शिशुकालीन सम्झना अत्यन्त कम मात्रै छ ममा । केही बुझ्ने भएपछिको जीवन पनि सामान्य लेखपढ र आमालाई सघाउने उपक्रममैं बित्थ्यो म र मेरी दिदीको । त्यतिबेलाका काँठका अरू गाउँघरको जस्तै मेरो घर पनि काँचो इँटा र माटोको जोडाइको कच्ची थियो । त्यतिबेलाको सबै काँठजस्तै मेरो गाउँमा पनि माटोको जोडाइमा काँचै इँटाका बाक्लो गाह्रोले बनाइएका पातला घर हुन्थे । अहिलेजस्तो बाक्लो बस्ती थिएन । आम घरका छाना, पराल वा छ्वालीले छाइन्थे । अलि हुनेखानेको झिँगटी वा टायलको छानो हुन्थ्यो । यस्ता घर जाडोमा न्यानो र गर्मीमा शीतल हुन्थे ।
अहिलेजस्तो सिमेन्टीका चिसो घरको जङ्गल ठडिइसकेको थिएन । पछि आएर टीनको छाना हाल्ने होड चल्यो । काँठका मान्छे प्राय सामान्य पढलेखमा चित्त बुझाउँथे । उनीहरू सरकारी सिंदूर अर्थात जागिरलाई नै सबै कुरा मान्ने मानसिकतामा हुन्थे । त्यसैले अलिकति खेती र सानोतिनो जागिर गर्दा कतै पनि पूर्णता पाउन सक्दैनथे । जीवन निर्वाहकक्षमै सकिन्थ्यो । यसरी अघि बढेको काँठे जीवनपछि पराल छ्वालीका छाना र माटाको काँचा गाराबाट क्रमशः टीन र कङ्क्रिट अनि जागिर र पैतृक सम्पत्ति बेचेर किनिएको अपुताली आरामको जिन्दगीमा साटिँदै गयो ।
हाम्रो पुस्तासम्म धेरैका छोराछोरी अस्पताल वा प्रसूतिकेन्द्रमा नभएर घरकै अँध्यारो कोठामा जन्मे । आमाहरूलाई अत्यन्त पीडाप्रद तर मिठो प्रसव वेदना भोगाएर गाउँकै अनुभवी आमाबज्यैहरूले सुँडेनीको भूमिका पूरा गरे । जन्मेपछि पनि लुइपाश्चरको एन्टीसेप्टिकलाई चुनौती दिँदै अनुभवी आमाहरू लाग्ने हँसियाले शिशुहरूको नाल काटेर काटेको ठाउँमा तेलबेसारको लेप लाउँथे । माया मिसिएको स्नेहशिक्त शुद्ध तोरीको करुवा तेलमा घोलिएको बेसार आजको एन्टिसेप्टिक औषधि भन्दा कम चमत्कारी थिएन । आमा बज्यैहरू बिहान बेलुका भर्भराउँदो मकलमा बालेको आगोको न्यानो वा दिउँसो पारिलो घाममा शुद्ध तोरीको तेलको मासिल गर्थे । त्यसरी नै सिक्थे काँठका शिशुहरू जीवन सङ्घर्षमा लाप्पा खेल्ने पाठ । अहिलेजस्तो जन्मँदै बेबी लोसन र आत्मीयताविहीन बेबी सिटर तथा डे केयर सेन्टरको जिम्मा लाउने चलन थिएन त्यो बेला ।
गाउँको सामाजिक जीवन अत्यन्त सीमित घेरामा घुम्थ्यो । सीमित गतिविधि हुन्थे । आधुनिक मनोरञ्जन र आमोदप्रमोदका माध्यम केही थिएनन् । पार्टी भोजभतेर जे भने पनि सत्यनारायणको पूजा, तिथिश्राद्ध, दशैंतिहार र केही विशेष सङ्क्रान्तिजस्ता चाडपर्वका अवसर हुने गर्थे । तिनैबाट मनोरञ्जन लिने गरिन्थ्यो । तिनै पर्व तिथि चाडबाडमा हुने