“तपाईंले पूर्वी रुकुम जिल्ला शाखाको अधिवेशन गराउन सहजिकरण गरिदिनु प¥यो है ?” केन्द्रीय अध्यक्षज्यूबाट फोनद्वारा धेरै पटक निर्देशन हुन्छ ।
म पनि केन्द्रको निर्देशन यस्तो छ भनेर उता खबर गरिरहन्थँे । पछिल्लो पटक केन्द्रबाट अधिकार प्रत्यायोजन गरिएको बारे व्यहोराको पत्र प्राप्त हुन्छ । राप्ती साहित्य परिषद् पूर्वी रुकुमले २०७८ बैशाख ४ गते जिल्ला अधिवेशन गर्ने मिति तय गरेको सूचना सार्वजनिक हुन्छ । केन्द्रको परिपत्र तथा आयोजकको निम्तोनुसार म पूर्वी रुकुमको प्रथम साहित्यिक अधिवेशनमा सहभागी बन्न हिजै टिकट लिएर तम्तयार हुन्छु ।
उनीले पनि समयमै अर्नी तयार गरिदिन्छिन् । समयले किन पर्खिन्थ्यो ? सिंगार पटार गर्दागर्दै बिहानी ७ः०० बजेको पत्तै भएन । “अइलै ढिलो होला होई ? चाँरो सत्या भइगो ।” उनीले पनि पटकपटक सचेत गराउँथिन । “ह्याँ काउन्टरबाट गाडी हिँडिसक्यो । तपाई सेरिगाउँ आउनुहोस् है ?” काउन्टरबाट आएको खबरले झस्काउँछ । हत्तपत्त कपडा पहिरिन थाल्छु । “जाँतिर लगन हुँइतिर हगन भन्दाइनी पैलै सत्या प हुन्छ । केई सरसामान बिर्सेलान् । म ता आफ्नो काममा लाइग्याँ । नाम्रोसँग जानु शुभयात्रा ।” छोराकी आमाले सम्झाउँदै आशिक दिन्छन् ।
म हस्याङ्फस्याङ गर्दै डुक्रिन्छु सेरिगाउँ विद्यालयतिर । जिब चालकले फोन गरेछन् । मेरो मोबाइलले मौन वर्त लिएको रहेछ । यमुनानन्द नमूना माध्यमिक विद्यालय नजिकै पुगी समय हेर्न गोजीभित्रको मोबाइल निकाल्दा अपरिचित नम्बरबाट फोन आइरहेको देखिन्छ । “तपाई फोन किन उठाउनु हुन्न हँ ? रुकुमकोट जाने हो तपाई ?” हत्त न पत्त मोबाइल कान्मा कोच्दा रिसाएको आवाजमा प्रश्न गरेको सुन्छु ।
“हो हजुर जाने हो । म आइरहेको छु है हजुर ?” रिसको बिस मार्नेगरी मैले पनि संक्षेपमै गाडीवाला भएको शंका गर्दै जवाफ फर्काएँ ।
“हामी सितलपोख्री पुगिसकियौँ । काँ हुनुहुन्छ तपाई ?” त्यो आवाजले मलाई निक्कै अत्यायो । अब के गर्ने ? आज रुकुमकोट नपुगेता बरबातै हुन्छ । राप्ती साहित्य परिषद्को निर्देशन अवज्ञा गरेको तथा पूर्वी रुकुम शाखालाई धोका दिएको ठहरिन्छ । अब के गर्ने होला ? “म, म सेरीगाउँको स्कूल अगाडि छु हजुर ।” लरबराएको आवाज सहित जवाफ फर्काउछु । “काँति हुनुहुन्छ तो ? स्कूल अगाडि त गाडी छ ।” त्यो कथनले मलाई कदम बढाउन प्रेरित गर्छ ।
केही कदममै गाडी भेटाउछु ।
“यी यताबाट आउनुहोस् ।” ड्राइबर भाइले शिष्ट भाषामा गाडीको ढोका खोल्दै मलाई ३ नम्बर सिटमा बसाल्छन् । यतिबेला बिहानको ७ः १५ बजेको हुन्छ । उनी फोनमा बोल्नेजस्ता कत्ति देखिन्थे । वास्तविक व्यवहारमा त्यस्ता रहेन्छन् । हँसिलो चेहरा, बलियो शरीर, निक्कै पूmर्तिला, जाँगरिला मृदुभाषी पो रहेछन् ।
गडीभित्र सवार १७ जना मध्ये चेली दिपसिका ओली र राजनीतिज्ञ तथा समाजसेवी भिउमान घर्ति मगर बाहेक अरु १४ जना सबै अपरिचित थिए । कोही पश्चिमका त कोही पूर्वका रहेको कुरा उनीहरूका लवजबाट वोध हुँन्थ्यो । गाडी शितलपोखरी पुगेको थियो । मोबाइलमा सिडिएमबाट सन्देश आयो । “कत्ता पुगियो भइ ? यहाँ आउने पाहुनाहरूको संख्या कति छ ?” बोली सुन्दा फत्ते दिदीको रहेछ । जलपान व्यवस्थापनको लागि जानकारी लिन खोजेको व्यहोरा अवगत हुन्छ । “अहिले म मात्रै छु दिदी । गिरिजी हिजै पुग्नु भयोहोला । त्यतै कतै हुनुहोला ।” दिदीलाई जानकारी गराउँछु ।
