प्रारम्भः
सोझो अर्थमा हेर्दा पुस्तक भनेको बुद्धि विकासका लागि तयार पारिएको अध्ययन सामग्री हो । पुस्तक एउटै विषयमा लेखिएको पनि हुन्छ र विभिन्न विषयमा लेखिएको पनि हुन्छ । एउटा पुस्तक एउटै लेखकद्वारा लेखिएको पनि हुन्छ र विभिन्न लेखकद्वारा लेखिएका सामग्रीहरू समावेश गरेर पनि तयार पारिन्छ ।
आज पुस्तकलाई बुद्धिवद्र्धक सामग्रीका रूपमा मात्र नलिई मनोरञ्जनको साधनका रूपमा पनि लिइन्छ । यस अर्थमा हेर्दा पुस्तक दुई किसिमका देखिन्छन् । पहिलो किसिमको पुस्तक हो सरले कक्षाकोठामा छात्रछात्रालाई अध्ययन गराउने, जुन पाठ्यक्रम समितिले क्रमानुसार तोकिदिएको हुन्छ । दोस्रो त्योभन्दा बेग्लै खाले हुन्छ, जसलाई अतिरिक्त पुस्तक भनिन्छ । कक्षाकोठामा गुरुद्वारा विज्ञान, गणित, अंग्रेजीजस्ता कठिन विषय पढेर थकित भएका बालमस्तिष्कलाई सुस्ताउन मौका दिने अर्थात् मनोरञ्जन गराउने पुस्तक अतिरिक्त पाठ्यपुस्तकभित्र पर्छन् । यस अर्थमा अतिरिक्त पाठ्यपुस्तक भन्नाले बालबालिकाको उमेरलाई सुहाउँदो गरी लेखिएका लोक कथा, आधुनिक कथा, चित्र कथा आदि कथाहरू, उपन्यास, गीत, गाउँखाने कथा, जीवनी आदिका पुस्तक हुन् भन्ने बुझिन्छ । त्यस्ता बालकका सामान्यतः तीन वर्षदेखि किशोरावस्थासम्मका लागि लेखिएको साहित्यलाई बाल साहित्य भनिन्छ ।
बाल साहित्यको विकास सबैभन्दा पहिले बेलायतमा भएको हो । कुनै बेला यो देश अरू राष्ट्रको तुलनामा चौतर्फी विकासमा अग्रिम पङ्क्तिमा रहेको थियो । यसै सन्दर्भमा बालकहरूको मानसिक विकासको खुराकका रूपमा त्यहाँ बाल साहित्यको विकास भएको हो । यस रूपमा हेर्दा पुस्तकलाई बालकको असल मित्रका रूपमा लिएर उनीहरूको स्वस्थ मानसिकताको विकास गर्ने उद्देश्यले त्यहाँ विकास भएको बुझिन्छ ।
आजका बालबालिका भोलिका विश्वका निर्माता हुन् । स्वस्थ शारीरिक तथा मानसिक विकास भएमात्र उनीहरूको स्वस्थ व्यक्तित्वको विकासको सम्भावना हुन्छ । बाल्यकालमा नै उनीहरूको स्वस्थ ढङ्गले मानसिक विकास गर्न पाएनन् भने भोलि उनीहरू स्वस्थ र सचेत नागरिक बन्न सक्दैनन् । प्राथमिक अवस्थादेखि नै उनीहरूले मानसिक खुराक पाएभने उनीहरूको बौद्धिक विकास पनि उचित ढङ्गले हुने मौका पाउँछ । यसका लागि घरायसी वातावरण, साथीहरूसँगको घुलमिलले मात्र पुग्दैन । त्यसका लागि उनीहरूको चाख र रुचिमा आधारित पाठ्यसामाग्रीको पनि आवश्यक हुन्छ ।
त्यस अतिरिक्त बाबुबाजे, आमा–बज्यै तथा गुरु आदिद्वारा रोचक ढङ्गले दिइएका अर्ती–उपदेशलाई पनि लिन सकिन्छ, तर त्यस्ता सामग्रीहरू पनि सीमित घेरामा रहेका हुन्छन् । आजको विश्वका समसामयिक गतिविधिहरू पनि सीमित घेरामा रहेका हुन्छन् । आजको विश्वका समसामयिक गतिविधिहरू सदैव सहज ढङ्गले उनीहरूबाट पर्याप्त मात्रामा प्राप्त गर्न सक्दैनन् । त्यसका लागि विभिन्न कुराहरू लेखिएका हुन्छन् । बालबालिकाको इच्छा र रुचि सबैको एउटै हुँदैन ।
