सिकाएको मैले नै हो भाइ औँला भाँचीभाँची मसँग खेल्थ्यो दसैँ आयो खाउँला पिउँला कहाँ पाउँला चोरी ल्याउँला धत, पापी ! छुट्टै बसौँला । भाइले दसैँ कहाँ आयो भनेर सोध्दा मैले देखाएको परको डाँडो भाइले हेरिरहन्थ्यो र अलिकति कल मिसाएर सोध्थ्यो त्यो डाँडा कति टाढा छ ? त्यहाँबाट दसैँ आउन किन ढिलो हुँदैछ ? म दसैँ आएको किन देख्दिनँ ? भाइका सारा प्रश्नहरुको उत्तर दिन नसकेर लाग्थ्यो, उसले कल नगरेको भए हुन्थ्यो । झुप्रोलाई कमेरोले सिँगारेर दसैँ आयो भन्दा सिकुवामा पिङका लागि डोरी झुण्ड्याएर लिङ्गेपिङ भन्दै दसैँ आयो भन्दा उसका लागि नयाँ नाना किनेर दसैँ आयो भन्दा दसैँमा लगाउने जमरा छरेर दसैँ आयो भन्दा अक्षता मुछ्ने रङ्ग देखाएर दसैँ आयो भन्दा मैले पर देखाएको डाँडो हेर्न उसले छोडेन । दसैँको ब्यग्र प्रतीक्षामा बसेको मेरो भाइले दसैँमा आउँछु भन्दा भन्दै बेपत्ता भएका परदेशी बाबुको यादमा मुटु चिरिएको बेला उसले कल नगरेको भए हुन्थ्यो । मैले त्यही डाँडामा देखाएको दसैँ महाजनका घरसम्म आइ सकेको थियो तर भाइलाई थाहा थिएन महाजनका भुराभुरी फुरुक्क फुरुक्क गर्थे खुशीमा बुरुक्क बुरुक्क उफ्रन्थे । खुशी त ममा पनि थियो सानो भाइ उनीहरुसँग उत्तिकै रमाउँथ्यो एकछिन खेलेर आउँथ्यो आमाको हात समाउँथ्यो खुशी सबैमा छाएको थियो तर, सबैमा आएको खुशी भाइमा आएन मुटु फुटाएर कल झिक्यो उसले कल नगरेको भए हुन्थ्यो । महाजनका घरमा खसी ढल्यो आफ्ना घरमा ढलेन मासुलाई टुक्राटुक्रा पारे मासुको टुक्रा हेर्दै खुशीमा उफ्रदा उफ्रदै निराश भएर रित्तै घर फर्किएको क्षण मन टुक्राटुक्रा भयो मासुका टुक्रामा भुराभुरी रमाउँदा भाइ रमाएन उसका आँखा तलाउझैँ भरिए । उसले भन्यो आमा मासु खान मलाई पनि मन छ दसैँको प्रतीक्षा गरेर बसेको आँखामा बरर्र आँशु आयो आमाले थैली कोट्याइन् रित्तो थैलीबाट केही निस्किएन बरु आमाका आँखाबाट आँशु निस्कियो मलाई लाग्यो उसले कल नगरेको भए हुन्थ्यो । आमाले बसेकै ठाउँबाट सारीको फुर्को उठाइन् अपमानका वाणहरु घुटुघुटु पिएर महाजनसामु खेताला चढाएर बिन्ती बिसाइन् एक भाग मासु लिएर आइन् मासुमा मरम मसला मिसाइन् तर्लङ्ग झोल हालिन् अनि खाने बेलामा भनिन् दिदीले देखाएको दसैँ आयो बाबु ! दसैँ यही हो भाइका आँखामा खुशी फर्कियो तर मेरो फर्किएन मलाई लाग्यो उसले कल नगरेको भए हुन्थ्यो । हिजो मेरो सानो भाइको कल सार्थक थियो आज पनि उत्तिकै सार्थक छ उसले आमासँग मात्र कल गरेन आज ऊ आफैसँग कल गर्छ आफैँसँग कल गरेर प्राप्त गर्छ कल सार्थक बनाउँछ । तर, हिजो अभावमा सन्तुष्ट हुन खोज्ने म आज अभावको थैली आमाले झैँ कोट्याउँछु रित्तो थैलीमा सन्तुष्टि खोज्छु अभावमा निदाउँछु अभावमा ब्यूँझन्छु आज मलाई लागिरहेको छ भाइले गरेजस्तै गरी मैले पनि कल गरेको भए हुन्थ्यो । (ताप्लेजुङ)