हामी सँख नजिक पुग्दै थियौँ । “सर नस्कार । कत्ता पुग्नु भयो सर ?” गोविन्दजीबाट सोधनी हुन्छ । “म साँख पुग्न थाले । थप कुराकानी त्यही भेटपछि गरौँला है त गोविन्दजी ?” म पनि फोनबाटै जवाफ दिन्छु । “ए, हुन्छ सर । यतै भेटौँला राम्रोसँग आउनुहोला ।” फोनमै गोबिन्दजी बोल्छन् ।
हाम्रो भन्दा पछाडीका सिटमा अरु चारजना किशोरकिसोरी पनि बसेका हुन्छन् । उनीहरू मध्येका एकजना निदाएका हुन या निदाएको बहाना गरेका हुन ? या त छाद रोक्ने विधि गरेका हुन ? उनै जानुन । मेरो छिमेकी किशोरीको गर्धनलाई सिरानी बनाएर निदाएजस्तो गरेका हुन्थे । घरिघरि उनले मेरा काँधमा कुइनो बिझाउँछन् । उनको त्यो व्यवहार निउ खोज्ने, साँदी चाप्ने र सताउने फटाहा छिमेकी जस्तै लाग्थ्यो । केही बेरमै हामी साँखमा पुग्छौँ । त्यहाँबाट साँख दहको सम्पूर्ण चेहरा दायाँ नजरमै अटाउँछ ।
“अइ, त्याँतिरौं ताल च्याउतै ? कस्तो नाम्रो नि ?” मसँगै बसेकी किशोरीले आफ्नो समूहकालाई सुनाउछिन् ।
“त्यो साँख दह हो । त्यही ठाउँमा पापिनीको मेला लाग्छ ।” आपूmले जानेको कुरा बताउनु असल कर्तव्य ठानी म अनुभवी कहलिन्छु ।
“हाई तित्तिरै रह्च तो नि ? पापीनीयौँ मेला लाग्ने ठाउँ । ह्याँ ता म कैलै आइछुइन लाई ।” किशोरी सुनाउछिन् ।
हामीले दुई पखेरा काटिसकेका हुन्छौँ । “ऊ त्यो बयर द हो नानी । मैले एकचोटी फेसबुक्नु हालेई थ्याँ तो ? हो त्यो फुटो तित्तिरै खिच्याउ हो नानी ।” किशोरीकी भाउज्यूले पछाडिबाट सुनाउछिन् ।
“त्याँ ता पानीयौँ नाउनिसानै छैन क्यारै ? त्यस्तो पनि द हुन्च तो लाई भाउज्यू ?” हाँस्दै किशोरी बोल्छिन् ।
“अचेल प छैन र ? बर्खा ता लाई डम्मै हुन्चए नानी ।” भाउज्यू सुनाउछिन् ।
अघि पछिका साथीहरू आ–आफ्ना समूहमा कुरा गर्छन । अगाडिका साथीहरूले आफ्नै मातृभाषामा कुरा गर्थे भने पछाडिकाहरू चाँहि नेपाली भाषामै बोलेको सुनिन्थ्यो । मसँग राम्रो चिनारी भएका वारिपारिका प्राकृतिक सम्पदाहरूसँग पिरती गाँस्ने रहर हुँदाहुँदै पनि तुवालोले घपक्कै ढोकेकोले मेरो इच्छा अधुरै रहन्थ्यो । “आज पक्कै पानी पर्छ होला ।” पूर्व अनुमान गर्दै ड्राइवर गाडी कुदाउँछन् ।
मध्यपहाडी सडक खण्डको घोरखानी पाखामा भिरालो ढाँङढङकारलाई छिचोल्दै गएको त्यो सडक निक्कै साँगुरो र बिकट देखिन्थ्यो । अन्यत्रको सडकले रूप फेरेता पनि त्यहाँनेर उहिल्यैदेखि उस्ताकोउस्तै देखिन्थ्यो । घोरखाँनी दुई जिल्लाको साँधीदेखि झनै कच्चीबाटो देखिन्छ ।
“मलाई फलानीया पोइले फुन ग¥याउथ्यो ।” खितिति खित्किदै किशोरीकी भाउज्यूले सुनाउछिन् ।
“अई उता दाजुले चालपाइकन मार्ननन् होई भाउज्यू ?” किशोरीले झस्काउछिन् ।
“मारीमाङ्नेस्तो मैले क्यारेई छु र ? लाई ऊले ग¥याउ फुन ता उठाई हुँ क्यारै ।” गम्भिर बन्दै भाउज्यू बोल्छिन् ।
गाडीभित्रका केही यात्रुहरूको मनोविज्ञानले भ्रमणको बहानामा आफ्नो इच्छा र चाहना परिपूर्तिको वातावरण बनाउने सम्भावना देखाउथ्यो । अभिभावकबाट चाहिँ सहजिकरण हुनेमा उनीहरू ढुक्कै देखिन्थे ।
गाडीले हामीलाई सवा नौ बजेतिर छिप्रिदहमा पु¥याउँछ । हामी सबै त्यही ओर्लिन्छौँ । त्यहाँबाट आ–आफ्नो गन्तव्यतिर नजर सोभ्mयाउँछौँ । म पनि रुकुमकोट उपत्यकामा पुगेको खबर दिदीलाई गराउँछु ।