आफन्तसँगको भेटघाटले आपसी जमघटको अवसर दिन्थे । ती धार्मिक तिथि पर्व र चाडबाडभन्दा केही अलग खालको मनोरञ्जन भनेको मेलापर्ममा हुने दोहोरी र असारेजस्ता लोकगीतको गुञ्जन, साँझको बेला भदौतिर मकै स¥याउँदा जम्मा हुने छरछिमेकीका कुराकानी, गफगाफ र सुन्ने. सुनाइने दन्त्यकथा÷लोकथा हुने गर्थे । हिउँदको बेला वनभोज खाइन्थ्यो । नजिकैका वनपाखा र चौरहरूमा केही सीमित मान्छे जम्मा हुन्थ्यौं । कसले के ल्याउने भन्ने सल्लाह हुन्थ्यो ? कसैले चामल लान्थे, कसैले घरकै करेसाबरीमा फलेका रायोका साग वा अरू सागसब्जी । कसैले दूध दही लग्थे, कसैले घिउतेल र मरमसला । कसैले भाँडाकुँडा लान्थे । नजिकैको वनपाखामा अमलाको हाँगो गाडेर चुलोचम्को बनाइन्थ्यो । ठुला दाजु दिदी खाना बनाउँथे । रमाइलो गर्दै सबै मिलेर वनभोज खाइन्थ्यो । )
असार–साउनको हिलेखेतमा रोपाइँँको रौनक र त्यसको लगत्तै पर्ने साउने सङ्क्रान्ति लगायतका रमाइला दिन हाम्रा मनोरञ्जनका समय बन्थे । घरघरका युवा–वृद्ध सबैलाई रोपाइँँको चटारो हुन्थ्यो । बिहान घाम नझुल्कँदै काँधमा कोदाली भिरेर काखीमुनि पानी ओत्ने घुम च्याप्दै खेततिर लाग्थे । बाँस वा निगालो बुनेर बनाएको संरचनाभित्र सालको पात वा भोर्लाको पात छापेर पानी ओत्न बनाइने परम्परागत छाताको नाम नै घुम वा स्याखु थियो । त्यसको भित्रपटिृ शिरमा अडकाउने लुर्को हुन्थ्यो, ती लुर्कालाई कानको दुवैतिर अड्काई घुमलाई टाउकोमा अड्काएर दुवैहातले काम गरिन्थ्यो । पछि पातको साटो प्लाष्टिक राखेर बनाउने चलन सुरुभयो । त, पानीले गलेको माटो सम्याउने, पानी चुहिएर नजाओस भनी बलियोसँग आली लाउने, कति हो कति काम पनि ।
महिला पुरुष सँगसँगै हातेमालो गर्थे यी काममा । त्यति गरेर तयारी पूरा भएपछि रोपाइँँ हुन्थ्यो । कोही बाइस पच्चिस दिन अगाडि नै माटो केलाएर बनाएको व्याडमा छरेर रोप्न ठिक्क हलक्क उमे्रको बीउ काढ्थे र मुठा मुठा बनाउँथे । कोही त्यो बीउको मुठा लगेर बाउसे (लोग्नेमान्छे) हरूले कोदाली नचाउँदै माटो सम्याएको हिलो खेतमा पाँज्थे ।
महिलाहरू लहरै लाम लागेर पूरै खेत ढाक्दै मुठा फुकाएर छुपुछुपु बीउ रोप्थे । काम गर्दै तिनका सुरिला गलाबाट निस्कन्थे असारे रोपाइँ गीतका कर्णप्रिय स्वरलहरी । कतै दोहोरीको रूपमा, कतै एकल समूहका लोकगीत । स्वतःस्फूर्त सृजना ती आँशु कविका सृष्टि सुनेर सिङ्गो प्रकृति मुस्कुराउँथ्यो । मार्मिक पीडाका हुन् वा मायाप्रेम र श्रृङ्गारका हुन्, तिनको कला र गलाले सिङ्गो वातावरण रोमाञ्चित बन्दथ्यो ।
