मलाई मेरा हजुरबाका हात औधि मन पर्छन् । हुन त, उहाँका हातमा धेरैजसो कालो लत्पतिएको हुन्छ, औँला फुटेका र खस्रा छन् । तैपनि उनका हात मलाई राम्रा लाग्छन् किनभने यस संसारमा मलाई सबैभन्दा बढी माया गर्ने हजुरबाका हात नै हुन् । फेरि हजुरबाका हातमा कतिबिघ्न कला छ, उहाँले बनाएका छालाका जुत्ता सहरका मान्छेले खुब मन पराउँछन् ।
मेरा हजुरबालाई सबैले मग्राती बाजे भन्छन् । “मग्राती बाजेले बनाएका जुत्ता” भनेपछि कसैले पनि कुनै खोट लगाउन सक्दैनन् । चिटिक्क बान्की, छरिता र ऐनामा जस्तै अनुहार देखिनेगरी पालिस चम्काइएका जुत्तालाई कसले नराम्रो भन्ने !
“हजुरबा ! तपाईं सबैलाई नयाँनयाँ जुत्ता बनाइदिनु हुन्छ, आफूचाहिँ पुरानो लाउनुहुन्छ ?” एक दिन मैले उहाँका पुराना जुत्ता हेर्दै सोधेँ ।
मेरो प्रश्न उहाँलाई अनौठो लागिरहेको थियो क्यार । मुसुमुसु हाँस्तै एकछिन मलाई हेर्नुभयो र भन्नुभयो, “अरुका लागि जुत्ता बनाउँदैमा दिन जान्छ, के गर्ने बाबु !” त्यसपछि म चुप लागेँ ।
बुबा कामका लागि मलेशिया जानु भएपछि “यो नाति मलाई साथी, यसलाई म उतै लगेर राख्छु,” भन्दै मलाई हजुरबाले सहर ल्याउनु भयो । म सहर आएपछि हजुरबा धेरै खुसी हुनुभयो । म स्कुल जान्छु, खाना मै पकाउँछु र हजुरबाका काममा पनि अलिअलि सघाउँछु ।
“नाति सँगै भएपछि त मैले धेरै काम भ्याउन थालेको छु”, हजुरबा भन्नुहुन्थ्यो, “फेरि उता छोरालाई चिठीपत्र पठाउन पनि सजिलो भएको छ ।”
सहर आएपछि सुरुमा त मलाई कस्तोकस्तो लागेथ्यो, तर अब त यहाँ पनि रमाइलो लाग्न थालेको छ, आफूलाई माया गर्नेहरूपनि पाउन थालेको छु । हाम्रो पसल सहरको एउटा साँघुरो व्यस्त गल्लीमा छ । पसलेको एउटा कुनामा हाम्रो खाट छ । खाट नजिकैको चोयाको ¥याकमा मेरा किताब कापी छन् र त्यहीँ स्टोभ, डेक्ची र थाल कचौरा छन् । खानेसुत्ने ठाउँ र पसलबीच एउटा पातलो पर्दा छ ।
जाडोको एकदिन, चिसो हावा बगिरहेको थियो, स्कुलबाट फर्केपछि म रोटी खाँदै थिएँ । उता हजुरबा भने जाडोको पर्वाहै नगरेर जुत्ता बनाइरहनु भएको थियो । त्यसैबेला छिमेकका मेरा साथी सुदर्शनले मलाई बोलायो । म रोटी टोक्दै चोकमा पुगेँ । सुदर्शन घरवेटीको भतिजसँग टेविलटेनिस खेल्दै थियो । म पनि उनीहरुसँग खेलेँ । त्यसपछि हामीहरू हातमुख धुन भनी इनारतिर गयौँ । सुदर्शनकी आमा इनारबाट पानी भरिसकेर घरतिर लाग्नुभयो ।
सुदर्शनले पानी तान्दै भन्यो, “अहो, कस्तो गाह«ो ! बाल्टिनले नै तान्ला जस्तो ।”
”खै खै, म पनि पानी तानी हेरौँ ।” मैले बाल्टिनको डोरी समात्न मात्र के खोजेथेँ आफ्नो हातको रोटी इनारमा खस्यो । खेल्दाखेल्दै मैले रोटी खान नै बिर्सेको कुरा रोटी खसेपछि पो मलाई थाहा भयो । मलाई के गरुँ कसो गरुँ भयो । सुदर्शन र मैले रोटीको टुक्रा बाल्टिनमा पारेर निकाल्न धेरै पल्ट प्रयास ग¥यौँ तर सकेनौँ ।
त्यहीबेला घरवेटी काकी आइन् । इनारलाई छोपेर बसेका हामीहरुलाई देखेपछि उनले, “के भयो केटाकेटी हो, तिमीहरू इनारमा किन चलिरहेको, ल भागभाग”भनिन् ।
“यहाँ रोटीको टुक्रा खस्यो” सुदर्शनले बिस्तारै भन्यो, “निकाल्न खोजेको आउँदै आएन !”
“हँ, के रे ? कसले खसालेको ?” काकीले सशंकित भएर रिसाउँदै सोधिन्, “अब इनार बिटुलिएन त, लौ अब के गर्ने !”