“म अहिले सहकारीको कार्यक्रममा व्यस्त छु । पाहुनाहरूको स्वागत तथा भोजनको लागि शिवबाबुलाई जिम्मा छ । त्यही खानपिन गर्नु । म चाहिँ केहीबेरमै आउछु है बाबु ?” दिदीबाट सुन्न पुग्छु । भिउमानजीको निर्देशनमा उनीसँगै हिँड्न थाल्छु । पन्ध्रबीस पाइला उठाउनेबित्तिकै गिरिप्रसाद र शिवजीसँग जम्काभेट हुन्छ । मलाई ढुङ्गा खोज्दा देउता मिलझँै भयो । हामी तीन जना त्यहीँबाट फिर्ता भयौँ । शिवजीले सिस्ने ६, छिप्रिदह रुकुमकोट स्थित द्वारीका खाजा घरमा पु¥याउँछन् ।
“हाम्रो लागि घरमा खाना तयार छ । हामी खाएर आउछौँ है सर ?” शिवजी मबाट अनुमती माग्छन् । “हवस् हजुर, खायो बलियो भोको थल्लियो । बरु छिट्टै खाएर आउनुहोस् है ?” मैले साथीहरूलाई सहजिकरण गरिदिएँ । मेरो लागि त्यही होटेलमा भोजनको व्यवस्थापन गरी शिव र गिरिजी बाहिरिन्छन् ।
खाना पाक्दै हुन्छ । बाथरुममा पुगी अनुहार तथा हातखुट्टामा पानी हाली म पनि बाहिर निस्कन्छु । साथीहरूसँग फोन सम्पर्क गर्नपुग्छु । विष्टजी नजिकै पुगेको जाकारी हुन्छ । साहित्यकार पूर्ण ओलीले रुकुम (पूर्व) शाखालाई शुभकामना सन्देश पठाएको जानकारी गराउँछन् । तत्काल शिवकुमार शर्मा गुरुबाट पनि अधिवेशन सफलताको शुभकामना प्राप्त हुन्छ । केही बेरमै अन्य साथीहरू पनि त्यहाँ पुग्छन् । तत्कालै राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) को तदर्थ समितिका संयोजक फत्तेकुमारी ओली दिदीबाट न्यानो स्वागत प्राप्त हुन्छ ।
“अरु साथीहरूलाई पनि खबर गर्नु प¥यो । अहिले म जान्छु । हामी ठिक १२ बजे कार्यक्रम स्थलमा भेटम है बाबु ?” दिदीबाट अनुमति माग हुन्छ ।
“हामी पनि खाना खाएर एकछिन कमल दहमा सयर गर्छौं । त्यतिन्जेलसम्म हजुरहरू तयारी गर्दैगर्नुहोस् ।” यहाँ आएको मौकामा आन्तरिक पर्यटक बनी कमल दहसँग प्रीति गाँस्ने इरादा प्रकट गर्छु ।
“तपाइहरू आनन्दले खाना खानुहोस् । म चाँहि यो पुस्तक पढ्छु ।” विष्टजी र मैले भोजन गर्दागर्र्दै गिरिजी जितौरी कथासंग्रह अध्ययन गर्न थाल्छन् । द्वारिका खाजा घरको स्वादिलो भोजन निलेर हामी कमल दहको अवलोकनमा निस्किन्छौँ ।
नेपालको नक्सासँग आकृति मिल्ने कमल दहको मुखैमा प्रवेशद्वार रहेछ । दहको चारैतिर तारजालीको व्यवस्था गरिएको रहेछ । एकातिर आफ्नो सुरक्षा तथा संरक्षणको व्यवस्थापन हुन थालेकोले कमल दहको मुहार निक्कै हँसिलोतँसिलो देखिन्छ । अकोतर्पm दहको सुन्दरतालाई पलाष्टिकजन्य वस्तुले कुरुप बनाउने अभियानमा जुटेजस्तो लाग्थ्यो ।
“कालान्तरमा यो तालको भविष्य खतरा देखिन्छ गाँठे । यो सुकेपछि त त्यहाँ मानव वस्ति बस्छ होला ।” कमानसिंह विष्टले चिन्ता व्यक्त गर्छन् ।
“यो ताल तालै भैरहनुपर्छ भन्ने के छ र ? ताल सुकेर मानव वस्ति बस्नु पनि राम्रै त होला ।” गिरिजीले द्वन्द्धात्मक भौतिकवाद मिश्रित विचार व्यक्त गर्छन् ।
तालमा बस्ने तालचरीले पर्यटकहरूलाई मोहित पार्दारहेछन् ।
“तिनी पंछीले यो तालाललाई नै संसार बनाउँछन् । तिनीहरूले त्यही खोर (गुड) बनाएर बच्चा कोरल्छन् ।” बुढाजीले बताए, “तिनीहरूलाई ढुङ्गाले हिर्काउदा पानीभित्र लुक्छन् । अनि अलिपर निस्किन्छन् ।” विष्ट तालचरीहरूको दुष्मनबाट बच्ने कलात्मक विशेषता सुनाउँछन् ।
