आफ्नो बाल्यकाल सम्झँदा यो मन त्यसैत्यसै रमाएर आउँछ । माया, ममत, आडभरोसा, स्वच्दन्दता, चञ्चलता, घुक्र्याइ, रुवाइ, झगडा, साथीसंगती वाह !
बाल्यकाल भनेपछि ऊ बेलाका हरेक कुरा फनफनी घुम्छन् मनमा । बाबाको घुँडा समातेर समाचार सुनेका, कथा, महाभारत, रामायणका श्लोकहरू सुनेका बेलुकाका यादहरू पनि कम सम्झनलायक छैनन् । मैले थाहा पाउँदाको समयका विहानी पखका सम्झनाहरू सबैभन्दा अगाडि आइपुग्छन् ।
प्रत्येक विहान मैले आँखा नखोल्दादेखि नै घर नजिकको बाँसघारीमा रुपीहरू, चील र वीर कराउन थालेका हुन्थे । खोरको भाले कतिखेर बासीसकेको हुन्थ्यो । परेवाहरूको निरन्तर घुराई । कहिले काहीं लाटकोसेरो पनि कराउँदै हुन्थ्यो । आइतबारे जङ्गलमा न्याउलो पनि रोइरहेको हुन्थ्यो । जुन जङ्गल सिधै हाम्रो घर अगाडि करिब पाँचसय मिटरको दुरीमा थियो ।
चैत बैशाखको समय कुक्कु र काफल पाक्यो चराको निरन्तर कराइले मन हर्ने गथ्र्यो मेरो । करेसामा रहेको सुन्तला बगैंचामा कुर्ले ढुकुर, कोटेरा, जुरेली पनि कराइरहेका हुन्थे । अलि तल तल तित्रा कराएको र लुईंचे बासेको पनि सुनिन्थ्यो । जब म व्युँझन्थें ओच्छ्यानमा एक्लै हुन्थेँ । आमा अघि नै उठेर कामधन्दामा लागि सक्नुभएको हुन्थ्यो । मुनिबाट खन्द्र्याङ्–खुन्द्रुङ् आवाजहरू सुन्थेँ । आमा घरमै भएको आभास हुन्थ्यो र ढुक्क हुन्थेँ । खासमा आमा कतै जानु हुन्नथ्यो र पनि आमा कतै जानुभयो कि भनेर पहिले आमा खोज्थ्यो मनले । विहान उठ्दा होस् वा स्कुल, गोठालो कतैबाट घर आउँदा होस् हरेक पल्ट जब आमाको आभास मनले गथ्र्यो अनि म ढुक्कले तिनै चराहरूसँग मस्त हराउने गर्थें ।
उठ्ने कुरामा आमाबाबाले खासै कुनै दबाब दिनु हुन्थेन । सात बजेसम्म पनि नउठेमा भने बोलाउनु हुन्थ्यो । तर म प्रायः छ बजे उठ्थेँ । उठेपछि एउटा जिम्मेवारी अनिवार्य नै थियो, पूजा गर्ने र पढ्ने । बाबाको पूजा कोठा थियो । बाबाले हरेक विहान जपध्यान नगरी खाना खानु हुन्थेन ।
हाम्रो बाजे बोजुहरू जोसमनि सम्प्रदायबाट प्रभावित हुनुहुँदोरहेछ । मेरी फुपू बोजुलाई साधुनी बुढी भन्थे जान्नेहरूले । मैले चाहिँ मेरा बाजे बोजु, फुपू बोजू कसैलाई देख्न पाइनँ । बाबामा त्यहीँ प्रभाव थियो । बाबाको लागि भए पनि हामीले पूजा गर्नै पथ्र्यो । उठेर हातमुख धुन पँधेरा जाने, चोखो पानी ल्याउने र पूजा गर्ने ।