काकीले हामीलाई पिट्न भनी लठ्ठी टिपिन् । म चाहिँ उतिन् खेरै दगुरेर पसलभित्र पसेँ र हजुरबासँग बसेँ ।
“किन स्वाँ स्वाँ गरेका ?” हजुरबाले सोध्नुभयो तर म भने केही नबोली चुप लागेर बसेँ । सुदर्शन पनि घरभित्र छिरिसकेको थियो । काकी भने त्यसरी नै कराइरहेको सुनिन्थ्यो । उनी आफ्नो भतिजसँग सोध्दै थिइन्, “भन् त, रोटी कसको ? कसले खसालेको ?” काकीको स्वर झनझन ठूलो सुनियो, “इनारमा रोटी कसले खसालेको, भन त !”
त्यसपछि एक छिन सामसुमजस्तो भयो र मैले लामो सास तानेँ । फेरि एकैपल्ट काकीको चर्काे स्वर सुनियो, “लौ, जे नहुनु थियो त्यै भएछ, सुन्नुभो ? मग्राती बूढाको नातीले इनार मात्र छोएको हो र, आफैले खाइरहेको रोटी खसालेर सत्यानासै गरिसकेछ ! कसरी चुप लागेर बस्ने ? लौ न, के गर्ने ?” काकी रुँ रुँ जस्तो गरी कराइरहेकी थिइन् भने मलाई कहाँ भागूँ, कतागएर लुकूँ भइरहेको थियो । तर भागेर कहाँ जाने । हजुरबा भने जुत्तालाई दुई खुट्टामा च्यापेर एक नासले सिउँदै हुनुहुन्थ्यो । अनि म त्यहीँ बसिरहेको थिएँ ।
एकै छिनपछि सुदर्शनका घरवेटी काका रिसले उफ्रुँजस्तो गरी एक्कासी कराउँदै हाम्रो पसल अगाडि आइपुगे । त्यसपछि त उनले हजुरबालाई पिटुँला–पिटुँलाझैँ गरी लम्कीझम्की गरे । मेरो जीउ थरथर काँपिरहेको थियो । त्यसैबेला काकी त्यहाँ देखा परिन् र उनीले त हाम्रो पसलका सामान टिप्दै भकाभक बाहिर फाल्न पो थालिन् ।
हजुरबा एकछिन त अवाक् हुनुभयो त्यसपछि बिस्तारै, “नानी, यो के गरेको ?” भन्दै उनीहरुसँग सोध्नुभयो । जवाफ दिनु कताकता उल्टै, “मुखमुखै लाग्छस् तँ, तेरो नातिले इनार सखाप पा¥यो,………..आः…..टोलमै राख्न हुन्नथ्यो !” भन्दै बहुलाहीजस्तै चिच्याउँदै र फन्फनाउँदै काकीले मेरा कितापहरू अनि भाँडाकुँडा टिप्दै बाटामा फाल्न थालिन् ।
त्यसपछि हजुरबाले अलि ठूलै स्वरमा भन्नुभयो, “के गरेको नानी के भयो भन न पहिले, यही हो न्याय !” त्यस्तो अचाक्ली गरिँदा पनि त्यहाँ तिनीहरुलाई रोक्ने छेक्ने कोही नहुँदा हजुरबाले सुइøय गरी लामो सुस्केरा हाल्नुभयो ।
केही मिनेटपछि बाटो हिँड्ने बटुवाहरू र टोलछिमेकका नवजवानहरू जम्मा हुँदै बाटोछेउमै उभिएर हाम्रो दुर्दशा हेरिरहेका थिए । उनीहरु सबै चूँसम्म नगरी काका र काकीले फलाकेका गाली सुनिरहेका थिए ।
काका र काकी कराउँदै थिए, “लौ, यहीँ बस्यो, बस्न दियौँ, तर ठाउँ छोड्न त भएन नि । हैन र ? आफ्नो जातको पनि त हेक्का हुनुपर्छ नि, के गर्ने भोन्नोस्, यहाँहरुले पनि यसो गर भन्नोस् त । पानी नचल्ने जातले छोएपछि, इनारको पानी अब के गर्ने….इनारको पानी बिटुल्याइदिने यिनलाई के गर्ने ?”