रुकुमकोट ५२ पोखरी ५३ टाकुरीले समेत परिचित छ । यो रमणीय उपत्यकालाई पूर्वको लोरी लेख, पश्चिमको नद्द्वा लेख, उत्तरको चारगाउँ लेख तथा दक्षिणको खोर्चाले लेखहरूले रातदिन पहरा दिइरहेका हुँदारहेछन् । त्यहाँ निर्मित दरबारजस्ता घरबारहरू र पाखापखेरी गाउँबस्तीका खरबार तथा झुप्राहरूबीच वर्गीय विभेद बल्झेलाझैँ देखिन्थ्यो । त्यहाँ प्राकृति स्वरुपलाई मानवीय स्वार्थका कारण भत्काउने र कुरुप बनाउने प्रवृतिबाट त्यो पनि अछुतो देखिन्नथ्यो ।
“दुइटा जिल्ला भइकन केही फरक परेको थिएन । आफ्नो कामकाजी सजिलोका लागि मानवले प्रशासनिक संरचनामा हेरफेर गर्नु जार्दो कार्य होइन । हेर बाबु, ह्याँ झकडाको बिउ उम्रिकन अनावश्यक द्वन्द्वको सृजना हुन खोज्दा मेरो चित्त दुखिरहन्छ । जिल्लाबासी सबै मानव मेरै सन्तान हुन । तसर्थ सबै मानवजाति आपसमा मिलेर बसेको हेर्ने मेरो इच्छा र चाहना छ ।” ५२ पोखरीकि नायिका कमल दह ओरिपरि सयर गर्ने क्रममा त्यस दहमा बिराजमान रुक्मिणी माताले भावुक मुद्रामा आफ्नो गुनासो सुनाउँथिन ।
“नेपाल जस्तै कमल दह, हेर्दा छैन झर्को
नम्बरी एक सुनभन्दा दुई चार आना जर्को ।”
अत्यन्त सुन्दरी कमल दहमा सयर गर्दा यिनी ठाडीभाकारुपी गेडा निस्किन्छन् । दहलाई संसार बनाएका पंछी तथा जीवले पर्यटकहरूलाई गीत संगीतबाट स्वागत गर्दारहेछन् । उनीहरूको त्यो सांगीतिक प्रस्तुतीले हामीलाई निक्कै लोभ्याउथ्यो । त्यहाँ पुगेका मानवनिर्मित आधुनिक साधनहरू सुर्रिदै जतिसुकै सिंगौरी खेलेता पनि तिनीलाई पहरा दिइरहेका गगनचुम्बी शिखरहरू कहिल्यै डग्मगाएको देखिदैन्थ्यो । समग्रमा पूर्वी रुकुम नै प्रकृतिको रमणीय भूमी हो । बिभिन्न बहानामा एउटै घरका बन्धुले आपसमा तानाखिची र विवाद गर्नु जायज नभएको सन्देश त्यहाँका रमणीय श्रृंखलाहरूले दिन्थे । छोटै समयको सयरबाट हामीमा ज्ञानको भकारी भरिन्छ । कमलदहसँग गहिरो पिरती गाँस्दै आन्तरिक पर्यटक गिरिप्रसाद बुढा, कमानसिंह बिष्ट, गोबिन्द पुन ‘गिरिश’ र म कार्यक्रम स्थल छिप्रिदह तर्फ मोडिन्छौँ ।
निर्धारित समयमै हामी छिप्रि दह स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको गेटमा पुग्छौँ ।
“अतिथिले आयोजकलाई खोज्ने स्थिति आउछ कि नि सर ?” हाँस्दै गिरिजी मैले मात्र सुन्ने गरी बोल्छन् ।
“त्यसो नहोला हजुर । दुई जना आयोजक हामीसँगै छन् ।” म पनि मुस्काउँदै सुनाउछु ।
“म अलि ढिला गरेँ क्षेमा पाऊँ है ?” हामी पुगेको केही मिनेटमै व्यानर लगायतका सामाग्री सहित पुगेकी फत्ते दिदीले सुनाउँछिन् ।
“होइन दिदी, हामी पनि भरखरै आएका हौँ ।” दिदीलाई सुनाउँछु । हामी केही बेर गेटपालेलाई पर्खिन्छौँ । लगतै पुगेका पालेले गेटको ताला खोल्छन् । हामी विद्यालय हाताभित्र प्रवेश गर्छाैँ । विद्यालयको उत्तर पश्चिमतिरको सभाहलमा हामी पुग्छौं । कार्यक्रम त्यसैमा गर्ने तयारी भइरहेको रहेछ । त्यहाँ पनि कुची नहुँदा केहीबेर हामी बाहिरै बस्छौँ । केहीबेरमै तीनजना अतिथिहरू र केही बालबालिकाको आगमन हुन्छ ।
“अरु साथीहरू आउदासम्म कार्यक्रमको रुपरेखा तयार पारौँ साथी हो । पछि सजिलो होला । नि सर ?” गिरिजीले उचित समयमा उचित सल्लाह दिन्छन् ।