पूजा गर्ने जिम्मा कान्छा दाजु र मेरो थियो । कहिले काहीँ पूजा गर्ने निहुँमा हामी झगडा पनि गथ्र्यौं । हामी दुवैलाई एकैसमय अल्छि लाग्थ्यो । हामीसँग पूजाका अरु सामग्रीसँगै एउटा शङ्ख पनि थियो । त्यसलाई म सानैदेखि दाजुले जस्तै दोहोरो बजाएर फुक्न सक्थेँ । मेरो स्कुलका सरहरू समेत मैले शङ्ख फुकेको सुन्न आउनुभएको थियो ।
अलि ठूली भएपछि आमाले मलाई केही काम थपिदिनु भयो । उठेपछि आमखोरा माझ्ने, आगन बढार्ने अनि हातमुख धुन पँधेरा जाने रपूजा गर्ने । पूजा गरीसकेर खाजा खाएर पढ्ने । समयमा खान खाएर स्कुल जाने त छदै थियो ।
अर्को कुरा प्रायः हाम्रो घरमा दैनिक जसो कचहरी हुने गथ्र्यो । किन कि बाबा ऊ बेला प्रधानपञ्च हुनुहुन्थ्यो । कचहरी नभए पनि विहान दुईचार जना मान्छे जम्मा भएकै हुन्थे । मैले ती मान्छेको बिँडी सल्काउन अगेनोबाट आगो ल्याइदिनु पथ्र्यो । आमाले बनाउनु भएको चिया बाँड्नु पथ्र्यो । मलाई चिया बाँड्न एकदम रहर लाग्थ्यो तर आगो ओसार्न यति झन्झट लाग्थ्यो कि अहिले सम्झँदा खुव हाँसो उठ्छ । आफू आफ्नो सुरमा कुरा सुनिरहेको बेला, अथवा केही खेल वा काममा मस्त भएका बेला मान्छे भन्थे, “ए कान्छी आऊ आऊ यो बिँडी त मरी पो गो । आगो लेऊ लेऊ ।”
यी र यस्ता काम अनि आमाबाबा, दाजुदिदीले दिएका जिम्मेवारी बाहेक आफ्ना काम पनि थिए मेरा । खेल्ने, माथ्लो कान्लामा रहेको फुपूको घरमा मिलिक्क पुग्ने, दाजुसँग चराको गुँड खोज्न जङ्गल जाने, कटुस टिप्न जाने, च्याउ खोज्न जाने, मकै फल्ने सिजनमा बाँदर रुँघ्ने, गोठाला जाने, ठूलो वर हेरेर टोलाउने, कञ्चनजङ्घा हिमश्रृङ्खलासँग बात मार्ने, घाम झुल्कने पूर्वी क्षितिजसँग एकाकार हुने । थोरै समयमा कति धेरै काम गर्नु थियो मैले ।
घाम झुल्केको हेर्न मलाई एकदमै मन पथ्र्यो । घाम झुल्कनुभन्दा अगाडिको रातो पूर्वी क्षितिज देखेर त्यतिकै अलमलिन्थेँ म । जब अलि अलि गर्दै बलेको आगोको डल्ला जस्तै घाम डाँडाबाट निस्कन्थ्यो हेरेको हेरेकै हुन्थेँ । संखुवासभाको चैनपुर, खराङ र आँखीभूईं क्षेत्रको क्षितिजबाट सरी सरी उदाउँथ्यो उत्तरायण दक्षिणायन घाम । त्यो अन्तिमको डाँडोमा गएर हातले घामलाई टिप्न सकिन्छ लाग्थ्यो मलाई । जब घामको पहिलो किरण कञ्चनजङ्घा हिम श्रृङखलाको थाप्लोमा पथ्र्यो अनि उँधो उँधो झथ्र्यो म भएको ठाउँसम्म आइपुग्थ्यो किरणहरू र पनि म अघाउँदिनथें घामलाई हेरेर ।
