ्र्यो । हिउँदको समयमा पानीको आपूर्तिभन्दा माग बढी हुन्थ्यो । त्यसैले बिहानैदेखि पँधेरामा गाग्री वा घैटो पालो राख्नु पथ्र्यो । पानीको हाकाकार भएकाले कसैले पालो मिच्यो भने भगडा हुन्थ्यो । सानो गाग्री पालो राखेर ठुलो गाग्री भर्न पनि पाइन्नथ्यो । जुन गाग्री पालो राखेको हो, आफ्नो पालोमा त्यही गाग्री भर्न पाइन्थ्यो । पानीको पालो बस्ने र भर्ने काम निकै झण्झटिलो थियो ।
भाइबहिनीहरू साना थिए । म घरको जेठो सन्तान भएको हुनाले भाइबहिनीहरूको धरालो गर्ने जिम्मा पनि मेरै हुन्थ्यो । भाइबहिनीहरूलाई पालैपालो ढाडमा बोकेर भुलाउँथेँ । ढाडमा बोकेको बेला पिसाव गरेर पछिल्लो हरै भिजाइदिन्थे । आमा घरमा नभएको बेला दिसा गरेर हैरान पार्थे । दिसा सफा गर्न औधी घिन लाग्थ्यो । आमाले भाइबहिनीहरूलाई खुवाउन भनेर पकाएको जाउलो लुकीलुकी खान भने मजा लाग्थ्यो । जाउलो खुब मीठो हुन्थ्यो । दुईटा भाइ र दुईटी बहिनीलाई म आफैले हुर्काएँभन्दा पनि हुन्छ । अहिले पनि कतै बच्चा रोएको देखेँ भने माया लाग्छ । भुलाउन प्रयास गर्छु ।
मङ्सिर महिनामा वार्षिक परीक्षा हुन्थ्यो । परीक्षाको रिजल्ट भएपछि पुस एक गतेदेखि लागू हुने गरी झण्डै दुई महिना हिउँदे बिदा हुन्थ्यो । त्यो बेला मेरो प्रमुख काम दाउरा जम्मा गर्ने हुन्थ्यो । दाउरा खोज्ने सिलसिलामा मैले कोलडाँडाको आँप, गैरापाटाको पिपल र लाँकुरी, कुम्लावन, खगेठाँटी, भुल्के, किमपानी, ओलडाँडा, जाउनेपोखरा, बाँझारुख आदि ठाउँका पिपल र आँपका रुखहरूको पात पात छामेको छु । त्यो बेला ती रुखबाट खसेको भए के हुन्थ्यो होला ! अहिले सम्झिँदा पनि डर लाग्छ । जुनसुकै रुखबाट खसेको भए पनि भुइँमा झर्न नपाउँदै बिचमै मर्थेँ होला ! भुइँमा झरेपछि शरीर छियाछिया हुन्थ्यो होला । अहिलेसम्म त सबैले बिर्सन्थे कि ! धन्न बाँचियो !त्यस्तो अवस्था आएन ।
त्यो बेला आमाबुवाले रुखमा चढ्न नदिनु पर्ने, किन रोक्नु भएन कुन्नि ! अटेरी उमेर, आमाबाले भन्दाभन्दै मैले पो नमानेको हुँ कि ! अहिले छोरालाई ‘बाइकको यात्रा सुरक्षित हुँदैन, नचलाऊ न बाबु’ भन्यो भने ‘मरे मै मर्छु, तपाईलाई के हुन्छ र’ भनेर ओँठे जवाफ लगाउँछन् । त्यो बेला आमाबुवालाई त्यस्तै जवाफ पो दिइयो कि ! अहिले सम्झिँदा पनि मन सिरिङ्ग हुन्छ । ती रुख देख्यो भने तलै खुट्टा काम्छन् ।