अन्य साथीहरू पुग्नुभन्दा पहिले केही पानीका थोपा सहित आँधीघुँइटो आइपुग्छ । हामी ओत लाग्न विद्यालयको कोलियामा पुग्छौँ । आँधीहुरीले हामीलाई खुबै पछ्याइरहन्छ । लामो खडेरीले भंकटाटी भएको छारो ह्वास्स मुखमा कोच्चिन पुग्छ ।
“यहाँ त कुनै पनि कोठा खुल्ला छैनन । सबैमा ताला लागेको छ । कार्यालय सहयोगीलाई आँधीले छेकिहाल्यो । अब कता गर्ने हो त कार्यक्रम ?” भन्दै स्थानीय साथीहरू अल्मलमा परिरहेका देखिन्थे । “माथिका दुइटा कोठा खाली छन् ।” साना बालबालिकाहरू खबर ल्याउछन् । हामी सबै माथिल्लो तलामा उक्लिन्छौँ । भविष्यका कर्णधार ती साना नानीहरूलाई धन्यवाद दिन्छौं जस्ले कार्यक्रम गर्ने उपयुक्त स्थान पत्ता लगाएका हुन्छन् ।
टिनको छानो भएकोले त्यहाँ लामोसमयसम्म वर्षा भएमा असर गर्न सक्छ भन्ने अनुमान सबैले गर्छौ । “हामी कार्यक्रम शुरु गरिहालौँ साथीहरू आउदै गर्छन ।” हलमा उपस्थित सबैको एउटै मत जाहेर हुन्छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) को प्रथम साधारण सभा छिप्रि दह स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा मितिः २०७८ बैशाख ४ गते शनिबारका दिन पूर्वी रुकुम शाखा तदर्थ समितिका संयोजक फत्तेकुमारी ओलीको अध्यक्षतामा सम्पन्न हुनपुग्छ ।
यस कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष मनलाल ओलीको प्रमुख आतिथ्यता रहन्छ । उक्त कार्यक्रमका विशेष अतिथि प्रगतिशील लेखक संघ कर्णाली प्रदेशका अध्यक्ष गिरिप्रसाद बुढा, अतिथिहरूमा राजनीतिज्ञ तथा समाजसेवी नन्दलाल शर्मा, साहित्यकार तथा राजनीतिज्ञ भिमबहादुर खड्का, राजनीतिज्ञ तथा समाजसेवी टोपबहादुर ओली, रेडियो पूर्वी रुकुमका स्टेशन म्यानेजर अमित पुन, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष विष्णु देवकोटा, रेडियोकर्मी तथा सञ्चारकर्मीहरू विक्रम परियार, प्रभात गुरुङ, मीना केसी, जमुना गौतम, उर्मिला गौतम, सर्जना कार्की लगायतका हुन्छन् । गोबिन्द पुन ‘गिरीश’को स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन कमानसिंह विष्टले गर्छन् ।
उक्त कार्यक्रममा क्रमशः अटल गौतम, अनुजा गौतम, टिकाराम उपाध्या, मोहन बहादुर केसी, उर्मिला गौतम, चेतकुमार बिसी, शिवकुमार शाही, भुवनेश्वर उपाध्या, गोबिन्द पुन ‘गिरिश’, कमानसिंह विष्ट, भिमबहादुर खड्का, फत्ते कुमारी ओली, गिरिप्रसाद बुढा लगायतका स्रष्टाहरूले रचना वाचन गर्छन् । कार्यक्रमका प्रमुख अतिथिबाट उद्घाटन भएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम(पूर्व) को प्रथम साधारण सभालाई भिमबहादुर खड्का, टोपबहादुर ओली, नन्दलाल शर्मा, गिरिप्रसाद, बुढा, मनलाल ओलीले शुभकामना मन्तव्य दिन्छन् ।
उद्घाटन समारोह पश्चात बन्दसत्र शुरु हुन्छ । बन्दसत्रले तीन सदसीय अध्यक्ष मण्डल निर्माण गर्न पुग्छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्व तदर्थ समितिका संयोजक फत्ते कुमारी ओलीबाट सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुन्छ । बन्दसत्रबाट ९ सदस्यीय राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको कार्य समिति गठन हुन्छ जसमा अध्यक्ष कमानसिंह विष्ट, उपाध्यक्ष जमूना गौतम, सचिव शिवकुमार शाही, सह सचिव प्रभात गुरुङ, कोषध्यक्ष गोविन्द पुन ‘गिरिश’, सदस्यहरू क्रमश अमित पुन, उर्मिला गौतम, डिकेन्द्र कुमार शाह र भावना खड्का निर्वाचित हुन्छन् ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) तदर्थ समितिका पूर्व संयोजक फत्ते कुमारी ओली, भुवनेश्वर उपाध्या, मोहन बहादुर केसी र बसन्त पुन रहेको चार सदस्यीय सल्लाहकार समितिको अभिभावकत्वले त्यहाँको साहित्य छन्किने सम्भावना देखिन्छ ।
