समय गतिशील छ, जीवन मरणशील छ । तर जीवनमा संघर्ष पनि छ । कडा चट्टानहरू फोड्दै बाटो बनाउँदै हिँड्ने एउटा गार्होछ प्रक्रिया जस्तै । यही कठिन र जटिल प्रक्रियाबाट गुज्रनु नै जिन्दगीको कर्म रहेछ । यसरी जिन्दगीलाई संघर्षको बीचबाट गुजार्नु रमाइलो पनि रहेछ । कसैको पनि जिन्दगी सरल रेखामा नबगेर बक्र रेखाको ग्राफ तयार पारेर बग्दोरहेछ । यस्तै मेरो जिन्दगीले पनि एउटा जटिल बक्ररेखाको ग्राफ तयार गर्दै अघि बढीरहेको छ । यही कठिन परिवेशको अमिट यादहरूलाई यहाँहरूको सामु पोख्न गइरहेको छु । जसले भावी पुस्तालाई पनि केही अनुभूति दिलाउने काम गर्ला । विरह मात्र पोख्छ नभन्नुहोला ।
हुन त समुन्नत समाज निर्माणको लागि निसङ्कोच क्रान्तिको दावानलमा हाम फालेको योद्धा हुँ । यो दौरानमा धेरै सहयोद्धाहरूलाई गुमाएँ । कैयौँ अङ्गभङ्ग भएका छन । कैयौँ साथीहरू बेपत्ता छन । आज सम्झँदा पनि खाटा बसिसकेको घाउ उकुच पल्टेर आउँछ । मुटु दुखेर आउँछ । जति बिर्सन खोजे पनि बिर्सन सकिँदैन ।
यिनै महान् मान्छेहरूको बलिदानीबाट समाज केही परिवर्तन त भयो । ठूलो कुरा सबैमा चेतना जाग्यो । अन्यायको विरुद्ध आवाज उठाउनु पर्छ भन्ने चेतना जाग्यो । गाउँ जाग्यो । बस्ती जाग्यो । कुना कन्दरा जाग्यो । तर जिन्दगी सुधार्ने क्रममा आंशिक मात्रामा सीमित मान्छेहरूको मात्र सुध्रियो । हामीले सोचेजस्तो र चाहेजस्तो परिवर्तन त एक रत्ति पनि भएन । हामीले चाहेजस्तो व्यबस्था एक रत्ति पनि आएन । आयो त केवल मुट्ठीभर मान्छेहरूको लागि मात्र आयो । व्यवस्था त घुम्दै फिर्दै फेरि रुम्जाटार पुग्यो ।
गाउँ गाउँमा सिंहदरबार आयो भनियो । तर दरबार नआएर सिंह मात्रै आएको अनुभूति भयो। जताततै महङ्गी र भ्रष्टाचारले सीमा नाघ्यो । धेरै छोटे राजाहरू जन्मिए । नातावाद, कृपावाद बनमारा झैँ मौलाएर गयो । बेरोजगारी झन बढेर गयो । यो दिक्कलाग्दो परिवेशबाट अवाक भएर परदेशीएको म पनि एक योद्धा हुँ ।
दर्जनौं लडाईंहरू लड्दालड्दा गोलीले छियाछिया पारेको शरीर बोकेर परदेश लागेको थिएँ । धमिलो मनमा अमिलो मिसाएर । के गर्नु ? यो मेरो रहर नभएर बाध्यता थियो । यो घाइते शरीर बोकेर बिदेशीको दास हुनु कठिन कुरो रहेछ । स्वतन्त्रताको लडाइँ लडेको योद्धा दास हुन पुग्नु कस्तो बिडम्बना ! छेउको सियो माझैमा भने जस्तै । सम्झँदा पनि छाती चिरिएर आउँछ । कहिलेकाही रगत उम्लिएर आउँछ । तर पनि यी विषम परिवेशलाई पचाउँदै जसोतसो जिन्दगीलाई अगाडि बढाउँदै थिएँ । व्यबहार केही चलेकै थियो । सामान्य रूपमा चूल्हो बलेकै थियो । तर एक्कासि कोरोना नामको भाइरसले मृत्युको कात्रो बोक्दै संसारभरि विचरण गरेपछि हाम्रो जिन्दगीमा अर्को बज्रपात पर्योल ।
यो जिन्दगीमा परेको सार्है् ठूलो बज्रपात हो । हामी जस्ता श्रम गरेर खाने श्रमजीवीहरूको जिन्दगीलाई समस्याको पहाडले थिच्यो । चल्न चट्पटाउन नसक्ने गरी । अस्थायी पिंजडामा थुनिन बाध्य बनायो । एउटा कैदी हिरासतमा थुनिए जसरी । सरकारबाट बाहिर निस्किएमा जेल कोच्ने फरमान जारी भयो । नभन्दै केही साथीहरूले लापरबाही गरेर गिरफ्तार परे । र बल्लतल्ल धरौटी राखेर पन्ध्र दिनपछि मुक्त भए ।