प्रकृति सबैलाई यसरी नै मन पर्दो हो । सानी छँदा आमा र दिदीहरूको पछि लागेर जङ्गल जानु, घाँस काट्न जानु सर्वाधिक रमाइलो क्षण थियो । धानरोप्ने खेतको हिलोमा खेल्नु, धानको वीउले छेउभित्ता लगाउनु धेरै रमाइलो हुन्थ्यो । गाउँको खेती, खोला खेती रोपाईं धेरै हुन्थ्यो । म खोला खेती गएको थिइन । किन भने धेरै टाढा थियो । पुग्न मात्रै अढाइ तीन घण्टा लाग्थ्यो । दाजु, दिदी र कहिले काहीँ बाबा पनि उतै बसेर रोपाईं सक्नु हुन्थ्यो अनि हप्तादिन जतिमा घर आउनु हुन्थ्यो ।
२०४६ सालको साउनमा म पनि पहिलोपल्ट खोला खेती जाँदै थिएँ दिदीहरूसँग । यो साल किन याद छ भने त्यहीं साल बाबाको प्रधानपञ्च पद गएको हो । हाम्रो परिवारको पुरानो पुख्र्यौली खेत थियो याङगुवा खोलाको किनारमा । कुडारे भनिन्थ्यो त्यो खेतलाई । देवा(वडा) हरूको, फुपूको पनि खेत थियो त्यहाँ । बाबा र ठूलो दाजु खेतीमै हुनुहन्थ्यो त्यो वेला । वर्खे धान काटेर फेरि धान रोप्ने सिजन चल्दै थियो ।
त्यो दिन मैले झगडा गरेर जान पाएको थिएं खोला खेत । नत्र दिदीहरूले हिँड्न जान्दैन, ढुङ्गाले घोच्छ भनेर जान दिनु हुँदैनथ्यो । साँच्चिकै बाटोमा मलाई हिँड्न एकदम गाह्रो भयो । घरबाट पैंतालिस मिनेट जति हिँडेपछि गाउँ सकिन्थ्यो र सखुवा(साल), अमला र धयँरो मात्रै पाइने ठूलो रुप्से वन आउँथ्यो ।
रुप्से वनको भीरबाट ओरालै ओरालो झर्नु पर्ने रहेछ खोला खेत जान । बाटो पनि यस्तो अप्ठेरो थियो ठाडो ओह्रालो अनि ठाउँठाउँमा गोहो मात्रै । तीखा न तीखा गग्य्राङ ढुङगा अनि चिप्ला न चिप्ला सालका पात बाटोभरि । हामी हिँड्थ्यौँ पात पनि बज्थे सल्र्याङ सल्र्याङ …।
माइली दिदी ताराले मलाई हात समातेरै खोला खेत पु¥याउनु भयो । खेत पुग्नुभन्दा केही माथि महजस्तै मिठो रसधयँरोको रातो फूल चुसाउनु भयो । हामीभन्दा अलि पर्तिरबाट नाङलोजस्तै फिँजारिएर उड्ने मुजुर भनेर चिनाउनु भयो । तर बेस्सरी घाम लागिरहेको थियो । गर्मीले मेरो भने चेतै उडिसकेको थियो ।
खेत पुगेपछि पनि रमाइलो भयो । ठूलो दाजुले काखमा लिँदै भन्नुभयो, “तँ पनि आइस् ?”
