उदासीको आँखिझ्यालमा बसेर
जब हेर्छु यो दुनिया
देख्छु उस्तै हुनुको भ्रममा डुवाएर मान्छेलाई
हरेक क्षण फरक युग बाँच्न
समयको मैदानमा
ओहोर–दोहोर गरिरहने इन्द्रेणी दृश्यहरू ।
हरेक दिन
वल्लो पाखा–पल्लो पाखा गरिरहन्छ सूर्य
सूर्यकै ढाडमा टेकेर
हरेक दिन ओहोर–दोहोर गरिरहन्छन् बिहान र साँझ
र, हरेक रात
अँध्यारोको सागरमा आफ्नो रूप चम्काउन
शुन्यताको राजमार्गमा ओहोर–दोहोर गरिरहन्छे वैँशालु चन्द्रमा ।
पहाड, समुन्द्र र आकास हुँदै
ओहोर–दोहोर गरिरहन्छ नदी
हावा ओहोर–दोहोर गरिरहन्छ रुख र पातहरूमा
चराहरू ओहोर–दोहोर गरिरहन्छन् गुँड र हाँगाहरूमा ।
ओहोर–दोहोर गरिरहन्छन्
स्कूल र कलेजका गेटहरुमा केटाकेटी
‘खेल’ नै जस्तो यो जीवनको मैदानमा
ओहोर–दोहोर गरिरहन्छन् खेलाडीहरू
गाइवस्तु र गोठाले गरिरहन्छन् गोठ र बन ।
गरिव बस्तीहरूमा
ओहोर–दोहोर गरिरहन्छन् भोक, रोग र अनिकाल
देशकै मेरुदण्ड भाँचिनेगरी
दलको मस्तिष्कमा ओहोर–दोहोर गरिरहन्छन् सत्ता र पैसा ।
आँखाहरूमा
ओहोर–दोहोर गरिरहन्छन् सपनाहरू
सडक र गोरेटाहरूमा
ओहोर–दोहोर गरिरहन्छन् यात्राहरू
हृदयमा ओहोर–दोहोर गरिरहन्छन् याद र पहिलो प्रेम ।
कति सुन्दर हुँदो यो दुनिया !
यी इन्दे्रणी दृश्यहरूको
ओहोर–दोहोर हेरिरहेको मान्छेले पनि
एउटै कुरा बुझिदिए,
‘‘ऊ पनि त आएको थियो
र, जानुपर्नेछ कतै न कतै कुनै दिन !’’