यो विकसित देशको सिन लकडाउनसँगै एकाएक बदलियो । एक्कासि बसन्तबाट शिशिर आए जसरी । आकाशबाट स्वर्गको एक टुक्रा खसेझैँ सुन्दर देश एकाएक ठप्प भयो । सम्पूर्ण कलकारखानाहरू बन्द भए । होटल, रेस्टुरेन्ट, ठूल्ठूला सपिङ मलहरू, पार्कहरू, उद्यानहरू सुनसान भए । विद्यालयहरू बन्द भए। सडकमा गुडिरहने छिचिमिरा जस्तै गाडीहरू पनि चलेनन । सडकहरू लमतन्न सुतिरहे । शहरहरू मस्त निदमा परेझैँ चकमन्न भए । चराझैँ आकाशमा उडिरहने हवाईजहाजहरू पनि उडेनन ।
बिपत्तिको सामु मान्छेको केही जोर नचल्दोरहेछ । महामारी कतिबेला कस्तो रुप लिएर आउँदोरहेछ भन्ने ठेगान नहुँदोरहेछ । मानिसहरू अन्योलमा फँस्नुपर्ने रहेछ । अकर्मण्यतामा जाकिनु पर्ने रहेछ ।
त्यसैले मानिसहरू घरबाट बाहिर निस्कन सकेनन । सबै घरभित्र नजरबन्द जस्तै भए । एउटा अनौठो आतङ्क बोकेर मृत्युको शङ्ख फुक्दै हिँड्यो यो कोरोना । यो ज्यानमारा कोरोनाको आतङ्कले हामी विदेशी कामदारहरू नराम्ररी पिल्सियौँ । एक छाक जाउलोको भरमा केही समय होम क्वारेन्टाइनमा बस्यौँ । फलामे डन्डी भएको खाटको खुट्टामा अडेस लगाउँदै आफ्नो अन्धकार भविष्यबारे सोच्यौँ ।
अब के गर्ने होला भन्ने चिन्ताले निकै सतायो । आफ्नै देशमा भए पनि छुट्टै आनन्द आउँथ्यो होला भन्ने सोचियो । आफू जन्मेको गाउँ, खोलानाला, डाँडाकाँडा, पाखापर्वत, हिमालपहाड, तराईका समथर फाँटहरूको बेस्सरी याद आउँदोरहेछ । अर्काको देशमा अलिकति केही भयो भने पनि असाध्यै मन दुख्दोरहेछ ।
कम्पनीले पनि सबैलाई बेतलबी बिदामा राख्यो । त्यसपछि त झन हाम्रो टाउकोमा पहाडै खसेजस्तो भयो । जहाजै डुबेजस्तो भयो । घरको समस्याले पिरोलिरह्यो । बाबुनानीको फि कसरी तिर्ने ? बैंकको किस्ता कसरी तिर्ने ? कोठाभाडा कसरी तिर्ने ? घरमा भएका रोगी बुबाआमाको औसधिउपचार कसरी गर्ने ? आदि ईत्यादि कुराहरू-समस्याहरू मनमा खेलिरहे ।
अझ हामी सेक्युरिटी सेक्टरमा काम गर्ने मजदुर भएकोले केही ड्युटी (महिनाको १५ दिन) पायौँ । बिना मास्क, बिना सेनिटाइजर काम शुरु गर्यौँि । कम्पनीले सुरक्षा सामाग्री केही पनि उपलब्ध गराएन । मानवता नभएको मान्छेहरू यो देशमा पनि जन्मिदारहेछन जस्तो लाग्यो । जसोतसो आफैले मास्क, सेनिटाइजर किनेर काम चलायौँ ।
विदेशी मरुन कि बाँचुन ! यहाँका मान्छेहरूलाई मतलब रहेनछ । रहेछ त केवल आफ्नो स्वार्थ पूरा गर्ने भावना । प्रत्येक मान्छेहरूलाई चेक गरेर मात्रै भित्र छिराउनु पर्ने । आदेस भन्दा बाहिर जान नहुने ।
लकडाउनमा हाम्रा पनि केही सीमा र कमजोरीहरू रहे । बाहिर निस्कन नपाने भन्दाभन्दै केही साथीहरू बाहिर निस्केर गिरफ्तार पर्नु । जाँड खाएर होहल्ला गर्नु । अराजक हुनु । भनेको नमान्नु । कसले सक्ने नेपालीलाई । भिसाको म्याद सकिएका साथीहरू दुई तीन महिना थन्किएर बस्नुपर्यो । कोरोना टेस्ट आफैले गर्नुपर्ने अबस्था आयो । जहाज चार्टर गरेर स्वदेश फर्किनलाई दोब्बर तेब्बर भाडा लाग्यो ।
केही साथीहरू अझै पनि कोचिएर बस्नुपरेको छ । अब अहिले विस्तारै कोरोनाको संक्रमण कम हुँदैछ । र यहाँको जनजीवन आफ्नो लयमा फर्कंदैछ । सहज परिवेश भएपछि र कोरोना सकिएपछि आफ्नै घर फर्किने आशाकासाथ ड्युटीमा तल्लिन छु ।
(२८ अगस्ट २०२०, पराईभूमी)