आफ्नो जग्गाजमिन हुनेहरू घरमा काम गर्न सक्ने सदस्य भएमा आफू पनि मेला पर्म जान्थे । खेतमा पानी भरिएर माटो राम्ररी गलेपछि ती सबै पर्मका बिउ काट्ने व्याडे, बाउसे गर्ने लाठे र बिउ रोप्ने रोपाहारहरू जुटाएर रोपाइँ गर्थे । श्रम विनिमयको त्यो प्रथा अर्थात पर्म प्रथा नै श्रमपरिचालनको प्रमुख स्रोत थियो । आफ्नो जग्गाजमिन नहुने श्रमजीविहरू चाहिँ एक आधामाना चामल वा त्यस्तै जिन्सी अथवा आना–सुका पैसामा दिनभरि ज्याला मजदुरी गर्थे । त्यतिबेला बीचमा प्वाल भएको चार पैसाको ढ्याक प्रचलनमा थियो । त्यसैलाई आना भनिन्थो । त्यस्तै बीस पैसाको ढ्याकलाई पचनी र पच्चिस पैसाकोलाई सुकी अनि पचास पैसालाई मोहर र सय पैसाको ढ्याकलाई डबल भनिन्थ्यो । सानोमा एकपैसे र पाँच पैसे ढ्याक चलनमा थिए । नोटको त हतपती अनुहारै देखिँदैनथ्यो ।
मेरो घरमा पर्म जाने मान्छे थिएन । भए पनि बाजेको पालादेखि नै पहिले करिया बसेका दुई परिवारले नै भ्याएसम्मको काम गरिदिन्थे । वर्षभर काम गरिदिए वापत उनीहरूलाई बाली दिने गरिन्थ्यो क्यार । पछि ती परिवार उमेरको कारण काम गर्न नसक्ने हुँदै गए, तिनका सन्तान आआफ्ना बाटा लागे । त्यसपछि पूरै खेती ज्यालामा हुँदै आएको थियो । अलिअलि सक्ने भएपछि चुहिएको पानी टाल्ने, आली लाउने र यस्तै सानोतिना काम म पनि सघाउँथेँ । बाबाले नभ्याउँदा गोकर्ण किसीगाउँ पुगेर खेताला टुङ्गो लाउने काम गर्थें । गोकर्णमा रहेको हाम्रो खेत कमाउने रत्नबहादुर श्रेष्ठ र उनका जेठा छोराले खेतालाको व्यवस्था गरिदिन्थे । कहिले काहीँ भने आरुबारीतिरकै मान्छे बोलाएर पनि रोपाइँँ हुन्थ्यो । रोपाइँको दिन नौ दश बजेतिर पन्द्रबीस जना लाठे रोपाहार लामलागेर आउँथे । रोपाइँको काम सकेर साँझतिर फर्कन्थे ।
रोपाइँँको दिनमा आमालाई कामको चटारो पथ्र्यो । बिहानैदेखि खेतालालाई खाजा ख्वाउन आलु उसन्निे काम हुन्थ्यो । सकेको दिदीले सघाउनुहुन्थ्यो । मेरो बिहेपछि मेरी श्रीमतीले उहाँलाई सघाउन थालिन् । हामी केटाकेटी वरिपरि बसेर त्यो उसिनेको आलुको बोक्रा छोडाउँथ्यौं । अनि त्यही छोडाएको आलु काटेर अचार वा तर्कारी बनाउने काम हुन्थ्यो ।
खेतालालाई खाजा ख्वाउन केही दिन अगाडि नै घरैमा चिउरा कुटिन्थ्यो । चिउरा कुट्ने अघिल्लो दिन निफनेर केलाइवरी सफा बनाएको तौली धान साँझतिर ठुलो तामा वा पित्तलको खड्कुँलोमा पट्ट फुट्ने गरी उसिनिन्थ्यो । घरमा आफूलाई खान भनी थोरै मार्सी धान पनि त्यसरी नै अर्को सानो भाँडोमा उसिनेर राखिन्थ्यो । भोलिपल्ट अँध्यारैमा चिउरा कुट्न खेताला आउँथे । चिउरा कुट्ने लाठे (लोग्नेमान्छे) मा प्राय गोपाल खुलाल, गोपे पुतुवार र उनकै भाइ कालु पुतुवार हुन्थे । काठको चिउरा कुट्ने मोटो उड्गल र लामालामा लुसी आदि अघिल्लै साँझ तिनै दाइहरूले ल्याएर राखिसकेका हुन्थे ।
