मुसिकोटको खलंगा बजारमा चट्पटे बेच्ने जयकली र अरबको खाडीमा मजदुरी गर्ने रामप्रसाद लोग्ने स्वास्नी थिए ।
“दशै पनि आई सक्यो । मलाई त केही पनि चाहिँदैन । तर केटाकेटीले राम्रो लुगा किन्न खोज्छन् । मिठो मसिनो खाना रोज्छन् । नौ दश हजार जति पठाइदिनुस् दशै मान्नलाई ।” जयकलीले फोनबाट लोग्नसँग भनेको कुरा यही थियो ।
“विदेशमा भनेजस्तो कहाँ हुन्छ र ? काम गरेको पैसा मिलेको छैन । अहिलेलाई कतै सरसापटि गरेर दशैँ मनाऊ । अर्को महिना सेलरी मिल्यो भने पठाउँला ।” रामप्रसादले पनि जयमतिलाई मनासिव सल्लाह नै दिएको थियो ।
दुःखको कुरो दशैँजस्तो ठूलो पर्वको मुखमा आउँदा यही पैसाको सानो कुराबाट लोग्ने स्वास्नी बीच फोनमा ठाक्कठुक्क परेको थियो । त्यसैले रिसको झोंकमा जयकलीले फोन स्विचअफ गरेकी थिई ।
आफ्नी श्रीमतीले फोन स्विचअफ गरेर राखेपछि अरबको खाडीमा रहेको रामप्रसादलाई दिनभरी नै तनाव भइरह्यो । श्रीमतीले फोन खोलिन् कि भनी उसले घण्टा घण्टामा फोन डायल गरिरह्यो । तर जयकलीको फोन भने स्विचअफकै स्विच अफ भइरह्यो ।
“रन्डी भ्यान्चोट ! यति सानो कुरामा पनि रिसाएर फोनै स्विचअफ गर्छे ।” साँझपख रामप्रसादले पनि रिसाएर आफ्नो फोन पलङमा मिल्कायो ।
“रिसमा फोन काटे पनि यसरी स्विचअफ त आजसम्म कहिल्यै गरेकी थिएन । कतै केही गड्बड त भएको छैन…! मुसिकोट बजारमा के भर छ र ? कसैले उ माथि नजर लगाउन पनि सक्छ !” रामप्रसादको मनमा आफ्नी श्रीमती प्रति आशंका पैदा भयो । उसले रातको बाह्र बजेसम्म पनि श्रीमतीलाई फोन हानिरह्यो । तर फोनले “द नम्बर यु हेभ डायल इज स्विचअफ” भनिरह्यो ।
मुसिकोट बजारमा राम्रा नराम्रा थरीथरी मान्छेहरू बस्ने गर्दछन् । लोग्ने नभएका, अनि अलि उत्ताउला खालका महिला देखेपछि यस्ताका पछि लागिहाल्ने स्त्री लम्पट दुईचार जना पुरुषहरुलाई रामप्रसाद स्वयंले पनि चिनेको थियो । मुसिकोट बजारमा अर्काको स्वास्नी बिगारीदिएको र आफू पनि बिग्रेको अनि पुलिसमा मुद्दा चलेको घटना पनि उसले पटक पटक देखेको थियो । यी सबै कुरा सम्झेर रामप्रसादलाई राति अबेरसम्म निन्द्रा लागेन । उसलाई ओछ्यानमा छट्पटी भै रह्यो । मुसिकोट बजारमा चट्पटे पसल चलारहेकी, चन्द्रमा जस्ती ढपक्क बलेकी जयमतीको सुन्दर तस्बिर उसको आँखामा घरी–घरी प्रतिविम्बित भइरह्यो ।
“म विदेश आएको पनि दुईवर्ष भइसक्यो । उ एक्लै भएको मौकामा कसैले उसलाई फसाउन त फसाएन ! के भर म भन्दा राम्रो केटा, म भन्दा धेरै पैशा कमाउने, म भन्दा धनी बाउको छोरा देखेपछि उ फस्न पनि सक्छे । हुन त उसले म माथि यस्तो धोका दिइहाल्ले जस्तो त लाग्दैन । फेरी उ दुई सन्तानकी आमा पनि त भइसकेकी छे । तर मान्छेको के भर हुन्छ र ? चल्लैसित माउ उठाएर लगेको उदाहरण पनि त छ यो समाजमा ।” रामप्रसादको मनमा यी कुरा खेल्दै गर्दा रातको एक बज्न थालिसकेको थियो ।