धेरै मान्छे पिपलका दाउरा बाल्नु हँुदैन भन्थे, त्यसैलेपिपलका सुकेका हाँगामा धेरैको ध्यान जाँदैनथ्यो । फेरि मजस्ता मूर्ख पनि त हुनु प¥यो नि पातपात चाल्न । मजस्ता मुटु नभएका मूर्खहरू कमै थिए त्यो बेला त्यसैले जुन रुखमा चढे पनि एक डोको दाउरा सजिलै झार्न सकिन्थ्यो । छिनभरमै भारी पुराएर घरतिर लाग्थेँ ।
आँप र पिपलका दाउरा जम्मा गर्ने मात्रै होइन, साथी साथी मिलेर दाउरा खोज्न वनमा पनि जाने गथ्र्यौँ । बिहान खाना खाएपछि नाम्लो, खुर्पा र रसी लिएर घरबाट निस्कन्थ्यौँ । वन जाने ठुलै समूह हुन्थ्यो । बहिनी जमुना, ढुङ्गाचौर गौरी, बोमलाल, ब्यारेघर चिन्तामणि, जानुका, गोपाल, पल्लाघर अधिकारीकी छोरी लाटी, लुरी आदि हुन्थ्यौँ । हाम्रा हातमा घडी नभए पनि प्राय हिँड्ने समय सबैको एउटै हुन्थ्यो । एकैछिन् ढिलो चाँडो भएमा खगेठाँटीको चौपारीमा गएर पर्खने चलन थियो । ढुङ्गाचौरबाट गौरी र बोमलाल मलाई बोलाउँदै आउँथे । म मिसिन्थेँ । एकले अर्कालाई बोलाउँदै हिँड्थ्यौँ खगेठाँटी पुग्दा हाम्रो बगाल ठूलै हुन्थ्यो ।
हाम्रा समूहका सबैसँग मेरो राम्रो दोस्ती थियो । मलाई सबैले माया गर्थे । मलाई माया गर्नुका पछाडि दुईटा प्रमुख कारण थिए । एउटा त मैले औधी राम्रा भारी बाँध्थेँ र कहिलेकाहीँ अरुको भारी बाँध्न सगाउँथेँ । अर्को, मैले मजामजाका दन्त्यकथा सुनाउँथेँ । दाउराका गरुङ्गा भारी बोकेर उकालो बाटो गाउँ पुग्न सजिलो थिएन । बाटो हिँड्दा दन्त्यकथा सुन्ने सुनाउने चलन थियो । कथाका स्वरमा बाटो हिँडेको पत्तै हुन्नथ्यो । कथा भन्नमा गौरी दिदी पनि सिपालु थिइन् । उनले पनि थुप्रै कथा जानेकी थिइन् तर अरुको भन्दा मेरो कथा भन्ने शैली फरक थियो । मैले हाउभाउका साथ कथा सुनाउँथेँ । मैले नयाँ नयाँ कथा खोजेर सुनाउने हुँदा पनि मलाई धेरैले मन पराउँथे ।
बिहान घरबाट हिँड्दा हामी खाना खाएर हिँड्थ्यौँ । आमाले दिउँसोका लागि खाजा हालिदिनुहुन्थ्यो । हामीले लैजाने खाजा प्राय चिउरा, सिरम्ला, खट्टे, काँचा चामल, भुटेका मकै, रोटी आदि हुन्थ्यो ।त्यो बेला चाउचाउ, नमकिन आदि उत्पादनै हुन्नथे क्यार, मैले धेरैपछि सहर आएपछि मात्रै देखेको हुँ ती वस्तु । अचम्मको कुरा दिउँसोको लागि भनेर लगेको खाजा खगेठाँटी नपुग्दै खान थाल्थ्यौँ । केटाकेटी उमेर घरबाट निस्किएको केही बेरमै तलतल लाग्थ्यो अनि थोरैथोरै खाँदा पनि खोलामा नपुग्दै सकिन्थ्यो ।