एकछिनपछि फेरि बाबाले सुम्सुम्याउँदै भन्नु भयो, “मेरो कान्छी छोरी पनि खोला खेत आउने भएछ ।”
सबैजना खेतालासँग काममा व्यस्त हुनु भयो । म पनि यतउति गरी बसेँ । दिउँसो खाजा खाएपछि कान्छा दाजु शंकरले मलाई नजिकै सुसाउँदै बगिरहेको याङगुवा खोलामा लिएर जानु भयो । दाजु र मविच दस वर्ष उमेरको अन्तर छ । मलाई एउटा ढुङगामा राखेर माछा समाउन थाल्नु भयो दाजु । दाजुले ढुङगामा बस त भन्नु भयो तर म बस्न सकिनँ त्यो ढुङगा एकदम तातो थियो । ढुङगा किन तातो भएको होला भनेर त्यो बेला थाहा पाइनँ, दाजुलाई पनि सोधिनँ । बरु खोलाको किनारमा गएर मुख धुएको धुएकै गरेँ ।
दाजुले माछा समाउनु भएछ । भन्नु भयो, “हेर् त ।” दाजुले माछा झिक्दै पाखाको ढुङगामा राख्दै जानु भयो । एकछाक जति भयो होला । माछा दाजुको टोपीमा पोक्याएर हामी बाबाहरू भएको ठाउँमा गयौँ । दाजुले माछा समाएको देखेर बाबाले भन्नु भएको थियो, “होइन यो जस्तै ठाउँबाट पनि माछा झिक्छ हौ ।” फेरि बाबाले भन्नु भयो, “यो वर्खामा खोलामा माछा मार्नु हुदैन । लेक वर्षेर भल आ’को थाहा हुँदैन । यो खोलाको खेवा लामो छ ।” बाबाले टाढो लेकमा खोलाको मुहान छ भन्नु भएको रहेछ ।
हामी चार बजेतिर घर जान तयार भयौँ । तर दाजु दिदी र खेतालका लागि वर्खे धानको भारी ठिक पार्दा निकै समय लाग्यो । म ऊबेला समयको त्यति भेउ पाउँदिनँ थिएँ । मलाई सानो कुरुसले बुनेको उनी धागोको बुट्टे झोलामा माछा र दिदीको बोर्की बोकाउनु भयो तारा दिदीले । हामी विहान आएको बाटो उकालो चढ्न थाल्यौँ । ओरालोमा भन्दा उकालोमा सजिलो भयो हिँड्न । मलाई समाउनु परेन ।
दाजु, दिदी र खेतालाले बाटोतिर ढुङगामा भारी टेकाए एकपटक अनि भने, “रात पर्ने भो अब जाउँ है राइनी ढुङ्गामा विसाउनु पर्छ । बिँडी पनि त्यहीं खाउँला ।”
भारी बोके पनि उहाँहरू खुव रमाइलो गरिरहनु भएको थियो । कोही हाक्पारे गीत गाउनु हुन्थ्यो । कोही उट्पट्याङ कुरा गरेर हासिमजाक गर्नु हुन्थ्यो । मलाई पनि रमाइलै भयो ।
तर एउटा प्रश्न उब्जियो मनमा, “राईनी ढुङगा कहाँ छ ? त्यो कस्तो छ ? मेरो आमाले जस्तै मुन्दी्र बुलाकी लगाको छ कि ? विहान त दिदीहरूले देखाउनु भएन ।”
निकै माथि पुगेपछि एकजना दाजुले ढुङगामा धानको भारी विसाएर खुइया ! सुस्केरा हाल्दै भन्नु भयो, “लु बसुम है एकछिन राइनी ढुङगामा ।”
सबैले आ–आफ्नो भारी विसाउनु भयो र एउटा ठूलो आगन जत्रै ढुङगामा बसेर जीउकै कपडाले पसिना पुछ्न थाल्नु भयो । कसैले सालको पात बजाउन थाल्नु भयो । कसैले कुलुलुलु ऽऽ कराएर सुस्केरा हाल्नु भयो । पल्लाघरकी भाउजूले सानो एउटा दल्सिङ ढुङगामा झुलो चकमकबाट आगो पारेर बिँडी सल्काउनु भयो । अनि अरु बिँडी खानेले आगो भएको बिँडीमा बिँडी जोडेर सल्काएर धुवाँ उडाउन थाल्नु भयो ।