जति प्रयास गर्दा पनि उसलाई निद्रा लाग्दै लागेको थिएन । आँखा चिम्म पार्थ, घर्थ्यो कोल्टे फेर्थ्यो तै पनि उसलाई पटक्कै निद्रा लाग्दैनथ्यो । निदाउने प्रयत्नमा रामप्रसादले आफ्नो दिमागलाई मुसिकोट बजारबाट अन्तै मोड्न खोज्थ्यो । तर उसको दिमागमा उही मुसिकोट बजार अनि उही जयमति सल्बलाइरही । मुसिकोट बजारमा रहेका स्त्री लम्पटहरू, केटी खेलाउने धन्दामा रहेका छाडा कुत्ताहरू उसको दिमागबाट हट्दैहटेनन् ।
बल जफति निदाउने कोशिस ग¥यो । एकै क्षण उसको आँखा चिम्म भएको थियो । तर सपना देख्यो उही मुसिकोट बजार र जयमतिको । तत्कालै उ झसँग भएर ब्युझियो । उ केबल पाँच मिनेट मात्रै निदाएर स्वा–स्वा गरेको थियो ।
“यो निद्रा पनि कहाँ गएको होला ? भोलि काम गर्न सकिदैन कि क्या हो ।” उ चिन्तित बन्यो । उसको आँखा पिरो न पिरो भइरहेको थियो । अति भएपछि उठेर दुई गिलास पानी पियो ।
“एकचोटी कोशिस गर्नुप¥यो भन्दै रामप्रसादले जयमतीलाई फेरी फोन हान्यो । “द नम्बर यु हेभ डायल इज स्विचअफ” फोनले पटक–पटक यही शब्द दोहो¥याई रह्यो ।
झगडा भएको पछिल्लो दिन साँझ नौ बजेतिर रामप्रसादले मुसिकोट खलंगामा रहेको एकजना उसको शुभ चिन्तकलाई फोन ग¥यो ।
“विचार गर है सोल्टी तपाईको स्वास्नीलाई त आज साँझको झिसमिसेमा मुसिकोट बजारको माथिल्लो गल्लिमा कुनै लोग्नेमान्छेसँग मस्कि–मस्कि हिडिरहेको पो देखिरहेको थिए ।” त्यो शुभ चिन्तकले सुनाएको कुरा थियो यो ।
जयमतीकै कोठा नजिक बस्थ्यो जालकुमारी नाम गरेकी एउटी फेन्सी पसलेनी । उसलाई जयमतीको बारेमा धेरै कुरा थाहा हुन सक्थ्यो । त्यसैले रामप्रसादले जालकुमारीलाई पनि जयमतीको बारेमा फोन गरी सोध्यो ।
“तिम्रो स्वास्नीसँग को केटा सल्किसकेको रहेछ । मेरै आँखाले देखेको आज साँझको ठिक १० बजे तिर को केटालाई जयमतिले आफ्नै कोठामा लग्दै थिइन् । राम राम राम त्यस्तो रातको बेला पनि केटा मान्छेलाई आफ्नै कोठामा लगेपछि अरु के नै बाँकी रह्यो र ? नजिकको चिनेजानेको नाताले मैले यति कुरा भने । बाँकी तिमी आफै समयमा नै विचार गर है भाइ ।” बजारमै फेन्सी पसल गरेर बसेको जालकुमारीले पनि उस्तै कुरा सुनाइदिई ।
एकातिर हिजो झगडा परेदेखि श्रीमतीको फोन स्विचअफ हुनु, अर्कातिर मुसिकोट बजारका शुभचिन्तकहरूबाट यस्ता कुरा आउनु यी सब परिवेशले खाडीमा निरस जीवन बिताइरहेको रामप्रसादको दिमागमा खल्बली मच्चिदै थियो । अर्थात यसबेला उसको दिमागले ठिकसँग काम गर्न सकिरहकेको थिएन । त्यो विरानो देशमा उसलाई सम्झाउने बुझाउने मान्छे पनि को पो हुन्थ्यो र ? यसैले रामप्रसाद एकै दिनको छट्पटीबाट विक्षिप्त अवस्थामा पुग्दै थियो ।
उता जयमती भने दिनभरी नै चट्पटे बेच्दाबेच्दै थकित भएकी थिई । दिउँसो लोग्नेसँग झगडाको रिस अझै मरेको थिएन । तै पनि बच्चा बच्चिलाई खुवाउने पिवाउने, सुताउने लगायतको घर धन्दाको काम सकेर साँझ पख जयमति आफू पनि सुत्ने तरखरमा लागी ।