सबै जनाजम्मा भएर छल्दी खोलामा पुग्दा मध्यान्ह भइसकेको हुन्थ्यो । तैपनि केहीबेर पौडी खेल्ने र माछा मार्नेकाम गथ्र्यौँ । पौडी खेल्ने अलग्गै कपडा हुँदैनथे । कट्टु लगाएर पौडी खेलेपछि त्यही चिसो कट्टुसितै अरु लुगा लगाउँथ्यौँ । चिसो कट्टु शरीरमै सुक्थ्यो ।
दाउरा खोज्ने हाम्रो जङ्गल कहिले पटौटी, कहिले समरान, कहिले पिपलटारीको रिपपाखो त कहिले चाँपटारीको वन हुन्थ्यो । घरदेखि चाँपटारी पुग्न झण्डै दुई घण्टा लाग्थ्यो । अन्य ठाउँको तुलनामा चाँपटारीका वनमा राम्रा दाउरा पाइने हुँदा हामी प्रायः त्यही पुग्थ्यौँ ।
खेल्दाखेल्दै जङ्गलमा पुग्दा घाम कोल्टे परिसकेका हुन्थे । त्यसपछि सबैलाई हतार हुन्थ्यो । गीत गाउँदै, आहै आहै भन्दै दाउरा खोज्न थाल्थ्यौँ । हामीले धेरैथरिका गीत गाउँथ्यौँ तर ‘डोरोफेरो वन, कति रुँदो हो कान्छी तिम्रो मन’ बोलको गीत हामी सबैको मन पर्ने गीत थियो । मलाई पनि औधी मन पथ्र्यो । त्यसैले होला यो गीत मैले आजसम्म पनि बिर्सेको छैन । गीत गाउँदा दाजु–बहिनी, दिदी–भाइका बिचमा केही भेदभाव थिएन । हामी सबैका बिचमा वर्गीय, लैङ्गिक, जातिगत आदि कुनै विभेद थिएन । फेरि उमेर पनि कति नै पो थियो र त्यस्तै १० देखि १५ वर्ष बिचका थियौँ हामी सबै जना ।
कुनै पनि दाउरो सुरुमा जसले देख्यो उसैको हुन्थ्यो । देख्नेले भाँच्न सकेन भने बल्ल अरुले भाँच्न पाइन्थ्यो । यो हाम्रो अघोषित कानुन नै थियो ।
जङ्गलमा हिँड्दा स्याल, फ्याउरो, वनबिरालो आदि जङ्गली जनावरले पिसाब फेरेको ठाउँमा गनाउँथ्यो । त्यस्तोमा हामी बाघले पो मुतेको हो कि भनेर पनि डराउँथ्यौँ । अनि सबै एकै स्वरमा चिच्याउँथ्यौँ बाघ भगाउनका लागि । कहिलेकाहीँ त बाघको गुहु पनि देखिन्थ्यो रौंसितको । त्यो देखेपछि हामी औधी डराउँथ्यौँ । सारा शरीर फुलिन्थ्यो अनि छिटोछिटो जङ्गल छोड्थ्यौँ । पछिका दिनमा पनि सकभर त्यो ठाउँमा जान्नथ्यौँ ।
प्रायः सबैभन्दा पहिले दाउराको भारी मैले नै पुराउँथेँ । अग्ला अग्ला रूखचढ्न सक्ने हुँदा पनि छिटो भारी पुराउन सजिलो हुन्थ्यो मलाई । दाउरा पुगेपछि थाकल वा अन्य नरम स्याउला जम्मा गरेर पिठ्यूमा दाउराले नघोच्नेगरी राम्रो भारी बनाउँथेँ । आफ्नो भारी मिलाएर उभ्याएपछि सन्तोषको लामो सास फेर्थेँ र अरुले भारी बनाएको हेरेर बस्थेँ । त्यो बेलामा कतिपय साथीहरूले भारी बनाउन सहयोग माग्थे । आफूलाई मन परेको साथी भए सगाउँथेँ, नत्र चूप लागेर बस्थेँ ।