आँगनको एक छेउमा बनाइएको दुई मुखे माटोको चुल्हो नजिकै उड्गल राखिन्थ्यो । चुल्होमा दुईजना महिला बिहानैदेखि अघिल्लै दिन साँझमा उसिनेर राखेको धान भुट्थे । चुल्होको पहिलो मुखमा पानी त¥याएर हालेको धानको घान अख्रिएर ओभानो नहुञ्जेल बाँसका मसिना कप्टेराले चलाउँदै भुटेपछि दोस्रो हाँडीमा खन्याउँथे । पटपट आवाज नआउन्जेल दोस्रो हाँडीमा भुटेर उड्गलको ओखलमा खन्याए पछि दुईजना लाठे पालैपालो लुसी उचाल्दै ओखलभित्रको धान थिची थिची कुट्थे ।
भुस र चिउरा छुट्टिएर चिउरा बनेपछि निकालेर नजिकैको डालोमा राख्थे । यो क्रम उसिनेको सबैधान चिउरा नबनुन्जेल दोहोरिन्थ्यो । अनि डालोमा कुटेर राखेको चिउरा नाङ्लोमा राखेर निफन्दै भुस एकातिर चिउरा अर्कोतिर गरेपछि खानको लागि तयार हुन्थ्यो । त्यसरी त्यो रमझम र कुटेको चिउराको बास्नाले हामी केटाकेटीलाई राति नै ओच्छ्यान छाड्न बाध्य पार्थे । आमा वा दिदीले कुट्दा कुट्दैको तात्तातो चिउरा नाङ्लोमा राम्ररी निफनेर दिनुभएको चिउरा खाँदाको मजा नै अर्कै हुन्थ्यो ! त्यसरी घरमैं चिउरा कुट्न अनुकूल नपर्दा पसलबाट किनेर काम चल्थ्यो ।
दश बजेतिर रोपाहार र लाठेहरू आएपछि खेतको रौनक नै अर्कै हुन्थ्यो । सबै आ–आफ्नोे काममा लाग्थे । रोपाइँँको दिन बिहानभरि काढेको बीउ रोप्न रोपाहारहरू खेतमा पस्थे । दुई चार जना बाँकी बीउ काढ्न व्याडतिर लाग्थे । रोपाहारहरू पूरै खेत ढाक्ने गरी लाम लगेर एउटै लहरमा खेतभरि फिँजिन्थे । रोपाइँँ सुरु गर्ने एउटी रोपाहारलाई आमा वा दिदीले रातो अक्षताको टीका लाइदिएर केही दक्षिणा दिनुहुन्थ्यो । हामी पनि रमाइलै कै लागि हिले खेतमा नाङ्गो खुट्टा गाडेर रमाइरमाई बीउ पाँद्ने, खेतालाई चुरोट, नरिवल, सुकुमेल, चक्लेट, पानी र खाजा बाँड्न सघाउँथ्यौं ।
असारको हिलोमैलो र रोपाइँँको थकाइ मेट्ने चाडको रूपमा लगत्तै आउने साउने सङ्क्रान्तिको आकर्षण अर्कै हुन्थ्यो । त्यसदिन बिहानै नुहाइधुवाइ गरेर घरचोटा सफासुघ्घर पारिन्थ्यो । गाउँमा खसी काटेर मासु भाग लाउँथे । नभए चावहिल नपुगी अहिलेजस्तो मासु पसल थिएन् । गाउँमैं त्यसरी भागलगाएको मासु भागशान्ति मोल तिरेर ल्याइन्थ्यो । महिलाहरू हातखुटा्टामा तिउरीलाएर सिंगारिन्थे । हामी भने त्यो दिन अरू कुराको भन्दा बढी मासुको तात्तातो झोलसँग खान पाइने भातको प्रतीक्षामा रहन्थ्यौं ।