सुत्नु पुर्व उ ट्वाइलेट गई । ट्वाइलेट जाँदा मोवाइल पनि साथमै थियो । अर्थात मोवाइल उसले लगाएको सुरुवालको गोजीमै थियो । उसले दिसा गरेर उठ्न खोज्दा उसको सुरुवालको गोजीबाट मोवाइल फुत्कियो । छोप्न खोज्दा खोज्दै पनि मोवाइल उसको हातले छोप्न सकेन । मोबाइल चिप्लिदै ट्वाइलेटको भुनमा फसिहाल्यो । हत्तपत्त उसले ट्वाइलेटको भुनमा दाया हात घुसारी । ट्वाइलेटको भुनभरी अहिले भर्खरै उसैले गरेको तातो तातो र पन्यालो पन्यालो दिसा बगिसकेको थिएन । मोबाइल भने तल पिँधमा पुगीसकेको थियो । उसले तल पिँधसम्म हात पु¥याउँदा मोबाइल भेटियो । माछा समाते जस्तै गरि च्याप्प उसले आफ्नो मोबाइल समाति र हात ट्वाइलेटको भुनबाट बाहिर निकाली । उसको हात र मोवाइलमा पहेलो पहेलो रंगको दिसा लटपटिएको थियो । हत्तपत्त उसले धारा खोलेर हात र मोवाइललाई राम्ररी पखाली । ट्वाइलेटको भुनमा टन्न पानी हाली र ट्वाइलेट पनि सफा बनाई ।
उ हत्तपत्त आफ्नो कोठामा आई र आफ्नो मोबाइललाई हेरी । मोबाइलको काँप काँपमा दिसा राम्ररी पखालिएको रहेनछ । पछ्यौरीको फुर्काले आफ्नो मोवाइललाई जयमतीले राम्ररी पुछी ।
“मेरो मोवाइल विग्रियो कि क्या हो ?” उ डराउँदै छिटो छिटो मोवाइलको स्विच खोली । तर उसको मोवाइल खुल्दै खुलेन ।
मोबाइलबाट सिमकार्ड, म्यामोरी कार्ड, ब्याट्री सबै बाहिर निकाली । पानी मोवाइलको भित्र भित्रसम्म पनि पसिसकेको थियो । उसले जतनसाथ मोबाइल हावामा सुकाई । उसले यो काम गरिरहँदा उस्का बच्चा बच्ची स्वा–स्वा गर्दै निदाइरहेका थिए । उ पनि सुत्नलाई पलङमा ढली । तर उसलाई कुनै पनि हालतमा निद्रा लागेन । उसलाई मोवाइलको फिक्री लागिरह्यो ।
“यो मोवाइल विग्रिएला र ?” जयमतीलाई मोवाइलको पर्नु पिर पर्न थाल्यो । लोग्ने परदेश अनि आफू घरदेश भइरहेको बेला जयमतीको लागि सुखदुःखको साथि जस्तै थियो त्यो मोवाइल । फेसबुक चलाउने, भिडियो हेर्ने, च्याट गर्नेदेखि लिएर रेडियो सुन्ने जस्ता धेरै कुराको फाइदा दिइरहेको थियो त्यो मोवाइलले । तर जयमतीले मोवाइलको दुरुपयोग कहिल्यै गर्दैनथी । चट्पटे पसलमा कयौ लोग्ने मानिसहरूले आँखा त गाद्थे तर उनको सत्चरित्रको अगाडी ति मान्छेहरू रुझेको विरालोझैँ लुसुक्क परेर फर्कन्थे । कयौले उसलाई मोबाइलवाट फोन गरेर जिस्काउथे । तर एकचोटी उसको बानी बुझिसकेपछि अर्कोचोटी उसलाई फोन गर्ने हिक्मत कसैले गर्न सक्दैनथे ।
करिब बाह्र एक बजेसम्म जयमतिले मोवाइलको स्विच खोल्ने प्रयत्न गरिरही । तर विडम्बना मोबाइल कुनै हालतमा खुलेन ।
मोवाइलको कारण यता घर देशमा श्रीमती तनावमा परेकी थिई भने उता परदेशमा लोग्ने तनावमा परिरहेको थियो । मोबाइल स्विचअफ भएको क्षण न यता जयमती राम्ररी निदाई न उता रामप्रसादको रात नै चैनमा बित्यो ।