यति के बोलेका थिए एक्कासी अँध्यारो आकाशमा बिजुली चम्के झैँ कसैको बोली सुनियो, “हेर्नुस् काकी, हामी तपाईंको कुरा सुन्दै थियौँ, हामीले जम्मै नभएपनि अलिअलि बुझ्यौँ, तपाई पाकाहरुको हामी आदार गछौँ तर तपाईंहरुबाट गर्न नहुने कुरा गरिनु भएन, बोल्न नहुने कुरा बोल्दिनु भएन, यहाँ मानवअधिकारको कुरा धेरै हुने गर्छन् तर माथिबाट नै तलका मानिसहरुलाई भुसुनासरी ब्यावहार गरिरहेका हुन्छन् । हामी मान्छे–मान्छे उही हुन् त भन्छौँ तर ब्याबहारमा उल्टो गर्छाैँ । होे, इनार फोहोर गर्नु हुँदैन, खाँदै गरेको रोटी खस्नु खसाल्नु राम्रो हुँदै होइन तर इनार छोएकोले बिटुलो भयो, यो हामी मान्दैनौँ । मान्दैनौँ मात्र होइन अरुले भनेको पनि सुनिरहन चाहँदैनौँ । हेर्नाेस्, हामी त उहाँलाई मग्राती बाजे भन्छौँ, आदार राख्छौँ, किनभने उहाँले कसैलाई नराम्रो हुने, नराम्रो लाग्ने कुरा गर्नु भएको हामीलाई थाहा छैन, हामीले तपाईंहरुलाई पनि आदार गरेकै छौँ, तर हामीले आदर राखेका मानिस आदरणीय हुनुपर्छ, उहाँले कसैको मन दुखाउने कुरा गर्नुभएन ।”
सबैले “हो, हो !”भन्दै टाउको हल्लाएर सुनिरहेका थिए ।
अर्काे एक जना पाको मान्छेले गम्भीर भएर सुन्नुभयो, “हेर्नुस् मलाई धेरै कुरा थाहा छैन, म एउटै कुरा भन्छु, राम्रो मान्छेले आफ्नो चित्त दुख्ने कुरा कसैबाट नहोस् भनी चाहेजस्तै ऊ आफैले पनि त्यस्तो कुरा अरुमा कहिल्यै गर्दैन । मेरो बिचारमा बिनासित्ति अरुको चित्त दुखाई हिँड्ने मान्छेचाहिँ पानी नचल्ने जातमा पर्छ । हामीहरू त्यस्ताहरुको हातबाट पानी खान हुँदैन, कसो ?” सबैले नारा लगाएजस्तै गरेर एकै स्वरमा “हो ! हो !”भन्दा सिङ्गै टोल नै गञ्जियो । सबै त्यसरी कराएको देखिरहनु भएको हजुरबाले लुगाको फेरोले आफ्नो आँखा पुछ्नु भयो र झण्डै हजुरबासँगै टाँसिएर बसिरहेको म कहिले कराइरहेको हुल त कहिले आँसु पुछिरहेका हजुरबालाई हेरिरहेको थिएँ । “काका र काकी दुवैले मग्राती बाजेको चित्त दुखाउने काम गर्नुभयो, यो राम्रो होइन, अब उहाँहरू आफैले मग्राती बाजेसँग माफी माग्नु भएन भने हामी उहाँहरुलाई इनार छुन दिदैनौँ र हामीहरू उहाँहरुका हातबाट कहिल्यै पानी खाने छैनौँ, हुन्छ ?” एकजना अधवैशेले ठूलो स्वरमा भन्यो । यस पालि पनि, “हुन्छ ! हुन्छ !”भनी सबैले नारा लगाएको आवाज टोलभरि गुन्जियो ।
एक जना अग्ला र चम्किला आँखा भएका पाका मान्छेले फ्याँकिदिएका सामानहरू बटुल्दै पसलभित्र राखिसकेपछि, जिल्लिएर हलचल नगरीकन उभिइरहेका काका र काकी दुवैलाई भने, “केटाकेटीहरुले इनार फोहोर पारे भन्ने कुरामा तिनीहरुले फोहोर पार्छु भनेर त्यसो गर्न पुगेकै होइनन्, मग्राती बाजेको त कुनै दोष छैन, अब यस कुरामा तपाईंहरुले नै आफ्नोतर्फ नहुनु पर्ने कुरा हुन पुगेकामा आफै अघि सरेर सुधार्नु राम्रो हुन्छ…….।” उनको कुरा भनि सिद्धिनु मात्र के थियो काकाकाकी दुवैले सबैसँग हात जोडेर अनुरोध गरे, “यसमा हामी दोषी हौँ, हामीले गर्नै नहुने कुरा ग¥योँ, भन्न मात्र हामीले आजका मान्छे भन्योँ तर हामी अझै……………..!, कृपया हामीलाई माफी दिनोस् । हामी माफी माग्र्छौँ !”
मग्राती बाजेको पसल अगाडिकै छिमेकीले त्यसबेला कागतको किस्तिभरि मिठाई ल्याएर म र हजुरबाका अगाडि राख्नुभयो । हामीले एकएकवटा लियौँ । त्सपछि काका र काकीलाई पनि लिन लगाउनु भयो त्यसपछि अरु मानिसहरुले लिए । त्यो मेलमिलापको मिठाइ थियो । काका र काकीलाई त्यो रोटीको स्वाद कस्तो लाग्यो होला म भन्न सक्तिनँ तर मैले सबैबाट पाएको मायाको साँचो स्वाद त्यस मिठाईमा अनुभव गरेँ र म केही बोल्न सकिरहेको थिइनँ । त्यसबेला मैले मेरा साथी सुदर्शनलाई देखँे । उनी हामिमाथि खनिएका काकाकाकीको व्यावहारले गर्दा पिरोलिएको अनुहार लिएर झ्यालमा उभिइरहेका थिए ।