सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्व सुरु भएको छ । यो पर्व प्रत्येक पर्ष भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म मनाइन्छ ।
गौरा पर्वको पहिलो दिन गौरा घर (गौरा खलोम)मा तामाको भाँडोमा गेडागुडी मिसाएर बनाइएको बिरुडा भिजाएर सुरु गरिन्छ । यसरी भिजाउने गेडागुडीमा केराउ, मास, गहत, गोरस र गहुँ पर्दछन् ।
दोस्रो दिन पानीको मुहानमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई घर तथा मन्दिरमा भित्र्याएर पूजापाठ गरिन्छ ।
अष्टमीका दिन गौरा देवीलाई सिंगारेर शिवको प्रतिमासँगै राखेर गौरा गीत गाउँदै गौरा र महेश्वरलाई शिरमा राखेर नाच्ने चलन छ । यसरी नाच्दा देउडा गाउने र प्रसादको रूपमा बिरुडा खाने गरिन्छ । यो दिन गौरा पर्वको मुख्य दिन हो । यो दिन सुदूरपश्चिममा खाइने विशेष परिकार सेल, पुरी, बटुक, माणा, निसोसे, खीर खाने र ख्वाउने चलन छ ।
कसैकसैले अष्टमीको साँझ र कसैले भोलिपल्ट प्रतिमा सेलाएर गौरा पर्वको समापन गरिन्छ ।
गौरा पर्व शिव पार्वतीको पूजागरी मनाउने पर्व हो । यो पर्व सुदूर पश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा लगायत कतिपय कर्णालीका जिल्लाहरूमा पनि मनाइन्छ । यो पर्व सुदूरपश्चिमेलीहरूको ठूलो पर्व हो ।