४ कार्तिक, काठमाडौं ।
बरिष्ट साहित्यकार पुष्कर लोहनीको नयाँ उपन्यास ‘अदृश्य मान्छे’ सार्वजनिक भएको छ ।
पुस्तक कार्तिक ३ गते ज्ञानज्योति पुस्तक पसलमा सार्वजनिक गरिएको हो । युवा समालोचक तथा पत्रकार राजकुमार बानियाँ, साहित्यक पत्रकार दिपक सापकोटा, पत्रकार फणिन्द्र संगम , पत्रकार समर्पण श्री, लेखक पुष्कर लोहनी र प्रकाशक पुष्पराज पौडेलबाट एकसाथ सार्वजनिक गरिएको हो ।
यो उपन्यास हामीमध्ये धेरैको लेख्न नमिल्ने आत्मकथाको प्रारूप हो । यो एउटा सन्दिग्धताको इमानदार टिपोट हो । बलात् थोपरिएका मूल्यहरूको साङ्लो एक्कासि तोडिने हो भने मान्छे कस्तो हुन्छ– यस उपन्यासले बताउने छ ।
सम्बन्धहरूमा विश्वास र तृप्तिको अभाव भयो भने मान्छे कसरी टुट्छ, फुट्छ र बहुलाउँछ, त्यो पनि यसै उपन्यासले बताउने छ । एउटै मान्छे कसरी अनेक मन र अनेक जीवनमा बाँचिरहेको हुन्छ, त्यो यहाँ देख्न सकिन्छ ।
जटिलभन्दा जटिल मानिएका मनोवैज्ञानिक समस्याको समाधान कसरी चयनको स्वतन्त्रता जस्तो सामान्य सूत्रमा निहित छ, त्यो कुरा पनि यसैमा समेटिएको छ । कुरा यत्ति हो, यस सरल सूत्रमा हामीले लगाएको जटिलताको ताल्चा तोड्नु जरूरी छ ।
शिखा बुक्सले बजारमा ल्याएको उक्त उपन्यासको मु्ल्य ३००/- छ ।