खाली समयमासाना र सुरिला रुख (लाउरा) काट्ने काम हुन्थ्यो— एउटाले नुगाउने, अर्कोले छिन्ने । प्रतिष्प्रधा नै चल्थ्यो । अहिले सम्झन्छु— अनजानमा त्यो बेला हामीले धेरै रुख काट्यौँ । धेरै नोक्सान ग¥यौँ । ती साना रुखबढ्न पाएका भए अहिले ठूला रुख हुने थिए । कठै ! हाम्रो बुद्धि ! अहिले भने वन जान लागेका केटाकेटीहरू देखिए भने लाउरा नकाट्न सल्लाह दिन्छु ।
सबैका भारी तयार भएपछि जङ्गलबाट सँगै हिँड्थ्यौँ । सुरु सुरुमा त रमाइलो हुन्थ्यो । रोदीखोलामा झर्दानझर्दै घामले नेटो काटिसकेका हुन्थे । भोक, प्यास र थकाइले च्याप्दै जान्थ्यो । पुस माघको महिना जाडो पनि बढ्दै जान्थ्यो । फेरि हाम्रा कपडा पो के हुन्थे र ! एकसरा कमिज र पछाडि फाटेका जाङ्गे । स्कुल जाँदा पनि त्यही, मेलापात जाँदा पनि त्यही अनि खोलामा पौडी खेल्दा पनि त्यही । साता पन्द्र दिनमा धुन्थ्यौँ । नसुक्दासम्म या त नाङ्गै बस्नु पथ्र्यो या आमाको मुजेत्रो ओडेर बस्थ्यौँ । अर्को पुरानो कुनै कपडा रहेछ भने त्यही लगाउँथ्यौँ । यस्तै थियो जिन्दगी, अहिले गफ लडाएर वा दराजमा मक्किएका कपडा सम्झेर भएन क्यारे !
भोको पेट, आफूभन्दा ठुला दाउराका भारी अनि उकालो बाटो । सास्ती हुन्थ्यो । छल्दीखोलो तरेर हाट्टारीबाट उकालो लागेपछि प्राण जाला जस्तो हुन्थ्यो । गाउँमा हालेका कोदाका रोटी र भुटेका मकै उहीँ तलै बसाउँथे । सम्झेर थुक निल्थ्यौँ ।
बाटा नजिकै सिस्नेरीको पाखामा खोरियाका दाजुभाइले उखु लगाएका थिए । कहिलेकाहीँ बाटामा भारी बिसाएर उखु चोर्न जान्थ्यौँ । मानिसहरूले नदेखेको बेला सजिलै ल्याउँथ्यौँ । कहिलेकाहीँ भने लाठी चार्जमा परिन्थ्यो । ढाड बाङ्गो बनाउँदै आउँथ्यौँ ।
जोर्ते आँपको अलि तल सिस्नेरीकै वनमा एउटा सुन्तला जस्तो फल्ने तर अति नै अमिलो बुटो थियो । त्यसलाई हामी काठे भन्थ्यौँ । कहिलेकाहीँ तिनै अमिला दाना टिपेर चुस्थ्यौँ । खाली पेटमा अमिलो कागती खाँदा कस्तो हुँदो हो । त्यसको परिणाम अहिले निस्कँदैछ ग्यास्टिकको रूपमा ।
एक दिन खोज्दै जाँदा हाट्टारीका एउटा गोठको छेउँमा पसाएको ठूलाकोसे केरा भेटियो । केरा काँचो थियो । त्यै पनि कोसा चुँढेर खान थाल्यौँ । झण्डै मरिएन घाँटीमा अड्केर । जाङ्गेमै पिसाब आयो डरले । काँचो केरा सुकेको मुख घाँटीबाट झर्दै झर्दोरहेनछ ।
यसो भनौँ, त्यो बेलाको हाम्रो स्वभाव ठ्याक्कै बाँदरको जस्तो थियो । त्यसमा पनि चैते बाँदर । बाँदर चारखुट्टाले हिँड्थ्यो हामी दुईखुट्टाले हिँड्थ्यौँ तर स्वभाव भने एउटै, ठ्याक्कै मिल्ने ।