बिहानै उठेर जयमतीले मोबाइल पुनः जाँच गरी तर मोबाइलले काम गरेन । उता रामप्रसादले फोन गर्दा “द नम्बर यु हेभ डायल इज स्विचअफ” भन्ने शब्द दोहोरिइरह्यो ।
बिहानको सबै काम सिद्धाएर जयमतीले आफ्नो मोवाइल फोन खलंगा बजारमा रहेको चेतना मोवाइल सर्भिस सेन्टरमा लगेर देखाई ।
“तपाईको मोवाइल बन्न पनि सक्छ र नबन्न पनि सक्छ बेलुका छ बजेतिर आउनुहोला ।” मोबाइल पसलेले मन्द मुस्कानका साथ भन्यो ।
“ल हुन्छ । मोबाइलचाही राम्ररी हेरीदिनु नि ।” भन्दै जयमति आफ्नो चट्पटे पसलतिर गएर चट्पटे बेच्न थाली ।
साँझ अलि अबेर भै सकेको थियो । बजारका अधिकांस पसलहरू बन्द भै सकेका थिए । छिटफुट पसलहरू पनि बन्दै गर्दै मान्छेहरू आ–आफ्ना बासस्थानतर्फ फर्कदै थिए । बजार क्रमसः सुनसान बन्दै थियो । यस्तै बेलामा मुसिकोट बजारको माथिल्लो गल्लीमा जयमति त्यही मोवाइल पसलेसँग मस्किमस्कि हिँडिरहेको देखेर बजारका केही मान्छेहरूले जयमतीलाई आशंका गरे ।
“के टिक्न सक्थी एक्लै, यस्ले नाठो खेलाउन थालिछे ।” साँझ पख मोबाइल पसलेसँग हिँडेको देख्नेजतिले आपसमा कानेखुसी गर्न थाले । ती मध्ये रामप्रसादको एक जना शुभेच्छुकले त झन तत्कालै रामप्रसादलाई फोन गरेर यो कुरा सुनाइदिएको थियो ।
फेन्सी पसलेनी जालकुमारीले त झन चियो गर्दै जमयती र त्यो मोवाइल पसलेले थाहा नपाउने गरि उनीहरूको पछि लागी । त्यो सुनसान रातमा दुवैजना जयमतीकै कोठामा पसेपछि त झन त्यो चियो गर्दै हिडेकी जालकुमारी तीन छक्क परी । उसले पनि दौडदै आफ्नो घर आएर रामप्रसादलाई आफुले देखको कुरा फोन गरेर तत्कालै सुनाएकी थिई ।
मोवाइल बिग्रेको तनावमा हिजो रातभरी अनिंदो भएकी जयमति आज त आनन्दले बिहान घाम आउन्जेलसम्म पनि स्वा–स्वा गर्दै थिई । उता परदेशमा रामप्रसादको मनमा पनि शान्ति छाएको थियो । किनकि नेपाली समय अनुसार हिजो रातको एघार बजे तिर जयमतीको फोनमा घन्टी गएको थियो । घण्टी गएपछि मोबाइल मर्मत गर्ने लोग्ने मान्छेले फोन उठाउँदै भनेको थियो, “भेनाजु दिदीलाई गाली नगर्नुहोला है उनको फोन बिग्रिएर बल्लबल्ल बनाईदिएको छु । ल दिदीसँग कुरा गर्नुस् ।”
यसपछि जयमती र रामप्रसादको बिचमा करिब एकघण्टा जति मिठा कुराकानी चलेको थियो । जयमतीले मोवाइल कसरी विग्रीयो भन्ने कुरा सुनाउँदा दुवैजना मरीमरी हासेका थिए ।
उनीहरूको बीचमा पुन यसपालीको दशैँ कसरी टार्ने भन्ने बारे पनि सल्लाह भयो । सल्लाह बमोजिम रामप्रसादले मोवाइल साउलाई भन्यो, “सालाजु, यसपाली तिम्रो दिदीलाई दशैँ खर्चको लागि दश हजार सापटि दिनु । अर्को महिना सेलरी आउने बित्तिकै म आइ.एम.ई. गरिदिउँला ।”
यसरी रामप्रसाद र जयमतीले दशैँ कटाउने सल्लाह पनि मिलाए । उता जयमतीप्रति गरेको बजारीया मान्छेहरूको आशंका अनि फेन्सी पसलेनी जालकुमारीको चियो चर्चो पनि केवल आशंका र चियो चर्चामै सीमीत रहन पुग्यो ।