भन्ठानेँ
देश भन्नु
मेरै बस्ती मास्तिर
शिर ठाडो गरेर
अबिछिन्न उभिएको
त्यो सेतो हिमाल हो
छातीभरि त्यहि हिमाल बोकेर
स्वाभिमानको गहिरो स्वास फेरि बसेँ
भन्ठानेँ
देश भन्नु त्यहि हिमाल हुँदै कलकल बग्ने
यो कन्चन नदी हो
अन्जुलीभरि त्यहि नदीको पानी उठाएर
ठाडो शिरमा सिञ्चिएपछि
पवित्रताको स्वर्णिम अनुभूति गरिरहेँ
फेरी भन्ठानेँ
देश भन्नु बुद्ध हो, सीता हो
वीरता हो, पराक्रम हो
आस्था हो, भरोसा हो, बिश्वास हो
यी सबै सबै आत्मसात् गर्दै
आस्थामा सिंगो देश उभ्याएर
बाँचेको हुँ, बाँचेको छु ।
कुनै दिन
थोरै रहर र धेरै बाध्यतामा
देशको माया बन्धकीमा उतै छोडेर
परदेशमा जीवन खोज्न हिँडेको म,
कुनैदिन बन्धकीमा छोडेको
देशको न्यानो मायाको सहारामा
सम्भावित मृत्युको त्रासदी छल्दै
आफ्नै माटोको न्यानोपनको खोजीमा
सिमाना सम्म आइपुगेको छु यतिखेर
तर अफसोच,
फेरी एकपल्ट हिमाल हेरेर
भत्किएको स्वाभिमान उठाउने मेरो रहर
हिमनदीको चिसो पानी छोएर
स्वर्गीय आनन्द अनुभूत गर्ने मेरो चाहना
आफ्नै माटोमा अन्तिम स्वास फेर्ने
बाँकी एउटै सपना
यी सबै
मेरो देश !
तैँले यो फलामे ढोका लगाएर मेरै बाटो छेकेपछि
भताभुङ्ग भएका छन
लाग्दैछ
समवेदना हराएपछि मालिकहरुको
भूगोल नजिक भएर मात्र
देश नजिक नहुँदो रहेछ
पवित्र आस्था भजाएर
छिचोल्न नसकिँदो रहेछ कष्टकर दिनहरु ।
मेरो देश !
तेरा आफ्नै बाध्यताहरु होलान्
मेरा आफ्नै विवशताहरु छन्
यो बाध्यता र विवशताको संगम बिन्दु खोज्न
न त तेरो चाहना देख्छु
न त मसँग सामर्थ्य नै छ
समयसँगको एउटा सिङ्गो युद्ध हारेको
निरीह म
तेरो शक्तिसँग पौठेजोरी खेल्न सक्दिनँ अब
गर्न सक्छु त खाली एउटा अपेक्षा
बस,
अनिकालमा अनाज हुन सकिनस् केही छैन
मेरो भोक नभइदे मेरो देश
महामारीमा उपचार हुन् सक्दैनस्
केही गुनासो छैन
मेरो रोग नभइदे मेरो देश ।
(ब्रिसबेन, अष्ट्रेलिया)