पेट भर्ने केही उपाय नपाएपछि कथा सुन्ने र सुनाउने काम सुरु हुन्थ्यो । गौरी दिदीले कथाको शिलान्यासगर्थिन् । लेग्रो तानी तानी कथा सुनाउँथिन् ।
“एकादेशमा एउटा बुढो र एउटी बुढी थिए । उनीहरूका चार भाइ छोरा र तीन बहिनी छोरीहरू थिए…….. ।”
एउटा कथा सुरु भएपछि आधा पौने घण्टा चल्थ्यो । कथाको लहैलहैमा लागेर बाटो काटेको पनि थाहा हुन्नथ्यो । भारी बोकेर उकालोमा हिँड्दा त्यस्तो जाडोमा पनि पसिनाले शरीर लुछुप्पै भिज्थ्यो ।
गौरी दिदीले कथा सकेर “सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा बैकुण्ठमा जाला, भन्ने बित्तिकै आइजाला”भनेपछि एकादेशमा भन्ने पालो मेरो आउँथ्यो । त्यो बेलामा खै कसरी हो दर्जनौँ लोक तथा दन्त्यकथाहरू कण्ठै थिए । कतिपय अवस्थामा त आफै मिलाएर पनि भन्थेँ । बडो लय मिलाएर आकर्षक शैलीमा सुनाउँथे । कथा सुन्दा होस् वा सुनाउँदा दुवै समयमा आनन्द आउँथ्यो । त्यो बेला सुने सुनाएका कथा अहिले जस्ताकोतस्तै याद भैदिएका भए कति लेख्दो हुँ । पहिले ख्याल गरिएन, अहिले सबै भुलियो । एउटा अन्तर्वार्तामा यज्ञनिधि दाजुले पनि प्रशंसा गर्नु भएको थियो मेरा कथावाचन शैलीको । यो सबै श्रेय त्यही बेलाका ती घटनालाई जान्छ ।
कथा सुन्दै सुनाउँदै आधा उकालो काटिसकेका हुन्थ्यो । रात छिप्पिइसकेको हुन्थ्यो । त्यसपछि पालैपालो बोलाउन थाल्थे घरतिरबाट । अहिले जस्तो मोवाइल भै दिएका भए फोन गर्दा हुन् क्यार तर थिएनन् । आँगनको डिल वा कुनै ढिस्कोमा चढेर चर्को आवाजमा बोलाउनुपथ्र्यो ।
“नानी हो ओ ओ ओ !” आमाले मलाई नानी भन्नुहुन्थ्यो । आमाको बोली सुनेपछि दुई हातले नाम्लो समाएर मुखलाई घरतिर फर्काएर बोल्थेँ, “हजुर!”
दोहोरो संवाद हुँदा हामीहरू बाझारुखतिर आइपुगेका हुन्थ्यौँ ।
भोक, प्यास, थकाइ, जाडो आदि सबै कुरा सम्झिँदा भोलिदेखि त मरिगए वन जान्न भन्ने लाग्थ्यो तर अर्को दिन बिहान आमाले छिमेकीसँगकुरा गरेको सुन्थेँ, “ओ हो ! हाम्रा नानीले ल्याएको भारी मैले उचाल्नै सक्दिनँ । कति ठुलो भारी, कस्ता राम्रा दाउरा, दियालो बोलेझैँ बोल्छन् ।”
आमाले गरेको प्रशंसा सुनेपछि हिजोको भोक, प्यास, थकाइ सबै कुरा बिर्सिन्थेँ अनि खुसीले रमाउँदै र ‘डोरोफेरो वन, कति रुँदो हो कान्छी तिम्रो मन’ बोलको गीत घन्काउँदै साथीहरूसँगै वनतिर लाग्थेँ ।
(गुल्मी)