आमाकै काखमा भएको बेला अर्थात् एक–दुई वर्षकै उमरमा उनीहरूको रुचिको विकास भइसकेको हुन्छ । त्यसैले कोही कथा सुन्न मन पराउँछन्, कोही गीत । जति–जति उनीहरूको उमेर छिप्पिँदै जान्छ त्यति–त्यति उनीहरूको रुचि पनि कुनै खास विषयमा निर्धारित हुँदै जान्छ । त्यस अवस्थामा उनीहरू सही पुस्तक पढेर नै आफ्नो मस्तिष्कलाई सही मार्गमा लैजाने मौका पाउँछन् । केटाकेटीहरूसँगको उठबसको सङ्गतले हामी पनि अनुभव गर्न सकछौँ । सात–आठ वर्षको केटालाई मोटर, हवाईजहाज, बाघ, भालु आदि भएका कथा रमाईलो लाग्न सक्छ । त्यही उमेरकी केटीलाई त्यो भन्दा भिन्न विषय भएको कथा मन पर्न सक्छ । यसबाट उनीहरू भविष्यमा कस्तो क्षेत्रतर्फ लाग्छन् भन्ने सङ्केत पाइन्छ । मोटर, हवाईजहाज, बाघभालु आदि मन पराउने केटा भविष्यमा पाइलट आदि बन्ने सम्भावना हुन्छ भने राजकुमारी, परी आदिको कथा मन पराउने केटी भविष्यमा ड्रेस डिजायनर, ब्यूटीसियन, आदि बन्ने सम्भावना हुन्छ । यसरी खास अवस्थामा उनीहरूले आफ्नो रुचिअनुसारको बाल पुस्तकलाई साथी बनाउने वा अध्ययन गर्ने मौका पाए भने त्यसबाट उनीहरूलाई ज्ञान, बुद्धि, सीप आदिको विकास हुन्छ ।
बेलायतबाट सुुरु भएको बाल साहित्यको विकास प्रथम विश्वयुद्धतिर अमेरिकामा पनि प¥यो । त्यहाँका शिक्षित तथा चेतनशील वर्गले बाल साहित्यको आवश्यकताको अनुभव गरी यसलाई विस्तारित गर्दै लगे । विस्तारै यो क्रम संसारका विभिन्न देशमा फैलियो । यसै क्रममा यसको आवश्यकताको बोध नेपालका बुद्धिजीवीहरूमा पनि प¥यो । फलस्वरूप बालबालिकाका लागि पाठ्यपुस्तकका साथै अतिरिक्त पुस्तक रचना गर्ने काम यहाँ पनि थालियो ।
पुस्तक किन पढिन्छ ?
मान्छे सधैँ प्रसन्न रहन चाहन्छ । यसका लागि केही खेल खेल्छन्, गीत गाउँछन्, कोही सिनेमा हेर्छन् भने कोही विभिन्न साहित्यक कृति पढेर मनोरञ्जन गर्छन् । पुस्तकले ज्ञान दिनका साथै मनोरञ्जन पनि प्रदान गर्छ । विभिन्न विषयमा सरल, सरस तथा सहज भाषाशैलीमा लेखिएको साहित्यले जुनसुकै व्यक्तिलाई पनि आनन्दानुभूति नगराई छाड्दैन । यसरी साहित्यिक कृतिहरू जस्तै उपन्यास, नाटक, काव्य, कथा, आदिले वयस्कहरूलाई आनन्द दिएर मनोरञ्जन दिन्छन् ।
आजको दु्रत विकसित वैज्ञानिक युगमा सबै कुरामा विकास भएको पाइन्छ । हाम्रा अग्रजहरूले बाल साहित्यको आस्वादन गर्न पाएनन् । उनीहरू मौखिक रूपमा लोक कथा, लोक गीत, दन्त्य कथामा नै सीमित रहे । त्यसपछिका पुस्ताले शिशु बोधिनी, नैतिक शिक्षा, पिँजराको सुगाजस्ता सुकोमल साहित्यको रसास्वादन गर्ने मौका पाए । आज हामीमा बाल साहित्यको आवश्यकताको चेतना जागृत भएकाले उनीहरूका लागि साहित्य सिर्जना गर्ने तर्फ चेतनशीलता जागृत भएको छ । पौराणिक कथा, हितोपदेश, पञ्चतन्त्र, नीतिकथा आदिबाट सुरु भएको बाल साहित्य आज आशलाग्दो रूपले विकसित हुँदै गएको छ ।