समयमा कार्यक्रम सकिएमा घर फर्किने योजना थियो । यतिबेला समय घर्किसकेको भयता पनि “गाडीको अवस्था के छ ?” भन्दै हामी काउन्टरतिर लाग्छौँ । “यहाँदेखि भोलि बिहान मात्र छुट्छन् हजुर गाडी । जानै पर्ने भए बरु ऊ त्यो सामान अन्लोेड गरिरहेको ट्रक जान सक्छ । बुभ्mनुहोस् त ?” चारजना मध्येका एक जनाले सल्लाहा दिन्छन् ।
“त्यही गएर बुझौँ न सर ?” म पनि जिद्धि गर्न पुग्छु ।
“यिनी ट्रकहरूको धेरै विश्वास नगर्नुहोस् है सर ? यिनीहरू बीच बाटोमै ट्याक्टर्नीसित छोट्टी बस्न पनि सक्छन् ।” मुस्काउदै गिरिजीले सुनाउँछन् ।
“कति जना हुनुहुन्छ ? हाम्रो जाने विचार त हो । के हुन्छ हेरौँ ? तैपनि अबको एक डेढ घण्टापछि आउनु न ।” ड्रक चालक बोल्छन् । गिरिजीले मामा भान्जाको लागि भोलि बिहान ६ बजेको टिकट लिन्छन् ।
गोविन्दजीले हामीलाई साँझको छाक टार्न सक्ने गरी टन्न खाजा खुवाउछन् । म चाँहि साथीहरूलाई आ–आफ्नो बासस्थानतर्पm जान सल्लाह दिन्छु । यो गाडी नगएमा म आउँछु । आश्वासन दिदै हामी तीन प्राणी छुटिन्छौँ । चालकले दिएको डेढ घण्टा समय बिताउन मलाई डेढ वर्षजति लाग्न थाल्छ । म गाडीको प्रतिक्षामा हुन्छु ।
“भाइ र गिरिबाबुलाई साँझको खाना मैले मेरै भान्सामा खुवाउने मानेइछु । मेरो घरमा आउनु प¥यो है बाबु ?” दिदीबाट पाहुनालाई स्वागत गर्ने इरादा प्रकट हुन्छ ।
“दिदीलाई धेरै धेरै धन्यवाद । म चाँहि एउटा ट्रक मुसिकोट जाने सम्भावना भएकोले हिड्छुहोला । अहिले नै हिँडेपछि भोलि डिउटीमा हाँजिर हुन सजिलो होला भनेर दिदी ।
गिरिजी बिहान जाने रे । उहाँलाई बुझ्नुहोला है त दिदी ?” आफ्नो कुरा प्रष्टसँग राख्नपुग्छु ।
“हुन्छ बाबु, त्यसो भए त के गर्ने र ? म गिरि बाबुलाई बुझम्ला है त ? ल त शुभयात्रा है बाबु ?” दिदीबाट प्राप्त आसिरवाद तथा शुभयात्रासँगै ट्रक चालकलाई बुझ्न पुग्छु ।
“के छ हिड्ने हुन्छ त गुरु ?” म चासोपूर्वक सोध्न पुग्छु ।
“सामान अझै झरिसकेको छैन । साहुले भाडा दिनु न दिनु ? त्यसैले जाने भयो भने म तपाइँलाई खबर गरौँला है ?” ट्रकवालासँग बुझ्दा यस्तो उत्तर आउँछ ।
मलाई समय बिताउन निक्कै छट्पटी लाग्न थाल्छ । मध्यपहाडी सडकको किनारामा गएर उभिन पुग्छु ।
“ट्रकको यात्रा त्यो पनि रातीको ? अहिले नजानुहोस है बाबा ? बरु बिहान सबेरै जानुहोला ।” सङ्घीय राजधानीबाट पुत्रीहरू सम्झाउँछिन् । मनभित्र थुप्रै भावनाले तँछाडमछाड गर्न थाल्छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण जोड्ने यो राजमार्ग सञ्चालनमा आएको हुँदो हो त यतिखेर घर पुगी बिस्तरामा लम्पसार परी “हाहाई” गर्दै निद्रादेवीलाई आमन्त्रण भइसक्थ्यो होला । कल्पनाको सागरमा डुबुल्कि मारिरहेको हुन्छु । आज यो ट्रक हिडेन भने मेरो बास कता हुन्छ ? यदि समयमा सम्पर्क हुँदो हो त यो उपत्यकामा साथी, आफन्त, नातागोता, चिनारु गनि नसकिने थिए । यहाँ एक रात मात्र होइन महिनौँका सिंगा रातहरू पनि गुजार्न सकिने सञ्जाल छ । तर आजको रातलाई पो कसरी बिदाई गर्ने होला ? समय सूचकले रातको नौ बजाउनै थालेको संकेत गर्छ । बाउन्न पोखरीका दर्जनौँ समूहका भ्यागुताको दोहरीले रात गुञ्जिरहेको हुन्छ ।