म राईनी ढुङगामा लडीबुडी गर्न थालेँ । किन कि त्यो ढुङगा सफा थियो, खाट जस्तै सम्म मिलेको थियो र ठूलो थियो । मलाई ओच्छ्यानजस्तै लाग्यो । मैले सोचेको जस्तो एउटी राईनीको झल्को आउने कुरा त्यो ढुङगामा केही थिएन । मलाई त्यस्तो कुराको चासो पनि थिएन । त्यो ढुङगालाई राइनी ढुङगा भनेर मैले चिनेँ मलाई पुगिगयो ।
“लु जम होइ, बजु सासू बास बसेको ढुङगामा हाम्रो पनि बास हुन्छ होला ।” ढुङगामा दलेर बिँडीको आगो मार्दै फेरि पल्ला घरकी भाउजूले भन्नु भयो ।
आगो मरेको डुटे बिँडी चौबन्दीको गोजीमा राख्दै उहाँ उठ्नु भयो । मेरा दाजुदिदीहरू अरु खेताला पनि जाराक जुरुक उठेर भारी बोकी फेरि उकालो चढ्न थाल्नु भयो । म पनि घरिअघि, घरि माझमा घरि पछि हुँदै उहाँहरूसँगै हिँडिरहेँ । भोकले उस्तै सताइरहेको थियो । रुप्से वनको टाकुरीमा फेरि एकपटक विसाउनु भयो उहाँहरूले । जाँदा जाँदै रात परिगयो । बाटोमा बाँसको भाटा चिरेर राँको बनाएर बाल्दै हामी राति घर पुग्यौँ । म घर रुँदैरुँदै पुगेकी थिएं ।
मैले बाटामा थाहा पाएँ खास त्यो ढुङगालाई किन राईनी ढुङगा भनेको रहेछ भनेर । भाउजू र दिदीहरूको अनुसार वि.सं. १९९० भन्दा अगाडि नै हाम्रो बोजूहरू एक समय अभर परेर यहीँ ढुङगामा बास बस्नु भएको थियो रे । पहिले बुहारीलाई गरिने शासन । खान पनि अघञ्जेल नपाइने । मेलाबाट समयमा निस्कन पनि नपाइने, फेरि समयमा पुगेर घरमा पनि ठिकठिक भान्सा, गोठ धन्दा गर्नु पर्ने रे ।
त्यो दिन बोजूहरू मेलाबाट उकालो लाग्दा नै साँझ परेको थियो रे । बाटामा रात परि गएछ । उज्यालो केही थिएन रे । भोक पनि लागेछ । भारी पनि गह्रौँ भएछ । कुनै उपायले पनि त्यो जङ्गलको भीर काट्न नसक्ने भएपछि बोजूहरू खुल्ला आकाशमूनि त्यही ढुङगामा बसेर रात विताउनु भएछ र भोलिपल्ट विहान सखारै घर आइपुग्नु भएको रे ।
बोजूहरूले भोकै, तिर्खै, खुल्ला आकाशमूनि कसरी रात कटाउनु भयो होला । कसैले दुई जना बोजू बसेको भने कसैले तीन जना । यो मलाई यकिन भएन । किन कि मेरो बाजेका श्रीमती पाँचजना हुनुहुन्थ्यो रे । अर्थात मेरा पाँचवटी बोजूहरू हुनुन्थ्यो रे । बोजूहरू त्यहाँ बास बसेपछि त्यो ढुङगाको नाम रहेछ राईनी ढुङगा । राईनी बास बसेको ढुङगा हुँदाहुँदै ‘राईनी ढुङगा’ भएछ ।
केही समयपछि घरमा काम गर्ने कोही नभएकाले बाबाले खोला खेत बेच्नु भयो । खेत बेचेपछि हामी खोला खेत झरेनौँ । त्यसपछि राईनी ढुङगासँग भेट भएको छैन । आजभोलि कहिले काहीँ सम्झना आउँछ । जाउँजाउँ, त्यहाँ पुगुँपुगुँ लाग्ने गर्छ । किन कि त्यो मेरो बोजुहरूको अमर कृति हो । उहाँहरूले हाम्रो नाममा छोड्नु भएको एक परिचय हो, पहिचान हो । हामी खेतमा काम गरेर फर्कंदा रात परेर जङ्गलको ढुङगामा बास बस्ने बोजूहरूको नातिनातिना हौँ । राईनी ढुङगामा बास बस्ने ती परिश्रमी हिम्मतवाला महिला हाम्रा बोजूहरू थिए । राईनी ढुङगाको नामाकरण हाम्रा बोजूहरूको कारण भएको थियो । यो हाम्रो एक अमर महाकाव्य हो । साँच्चिकैको किताब लेख्न त बोजुहरूले जान्नु भएको थिएन ।
(भोजपुर)