त्यही साँझ लुतो फालिन्थ्यो । वर्षायाममा पानी फोहोर हुने र त्यसबाट लुतो, घाउखटिराजस्ता छालाका रोग लाग्थे । पूजाआजा गरेर लुतो पन्छायो भने त्यसले दुख दिँदैन भन्ने जनविश्वास थियो । डाक्टर र आधुनिक औषधिको मुख देख्न नपाइने त्यो बेलाको गाउँमा यस्तै विश्वास रोगव्याधिबाट छुट्कारकासँग लड्ने मनोवैज्ञानिक आधार बन्दथे ।
हामी केटाकेटी दिउँसै लुतो फाल्ने सामग्रीको जोरजाममा लाग्थ्यौं । सात थरीका औषधिजन्य बनस्पति बटुल्थ्यौं । भलायो, कुरिलो, कुकुरडाइनो, धसिङगरे, देवीसरो वा पानीसरो र उनिउँँमध्ये कति त पहिले हाम्रो आफ्नै पाखा बारीमा हुन्थे । देवीसरो, पानीसरोजस्ता वनस्पति मासिँदै गएपछि जगडोलको ओसिलो भन्ज्याङतिर पुगेर ल्याइन्थ्यो । ती वनस्पति ल्याएर तुलसीको मोठछेउ राखेपछि उत्तिसका दाउरालाई मसिनो पार्दै समिधा बनाउँथ्यौं । अनि नजिकैको बारीमा फलेको मकै र उखुको बोट जरैदेखि उखेलेर ल्याउँथ्यौं । नैवेद्यका लागि बारीमै फलेका कागती, निबुवा, अनार, नासपाती, आरु, आदि जम्मा गरिन्थे ।
आमा वा दिदीले तुलसीको मठमा कण्डारक राक्षसको प्रतिरूप एउटा ढुंगो थापेर त्यसको पूजा गर्नुहुन्थ्यो । पूजा गरिसकेर फलफूल नैवेद्य चढाएर तुलसीको मोठ नजिकै समिधा जलाइन्थ्यो । ह्वारह्वारी बलेको समिधाको आगोमा जम्मा गरेका वनस्पति जलाउँदा निस्कने पिट्ऽपिट् आवाज र वातावरणमा फैलने सुगन्धले पूरै वातावरण अनौठो बन्थ्यो, रोमाञ्चक ! त्यतिबेला आगो फुक्दा आँखा र नाकमा पसेका धूवाँले निकालेका आँसुको समेतको पर्वाह हुँदैनथ्यो । पूजा सकेर कोही नाङ्लो ठटाउँथे, कोही बल्दाबल्दैको समिधा अर्थात् दाउरालाई घरको चारैदिशामा टाढाटाढा फाल्दै जोर जोरले “वारि गाउँले पारि गाउँले लुतो लैजाऽ” भन्दै डाँको हाल्थे ।
हाम्रा लागि एउटा खेलझैं हुन्थ्यो लुतो फाल्ने चाड । आज त्यो चलन सहरोन्मुख काँठक्षेत्रमा केही मात्र बाँकी भए पनि त्यति बेलाकैजस्तो रोमान्च देखिँदैन । अहिले टोलका पसलमैं पैसातिरेर किन्न पाइन्छ, छ्वालीको मुठोमा बाँधिएका सात थरी वनस्पति । अहिलेसम्म आँगनमा तुलसीको मोठ हुने मेरा पुस्ताका मानिससम्म करबलले निर्वाहगर्दै छन् लुतोफाल्ने चलन ।