कुरोकानी बुझ्दा तिनी ट्रकवाला आज नजाने पक्का निधो भइसकेपछि मलाई थप तनावले चिमोट्न थाल्छ । तनावको बिउ पनि धेरै ठूलो कहाँ हुँदो रहेछ र ? बिहान साइत गर्दाबेला लक्ष्मीलाई खल्तीभित्र बसाउन नबिर्सेको भए अहिले जुन होटेलका विस्तरामा पनि सयन गर्न पाइहालिन्थ्यो ।
“किन रुन्छस् मङ्गले आफ्नै ढङ्गले” भनेझैँ सुन्सान रातमा सडकको किनारमा उभिएर नानाभाँती तुथाउनुको कुनै अर्थ थिएन । यो रातीको समयमा धेरै साथीहरूलाई सम्झिन खोज्नु पनि रात धकेल्नु र बिहानको यात्रालाई समेत पछाडि घचेट्नु मात्रै हो । आफ्नै मनसँगको लामो छलफल र वहसपश्चात गोबिन्दजीको फोनमा नजर लाग्छ ।
“त्यो ट्रकलाई अहिले नगुडाउने रे । त्यहाँ तपाइँसँग सुत्ने व्यवस्था छ र गोबिन्दजी ?” निर्धक्कसँग सोध्न पुग्छु ।
“छ सर छ, आउनुहोस् । सडकसडकै आउनुहोस् एउटा ठूलो रुख छ । त्योदेखि अगाडि केही गाडिहरू पनि छन् । म पनि बाहिर निस्किन्छु सर ।” गोबिन्दजीको यो भनाइले मलाई “के खोज्छस काँना आँखो” झैँ भयो । उनले दिएको निर्देशन अनुसार केही कदम बढाउदै गर्दा ठक्रक्कै पुगियो ।
“हजुरले खाना खानुहोस् । त्यसपछि सुत्न जाम्ला सर ।” गोबिन्दजीले सुनाउछन् ।
“हैन बाबु, मलाई खाना खाने इच्छा छैन । बरु कोठामा जाम है ?” बिचारै नगरी आफ्नो विचार पोख्छु । कुनै कुनै होटेलका साहुले खाना नखाए त बास बस्नै दिदैनन रे । तर त्यो होटेलका साहु खुबै जातीका रहेछन् ।
“खाना नखाने भए तपाइँहरू सुत्न गइहाल्नुहोस् कोठामा ।” उनले मिजाशिलो भाषामा सुनाउँछन् । “हस् हजुर ।” भन्दै हामी कोठातिर लाग्छौं । एटेजवाल कोठाभित्र दुई ओटा चारपाई रहेछन् । म एटेजमा पसी दिउँसोको धुलोमैलो पखाल्छु अनि ओछ्यानमा लम्पसार गर्न पुग्छु ।
“कस्तो भयो कार्यक्रम ? नयाँ कार्य समितिमा को को आउनु भयो ?” पूर्णजीबाट सोधनी हुन्छ । पत्रकार समेत भएकोले गोबिन्दजीलाई रिपोटिङ गर्न फोन दिन्छु । उनले पनि ताजा विवरण रिर्पोटिङ गर्छन्् । फोन सम्वाद पश्चात उनी अनलाइनमा बस्छन् । म चाँहि निद्रामा पस्छु ।
बिउझिदा रुकुमकोटका भालेको तीखो र खिर्रो आवाज सुनिन्छ । “म हिड्छु सर ? गाडी अलिपछि जान्छ होला । हजुर राम्रोसँग जानुहोला है सर ?” ढोका खोल्दै गोबिन्द सुनाउँछन् ।
“ल हुन्छ, शुभ यात्रा बाबु । म पनि अब गाडीको इन्तिजारमा निस्किन्छु ।” गोबिन्दजीलाई जवाफ फर्काउछु । कालेकल्चुको कासनसँगै म पनि बाहिर निस्किन्छु ।
“यी पुस्तकहरू बिमला रोकालाई दिनुहोला है साहुजी ?” पूर्णजीका यालमाया र जितौरी आठ थान पुस्तकको पोको नविन होटेलका साहुजीलाई नासोका रुपमा जिम्मा लगाई त्यहाँबाट निस्किन्छु । आजको बाहिरी वातावरणले अर्कै संसारमा उभिएजस्तो बनाउँछ । रुकुमकोटलाई सुरक्षा दिइरहेका शिखरहरूमा हिउँको चाङ देखिन्छ । तुवालोले गर्दा अघिल्लो दिनसम्म नजिकैको स्थान नदेखिने हुन्थ्यो भने आज धेरै परसम्मको दूरी देखिन्छ । दोबाटोमा गाडी पर्खिरहेका यात्रुहरू देखिए । म पनि काउन्टरतिर नगएरै गाडी पर्खिने सोचका साथ त्यही उभिन पुग्छु ।