पुस्तकबाट फाइदा
पुस्तकबाट धेरै फाइदा लिन सकिन्छ । प्रथमतः पुस्तकले उनीहरूलाई मनोरञ्जन प्र्रदान गर्छ । पुस्तकको मूल प्रयोजन मनोरञ्जनका साथसाथै शिक्षा दिनु पनि हो । मनोरञ्जन गर्न पाएका बालबालिकाको मानसिक विकास स्वस्थ ढङ्गले भएको हुन्छ । स्वस्थ घरायसी वातावरणमा साहित्यिक खुराक पाएर हुर्कने मौका पाएका केटाकटी अरुको तुलनामा हँसिला, पूmर्तिला र रमाइला खाले हुन्छन्, यसबाट थाहा हुन्छ– पुस्तकले बालबालिकालाई मानसिक खुराक प्रदान गर्छ । त्यसैले पुस्तक उनीहरूको असल मित्र हो ।
पुस्तकले विभिन्न कुराको ज्ञान दिन्छ । बालमनोविज्ञान अनुसार उनीहरू आफूलाई वयस्कजस्तै सम्झन्छन् । उनीहरूलाई अरुले सानो, केटाकेटी, नजान्ने भनेको मन पर्दैन । उनीहरू आफू पनि बाबुआमाजस्तै जान्ने–सुन्ने र उनीहरूकै हाराहारीमा भएको सम्झन्छन् । मित्ररूपी किताबबाट नै उनीहरू यस्ता धेरै कुरा सिक्छन् । ठूलाबडाले दिएको अर्ती–उपदेश भन्दा उनीहरू किताबमा लेखकले दिएका अप्रत्यक्ष नैतिक सन्देशको पालना चाँडै गर्छन् । त्यही कुरा प्रत्यक्ष रूपमा उनीहरूलाई भन्दा उनीहरूको अहम्मा धक्का लाग्ने सम्भावना हुन्छ । यसरी हेर्दा पनि पुस्तक बालकको असल मित्रका रूपमा देखा पर्छ ।
बालपुस्तक विभिन्न विषयका धर्म, संस्कृति, देश–देशान्तरका बारेमा रचिएका अनूदित भएका हुन्छन् । त्यस्ता पुस्तकबाट उनीहरूलाई एकारित पर्याप्त मनोरञ्जन हुन्छ भने अर्कातिर विभिन्न देश–परदेश र धर्म–संस्कृतिबाटै अनगन्ती कुरा सिकाएको हुन्छ । पुस्तकले बालकलाई सृजनशील बनाउँछ । पाठ्यपुस्तकका अतिरिक्त पुस्तकको अध्ययन बालबालिकाका लागि कल्पनाशील हुन्छ । कल्पनाले उनीहरूको सृजनशीलताको अभिवृद्धि गर्छ ।
पुस्तकले शब्द–ढुकुटीको अभिवृद्धि गराई उनीहरूको भाषिक क्षमतालाई पनि विकसित गराउँछ । अतिरिक्त पुस्तक अध्ययन गर्ने बालबालिका स्पष्ट वक्ता, मिलनसार र उदार मानसिकता लिएर हुर्केका हुन्छन् । खुला मानसिकता भएका हुनाले उनीहरू प्रायः बहिर्मुखी र सहज स्वभावका हुन्छन् । उनीहरू नयाँ मान्छे, स्वदेशीसँग मात्र नभई विदेशीसँग पनि सजिलै घुलमिल गर्न सक्ने र मित्रता राख्न सक्ने खालका हुन्छन् ।
निचोड
पुस्तकको अध्ययनले बालबालिकाको चौतर्फीै विकासमा ठूलो टेवा पु¥याउने हुनाले यसको सिर्जना, प्रचार–प्रसार दु्रत गतिले हुनु अति आवश्यक देखिन्छ । विकसित क्षेत्रभित्र बस्ने बालबालिकाले मात्र नभई विकट र दुर्गम क्षेत्रमा बस्नेले पनि बाल साहित्यसम्बन्धी रसिला पुस्तकहरूको अध्ययन गर्ने सु–अवसर पाउनु पर्छ । यो उनीहरूको अधिकार पनि हो ।
(काठमाडौँ)