त्यसपछि लगत्तै सन्सारी (शनिश्चरे) माईको पूजा अर्को आकर्षण बन्थ्यो । गाउँ टोलमा पीपलको बोटमुनि ढुङ्गा थापेर शनिसरे देवी अर्थात शनिश्चरे स्थान गरिएको हुन्थ्यो । ती ग्राम्यदेव मानिन्थे । त्यहाँ हरेक वर्ष गाउँले सबै मिलेर पूजाआजा गर्थे । सबै मिलेर एउटा बोकाको जोरजाम गर्थे र देवी रिझाएर निरोगी रहने निहुँमा त्यसको बलि दिन्थे । लगभग यहीबेला अर्को चाड हाम्रा लागि रमाइलो बोकेर आउँथ्यो । श्रावण शुक्ल पूर्णिमाको दिन हामी अलि ठुलो भएर व्रतबन्ध भइसकेपछि आमाले गाउँका दाइ काकाहरूको साथ लगाएर वाग्मती नुहाउन गोकर्ण पठाउनु हुन्थ्यो । पुरोहितले रक्षासूत्र बाँधेर मन्त्रवाचन गर्दै जनै फेराउनु हुन्थ्यो । यज्ञोपवित भनिने जनैका नौ सूत्रलाई वैदिक तागाधारीहरू क्रमशः ॐकार, ब्रह्म, नाग, सोम, ऋषि, प्रजापति, वायु, सूर्य, र सर्प गरी नौवटा तत्वको प्रतीक मान्ने गर्दछन् । पहिलो ॐकार तत्व सृष्टि, स्थिति र संहारको द्योतक हो भने दोस्रो ब्रह्मलाई विवेक अर्थात समग्र ज्ञानविज्ञानको कार्यकारण तत्व मानिन्छ । नाग जीवनको नभइनहुने जलतत्व हो, र सोम शीतल गुणयुक्त चन्द्रमाको प्रतीक । यसरी नै ऋषि त्याग तपस्याका मन्त्रद्रष्टा गुरु र प्रजापति राज्य प्रणाली तथा गणराज्यका प्रतीक वा आम जनताका संरक्षक हुन् । वायु जीवनको आधार हो भने सूर्य शक्ति, प्रकाश, र ग्रहताराको केन्द्रका प्रतीक । अन्तिम सर्पलाई सृष्टिको समग्रताका प्रतीकात्मक अर्थमा लिइन्छ ।
त्यस दिन दिदी बहिनी भान्जा भान्जीलाई टीकाटालो गरी क्वाँती (क्वाँटी) भात खाइन्थ्यो । गरम तत्व भएको क्वातीको तातो रसले साउनको हिलो मैलोमा डुबेको शरीरको चिसो निकाल्छ भन्ने विश्वास गरिन्थ्यो । यसमा मास, मुगी, सानो केराउ, बोडी, सिमी, मस्याङ, भट्मास, बकुला, चना गरी नौ प्रकारका गेडागुडी मिसाएर टुसा ननिस्कुन्जेल भिजाइन्थ्यो । अनि १०० डिग्री तापक्रममा पकाएर तयार गरिने क्वाँतीको मिश्रण शरीरको लागि पौष्टिक र औषधिगुणयुक्त हुन्थ्यो ।
यसरी मेरो बाल्यकाल त्यति बेलाका मेरो उमेरका आम केटाकेटीकै जसरी साधारण तरिकाले बित्यो ।
आजको जस्तो मनोरञ्जनका साधन थिएनन् । अहिलेजस्तो थरी थरीका खेलौना कहाँ देख्न पाउनु ? उमेर मिल्ने साथी सङ्गाती जम्मा भएर खेलिने तेलकासा, लुकामारी, झुम्रोबाट बनाएको पुतलीको बिहे, गट्टा, चोर पुलिस वा डुमदाइ, आसपासजस्ता खेल नै मनोरञ्जनका माध्यम थिए । अलि उमेर पुगेका केटाकेटीे लात्ते भकुण्डो, कपर्दी, दण्डिबियोजस्ता खेल खेलेर मनोरञ्जन लिन्थे । प्राय केटीहरूले खेल्ने खेलमा पासलपुसल, गट्टा, आसपास आदि मात्रै हुन्थे । अहिलेजस्तो रबरको बल कहाँ पाउनु, कपडाको डल्लो वा भोगटे हानेर भकुण्डो खेलिन्थ्यो । ती बाहेक खोपी, गुच्चा, तास र पाङ्ग्राको बाजी राखेर खेलिने खेललाई भने राम्रो मानिन्नथ्यो ।
(लेखकको प्रकाशोन्मुख आत्मसंस्मरणको सानोअंश)