“खलंगा जाने गाडी कति बजे आउँछ ?” म सोध्न पुग्छु ।
“अब आने बेला हुन लागो । पौना छे बजे आन्छ होला ।” मोबाइल खेलाउदै गरेकी एक जना नानीले जवाफ दिन्छिन् ।
“तपाइँले हिजै टिकट लिई सक्नु भएको हो ?” म प्रश्न गर्न पुग्छु ।
“हाम्टा टिकट कैलै काट्डैनम् ब । सबै कुरा फोनबाट् चल्छ ।” नानीले प्रविधिको प्रयोग गर्न सन्देशमूलक जवाफ दिन्छिन् । तत्कालै “प्वाँ प्वाँ प्वाँ” गर्दै गाडी हामीतिर आउँछ । “उतागएर छिट्टै फर्किन्छु ।” साङ्कित भाषामा बोल्दै गाडी कमल दहतिर हुइकिन्छ । “तपाइको गाडी कतिखेर हिड्छ सर ?” गिरिजीलाई फोनद्वारा सोध्न पुग्छु । “अहिलेसम्म केही सुरसार छैन । तपाई त जुन पहिला आउँछ त्यसैमा जानुहोला है सर ?” उनले मलाई सल्लाह दिन्छन् । हाम्रा कुरा पनि सकिन्छन्, गाडी पनि आइपुग्छ ।
हामीलाई बोकेर गाडी झिङ्रीको पाखोमा पुग्छ । “जाँत्ति पात्लो हुइती चुने” भनेझैं सजिलो ठाउँमा चौडा सडक हुनु, अफ्ठेरो ठाउँमा साँगुरो हुनु विशेषता हो या संयोग ? तलतिर चरो लोटे पनि नअडिने छाङ्ङो हुन्छ । गाडी उतैतिर ढल्किदै गुड्छ । क्याबिनमा बसेका सबै तर्सिन्छौं । “सातो गइयो कि ?” हाँस्दै र गाडी हाँक्दै चालक भाइ सुनाउछन् । “आँनी नडराएर के गर्ने ट ? आँपूmले, जाँटिर् अखट्टे हुँइटिर् गाडी लट्काने ?” नानीले सुनाउँछिन् ।
“तपाइँहरू कहिले काँही हिड्ने यात्रु हो । म चाहिँ दिनमा दुई पटक ओहरदोहर गर्छु । मलाई झन कस्तो हुन्छ होला ?” चालकले आफ्नो पीडा व्यक्त गर्छन् । त्यहाँ पुग्ने यात्रुहरूलाई जति डर, त्रास हुन्छ, सडक निर्माणको जिम्मा लिएकाहरू त्यसको कयौँ गुणा हर्ष र खुसीले उन्मत्त हुन्छन् होला । किनकि कसैको जीवनसँग जति खेलवाड ग¥यो त्यति धनको थुप्रो लाग्छ होला । धेरै स्थानका सडक खण्डहरूमा कयौं महिनादेखि माटो, बालुवा, गिट्टी थुपार्ने र दुर्घटनाको जोखिम कहिलेसम्म निम्त्याउने ?
खोपिचारको शिरमा अवस्थि नौबहिनीहरूका मुहार निक्कै हँसिला देखिन्थे । अघिल्लो दिन रिसाए जस्तो कालो र अँध्यारो देखिने त्यो उत्तरको सिस्ने हिमाल (मुरकाटे हिउँचुली) को चेहरा आज विवाह मण्डपमा बसेका दुलाहझैँ देखिन्छ । त्यत्रो विशाल क्षेत्र शिरदेखि पाउसम्म चाँदीरुपी हिउँले ढोकेको हुन्छ । कस्तो लोभलाग्दो सिस्टम ? कति जाँगरिला ज्यामी ? एकै रातको केही घण्टामै त्यत्रो कायपलट ? अनुशरण गर्ने हो भने मान्छेलाई प्रकृतिले धेरै सिकाएको छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गको पश्चिम रुकुमको किटेनी र पूर्वी रुकुमको झिङ्रीका अति जोखिम स्थान आम्नेसाम्ने रहेका छन् । यिनी ठाउँहरू ट्रयाक खोल्दा जुन अवस्थामा थिए अहिले पनि उही अवस्थामा देखिन्छन् ।
“त्यहाँको अखट्टे सडकले जुनी फेर्ने लगन कहिले जुर्छ होला ? कमल दहको सयर गर्ने आन्तरिक वा वाह्य पर्यटक तथा यात्रीहरूले ज्यान हत्केलामा राखी यात्रा गर्ने कहिलेसम्म ? त्यसको अनुगमन तथा नियमन गर्ने दायित्व कस्को हो ?” यस्तै यस्तै प्रश्न यात्रुहरूका मुखबाट ओरिन्छन् ।
यिनी मर्मस्पर्शी जिज्ञासा सुनिदिने कानलाई फुर्सद कहिले होला ?
(रुकुम पश्चिम)